+
+
Shares
त्रिवि उपकुलपतिसँग वार्ता :

‘मेरिटको आधारमा उपकुलपति भएको हुँ, राजनीतिक पहुँचमा होइन’

मेरो उद्देश्य त्रिभुवन विश्वविद्यालयलाई मात्र होइन, त्यसमार्फत नेपालको समग्र उच्च शिक्षालाई माथि उठाउने हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १९:५९

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् । केयूका प्राध्यापक थापालाई अब त्रिवि सुधार गर्ने जिम्मा आएको छ ।

नवनियुक्त उपकुलपति थापासँग त्रिवि सुधारका योजनाबारे अनलाइनखबरकर्मी दिनेश गौतमले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

केयूको उपकुलपति भइसक्नु भएको छ । फेरि त्रिविको उपकुलपति बन्नु भयो । यो छलाङ कसरी सम्भव भयो ?

काठमाडौँ विश्वविद्यालयमा काम गर्दा नेपालको उच्च शिक्षाको वास्तविक अवस्था, आवश्यकता र चुनौती बुझ्ने अवसर पाएँ । उपकुलपतिको कार्यकाल सकिँदै गर्दा नेपालको उच्च शिक्षामा अझ व्यापक योगदान दिने समय आएको महसुस भयो ।

आज नेपाली विद्यार्थी संसारभर अध्ययन गरिरहेका छन् । विदेशी विश्वविद्यालयहरू पनि नेपालमा क्याम्पस खोलिरहेका छन् । यस्तो अवस्थामा नेपालको समग्र उच्च शिक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा मैले धेरै गृहकार्य र मन्थन गरेँ । त्यही क्रममा त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद खाली भएकाले आवेदन दिएको थिएँ ।

त्रिभुवन विश्वविद्यालय काठमाडौँ विश्वविद्यालयभन्दा धेरै ठूलो संस्था हो । यसले नेपालको उच्च शिक्षाको ७५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । देशभर यसको पहुँच छ। हजारौं शैक्षिक कार्यक्रम, हजारौं शिक्षक र पाँच लाखभन्दा बढी विद्यार्थी यससँग आबद्ध छन् । विश्वमै यति ठूलो संरचना भएका विश्वविद्यालय कमै छन् ।

मलाई लाग्छ, जहाँ सुधारको आवश्यकता छ, त्यहाँ सही ढंगले काम गर्न सकियो भने उल्लेखनीय परिणाम आउन सक्छ । यही विश्वासका साथ मैले काठमाडौँ विश्वविद्यालयबाट त्रिभुवन विश्वविद्यालयको नेतृत्व लिएको हुँ । मेरो उद्देश्य त्रिभुवन विश्वविद्यालयलाई मात्र होइन, त्यसमार्फत नेपालको समग्र उच्च शिक्षालाई माथि उठाउने हो ।

काठमाडौँ विश्वविद्यालयमा गर्न नसकेको काम त्रिभुवन विश्वविद्यालयबाट पूरा गर्न सक्नु हुन्छ ?

काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको प्रकृति र जिम्मेवारी फरक छन् । त्रिभुवन विश्वविद्यालय स्थापना नै देशभरका नेपालीलाई उच्च शिक्षाको पहुँच दिनका लागि भएको हो । त्यसैले यसको संरचना र पहुँच धेरै व्यापक छ । अब यसलाई अझ गुणस्तरीय बनाउँदै यहाँबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्नुपर्ने आवश्यकता छ । अहिले त्यही ठाउँमा केही अन्तर देखिन्छ ।

काठमाडौँ विश्वविद्यालयमा हामीले धेरै योगदान गरे पनि त्यो सीमित क्षेत्र र सीमित समुदायसम्म मात्र पुग्यो । तर त्रिभुवन विश्वविद्यालयमार्फत देशभरका विद्यार्थीलाई योगदान दिन सकिन्छ । यही कारणले काठमाडौँ विश्वविद्यालयमा काम गर्दा महसुस गरेका केही अधुरा काम त्रिभुवन विश्वविद्यालयमार्फत पूरा गर्न सकिन्छ भन्ने विश्वासका साथ यहाँ आएको हुँ ।

त्रिभुवन विश्वविद्यालयमार्फत नेपाली विद्यार्थीले गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्न सक्ने, बजारसँग जोडिन सक्ने र नेपालको प्राकृतिक स्रोत–साधनको सदुपयोग गरेर आर्थिक गतिविधि बढाउन सक्ने वातावरण बनाउन सकिन्छ ।

त्रिभुवन विश्वविद्यालयमा बन्द, हड्ताल र तालाबन्दी भइरहन्छ । केयूमा तपाईंले यस्तो अवस्था धेरै भोग्नु परेन । अब यी चुनौतीलाई सामना गर्न कठिन होला नि ?

विश्वविद्यालयभित्र विद्यार्थी, शिक्षक वा कर्मचारीका समस्याका कारण कहिलेकाहीँ असहज अवस्था सिर्जना हुन्छ । त्रिभुवन विश्वविद्यालयमा पनि व्यवस्थापनसम्बन्धी चुनौती रहेको कुरा हामीले देखे-सुनेका छौँ । तर नेतृत्वको जिम्मेवारी भनेको ती समस्याको समाधान गर्नु हो ।

विद्यार्थीलाई पढ्ने, शिक्षकलाई पढाउने र कर्मचारीलाई सुरक्षित तथा सम्मानजनक कार्य गर्ने वातावरण उपलब्ध गराउन सकियो भने अहिले देखिएका धेरै समस्या क्रमशः समाधान हुँदै जान्छन् ।

सरकारले पनि विश्वविद्यालयमा राजनीतिक गतिविधि कम गरेर अध्ययन, अध्यापन र अनुसन्धानमा केन्द्रित हुनुपर्ने स्पष्ट दृष्टिकोण अघि सारेको छ । यदि त्यसअनुसार अघि बढ्न सकियो भने विद्यार्थी, शिक्षक, कर्मचारी र समाज सबैको साथ पाइन्छ भन्ने विश्वास छ ।

म यसलाई चुनौतीभन्दा अवसरका रूपमा लिन्छु । सम्बोधन गर्नुपर्ने विषयहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ । राजनीतिक दलहरूले पनि विश्वविद्यालयमा राजनीति नगर्ने कुरा विभिन्न मञ्चबाट व्यक्त गरिरहेका छन् । त्यसैले यसलाई मैले असाध्यै ठूलो चुनौतीका रूपमा लिएको छैन ।

तपाईं लामो समय काठमाडौँ विश्वविद्यालयमा रहनु भयो । त्रिभुवन विश्वविद्यालयमा नयाँ वातावरणमा गाह्रो पर्दैन ?

त्यस्तो लाग्दैन । मेरो प्रारम्भिक उच्च शिक्षा नै त्रिभुवन विश्वविद्यालयबाट भएको हो । मैले आईएस्सी अमृत साइन्स क्याम्पसमा पढेको हुँ। त्यतिबेला पनि वातावरण धेरै सहज थिएन । त्यसैले मैले त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थी जीवनदेखि नै नजिकबाट नियालेको छु । मेरो आधारभूत डिग्री पनि त्रिभुवन विश्वविद्यालयकै हो । पछि स्नातक, स्नातकोत्तर र विद्यावारिधि विदेशमा गरेँ । काठमाडौँ विश्वविद्यालयमा सेवा गरेँ । तर नेपालको उच्च शिक्षाबारे हुने अधिकांश छलफलमा त्रिभुवन विश्वविद्यालयका नेतृत्वसँग निरन्तर सहकार्य हुँदै आएको थियो । डिन, रजिस्ट्रार वा उपकुलपति जुनसुकै भूमिकामा हुँदा पनि हामी समग्र उच्च शिक्षाबारे नियमित छलफल गर्थ्यौं ।

त्रिभुवन विश्वविद्यालयमा मेरा धेरै सहकर्मी र साथीहरू कार्यरत हुनुहुन्छ । हामीले एकअर्कासँग निरन्तर सहकार्य गरेका छौँ । त्यसैले म त्रिभुवन विश्वविद्यालयका लागि पूर्ण रूपमा नयाँ व्यक्ति होइन । मलाई विश्वास छ, पहिलो दिनदेखि नै विश्वविद्यालयको आवश्यकताअनुसार योगदान दिन सक्छु ।

कतिपयले अहिलेको सरकारसँग निकट भएकै कारण तपाईं उपकुलपति नियुक्त हुनुभयो भन्ने प्रश्न उठाइरहेका छन् नि ?

सरकार कुनै पार्टीको मात्र होइन, सम्पूर्ण नेपालीको हो । त्रिभुवन विश्वविद्यालयले आवेदन माग गरेपछि मैले प्रतिस्पर्धामार्फत आवेदन दिएको हुँ । अहिले संसारभरका नेपाली प्राज्ञहरूले पनि आवेदन दिन सक्ने व्यवस्था थियो । म पनि त्यही प्रतिस्पर्धाबाट आएको हुँ।

काठमाडौँ विश्वविद्यालयमा नियुक्त हुँदा पनि विभिन्न राजनीतिक दलका सरकार थिए । त्यसैले कुनै विशेष पार्टीसँग जोडेर हेर्नुभन्दा नेपाल सरकार र त्यसका जिम्मेवार निकायहरूले मप्रति विश्वास गरेर यो जिम्मेवारी दिएका हुन् भन्ने लाग्छ ।

मेरिटकै आधारमा नियुक्त हुनुभएको हो ?

पूर्ण रूपमा मेरिटकै आधारमा हो । कुनै राजनीतिक आबद्धता वा व्यक्तिगत पहुँचका आधारमा होइन । यसको मूल्याङ्कन मैले होइन, समय र प्रणालीले गर्छ ।

सरकारले पहिलो प्राथमिकतामा अध्ययन बिदाको दुरुपयोग गरेर रकम नतिर्ने र विश्वविद्यालयको जग्गा संरक्षण गर्ने विषय उठाएको छ । तपाईंको प्राथमिकता पनि यही हो ?

सरकारको प्राथमिकता मेरो पनि प्राथमिकता हो । यदि शिक्षक वा कर्मचारीले अध्ययन बिदाका क्रममा विश्वविद्यालयसँग सम्झौता गरेर विदेश जानुभएको छ र फर्केर आएपछि सम्झौता पालना गर्नुभएको छैन भने त्यसअनुसार जवाफदेही हुनुपर्छ ।

यो त्रिभुवन विश्वविद्यालयमा मात्र होइन, जुनसुकै संस्थामा लागु हुने कुरा हो । काठमाडौँ विश्वविद्यालयमा पनि यस्ता अनुभव छन् । त्यसैले आवश्यक असुलउपर गर्ने विषय प्राथमिकतामै पर्छ । त्यस्तै, विश्वविद्यालयका सार्वजनिक जग्गाको संरक्षण, खोजी र सदुपयोग पनि मेरो प्रमुख प्राथमिकता हुनेछ ।

सुरुमै तपाईंले एसएलसी पास गरेको लेबोरेटरी स्कुल नै हटाउनु पर्ने भयो है ?

मलाई लाग्छ, यसबारे केही गलत बुझाइ छ । लेबोरेटरी स्कुल निजी विद्यालय होइन । यो नेपाल सरकारले स्थापना गरेको विद्यालय हो । म विद्यार्थी हुँदा यसको व्यवस्थापन समितिको अध्यक्ष त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन हुनुहुन्थ्यो। शिक्षा संकायका विद्यार्थीहरू त्यहाँ अभ्यास शिक्षण गर्न आउनुहुन्थ्यो र हामीलाई पढाउनुहुन्थ्यो । त्यसैले यो सुरुदेखि नै त्रिभुवन विश्वविद्यालयसँग जोडिएको लेबोरेटरी स्कुलका रूपमा स्थापना भएको हो ।

पछिल्लो समय सरकारले आर्थिक दायित्व बहन गर्न नसकेपछि सामाजिक क्षेत्रलाई यसको व्यवस्थापन जिम्मा दिएको हो । मैले पढाउने धेरै शिक्षकहरू पछि शिक्षा मन्त्रालयमा उपसचिव, शाखा अधिकृत र सहसचिवसम्म हुनुभयो । मेरो बुझाइमा लेबोरेटरी स्कुल नेपाल सरकारकै संस्था हो । यसको उद्देश्य विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नु थियो ।

काठमाडौँ विश्वविद्यालयमा हुँदा पनि मैले विश्वविद्यालयसँग आबद्ध विद्यालयको अवधारणालाई जोड दिएको थिएँ । काठमाडौँ विश्वविद्यालय हाईस्कुल त्यसकै उदाहरण हो । विद्यालय शिक्षा र विश्वविद्यालयबीचको सम्बन्ध बलियो हुनुपर्छ भन्ने मेरो विश्वास हो । त्यसैले त्रिभुवन विश्वविद्यालयमा गएपछि लेबोरेटरी स्कुल र विश्वविद्यालयबीचको सम्बन्ध पुनः सुदृढ गर्ने प्रयास गर्नेछु । यो विद्यालय जुन उद्देश्यका साथ स्थापना भएको थियो, त्यसै उद्देश्यमा फर्काउने प्रयास हुनेछ ।

हडपेर बसेकोलाई भत्काउने भनेको छ नि ?

मलाई लाग्दैन, विद्यालय भत्काउने वा अन्यत्र सार्ने कुनै तर्कसंगत विकल्प हो । बरु यसलाई त्रिभुवन विश्वविद्यालयसँग अझ प्रभावकारी रूपमा जोडेर अघि बढाउन सकिन्छ । अहिलेको व्यवस्थापनको विस्तृत अवस्था मैले अध्ययन गर्न बाँकी छ ।

त्रिभुवन विश्वविद्यालय, लेबोरेटरी स्कुल र नेपाल सरकारबीच किन दुरी बढ्यो भन्ने पनि बुझ्नुपर्छ । यसलाई अझ बलियो सामुदायिक संस्था बनाउने, त्रिभुवन विश्वविद्यालयको शैक्षिक संरचनाभित्र प्रभावकारी रूपमा जोड्ने र नेपाल सरकारको सहयोगमा दिगो रूपमा सञ्चालन गर्ने हो । मेरो पहिलो काम लेबोरेटरी स्कुल भत्काउने होइन, यसको मूल उद्देश्य पुनःस्थापित गर्ने हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?