१८ असार, काठमाडौं । भारत सरकारले बुधबार मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपलाई एक नोटिस जारी गर्दै प्रस्तावित ‘युजरनेम’ फिचरलाई सरकार स्पष्ट नहुन्जेलसम्म सार्वजनिक नगर्न निर्देशन दिएको छ। साथै, कम्पनीलाई ३ दिनभित्र सान्दर्भिक कागजातसहित यस फिचरको विस्तृत स्पष्टीकरण पेस गर्न पनि भनिएको छ।
फोन नम्बर सेयर नगरीकनै कुराकानी गर्न मिल्ने यो प्रस्तावित फिचरले अरूको नाममा नक्कली आइडी बनाउने, स्पूफिङ, फिसिङ र आर्थिक ठगी जस्ता जोखिम बढाउन सक्ने भन्दै सरकारले यो कदम चालेको जनाएको छ ।
सरकारले ह्वाट्सएपको योजनालाई नजिकबाट नियालिरहेको र यस फिचरका कानुनी प्रभावहरूको अध्ययन गरिरहेको सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन्। यदि यसले गम्भीर जोखिम निम्त्याउने देखिएमा फिचरलाई प्रतिबन्धित गर्ने वा रोक्ने कानुनी विकल्पहरू पनि अधिकारीहरूले खोजिरहेका छन्।
अनलाइन ठगी बढ्न सक्ने सरकारको चिन्ता
ह्वाट्सएप इन्डिया अपरेसनका प्रमुख अनुपालन अधिकारीलाई पठाइएको नोटिसमा सरकारले यो फिचरका कारण अनलाइन ठगी, फिसिङ, ‘डिजिटल अरेस्ट’ स्क्याम र नक्कली एकाउन्टको बिगबिगी हुने घटनाहरू उल्लेख्य रूपमा बढ्न सक्ने चिन्ता व्यक्त गरेको छ। खराब नियत भएका व्यक्तिहरूले पीडितहरूलाई मेसेज गर्न र फसाउन यसको प्रयोग गर्न सक्ने नोटिसमा उल्लेख छ।
यसका साथै, यो फिचरले वास्तविक व्यक्ति वा संस्थाहरूसँग मिल्दोजुल्दो युजरनेम राख्न अनुमति दिने भएकाले व्यक्ति, सार्वजनिक अधिकारी, वित्तीय संस्था र सरकारी निकायहरूको नक्कली पहिचान बनाउन सहज हुने सरकारको चेतावनी छ।
ह्वाट्सएपले के भन्यो ?
मोदी सरकारको चिन्ताप्रति प्रतिक्रिया दिँदै ह्वाट्सएपले प्रस्तावित फिचरको बचाउ गरेको छ र दुरुपयोग रोक्न बहु-स्तरीय सुरक्षा उपायहरू निर्माण गरेको बताएको छ।
ह्वाट्सएपका एक प्रवक्ताले युजरनेम फिचर अझै निर्माणकै क्रममा रहेको र यस वर्षको अन्त्यतिर बिस्तारै लागू गरिने बताएका छन्। ‘हामीले मानिसहरूलाई ह्वाट्सएपमा आफ्नो मनपर्ने युजरनेम रिजर्भ गर्ने विकल्प घोषणा गरेका छौँ। यो फिचर अहिले नै लाइभ भइसकेको छैन। नक्कली पहिचानबाट बचाउन हामीले प्रख्यात व्यक्ति, सरकारी निकाय, सेलिब्रेटी र भेरिफाइड मेटा अकाउन्टहरूको युजरनेम उनीहरूका वास्तविक मालिकले मात्र दाबी गर्न मिल्ने गरी सुरक्षित राखेका छौँ,’ प्रवक्ताले भने।
मेटाले भनेको छ-
-
- ह्वाट्सएप प्रयोग गर्न अझै पनि फोन नम्बर अनिवार्य छ।
- अरूले मेसेज पठाउन तपाईंको ठ्याक्कै युजरनेम थाहा पाउनुपर्नेछ।
- एउटा अकाउन्टले कति जना नयाँ व्यक्तिलाई सम्पर्क गर्न सक्छ भन्ने सीमा तोकिनेछ र पटक-पटक युजरनेम अनुमान गर्न खोज्ने प्रयासलाई ब्लक गरिनेछ।
- नक्कली पहिचान र दुरुपयोगका ढाँचाहरू पहिचान गरी हटाउने प्रणाली लागू गरिनेछ।
‘जब यो फिचर उपलब्ध हुनेछ र कसैले तपाईंलाई पहिलो पटक युजरनेममार्फत मेसेज पठाउनेछ, हामी तपाईंलाई देखाउनेछौँ कि त्यो नयाँ अकाउन्ट हो वा तपाईंको सम्पर्कमा भएको व्यक्ति हो, वा तपाईंहरू बीच कुनै साझा ग्रुप छ, वा उनीहरू अर्कै देशमा छन्। यसबाट तपाईंले मेसेजको जवाफ दिने वा नदिने निर्णय गर्न सक्नुहुनेछ,’ कम्पनीले थपेको छ।
विशेषगरी ग्रुप च्याट र नयाँ व्यक्तिहरूसँगको कुराकानीमा फोन नम्बर सेयर गर्नु नपर्ने भएकाले प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले यो फिचर ल्याउन लागिएको ह्वाट्सएपको भनाइ छ।
विज्ञहरूको चेतावनी
कम्पनीले युजरनेमको ‘अर्ली रिजर्भेसन’ सुरु गरिसकेको छ, तर ग्लोबल रोलआउटको समयसीमा भने तोकेको छैन। यद्यपि, यो प्रस्तावले व्यापक चिन्ता उब्जाएको छ। परीक्षणकै क्रममा धेरै प्रयोगकर्ताहरूले आफ्नो नामका विभिन्न रूपहरू पहिले नै अरूले सुरक्षित गरिसकेको गुनासो गरेका छन्।
मोबिक्विकका सीईओ विपिन प्रीत सिंहले आफ्नो नामका धेरै भेरिएसनहरू अरूले नै लिइसकेको बताए।
साइबर सुरक्षा विशेषज्ञहरू र स्टार्टअप संस्थापकहरूले फोन नम्बरमा आधारित पहिचानबाट प्लेटफर्मद्वारा व्यवस्थित युजरनेममा जाँदा उत्तरदायित्वको महत्त्वपूर्ण तह कमजोर हुने र ठगी बढ्ने चेतावनी दिएका छन्।
टेकआर्कका प्रमुख विश्लेषक तथा संस्थापक फैसल कावुसाले भने, ‘फोन नम्बरले एक प्रकारको प्राकृतिक प्रमाणीकरण दिन्छ जुन युजरनेमले ग्यारेन्टी गर्न सक्दैन। सेलिब्रेटीहरूको नाम सुरक्षित गरिए पनि सर्वसाधारणको नक्कली आइडी बनाउन अझै पनि सजिलो छ। ठगहरूले सजिलैसँग नामको केही अक्षर परिवर्तन गरेर युजरनेम बनाउन सक्छन्, जुन सर्वसाधारणले सजिलै पत्ता लगाउन सक्दैनन्।’
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4