+
+
Shares

‘दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य’

सञ्चारमन्त्री तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवा पहुँच विस्तार एवं गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने लक्ष्य रहेको बताए ।
  • मन्त्री तिमिल्सिनाले दूरदराजसम्म फोरजी सेवा विस्तार, फाइभजीको सुरुवात र सेवाको गुणस्तर सुधारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राख्न निर्देशन दिए ।
  • उनले मन्त्रालय र मातहतका निकायको कमजोर पूँजीगत खर्चप्रति असन्तुष्टि जनाउँदै पहिलो त्रैमासबाटै परिणाममुखी कार्यसम्पादन गर्न कडा निर्देशन दिए ।

१४ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने लक्ष्य रहेको बताएका छन् ।

उनले टेलिफोन तथा इन्टरनेट सेवा पहुँच विस्तार एवं गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न मन्त्रालय र मातहत निकायलाई निर्देशन दिए ।

मन्त्रालयमा आज आयोजित गत आव २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै उनले दूरदराजसम्म फोरजी सेवा विस्तार, फाइभजी सेवा सुरुवात, सेवा गुणस्तर सुधार तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई मन्त्रालयले चालु आवका प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे ।

सञ्चारमन्त्री तिमिल्सिनाले विगतका वर्षमा निर्धारण गरिएका लक्ष्य अपेक्षित हासिल हुन नसकेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने समय आएको बताए ।

उनले दूरसञ्चार क्षेत्रमा सुधारका लागि आवश्यक नीतिगत, कानुनी तथा अन्तरनिकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनमा भने कुनै ढिलासुस्ती स्वीकार्य नहुने बताए ।

‘यो वर्ष टेलिफोन र इन्टरनेट सेवा सुधारको वर्ष हुनेछ, पहुँच र गुणस्तरका सवालमा हामी अभूतपूर्व परिवर्तनको लक्ष्यसहित अघि बढिरहेका छौं, सरकारले दूरसञ्चार क्षेत्रलाई आगामी आर्थिक वर्षको सबैभन्दा महत्त्वाकांक्षी क्षेत्रका रूपमा लिएको छ,’ उनले भने, ‘नेपालमा दूरसञ्चार सेवामा अभूतपूर्व विकास र प्रगति हुने वर्षका रूपमा यसलाई स्थापित गनुपर्ने जिम्मेवारीबोध सबैले गर्नुहोला ।’

फोरजी विस्तार र फाइभजी सेवा सुरु गर्ने विषयमा नतिजा हासिल गर्न नसक्ने अवस्था अब स्वीकार्य नहुने उनको भनाइ छ । ‘म आफैं हरेक दिन खटिन तयार छु, नीतिगत वा कानुनी रूपमा जे सहयोग आवश्यक पर्छ, त्यसका लागि मन्त्रालय पूर्णरूपमा तयार छ,’ उनले भने, ‘कुन निकायसँग कस्तो समन्वय गर्नुपर्ने हो, त्यसमा हामी सबै जिम्मेवार भएर अघि बढ्नुपर्ने छ ।’

बैठकमा सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालय तथा मातहत निकायको कमजोर पूँजीगत खर्च र कार्यान्वयन क्षमताप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

सम्बन्धित निकायले आफैं समाधान गर्न सक्ने विषय मन्त्रालय स्तरीय समितिसम्म पुग्नु व्यवस्थापकीय कमजोरी भएको उल्लेख गर्दै समयमै समस्या समाधान गर्ने कार्यसंस्कृति विकास गर्नसमेत निर्देशन दिए ।

गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति र सार्वजनिक सेवा प्रसारण संस्थालाई थप प्रभावकारी, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सरकारले आवश्यक सुधारका काम थालिसकेको उनले बताए ।

उनले चालु आव पहिलो त्रैमासलाई निर्णायक अवधि भन्दै सुरुदेखि नै परिणाममुखी कार्यसम्पादन गर्नसमेत निर्देशन दिए । ‘अबको तीन महिना यसअघिको तीन महिनाजस्तो हुनु हुँदैन, सरकार कुन दिशामा अघि बढिरहेको छ भन्ने स्पष्ट भइसकेको छ’ उनले भने, ‘चालु आर्थिक वर्ष पहिलो त्रैमासमै उत्कृष्ट नतिजा देखाउनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?