News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएको एक महिना पुग्न लाग्दा पनि शिक्षाध्यक्ष, रजिस्ट्रार र कार्यकारी परिषद्ले पूर्णता पाउन सकेको छैन ।
- कार्यकारी परिषद्को बैठक बस्न नसक्दा विद्यार्थीको ग्रेस लिस्ट पास नभएको र प्राध्यापक तथा कर्मचारीको बढुवासम्बन्धी निर्णय रोकिएका छन् ।
- निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले कार्यकारी सदस्यहरूको टुंगो लगाउने काम भइरहेको र छिट्टै बैठक बोलाउने तयारी रहेको जानकारी दिए ।
१४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएको एक महिना पुग्न लाग्यो तर पदाधिकारीले पूर्णता पाएको छैन । शिक्षाध्यक्ष र रजिस्ट्रारको नाम उपकुलपतिले सिफारिस गरेका छैनन् ।
त्रिवि कार्यकारी परिषद् सदस्य पनि रिक्त छ । जसका कारण कार्यकारीको बैठक बस्न नसक्दा महत्त्वपूर्ण काम रोकिएको कर्मचारीहरूको गुनासो छ । त्रिविको सभा पनि बस्न सकेको छैन ।
कार्यकारी परिषद् नबस्दा काम प्रभावित भएको गुनासो त्रिविका प्राध्यापक र कर्मचारीको छ । ‘कार्यकारीमा ७ जना सदस्य हुनुपर्ने हो । सदस्य नहुँदा बैठक बसेको छैन । विद्यार्थीको ग्रेस लिस्ट पास भएको छैन । ग्रेस लिस्ट सभाले पास गर्नुपर्छ । सभाको टुंगो छैन,’ त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने, ‘बजेट ल्याउने बेला भयो । कार्यकारी नै छैन ।’
कर्मचारीका अनुसार अहिले पेस्की खर्चबाट त्रिवि सञ्चालन भइरहेको छ । ‘नयाँ आर्थिक वर्ष सुरु भयो । तर पेस्की खर्चबाट काम चलिरहेको छ,’ त्रिविका एक कर्मचारीले भने ।
कार्यकारीमा उपकुलपति अध्यक्ष, शिक्षाध्यक्ष सदस्य, अध्ययन संस्थानका डिनहरूमध्येबाट एक जना सदस्य, सङ्कायका डिनहरूमध्येबाट एक जना सदस्य, विश्वविद्यालयका शिक्षकहरूमध्येबाट दुई जना सदस्य र रजिस्ट्रार सदस्य सचिव रहने प्रावधान छ ।
‘कार्यकारीका सदस्यहरू टुंगो लगाउँदैछौं,’ निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसले भने, ‘भरे-भोलिसम्म कार्यकारी टुंगिन्छ ।’ कार्यकारी सदस्यको तय भएपछि बैठक बोलाउने तयारी छ ।
मारमा विद्यार्थी
ग्रेस लिस्ट पास नहुँदा विद्यार्थीसमेत मारमा परेका छन् । त्रिविको नियमअनुसार रजिस्ट्रारको अध्यक्षतामा रहेको परीक्षा बोर्डले ग्रेस लिस्ट तयार गरेर कार्यकारीले निर्णय गरेर सभाले पास गर्नु पर्ने हुन्छ । तर कार्यकारी र सभा नबस्दा ग्रेस लिस्ट पास भएको छैन ।
‘ग्रेस लिस्ट पास नहुँदा लाखौं विद्यार्थी मारमा पर्छन् । काम गर्न वा विदेश जान विद्यार्थीलाई असर पर्छ,’ निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले भने, ‘ग्रेस लिस्ट पास गर्न ढिलाइ भएको छ । उपकुलपतिले छिट्टै आफ्नो टिम बनाएर निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ ।’
प्राध्यापक र कर्मचारीको समस्या
कार्यकारी नबस्दा प्राध्यापक र कर्मचारीको बढुवासमेत रोकिएको छ । ‘उपप्राध्यापक सहप्राध्यापकमा, सहप्राध्यापक प्राध्यापककमा बढुवा भए पनि कार्यकारी नबसेकाले निर्णय भएको छैन,’ त्रिवि प्राध्यापक संघका सभापति वसन्त ढकालले भने, ‘शिक्षक कर्मचारीको काम रोकिएको छ । उच्च शिक्षाको संवेदनशील क्षेत्रमा ख्यालख्याल जसरी चलाउन खोजेको देखियो ।’
के कारणले कार्यकारी बैठक रोकिएको हो, उपकुलपतिले कुलपति र सहकुलपतिसँग समन्वय गरेर तत्काल निर्णयहरू गर्न प्राध्यापकहरूको सुझाव छ ।

रजिस्ट्रार र रेक्टर निमित्त
हाल त्रिविमा निमित्त रजिस्ट्रार र रेक्टर तोकिएको छ । सरकारले विश्वविद्यालयका पदाधिकारीहरूलाई अध्यादेशबाट पदमुक्त गरेपछि निमित्त तोकिएको थियो । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. शंकरप्रसाद खनाललाई निमित्त शिक्षाध्यक्ष र रजिस्ट्रारमा व्यवस्थापन सङ्कायका डिन प्रा.डा. महानन्द चालिसेलाई तोकिएको थियो ।
निमित्त भए पनि महत्त्वपूर्ण काम नरोकिएको बताउँछन् रजिस्ट्रार चालिसे । ‘बजेट निमित्तले पनि ल्याएको छ । हामी डिन हौँ । रिक्त रहेको अवस्थामा सहयोग गर्नुपर्छ भनेर गरेको हो,’ निमित्त रजिस्ट्रार चालिसेले भने, ‘सरकारले भनेको मानेका हौँ । संस्था हाम्रो पनि भएकाले महत्त्वपूर्ण काम रोकिएको छैन ।’
आफूहरूले रिक्त हुन नदिएका बताउँदै चालिसे नयाँ टिम बनाउने जिम्मेवारी उपकुलपतिको रहेको बताउँछन् । ‘उपकुलपति आउनु भएको छ । टिम बनाउने कुरा उहाँको रणनीतिले निर्धारण गर्छ,’ उनले भने ।
त्रिविको नियमअनुसार रेक्टर र रजिस्ट्रार उपकुलपतिको सिफारिसमा कुलपतिले नियुक्त गर्नुपर्ने हो । तर शिक्षाध्यक्ष र रजिस्ट्रारको नाम सिफारिस भएको छैन । १९ असारमा थापा उपकुलपतिमा नियुक्त भएका थिए । तर टिम बानाउन ढिलाइ भएको छ ।
‘रेक्टर र रजिस्ट्रार बनाउन हस्तक्षेप हुँदैन’
८ साउनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार बनाउने जिम्मा उपकुलपतिलाई दिइएको बताएका थिए । सञ्चारकर्मीसँग मन्त्री पोखरेलले विश्वविद्यालय स्वायत्त निकाय भएकाले आफ्नो टिम बनाउन उपकुलपतिलाई नै दिइएको बताएका हुन् ।
‘विश्वविद्यालय स्वतन्त्र र स्वायत्त निकाय हो । भीसीलाई डिसिजन गर्न, टिम आफ्नो किसिमले बनाउनुहोस् भनेका छौँ,’ मन्त्री पोखरेलले भनेका थिए, ‘उपकुलपति हामीले पारदर्शी ढंगले बनायौं । रेक्टर, रजिस्ट्रार, डिन बनाउन राजनीतिक हस्तक्षेप हुँदैन ।’ तर उपकुलपति थापाले शिक्षाध्यक्ष र रजिस्ट्रारको नाम टुंगो लगाउन सकेका छैनन् ।
प्रतिक्रिया 4