News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्लो समय १८ वर्षमुनिका बालबालिकामा पशुमाथि हुने क्रूर व्यवहारका घटना बढ्दै गएकोप्रति विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
–जंगलमा चर्दै गरेको गोरुमाथि एक बालकले क्रुर व्यवहार गरेको भिडियो यसै साता सामाजिक सञ्जालमा भाइरल बन्यो । बैतडीमा भएको त्यो घटनामा गोरु भीरबाट लडेर मर्यो । कुटिपट गर्दै गोरुलाई भीरबाट खसाल्ने १६ वर्षीय नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।
–२०८२ वैशाखमा रोल्पामा एक कुकुरलाई रूखमा झुण्याएर तड्पाउँदै मारियो । यो घटनाका कसुरदार पनि नाबालकहरू नै थिए । उनीहरू पक्राउ त परे तर केही दिनमै छुटे ।
पछिल्लो समय पशुमाथि हुने क्रूरताका घटनामा १८ वर्षमुनिका बालबालिकाको संलग्नता बढ्दै गएको देखिएको छ । कुकुरलाई निर्घात कुट्ने, जिउँदै गाड्ने, पुल वा भीरबाट खसाल्ने जस्ता घटनामा नाबालक संलग्न भएको देखिन्छ । कानुनी रूपमा उनीहरूलाई वयस्कसरह सजाय दिन नमिल्ने भएकाले अधिकांश घटना चेतावनी वा सामान्य कारबाहीमै सीमित हुने गरेका छन् । यसले बालबालिकामा बढ्दो हिंसात्मक प्रवृत्तिप्रति थप चिन्ता बढाएको छ ।
मनोविद्हरूका अनुसार पशुमाथिको क्रूर व्यवहार कुनै सामान्य बदमासी मात्र नभई बालबालिकाको मानसिक, सामाजिक र व्यवहारगत अवस्थासँग जोडिएको विषय हो । बाल्यकालदेखि नै हिंसा देख्ने, हिंसात्मक वातावरणमा हुर्कने, दुर्व्यवहार भोग्ने, सामाजिक सञ्जालमार्फत हिंसात्मक सामग्रीको निरन्तर सम्पर्कमा रहने तथा उचित भावनात्मक साथ नपाउने बालबालिका यस्ता व्यवहारतर्फ आकर्षित हुने सम्भावना बढी हुन्छ ।
मनोविद् गृष्मा पनेरुका अनुसार अहिले बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल, बदलिँदो जीवनशैली र अभिभावकसँगको कमजोर संवादले गम्भीर प्रभाव पारिरहेको छ ।
विशेषगरी १२ देखि १८ वर्षको उमेर समूहमा कल्पनाशीलता, देखासिकी गर्ने प्रवृत्ति र जोखिमपूर्ण व्यवहार बढ्ने भएकाले उनीहरू हिंसात्मक सामग्रीबाट छिट्टै प्रभावित हुन्छन् । नेपालमा बालमैत्री डिजिटल सुरक्षा प्रणाली प्रभावकारी नहुँदा बालबालिकाले चाहेको वा नचाहेको हिंसात्मक सामग्री सहजै हेर्न पाउने अवस्था रहेको उनले बताइन् ।
उनका अनुसार बालबालिकाको दैनिक दिनचर्या, पर्याप्त निद्रा, स्क्रिन प्रयोग, सामाजिक व्यवहार र मानसिक अवस्थाले उनीहरूको व्यवहार निर्धारण गर्छ। अभिभावकले बच्चाको व्यवहारमा अचानक आएको परिवर्तन, निरन्तर उदासीनता, अत्यधिक रिस, एक्लोपन वा रुँदै घर फर्किने अवस्थालाई सामान्य रूपमा नलिई लिन नहुने उनको भनाइ छ । ‘बच्चाले आफूलाई कसैले बुझेन भन्ने महसुस गर्न थालेपछि हिंसात्मक वा असामाजिक व्यवहारतर्फ जान सक्ने जोखिम बढ्छ’ पनेरूले भनिन् ।
उनले अभिभावक र शिक्षकलाई मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान आवश्यक रहेको बताउँदै बालबालिकालाई सम्मानपूर्वक आफ्नो असहमति व्यक्त गर्न, भावना व्यक्त गर्न र समस्या खुलेर भन्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । बालबालिकालाई बुझ्न सकिए अधिकांश व्यवहारजन्य समस्या सुरुमै रोक्न सकिने उनको विश्वास छ ।
बालअधिकारकर्मी तिलोत्तम पौडेलले बालबालिकामा पशुमाथि हुने हिंसाको एउटा कारण समाजमा बढ्दो नकारात्मक सामग्री र त्यसको देखासिकी भएको बताए । उनका अनुसार अहिले सामाजिक सञ्जालमा कुटपिट, हिंसा र क्रूरताका दृश्य सहजै उपलब्ध हुने भएकाले बालबालिकाले त्यसलाई सामान्य व्यवहारका रूपमा ग्रहण गर्न थालेका छन् ।
उनले अर्को महत्वपूर्ण कारण पशुप्रतिको संवेदनशीलता सिकाउन नसक्नु रहेको बताए । ‘पहिले बालबालिका पशुसँग प्रत्यक्ष घुलमिल हुन्थे । अहिले उनीहरूलाई दूध डेरीमा पाइन्छ भन्ने थाहा छ, तर त्यसको स्रोत जनावर हो भन्ने बुझाइ कमजोर बन्दै गएको छ’ उनले भने ।
जनावर पनि संवेदनशील जीव हुन्, उनीहरूलाई पनि पीडा हुन्छ र बाँच्न पाउने अधिकार छ भन्ने शिक्षा परिवार र विद्यालय दुवैबाट दिन नसक्दा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ ।
उनका अनुसार घरपरिवारमै जनावरमाथि दुर्व्यवहार हुने दृश्य बालबालिकाले देख्ने गरेका छन् । खेत जोत्न गोरु कुट्ने, पशुलाई कुटपिट गर्ने जस्ता व्यवहारलाई सामान्य ठानिने संस्कारले पनि बालबालिकामा हिंसालाई स्वीकार्य बनाइरहेको उनले बताए । पाठ्यक्रममा पशु कल्याण, पशुप्रतिको दया र जिम्मेवारीसम्बन्धी विषय समावेश गर्नुपर्ने उनको सुझाव छ ।
पशुमाथिको क्रूर व्यवहारलाई केवल पशुको समस्या नभई भविष्यमा मानिसमाथि हुने हिंसात्मक व्यवहारको प्रारम्भिक संकेतका रूपमा लिनुपर्ने पशुअधिकारकर्मी स्नेहा श्रेष्ठ बताउँछिन् । उनका अनुसार अहिले पशुमाथि क्रूर व्यवहार गर्ने बालबालिका समयमै सुधार नभए भविष्यमा गम्भीर अपराधतर्फ समेत उन्मुख हुन सक्ने जोखिम रहन्छ ।
उनले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुन कुकुरलाई कुट्ने, जिउँदै गाड्ने, झुन्ड्याउनेजस्ता घटना सार्वजनिक भइरहेका उल्लेख गर्दै यसलाई चेतना र शिक्षाको अभावको परिणाम बताइन् । नेपालको शिक्षा प्रणालीमा पशु कल्याणसम्बन्धी कुनै प्रभावकारी पाठ्यसामग्री नभएको र यही कमजोरीले बालबालिकामा संवेदनशीलताको विकास हुन नसकेको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार नाबालक भएकै कारण उनीहरूलाई वयस्कसरह सजाय दिनुभन्दा सुधारमुखी व्यवस्था आवश्यक छ । पशुमाथि क्रूरता देखाउने बालबालिकाका लागि अनिवार्य परामर्श सेवा, सुधार केन्द्र, मनोपरामर्श र पशु कल्याणसम्बन्धी शिक्षा उपलब्ध गराउने कानुनी व्यवस्था आवश्यक रहेको उनले बताइन् । साथै यस्ता घटनामा अभिभावक, विद्यालय र सम्बन्धित निकायलाई समेत जिम्मेवार बनाउने कानुनी प्रावधान हुनुपर्ने श्रेष्ठको सुझाव छ ।
उनले बालबालिकाको पहिलो शिक्षक अभिभावक नै भएकाले जनावरलाई माया गर्ने, कुटपिट नगर्ने, सबै जीवप्रति सम्मान गर्ने संस्कार घरबाटै सिकाउनुपर्ने बताइन् । विद्यालयको पाठ्यक्रममा पशु कल्याण, समुदायस्तरमा सचेतनामूलक कार्यक्रम तथा स्थानीय सरकारले सुधारमुखी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् ।
विज्ञहरूको साझा निष्कर्ष अनुसार पशुमाथिको क्रूर व्यवहार केवल कानुनी विषय मात्र नभई मानसिक स्वास्थ्य, पारिवारिक वातावरण, सामाजिक सिकाइ, शिक्षा प्रणाली र समुदायको भूमिकासँग प्रत्यक्ष रूपमा जोडिएको समस्या हो । त्यसैले केवल सजायले मात्र समाधान नआउने उनीहरूको भनाइ छ ।
बालबालिकामा सानैदेखि करुणा, सहानुभूति, जिम्मेवारी र सबै जीवप्रति सम्मानको भावना विकास गर्न सके मात्र यस्ता हिंसात्मक प्रवृत्तिलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिने उनीहरूको निष्कर्ष छ ।
प्रतिक्रिया 4