News Summary
Generated by OK AI. Editorially reviewed.- सौन्दर्य प्रशाधनको क्षेत्रमा ओम्ब्रे लिप्स, ब्लर्ड लिप्स र ग्लोसी फिनिस जस्ता पाँच नयाँ लिपस्टिक स्टाइलहरू यस वर्ष निकै लोकप्रिय बन्दै गएका छन्।
अनुहारको आकर्षण बढाउन मेकअपका विभिन्न उपाय अपनाइन्छन् । तर, कहिलेकाहीँ ओठमा लगाउने लिपस्टिकले पनि पूरै अनुहारलाई नै नयाँ रूप दिन सक्छ । यही कारण लिपस्टिकलाई सौन्दर्य प्रशाधनको सबैभन्दा प्रभावशाली उत्पादनमध्ये एक मानिन्छ । समयअनुसार यसको रङ, बनावट र लगाउने शैली पनि परिवर्तन भइरहन्छ ।
केही वर्षअघिसम्म गाढा म्याट लिपस्टिकको दबदबा थियो भने अहिले प्राकृतिक देखिने, हल्का ब्लेन्ड गरिएको र चम्किलो फिनिस भएका शैलीहरू लोकप्रिय बन्दै गएका छन् ।
वर्षैपिच्छे लिपस्टिक स्टाइलको ट्रेन्डबारे चर्चा हुन्छ । यसपटक पनि ५ शीर्ष स्थानमा केही लिपिस्टिकले डेरा जमाएका छन् ।
ओम्ब्रे लिप्स
ओम्ब्रे लिप्स अहिलेको सबैभन्दा चर्चित ट्रेन्डमध्ये एक हो । यसमा दुई फरक रङको लिपस्टिक प्रयोग गरिन्छ । सामान्यतया ओठको बाहिरी भागमा गाढा रङ, जस्तै डार्क ब्राउन, प्लम वा गाढा रातो लगाइन्छ भने बीचको भागमा हल्का न्यूड, पिङ्क वा पिच रङ प्रयोग गरिन्छ । त्यसपछि दुवै रङलाई बिस्तारै ब्लेन्ड गरेर प्राकृतिक ग्रेडियन्ट तयार गरिन्छ ।
यसरी तयार भएको ओठ सामान्यभन्दा भरिलो, मुलायम र आकर्षक देखिन्छ । विशेष गरी साँझको पार्टी, विवाह, उत्सव वा फोटोसुटका लागि यो शैली निकै उपयुक्त मानिन्छ ।
ब्लर लिप्स
के–ब्यूटी अर्थात् कोरियन सौन्दर्य शैलीबाट लोकप्रिय बनेको ब्लर लिप्स अहिले विश्वभर ट्रेन्डमा छ । यसमा लिपस्टिक ओठको बीच भागमा मात्र लगाइन्छ र औँला वा ब्रसको सहयोगले बिस्तारै किनारासम्म फैलाइन्छ । यसरी गर्दा ओठको बाहिरी रेखा स्पष्ट देखिँदैन, बरु हल्का धुम्मिएको प्राकृतिक प्रभाव देखिन्छ ।
यो शैली विशेषगरी दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ । धेरै मेकअप नगरी पनि अनुहारलाई ताजा, कोमल र स्वाभाविक देखाउन चाहनेहरूका लागि ब्लर्ड लिप्स राम्रो विकल्प हो ।
ग्लोसी तथा भिनाइल फिनिस
केही वर्षसम्म म्याट लिपस्टिकको लोकप्रियता उच्च रहे पनि अहिले फेरि ग्लोसी लुक फर्किएको छ । विशेष गरी ’भिनाइल फिनिस’ अर्थात् धेरै चम्किलो देखिने लिप्स सामाजिक सञ्जालमा निकै देखिन थालेका छन् ।
यसका लागि आफूले रोजेको न्यूड वा बोल्ड लिपस्टिक लगाएर त्यसमाथि पारदर्शी लिप ग्लसको हल्का तह थपिन्छ । यसले ओठलाई चम्किलो, रसिलो र स्वस्थ देखाउँछ । गर्मीयाम, क्याजुअल भेटघाट वा हल्का मेकअपका लागि यो शैली धेरैले रुचाइरहेका छन् ।
९० को दशकका ब्राउन न्यूड शेड्स
फेसनमा पुराना ट्रेन्ड फेरि फर्कने क्रम अहिले पनि जारी छ । यस वर्ष १९९० को दशकमा लोकप्रिय भएका चकलेट ब्राउन, क्यारामेल न्यूड, टेराकोटा र मोक्का शेडका लिपस्टिक फेरि चर्चामा छन् ।
यी रङ अधिकांश छालाको रङसँग सजिलै मेल खान्छन् । अफिस, औपचारिक कार्यक्रम वा ’नो मेकअप’ लुक अपनाउन चाहनेहरूका लागि यी शेड निकै उपयुक्त मानिन्छन् । धेरै गाढा पनि नदेखिने र अनुहारलाई निखार्ने भएकाले यस्ता रङको प्रयोग बढ्दो छ ।
स्टेटमेन्ट रेड लिप्स
रातो लिपस्टिक फेसनबाट कहिल्यै बाहिर जाँदैन । तर यस वर्ष यसको प्रयोग गर्ने तरिका केही फरक देखिएको छ । अहिले अनुहारमा हल्का बेस मेकअप, थोरै मस्कारा वा आइलाइनर प्रयोग गरेर त्यससँग चम्किलो चेरी रेड वा वाइन रेड लिपस्टिक लगाउने शैली लोकप्रिय बनेको छ ।
यसले अनुहारलाई अत्यधिक मेकअप नगरी पनि आकर्षक, आत्मविश्वासी र ग्ल्यामरस देखाउँछ । विशेष अवसर, औपचारिक कार्यक्रम वा साँझको भेटघाटका लागि यो शैली धेरैले रोजिरहेका छन् ।
प्रतिक्रिया 4