नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो। नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ। सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोटपटक हो। विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको ९२ प्रतिशत हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा हुन्छ।
नेपालमा दैनिक सात जनाको ज्यान लिइरहेको दुर्घटनाको असर मानवीय क्षतिमा सीमित छैन; यसबाट सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रसमेत प्रत्यक्ष रूपमै प्रभावित छन्। कतिपयले दुर्घटनाको सम्पूर्ण दोष चालकलाई दिने गर्छन्। तर यथार्थमा सुरक्षित यात्रामा सडक, सवारीसाधन र प्रयोगकर्ता (चालक, यात्री, पैदलयात्रु) जिम्मेवार हुन्छन्।
यी तीन पक्षसँग जोडिएका व्यक्तिहरूलाई सजग, सचेत र आवश्यक परे कारबाही गर्ने दायित्व राज्यको हो। सुरक्षित यात्राका लागि आवश्यक पर्ने कानुन, त्यसको प्रभावकारी कार्यान्वयन, सुरक्षित सवारी र सडक, जिम्मेवार प्रयोगकर्ता र दुर्घटनापछि प्रभावकारी उपचार तथा उपचारपछि पुनर्स्थापना अनिवार्य छ।
१७ असार, काठमाडौं । १० माघ २०८२ मा भोजपुरकी देवी खत्री ललितपुर बालकुमारीस्थित जेब्रा क्रसबाट सडक पार गर्दै थिइन् । अचानक उनलाई ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा.प्र.०३-०२६ च १७०६ नम्बरको भ्यानले ठक्कर दियो ।
भ्यानको ठक्करले सख्त घाइते खत्रीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइयो । अस्पताल पुर्याइएको दुई घण्टापछि उनलाई मृत घोषणा गरियो । जेब्रा क्रसबाटै सडक पार गर्न खोजेकी ५५ वर्षीय खत्रीको जीवन यात्रामा त्यहीँ ब्रेक लाग्यो ।
जेब्रा क्रसिङमा इहलिला समाप्त हुनेहरूको संख्या सानो छैन । पूर्वगृहसचिव पद्मराज सुवेदी, परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बा, रामकाजी फौजु, रविना चौधरी, तुलसा फुयाल जस्ता धेरै जनाले जेब्रा क्रसबाट बाटो काट्ने क्रममा जीवन गुमाएका छन् ।

सडक दुर्घटनामा परी गत साउनदेखि जेठसम्ममा ५२९ पैदल यात्रुको मृत्यु भयो । विगत पाँच वर्षको आँकडा हेर्दा त्यसरी ज्यान गुमाउने पैदल यात्रु २ हजार ६८३ जना छन् ।
न सवारी साधनमा यात्रारत यात्रु, न सवारी हाँकिरहेका चालक, तर गइरहेको छ हरेक दुई दिनमा तीन जनाकोे ज्यान । सरकारको ध्यान भने सुरक्षित यात्राभन्दा कसरी बढीभन्दा बढी जरिबाना असुल गर्न सकिन्छ भन्नेमा केन्द्रित देखिन्छ ।
सरकारले जेब्रा क्रसिङ बाहेक अन्य ठाउँबाट हिँड्ने पैदल यात्रुलाई ५०० रुपैयाँ जरिबाना गर्न लागेको छ । सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत सडकको निर्धारित बाहेक अन्य स्थानबाट बाटो काट्नेलाई यस्तो जरिबाना गर्न प्रस्ताव गरिएको हो ।
पर्याप्त र उपर्युक्त स्थानमा जेब्रा क्रस, सडक बत्ती, पुटपाथको प्रबन्ध नै नगरी सरकारले पैदल यात्रुलाई जरिबाना तिराउन खोज्नु न्यायोचित नहुने भन्दै आलोचना भइरहेको छ ।
सडक सुरक्षाविद् भगवती सेढाईं नेपालमा पैदल यात्रुमैत्री सडक निर्माण नै नभएको बताउँछिन् ।
अक्सफोर्ड डिक्सनरीअनुसार सडकका फराकिला काला र सेता धर्काहरू पालैपालो राखिएका पैदल यात्रीका लागि सडक पार गर्न तोकिएका स्थान नै जेब्रा क्रसिङ हो । जेब्रा क्रसिङले मानिसहरूले सुरक्षित रूपमा सडक पार गर्न सक्ने स्थान जनाउँछ र त्यहाँ पैदलयात्रीलाई प्राथमिकता दिन सवारी साधनहरू कानुनी रूपमा रोकिनुपर्ने हुन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १३२ मा पनि जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा चालकले आफूले चलाइरहेको सवारी रोकी आवश्यकताअनुसार उचित समयसम्म अड्याई राख्नुपर्ने व्यवस्था छ ।
दैनिक पैदल यात्रुको मृत्यु हुनुको अर्थ हो, सवारी ऐनको यो प्रावधान कार्यान्वयन भएको छैन । विभिन्न अध्ययन, अनुसन्धानहरूले चालकको लापरबाही र चेतनाको अभावलाई पैदल यात्रु असुरक्षित हुने महत्त्वपूर्ण कारण मानेको छ ।
कसैको ज्यान जान सक्छ भन्ने अवस्था देखिँदादेखिँदै अपनाउनु पर्ने सतर्कता नअपनाई गाडी चलाएर पैदल वा अन्य यात्रुको ज्यान गएमा चालकलाई १० वर्षसम्म कैद सजाय र एक लाख रुपैयाँसम्म जरिबाना हुने सवारी तथा यातायात ऐनमा व्यवस्था छ । तर सिन्डिकेटमा आबद्ध सवारी चालकहरूलाई व्यवहारत: यस्तो नियमले छुँदैन । कतिपय चालकले पैदल यात्रुको सुरक्षा महत्त्वपूर्ण छ भन्ने नै ठान्दैनन् ।
कानुनत: जेब्रा क्रसिङ नजिकिँदै गर्दा चालकले सवारीको गति कम गरेर पैदल यात्रु देख्नासाथ रोक्नुपर्छ । तर अधिकांश चालकले सामान्य सडकमा जस्तै जेब्रा क्रसिङमा पनि तीव्र गतिमा गाडी हाँक्ने गरेको अध्ययनहरूको निचोड छ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सडकमा पहिलो अधिकार पैदल यात्रीको हुन्छ भन्ने चेतना निकै कम व्यक्तिमा भएको बताउँछन् । ट्राफिक प्रहरीद्वारा केही वर्ष पहिले आयोजित कार्यक्रममा श्रेष्ठले भनेका थिए, ‘पहिला मानिस जन्मिएका हुन् । त्यसको धेरैपछि गाडी बने । त्यस कारण बाटो काट्दा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ ।’
विदेशतिर पैदल यात्रुले बाटो काट्न खोज्दा गाडीहरू २०-३० फुट अगाडि नै रोकिएको आफूले देखेको ट्राफिकसम्बन्धी जनचेतना फैलाउँदै आएका श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘तर हामीकहाँ जेब्रा क्रसिङमै पनि जथाभावी गाडी हाँकेको देखिन्छ ।’

सवारी तथा यातायात ऐनको दफा १३७ मा पैदल हिँड्ने मानिसले बाटो काट्नु पर्दा जेब्रा क्रसिङ्ग, सब–वे, ओभरहेड ब्रिज वा निर्धारित गरिएको ठाउँबाट मात्र बाटो काट्नु पर्ने प्रावधान छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्ले सुरक्षित यात्राका लागि पैदल यात्रुको पनि उत्तिकै भूमिका हुने बताउँछन् । उनी भन्छन्, ‘डोरी टाँगिएको र कोन राखिएको छ भने मात्र जेनतेन लेन अनुशासन पालना हुन्छ ।’
जेब्रा क्रस प्रयोग गर्दा मोबाइल चलाउने, इयरफोन लगाउने वा दायाँबायाँ नहेरी हिँड्ने, गुडिरहेको गाडीको गति र दुरीको ख्यालै नगरी अचानक जेब्रा क्रसिङमा आइपुग्दा चालकले ब्रेक लगाउन समय नै पाउँदैनन् ।
जेब्रा क्रस ओरालो सडकमा राखिएको छ भने पनि चालकलाई ब्रेक लगाउन गाह्रो पर्ने जानकारहरू बताउँछन् । जस्तो ललितपुरको ग्वार्को, काठमाडौंको कोटेश्वर, शान्तिनगर, सिनामंगल लगायतका सडकमा ओरोलोमै जेब्रा क्रसिङ राखिएका छन् ।
सडक इन्जिनियर आशिष गजुरेल गलत स्थानमा राखिएका जेब्रा क्रसिङले दुर्घटना न्यूनीकरणमा सहयोग नपुर्याउने बताउँछन् । प्र्रतिनिधिसभाका सांसदसमेत रहेका गजुरेल भन्छन्, ‘सडकमा सेतो र कालो रङ पोत्दैमा त्यो जेब्रा क्रसिङ हुँदैन । उचित स्थानमा छैन भने चालकले देख्दैनन् ।’
जेब्रा क्रसिङ आउनु अगाडि र सकिएपछि सडकमा गति अवरोधक (हम्प) राख्नु पर्ने गजुरेलको सुझाव छ । उनी भन्छन्, ‘जेब्रा क्रसिङ र ट्राफिक लाइटलाई सँगसँगै नराखी प्रभावकारी हुँदैन ।’
चालकले रातिमा पनि प्रष्ट देख्न सक्ने गरी दुरुस्त राख्नुपर्ने जेब्रा क्रसहरू अपवाद बाहेक रङ खुइलिएर दिउँसै ठम्याउन नसकिने अवस्थामा पुगेका छन् । पैदल यात्रुको समस्याबारे वेदबहादुर गुरुङले फेसबुकमा लेखेका छन्, ‘अब त जेब्रा क्रस खोज्दाखोज्दै दिन जाने भयो । भएको जेब्रा क्रस पनि मेटिएर नामोनिशान देखिँदैन ।’
पर्याप्त जेब्रा क्रस नभएको अर्का पैदल यात्रु दीपक तुलाधरको गुनासो छ । ‘जेब्रा क्रसबाट बाटो काट्नु राम्रो हो तर जेब्रा क्रस भएका ठाउँमा ट्राफिक लाइट अनिवार्य चलाउनु पर्छ । नभए जेब्रा क्रसबाट मान्छेले बाटो काटेकै समयमा बाइक–कार हुइँक्याइन्छ,’ तुलाधरले लेखेका छन्, ‘रिङरोडतिर कतिपय स्थानमा जेब्रा क्रस र ट्राफिक लाइट नभएर बाटो काट्नै मुश्किल पर्छ ।’

सडक सुरक्षाविद् भगवती सेढाईं सडक निर्माण गर्दा नै पैदल यात्रुलाई ध्यानमा राख्ने नगरिएको बताउँछिन् । सवारी साधनलाई सहज हुने गरी निर्माण गरिएका सडक संरचना र चालकले पैदल यात्रुलाई मान्छे नै होइन जसरी हाँक्दा नागरिकको ज्यान गइरहेको उनको भनाइ छ ।
‘पहिला मान्छे हिँडेको गोरेटोमा पछि सडक बनेको हो । त्यस कारण सडकमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ,’ सेढाईं भन्छिन्, ‘नीति निर्माता, नियामक र चालक त जिम्मेवार हुनै पर्छ, यसमा पैदल यात्रुले पनि ट्राफिक नियम पालना गर्नै पर्छ ।’
पूर्वाधार विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय सडक सुरक्षा नीति, २०८२ को मस्यौदामा सडक यातायातमा हुने दुर्घटना न्यूनीकरण गरी मानव मृत्यु र गम्भीर घाइतेको संख्या सन् २०२१ को तुलनामा २०३० सम्ममा आधा कम गर्ने र २०५० सम्म शून्यमा झार्ने भनिएको छ । पैदल यात्रुको जीवन सुरक्षित नगरी सरकारको यो लक्ष्य पूरा हुँदैन ।
चालकले गति कम गर्ने र पैदलयात्रीले दायाँबायाँ हेरेर गाडी रोकिएको सुनिश्चित भएपछि मात्र बाटो काट्दा जेब्रा क्रसिङ सुरक्षित हुने विज्ञहरू बताउँछन् । त्यसका साथै जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता नदिने चालकलाई कारबाही गर्ने, सडक विभागले उचित स्थानमा स्पष्ट देखिने जेब्रा क्रस र बत्तीको व्यवस्था गर्ने हो भने दिनहुँ अकालमा गइरहेको जीवन जोगाउन सकिन्छ ।
प्रतिक्रिया 4