+
+
Shares

भारतीय सुरक्षाकर्मीको बन्दुक निस्तेज पारेकी नुरजहाँ बेगमको माइतीघर यात्रा

नुरजहाँ आएपछि सुस्तामा जे-जस्ता घटना भए ती घटनाले काठमाडौंलाई आश्चर्य तुल्याउन सक्छ । महिला सशक्तीकरणका चर्का नारा र भाषणमा बेलाबखत भिजिरहने काठमाडौंलाई दशकौंअघिको नुरजहाँको कथा अपत्यारिलो लाग्न सक्छ ।

कञ्चन कञ्चन
२०८३ असार १८ गते १९:०४

१८ असार, काठमाडौं । नुरजहाँ बेगमलाई श्रीमान्‌सँगै जीवन कटाउनु थियो । तर बिहारको हावामा उनको मन रमेन । जन्मभूमि सुस्ताको सम्झनाले पछ्याइरह्यो । अन्ततः उनी आफ्नो कर्मघर छाडेर जन्मघर सुस्ता फर्किन् । श्रीमान्‌लाई पनि आफूसँगै सुस्ता ल्याइन् ।

नुरजहाँ आएपछि सुस्तामा जे-जस्ता घटना भए ती घटनाले काठमाडौंलाई आश्चर्य तुल्याउन सक्छ । महिला सशक्तीकरणका चर्का नारा र भाषणमा बेलाबखत भिजिरहने काठमाडौंलाई दशकौंअघिको नुरजहाँको कथा अपत्यारिलो लाग्न सक्छ ।

त्यही अपत्यारिलो लाग्ने कथा बोकेर नुरजहाँ सुस्ताबाट काठमाडौंको माइतीघर मण्डला आइपुगेकी छिन् । ‘सुस्ता बचाऊ अभियान’मा लामो समयदेखि आबद्ध उनी सरकारलाई सुस्ताका सुस्केरा सुनाउन संलग्न भएकी छिन् ।

सुस्तावासीहरूले लामो समयदेखि भोग्नु परेको प्रताडनालाई उनी ‘दुई धारे तरबार’ को संज्ञा दिन्छिन् । भारतीय सुरक्षाकर्मीहरूको आततायी क्रियाकलापबाट त उनीहरूको जीवन कष्टकर भएको छ नै, नेपाल सरकारले पनि उपेक्षा गर्दा घाउमा नुनचुक थपिएको छ ।

‘सीमापारिकाले त हेपे हेपे, आफ्नै सकारले पनि पटकपटक उपेक्षा गर्‍यो । यो त दुई धारे तरबारले रोपेसरह भएन र !,’ उनको अनुहार र आवाज दुवैमा आक्रोश भेटिन्छ ।

नुरजहाँ आफूलाई नुरजहाँ उर्फ लैला भन्न रुचाउँछिन् । सुस्ताको माटोलाई मजनु नामले पुकार्छिन् । माटो र मनको नातालाई यो भन्दा आत्मीय सम्बोधन अर्को सायद नहोला ।

‘सुस्ता मेरो लागि मजनु हो । हामी लैला हौं । हाम्रो सुस्तासँगको सम्बन्ध प्रेमको छ,’ उनी गर्वका साथ भन्छिन् ।

यही प्रेमलाई वियोगान्तमा बदल्ने चेष्टाले ‘सुस्ता बचाऊ अभियान’ काठमाडौं ल्याइपुर्‍याएको हो ।

नुरजहाँ आफ्नो समस्यालाई काठमाडौंमा गरेको आन्दोलन र धर्नासँग मात्र जोडेर हेर्न नहुने बताउँछिन् । इतिहासदेखि आफूले भोगका दु:खहरूलाई छाडेर वर्तमानका मात्र कुरा गर्न नसकिने उनको धारणा छ ।

000

२०३४ सालमा सुस्तामा आएको विनाशकारी बाढीले ४८० घरधुरीलाई विस्थापित गरायो। त्यस समय बाढीपीडितहरू त्रिवेणी, सगुवा मारी, पठेया गला र फर्सैया गरी चार फरक स्थानमा छरिन पुगे।

नागरिकताको अभावमा परेका झन्डै ८० घरपरिवारको बाध्यताको मौका छोपेर सीमापारले अनेकन प्रलोभन देखायो । उनीहरू नेपाली नगरिक भएकोप्रति पनि प्रश्न उठायो । तर २०३८ सालमा तत्कालीन बडाहाकिमसँग अनुमति लिएपछि सुस्तावासीहरू सुस्तामा फर्किएर पुनः बसोबास गर्न थाले।

यद्यपि, सुस्तामाथिको बसोबास निकै कष्टपूर्ण रह्यो। जग्गाको नापजाँचका क्रममा भारतीय पक्षले स्थानीय बासिन्दालाई नेपाली पहिचान त्यागी भारतीय नागरिकता लिन दबाब दियो। भारतीय आधार कार्ड, जग्गाको लालपुर्जा र बैंक सुविधाको प्रलोभन देखाइए पनि नुरजहाँले त्यसलाई ठाडै अस्वीकार गरिन्।

नुरजहाँ बेगमका अनुसार सुस्तामा झन्डै २४-२५ वर्ष अघिदेखि नै भारतीय पक्षबाट अतिक्रमणको प्रयास सुरु भएको थियो। भारतीय सुरक्षाकर्मीहरू ठूला गाडी लिएर गाउँ पस्ने र बालबालिकादेखि वृद्धसम्मलाई पक्राउ गरी जेलमा हाल्ने गर्थे।

त्यस समय पुरुषहरू सुरक्षाकर्मीको डरले पछि हटे पनि महिलाहरू नै ढाल बनेर अघि सरे। नुरजहाँको नेतृत्वमा सङ्गठित महिलाहरूको समूहले भारतीय सुरक्षाकर्मीको प्रतिवाद गर्न थाल्यो। उनीहरूले हतियारधारी प्रहरीको राइफल खोस्नेसम्मको साहसी प्रतिरोध गर्दै गाउँको सुरक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरे।

२०४० सालमा घटेको सशस्त्र भिडन्तको घटनालाई नुरजहाँ पीडादायी रूपमा स्मरण गर्छिन्। मुन्नाको खेतमा ट्र्याक्टर चलिरहेको समयमा भारतीय सुरक्षाकर्मीहरूले अकस्मात खलासीलाई नियन्त्रणमा लिए। त्यसपछि मुन्नाका पितामाथि दुर्व्यवहार सुरु भयो। आफ्नो भूभाग नेपाल भएको भन्दै प्रतिवाद गर्दा उनलाई थप्पड प्रहार गरिएको थियो।

यो घटनाले तत्कालै भीषण झडपको रूप लियो, जसमा गोली चल्दा तीन जनाले ज्यान गुमाए र धेरैको हड्डी भाँचियो। यस्तो अवस्थामा महिलाहरू चुप लागेर बसेनन्।

नुरजहाँका अनुसार स्थानीय महिलाहरू एकबद्ध भएर लाठी र घरेलु हतियारसहित प्रतिकारमा उत्रिए। त्यस भिडन्तमा तीन जना भारतीय प्रहरीको मृत्यु भएको उनको दाबी छ भने एक जना घाइते प्रहरी रातको समयमा नदी तरेर उपचारका लागि पुगेका थिए।

000

नुरजहाँलाई सरकारले अझै धेरै विकास गरिदियोस् भन्ने रत्तिभर चाहना छैन ।

सुस्तामा सडक, बिजुली, सोलर प्लान्ट, विद्यालय र स्वास्थ्य चौकी जस्ता विकासका पूर्वाधारहरू निर्माण भएका छन्। तथापि, यहाँका बासिन्दाको भूमिको सुरक्षा भने अझै पनि सुनिश्चित हुन सकेको छैन।

करिब एक वर्षअघि मात्रै खेतमा एक्लै ट्र्याक्टर चलाइरहेका एक युवकलाई बलजफ्ती नियन्त्रणमा लिई कुटपिट गरिएको घटना उनी स्मरण गर्छिन्। त्यसबेला गाउँलेहरू एकजुट भई ती युवकलाई उद्धार गर्दै आक्रमणकारीहरूलाई जङ्गलतिर लखेटेका थिए।

त्यस्तै, करिब २० दिनअघि पनि खेतमा काम गरिरहेका तीन जना किसानलाई ६ जना सुरक्षाकर्मीले घेरा हाली कागजातको माग गर्दै मानसिक पीडा दिएका थिए। त्यस्तो समयमा नुरजहाँ प्रतिवादको चर्को स्वर बन्न पुगिन् ।

‘यो हाम्रो देशको जमिन हो । यहाँको सरकारले हामीलाई कागज मागेको छैन, दखल दिएको छैन । अरूको माटोमा छिरेर यसरी कागज-प्रमाण खोज्ने अधिकार तिमीहरूलाई कसले दियो ?,’ नुरजहाँ भारतीय सुरक्षाकर्मीहरूलाई प्रतिप्रश्न गर्ने गर्छिन् ।

सुस्ताको सङ्घर्षप्रति राजनीतिक दलहरूको दोहोरो चरित्रप्रति उनी गहिरो असन्तुष्टि व्यक्त गर्छिन् । नुरजहाँका अनुसार कांग्रेस र माओवादी लगायतका विभिन्न दलका नेताहरू सुस्ता भ्रमणमा आउँदाको क्षण सम्झिन्छिन् ।

ती नेताहरू यहाँका बासिन्दाको साहस र बहादुरीको मुक्तकण्ठले प्रशंसा गर्थे। स्थानीयहरूलाई सुस्ताको ढालका रूपमा परिभाषित गर्दै थुप्रै आश्वासन बाँड्थे । मुन्ना खानलाई त ‘जिउँदो शहीद’ को उपाधि दिए ।

तर, काठमाडौं फर्केपछि सबै वाचा बिर्सन्छन्। यहाँसम्म कि, भारतीय पक्षसँगको भिडन्तमा ज्यान गुमाउने नागरिकलाई समेत राज्यले शहीद घोषणा गर्न आवश्यक ठानेन।

000

यसरी सीमा रक्षार्थ अनवरत खटिएका नागरिकहरू भने आफ्नै देशभित्र ‘अनागरिक’ बन्न बाध्य छन् । आफूमाथि नै राष्ट्रियताका प्रश्नहरू तेर्स्याइने गरेका छन् ।

नुरजहाँलाई आफ्नो देशभक्तिप्रति अलिकति पनि सन्देह छैन। तर सुस्ताको देशभक्तिप्रति सन्देह गर्नेहरूले आफ्नो भाष्यप्रति नै सन्देह गर्नुपर्ने उनको बोध छ। उनी मधेशी समुदायप्रति राज्यको दृष्टिकोणमा सुधार आउनुपर्ने धारणा राख्छिन्।

उनका अनुसार, सीमावर्ती क्षेत्रका मधेशी समुदायलाई प्रायः शङ्काको घेरामा राखिन्छ । तर राष्ट्रिय सङ्कट र सीमा विवादको घडीमा गोली खाएर मातृभूमिको रक्षा गर्न अग्रपङ्क्तिमा उभिने पनि यिनै मधेशी समुदायका नागरिक हुन्।

‘काठमाडौंमा धर्ना बस्न आउँदा यहीँका नागरिकहरूले अनेक आक्षेप लगाएका छन् । कसैले भारतीय भने । कसैले नचनिया भने । हाम्रै पहिचानलाई चोट पर्ने शब्दले प्रहार गरे,’ उनी विगतका तीता पलहरू स्मरण गर्छिन् ।

दशकौंदेखिका आफ्ना संघर्षमाथि कसैले १० सेकेन्डमा निर्माण गरेको धारणाले उनलाई असाध्य पोल्ने गर्छ । आफ्नो जीवनभरको आर्जन र आहुतिमाथि कसैले धावा बोल्न खोजेको जस्तो लाग्छ ।

नुरजहाँको अनुभवमा नागरिकताविहिनता केवल कागजको टुक्राको अभाव मात्र नभई जीवनभरको सङ्घर्षको बीज हो। नागरिकता पाउन नसक्दा आफ्नो त जीवन संघर्षमा बित्यो । तर भावी पुस्ता पनि यस्तो संघर्षमा बिताउनु नपरोस् भन्ने सुस्तावासीहरू चाहन्छन् ।

यस समस्याको गम्भीरता औंल्याउँदै नुरजहाँ बेगम भन्छिन्, ‘नागरिकता बिना अब मलखाद मिल्दैन, मल नमिलेपछि खेतमा हाल्ने पनि होइन, अनि बाली कसरी लाग्छ ?’

उनका अनुसार जन्मदर्ताको अभावमा बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने र मलखाद नपाउँदा किसानको खेतीपाती नै चौपट हुने अवस्था छ।

६८ वर्ष पुग्दा पनि नागरिकता नपाएकी नुरजहाँ एक पटकको घटना स्मरण गर्छिन् । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले उनलाई सुस्ताको आन्दोलन छाड्ने सर्तमा नागरिकता दिने प्रस्ताव राखेका थिए।

त्यतिबेला उनले दृढतापूर्वक भनेकी थिइन्, ‘जबसम्म हाम्रा सुस्तावासीलाई नागरिकता प्राप्त हुँदैन, तबसम्म म लड्न छोड्ने छैन।’

आफ्नो सङ्घर्षमा श्रीमान्‌को साथ रहेको नुरजहाँ बताउँछिन्। उनीसँगै उनका श्रीमान् सुस्ता आए । उनले आफ्नो अर्धाङ्गिनीको सामाजिक सक्रियता, आन्दोलनहरूमा संलग्नतालाई कहिले नकारात्मक रूपबाट हेरेनन् । बरु, आफ्नो माटोको लागि लड्न प्रेरित गरिरहे ।

उनी भन्छिन्, ‘श्रीमान्‌ले मलाई सदैव साथ दिनु भएको छ। आफ्नै भूमि र माटोको लागि लडिरहेकी छौ, लड्नुहोस्, एक दिन हाम्रो भूमि अवश्य फर्किने छ भनेर हौसला दिइरहनु भएको छ ।’

मुन्ना खानका छोराहरूले उच्च शिक्षा हासिल गरे पनि सानै उमेरमा छोरालाई भारतीय पक्षले अपहरण गरेको पीडादायी घटना नुरजहाँको मानसपटलमा ताजै छ। सुस्ता बचाउ अभियानमा सुरुवाती दिनमा ३६ जना सक्रिय रहेकोमा धेरैको निधन भइसकेको र पोखराका गोपाल गुरुङले सङ्घर्षकै क्रममा ज्यान गुमाएको उनले भावुक हुँदै बताइन्।

नुरजहाँले वर्तमान सरकारप्रति भने केही आशा राखेकी छिन् । दुई तिहाइ बहुमत प्राप्त सरकारले जनताको मन जितेको हुनाले सुस्ताको पनि आवाज सुन्ने कुरामा उनी विश्वस्त छिन्।

नुरजहाँले नयाँ सरकारसमक्ष नागरिकता, जग्गाको नापनक्सा र लालपुर्जा उपलब्ध गराउनुपर्ने तीन प्रमुख माग राखेकी छिन्।

उनीहरू आफ्नो गाउँका गाई-बाख्रा र कुखुरा बेचेर चन्दा उठाई काठमाडौं आएका हुन् ।

‘हामीलाई कसैको सहयोग छैन । हामी आफ्नै बलबुतामा आएका हौं । सरकारले हाम्रो माग सुन्छ भन्ने आशा छ । हामीसँग राम्रोसँग संवाद गरेर, हाम्रो माग पुरा गरोस्,’ उनी भन्छिन् ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?