+
+
Shares
सडक सुरक्षा शृङ्खला–३ :

‘जरिबाना एक लाखै राखे पनि ट्राफिक नियम नमिच्नेलाई फरक पर्दैन’

जरिवाना धेरै भयो, कम भयो भन्ने भन्दा पनि मापसे गरेर सवारी चलाउनुभएन भन्ने हो। तपाईं आफैं मर्नुहुन्छ, तपाईंले सवारी चलाएका कारण अरूले ज्यान गुमाउनुपर्ने अवस्था हुने भएकाले त्यसरी सवारी नचलाउनुस् भन्ने हो। त्यसैगरी उल्लंघन गरेर सवारी नचलाएपछि ५० हजार होस् वा १ लाख त्यसको सरोकार नै हुँदैन नि!

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १ असारबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित एक महिने ट्राफिक सचेतना महाअभियान सञ्चालनमा ल्याएको छ।
  • ट्राफिक प्रमुख एसएसपी सुरेश काफ्लेले सडक दुर्घटना रोक्न प्रविधिमैत्री ट्राफिक व्यवस्थापन र सडक प्रयोगकर्ताको अनुशासन अनिवार्य रहेको उल्लेख गर्नुभयो।
  • उपत्यका ट्राफिक प्रहरीले ध्वनि प्रदूषण गर्ने मोटरसाइकल र ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कारबाहीलाई तीव्रता दिएको छ।

नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो। नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ। सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु भएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोटपटक हो। विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको ९२ प्रतिशत हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा हुन्छ।

नेपालमा दैनिक सात जनाको ज्यान लिइरहेको दुर्घटनाको असर मानवीय क्षतिमा सीमित छैन; यसबाट सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रसमेत प्रत्यक्ष रूपमै प्रभावित छन्। कतिपयले दुर्घटनाको सम्पूर्ण दोष चालकलाई दिने गर्छन्। तर यथार्थमा सुरक्षित यात्रामा सडक, सवारीसाधन र प्रयोगकर्ता (चालक, यात्री, पैदलयात्रु) जिम्मेवार हुन्छन्।

यी तीन पक्षसँग जोडिएका व्यक्तिहरूलाई सजग, सचेत र आवश्यक परे कारबाही गर्ने दायित्व राज्यको हो। सुरक्षित यात्राका लागि आवश्यक पर्ने कानुन, त्यसको प्रभावकारी कार्यान्वयन, सुरक्षित सवारी र सडक, जिम्मेवार प्रयोगकर्ता र दुर्घटनापछि प्रभावकारी उपचार तथा उपचारपछि पुनर्स्थापना अनिवार्य छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले १ असारबाट एक महिने ट्राफिक सचेतना महाअभियान सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन, सवारी दुर्घटनाका घटनाहरू न्यूनीकरण गर्ने उद्देश्य सहित सचेतना महाअभियान चलाइएको छ।

कतिसम्म भने जेब्रा क्रसिङबाटै बाटो काट्दा समेत पैदलयात्रीले ज्यान गुमाउनुपर्ने अवस्था काठमाडौं उपत्यकामा छ। त्यसमाथि सवारीको चाप, ट्राफिक संकेत तथा पूर्वाधारहरू पर्याप्त नहुँदा सवारी अस्तव्यस्त हुँदै आएको छ। उपत्यकामा हुने सवारी चाप, दुर्घटना तथा ट्राफिक नियम उल्लंघन र त्यसको व्यवस्थापन बारे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी सुरेश काफ्लेसँग अनलाइनखबरकर्मी नारायण अधिकारीले गरेको कुराकानीको सम्पादित अंशः   

यहाँले उपत्यका ट्राफिक प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नुभएको भर्खरै दुई साता भएको छ। जिम्मेवारी सम्हाल्नुभन्दा पहिला जे सोच्नुभएको थियो त्यस्तै रहेछ कि फरक रहेछ यहाँको ट्राफिक अवस्था ?

म काठमाडौंमै बस्ने भएकाले यहाँको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या बारे जानकार नै थिएँ। ट्राफिक सहज रूपमा ‘फ्लो’ भएको छैन भन्ने अलि–अलि जानकारी थियो। जिम्मेवारी सम्हालेपछि झन् धेरै जानकारी प्राप्त भएको छ।

यहाँको वास्तविक समस्या पहिचान गरेर त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर अहिले विभिन्न निकायसँग छलफल, कुराकानी भइरहेको छ।

समस्या पहिचान गरेरै १ असारबाट सचेतना महाअभियान चलाउनुभएको होला। यो अभियानमा कस्ता–कस्ता कार्यक्रमहरू हुन्छन् ?

सडक प्रयोगकर्ताहरूमा सामान्य जानकारी नभएकोले अनाहकमा दैनिक रूपमा नेपालभर ८ जनाले ज्यान गुमाइरहेका छन्। जसको कुनै गल्ती हुँदैन, सामान्य सडक प्रयोग गर्न नजानेको कारणले अथवा सडकमा सवारी साधन चलाउने चालकहरूका लापरवाहीले गर्दा ज्यान गइरहेको छ।

सडक नियमको पालना नगरेको कारणले त्यत्रो धनजनको क्षति भइराखेको हुनाले यसलाई रोक्नुपर्छ भन्ने एउटा अभियान अन्तर्गत यो एक महिनासम्म हरेक नागरिकलाई सडक कसरी प्रयोग गर्ने, बाटो कसरी काट्ने, आकाशे पुलको प्रयोग, जेब्रा क्रसिङ कसरी गर्ने ओभर स्पिड गर्नु हुन्छ/हुँदैन भन्ने बारे सचेतना फैलाउने काम गरेका छौं।

लेन क्रस गर्‍यो भने यसबाट हुनसक्ने बेफाइदाहरू के के छन् ? कुन ठाउँमा युटर्न गर्ने, कुन ठाउँमा नगर्ने, ट्राफिक लाइटको प्रयोगलाई अधिकतम रूपमा प्रयोगमा ल्यायो भने यसका फाइदाहरू के के हुन्छन् भन्ने विषयमा चेतना फैलाइरहेका छौं ।

यो अभियान अन्तर्गत हामीले हरेक नेपालीले सडक कसरी प्रयोग गर्नुपर्छ भन्ने जानकारी दिने उद्देश्य हो।

यस्तै अभियान यसभन्दा अगाडि ट्राफिक प्रहरी प्रमुख भएर आउनेहरूले गरिराख्नुहुन्थ्यो। त्यस्तै अभियान अहिले तपाईंले गर्नुभएको छ। अभियान चलाइराख्ने तर ट्राफिक नियम उल्लंघन भने नरोकिने अवस्था छ। तपाईंहरूको अभियान सञ्चालनको मोडालिटी नै कमजोर भएको हो ?

अवश्य पनि पहिले जो जो प्रमुख भएर आउनुभयो उहाँहरूले एकदमै राम्रो प्रयास गर्नुभएको छ। त्यही अवस्थाले गर्दाखेरि अहिले केही कमी आएको छ। डाटा नै हेर्ने हो भने योभन्दा अगाडि त सडक दुर्घटनाबाट मृत्यु र घाइते हुने संख्या अझ भयावह थियो।

त्यो केही घटेकै छ। अझ हामी शून्य बनाउन चाहन्छौं। त्यही शून्य बनाउने अभियान अन्तर्गत अहिले सडकमा जो व्यक्ति निक्लिनुहुन्छ उहाँले सडकमा निक्लेपछि सडकको नियम पालनाबारे सिकाउने काम गरेका छौं।

यस अभियान पश्चात् हरेक नागरिकले सही रूपमा सडक प्रयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। यहाँले प्रश्न गर्नु भए जस्तो नागरिकले ट्राफिक नियम उल्लंघन गर्ने क्रम झन् बढ्यो भन्ने अब चाहिं अवस्था रहँदैन।

हामीले हरेक क्षेत्रका व्यक्तिहरूलाई सहभागी गराएर सचेतना कार्यक्रम गरेका छौं। यसमा अब कलाकारदेखि ‘कन्टेन्ट क्रिएटर’हरूसम्म हुनुहुन्छ। सबैले सुधार गरेर लैजाऔं भन्नुभएको छ। उहाँहरूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि दिनुभएको छ।

काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनको मुख्य समस्या चाहिं के हो ?

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनको प्रकृति हेर्दा अत्यधिक नम्बरमा दुईपांग्रे सवारी छन्। त्यसैगरी चारपांग्रे, तीनपांग्रे साना, ठूला सवारी साधन चलेको देखिन्छ।

ती सवारी जुन समयान्तरमा चलाउनुपर्ने हो त्यो भएको देखिंदैन। रातिको समयमा गाडी चलाउँदा सडक खाली हुने र स्पीड बढी हुँदा दुर्घटना भइहाल्यो भने ज्यानै जाने अवस्था छ।

यसलाई हामीले नियन्त्रण गर्न खोजिरहेका छौं। यसका लागि ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाएका छौं।

अर्कोतर्फ सडकको नियम भनेको जेब्रा क्रसिङबाट मान्छेले बाटो नकाट्दिने, आकाशे पुलबाट नगई तलैबाट बाटो काट्ने गरेको देखिन्छ। यसले गर्दा चालकले कल्पनै नगरेको बेला एक्कासी सडकमा मान्छे देखिंदा पनि दुर्घटना हुने गरेको देखिन्छ।

सवारी सँगसँगै मान्छेले बाटो काटेको देखिन्छ। मैले बाटो काट्न थालेपछि ‘यसले गाडी रोकिहाल्छ नि’ भन्ने पनि देखिन्छ। यो चेतनाको कमी हो।

अर्को समस्या काठमाडौंको रुटमा कुन गाडी कहाँबाट कहाँसम्म चलाउने भन्ने यकिन छैन। अलि भद्रगोल देखिन्छ। हरेक रुटमा चल्ने गाडीहरूको ‘रूट पर्मिट’ हुनुपर्ने हो। तर त्यसको अध्ययन र अनुसन्धान नगरी अलिकति जथाभावी तरिकाले रुट परमिट दिएको कारणले पनि त्यो ट्राफिक जाम भएको देखिन्छ।

अर्को मुख्य समस्या भनेको सडक अनुशासनको पालना हो। जुन एकदमै कम देखिन्छ। जसरी पनि सडकमा आफू अगाडि पुग्नुपर्‍यो भन्ने देखिन्छ। डोरी टाँगिएको र कोन राखिएको छ भने मात्र जेनतेन लेन अनुशासन पालना हुन्छ।

दुर्घटनाको कुरा गर्दा सवारी साधनको अवस्थाको विषय पनि जोडिएर आउँछ। यो पाटो तपाईंहरूले हेर्नुहुन्न ?

यो हामीले भन्दा पनि यातायात व्यवस्था विभागले हेर्ने विषय भयो। हामीसँग सवारीको अवस्था जाँच गर्ने प्रविधिको कमी पनि छ। यद्यपि मिलेसम्म हामीले सवारीको यान्त्रिक अवस्था कस्तो छ भन्ने हेरेका छौं। यसमा हामीले समन्वय गरेर काम गर्छौं।

काठमाडौं उपत्यकामा १५ सय ९० ट्राफिक प्रहरी छन्। सवारीको संख्या २१ लाख हाराहारी छ। सडकको कुल लम्बाइ जम्मा २२ सय ९२ किलोमिटर छ। यति साँघुरो बाटोमा २१ लाख सवारी गुड्ने अनि ट्राफिक व्यवस्थापन गर्न जम्मा १५ सय ९० ट्राफिक प्रहरी हुँदा पनि समस्या भएको हो कि ?

ट्राफिक प्रहरी बढी हुँदैमा ट्राफिक व्यवस्थापन भइहाल्ने चाहिं होइन। अब हामी ‘फेसलेस ट्राफिकिङ’मा जानुपर्छ। हरेक कुरा प्रविधिमैत्री हुनुपर्छ। सीसी क्यामेराले निगरानी गर्ने अथवा अन्य प्रविधि मार्फत निगरानी गर्नुपर्छ।

कन्ट्रोल रुमबाट निगरानी गर्ने र ट्राफिक नियम मिच्नेलाई कारबाही गर्ने प्रक्रियामा जानुपर्छ। अहिले ट्राफिक प्रहरीको उपस्थिति भएको ठाउँमा तत्कालै ट्राफिक व्यवस्थापन गर्न सजिलो चाहिं भएको छ। यसरी भौतिक रूपमा सडकमा खटिंदा ट्राफिक प्रहरी आफैं जोखिममा पनि छन्।

यदि हामीसँग प्रविधि भयो भने त्यो पर्दैन। अहिले हामीसँग प्रविधि त्यति धेरै छैन, म्यानुअल्ली काम गरिरहेका छौं। अहिलेसम्म जसरी ट्राफिक व्यवस्थापन गरेको भए पनि अब भने प्रविधिमैत्री हुनैपर्छ। अब म्यानुअल्ली कन्ट्रोल गरेर सम्भव छैन।

कतिपय अवस्थामा अनाहकमा ट्राफिक प्रहरीले ज्यान गुमाउनु, घाइते हुनु परेको छ। केही ट्राफिक प्रहरी सडकको धुलो, धुवाँले गर्दा दीर्घ रोगबाट पनि ग्रसित हुनुहुन्छ।

यी सबै विषय हेर्दा हामीले प्रविधि मार्फत नै ट्राफिक व्यवस्थापनमा जोड दिनुपर्छ। सडकमा ट्राफिक प्रहरीले ‘सवारी रोक्नुस्’ भन्नुभन्दा पनि नियम उल्लंघन गरेपछि घरमै चिट पुग्ने व्यवस्था मिलाउनुपर्छ। हामी अहिले त्यसैको जोडमा छौं।

ट्राफिक प्रहरीका पनि आफ्नै दुःख र समस्या छन्। दैनिक १२ घण्टासम्म ड्युटीदेखि धुलो–धुवाँको कुराहरू पनि आउने गर्छन्। उपत्यकामा चाहिं ट्राफिक प्रहरीको समस्या के हो ?

काठमाडौंको ट्राफिक प्रहरी एकदमै व्यस्त हुन्छन्। हामी प्रविधि भन्दा पनि बढी ‘म्यानुअल्ली’ चलिरहेका हुन्छौं। ट्राफिक प्रहरीको पहिलो समस्या भनेको आफ्नो जीउ ज्यानै असुरक्षित छ। कुनै पनि बेला सवारीले ठक्कर दिने प्रबल सम्भावना हुन्छ।

पहिलो कुरा आफैं कसरी सुरक्षित भएर काम गर्ने भन्ने नै छ। यसबारे हामीले ब्रिफिङ पनि गरिराखेका हुन्छौं। मैले हरेक ट्राफिक प्रहरीलाई ‘आफू सुरक्षित भएर मात्रै काम गर’ है भनिराखेको हुन्छु।

फिल्डमा खटिंदा धुलो, धुवाँको समस्या त्यस्तै हुन्छ। हामी ध्वनि प्रदूषण र प्रदूषित हावा दुवैको मारमा छौं। धुलो, धुवाँ भएकै कारण हामीले अनिवार्य चस्मा, मास्कको व्यवस्था गरेका छौं।

ड्युटी पूरा गरेर व्यक्तिगत सरसफाइका कुराहरू पनि आउँछन्। दैनिक कपडा धुनुपर्ने अवस्था छ। जेनजी आन्दोलनमा हाम्रो धेरै संरचनाहरू ध्वस्त भएकाले लत्ताकपडाकै समस्या थियो। जुन अहिले भने पूर्ति भएको छ।

यसको मतलब जनशक्ति थोरै हुँदा पनि ट्राफिक व्यवस्थापनमा त्यति धेरै तात्विक असर पर्दैन भन्न खोज्नुभएको हो ?

यदि हामीसँग प्रविधि भयो भने त्यो पर्दैन। अहिले हामीसँग प्रविधि त्यति धेरै छैन, म्यानुअल्ली काम गरिरहेका छौं। अहिलेसम्म जसरी ट्राफिक व्यवस्थापन गरेको भए पनि अब भने प्रविधिमैत्री हुनैपर्छ। अब म्यानुअल्ली कन्ट्रोल गरेर सम्भव छैन।

अघि तपाईंले भन्नुभयो नि, ‘फेसलेस’मा जाँदैछौं भनेर ! त्यसका लागि योजना, प्रविधिहरू हामीसँग के–के छन् ?

अहिले सरकारले पनि प्रविधिमैत्रीमै जोड दिएको छ। यसका लागि केही अध्ययनहरू पनि भएका छन्। विशेषगरी गृहमन्त्रीज्यूले यसमा पहल लिनुभएको छ।

विशेष गरेर हामीले एआई जडित क्यामेराहरू, एनपीआर क्यामेराको प्रयोग शुरु गरेका छौं। एनपीआर क्यामेराले गाडीको नम्बर प्लेट नै रिड गर्छ। त्यस्ता क्यामेराहरू जडान गरेपछि ट्राफिक कन्ट्रोल रुमबाट ट्राफिक प्रहरीले व्यवस्थापन गर्छन्।

यही फेसलेस अभियान अन्तर्गत नै हो अहिले सार्वजनिक बिदाको दिन थापाथलीमा ट्राफिकको उपस्थिति विना नै ट्राफिक व्यवस्थापन गरिएको ?

कुनै चोकमा प्रविधि तयार भइसकेको छ भने त्यस्ता ठाउँहरूको निगरानी कन्ट्रोल रुमबाटै हुन्छ। यो सुविधा सबै ठाउँमा त छैन, काठमाडौंका केही निश्चित ठाउँमा छ। कन्ट्रोल रुमबाट निगरानी गर्ने र नियम उल्लंघन गरेको रहेछ भने अर्को स्टेशनले त्यो चालकलाई कारबाही गर्छ। यसलाई हामीले अहिले परीक्षणको रूपमा हेरेका छौं।

थापाथलीको कुरा गर्दाखेरी केही समयअघि सभामुख सवार गाडीले नियम मिचेको भन्दै चिट काटिएको थियो। यस्ता विषयहरू चर्चामा आउन मात्रै गरिन्छ कि साँच्चै नियम मिच्ने सबैलाई कारबाही हुने गरेको छ ?

यसलाई हामीले के बुझ्न जरुरी छ भने हामी ‘स्टन्ट’ गर्दैनौं। गरिरहनुपर्ने जरुरी पनि छैन। यो आम नागरिकले बुझ्न पनि आवश्यक छ। सडकमा अलिकति मात्रै हेलचेक्रयाईं गर्‍यो भने पनि ज्यान जान्छ। हरेक नागरिकलाई प्रहरी अगाडि भए मात्रै ट्राफिक नियमको पालना गर्नुपर्छ, नभए पर्दैन भन्ने मानसिकता छ, त्यो राम्रो होइन।

अहिले हामीले सीसीटीभी क्यामेराले मोनिटर गरिराखेका हुन्छौं। ट्राफिक छैन भनेर मैले सडक नियमको उल्लंघन गरे भने म कारबाहीको दायरामा आउँछु भन्ने एउटा सन्देश दिनलाई चाहिं हामीले त्यो काम गरेका हौं। यसमा जो पनि पर्न सक्छ, यो/ऊ भन्ने छैन।

जसले सडक नियमको पालना गर्नुहुन्न उहाँ कारबाहीको दायरामा आउनुहुन्छ। जसले सडक नियम पालना गर्नुहुन्छ उहाँलाई त कुनै कानूनी रूपमा कुनै कारबाही गर्ने भन्ने विषय नै रहँदैन।

पछिल्लो समय मादक पदार्थ सेवनबाट विस्तारै लापसे (लागूपदार्थ सेवन) गरेर सवारी चलाउने क्रम बढेको हो ? अझ यस्तो समस्या स्कूल बस चालकमा धेरै रहेको भन्ने पनि सुनिन्छ नि !

मापसे, लापसे एउटा सामाजिक रोगकै रूपमा अघि बढेको देखिन्छ। हामीले विशेष गरेर लामो दूरीका सवारी चलाउने, एम्बुलेन्स, फोहोर बोक्ने गाडीदेखि स्कूल बसका चालकहरू लक्षित लापसे चेकिङ गरेका छौं। दुई सातामै १०/१५ जना स्कूल बस चालक लापसेको कारबाहीमा परेका छन्।

ट्राफिक व्यवस्थापन सँगसँगै ट्राफिक प्रहरीको व्यवहारको विषय पनि आउने गरेको छ। ट्राफिक प्रहरीबाटै चालकमाथि दुर्व्यवहार, कुटपिट गरेका तस्बिर, भिडियोहरू सञ्जालमा भाइरल बन्ने गरेका छन्। ट्राफिकले आम सर्वसाधारण तथा चालक, यात्रुसँग कस्तो व्यवहार गर्ने भनेर तपाईंहरूले प्रशिक्षण चाहिं गराउनुहुन्न ?

हामी यसबाट सुध्रनै पर्छ। सडकमा वास्तवमा के भएको हो हामीलाई थाहा हुँदैन। तर बाहिर आउँदा केही दुर्व्यवहार भएको, विवाद भएको देखिन्छ।

हाम्रो काम भनेको सवारी साधनको सहज व्यवस्थापन गर्ने हो। अबका दिनमा सर्वसाधारण तथा सडक प्रयोगकर्ता र ट्राफिक प्रहरी बीच जुन टकराव थियो, त्यो हुँदैन। त्यसका लागि हामीले एउटा आचारसंहिता पनि जारी गरेका छौं।

जसमा ट्राफिक प्रहरीमाथि आक्षेप आउने गरेको हात मिलाउने नाममा अनधिकृत फाइदा लिने गरेको भन्ने छ। अब त्यो हुँदैन। ट्राफिक प्रहरीले कुनै पनि सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउँदैन। टाढैबाट नमस्कार र त्यहींबाट कुराकानी गर्ने मात्रै हुन्छ। विशेषगरी अनावश्यक प्रश्न पनि हामी गर्दैनौं। त्यो सर्कुलर भएको छ।

कामसँग सरोकार राख्ने मात्र प्रश्न गर्ने र सकभर कम बोल्ने र सभ्य र शिष्ट व्यवहार गर्ने ट्राफिक प्रहरीको दायित्व हो र त्यही अनुसार अहिले ट्राफिक प्रहरीले काम गरिराखेको छ।

अहिले निकै चर्चामा रहेको विषय नियम उल्लंघन गर्नेलाई ५० हजारसम्म जरिवाना भन्ने छ। तपाईं आफैंले पनि केही दिनअघि संसदीय समितिमा गएर जरिवाना बढाउनुपर्ने धारणा राख्नुभएको थियो। जरिवाना कम भएरै नियम उल्लंघन भएको हो ?

अवश्य पनि, यसमा हामीले के बुझ्न जरुरी छ भने अहिले सडकमा ट्राफिक नियमको उल्लंघन कसरी भइरहेको छ भन्दा रातो बत्तीमा सवारी कुदाउने, लेन अनुशासन पालना नगर्ने, जेब्रा क्रसिङमा नियम पालना नगर्ने, जथाभावी ओभरटेक गरेको देखिन्छ।

अर्को ओभर स्पीडको कुरा पनि छ। शहरमा निश्चित गति भन्दा बढी चलाउन पाइँदैन। तर यो नियम उल्लंघन भइरहेको हुन्छ। यसको उपाय के हो भन्दा मैले नियम मिचें भने महँगो पर्छ भन्ने खालको चेतना अब हरेक नागरिकमा हुनुपर्छ। मैले नियम मिचें भने जरिवाना महँगो पर्छ भन्ने भयो भने अनुशासित भएर चलाउने मानसिकता बढ्छ। त्यसका लागि पनि जरिवाना हाई हुनुपर्छ।

जरिवाना धेरै भयो, कम भयो भन्ने भन्दा पनि मापसे गरेर सवारी चलाउनुभएन भन्ने हो। तपाईं आफैं मर्नुहुन्छ, तपाईंले सवारी चलाएका कारण अरूले ज्यान गुमाउनुपर्ने अवस्था हुने भएकाले त्यसरी सवारी नचलाउनुस् भन्ने हो। त्यसैगरी उल्लंघन गरेर सवारी नचलाएपछि ५० हजार होस् वा १ लाख त्यसको सरोकार नै हुँदैन नि!

एउटा चालकले ट्याक्सी भाडामा लिएर चलाएको हुन्छ। त्यसैबाट पारिवारिक गुजारा चलाएको हुन्छ। झुक्किएर ट्राफिक नियम उल्लंघन भइहाल्यो रे ! उसले ५ हजारदेखि ५० हजारसम्म जरिवाना तिर्नुपर्ने अवस्था आयो भने त्यो व्यक्ति यो पेशामा टिक्न सक्ला ?

यो एकदमै गलत बुझाइ हो। हाम्रो मुख्य सरोकार यदि तपाईं सडकमा निस्कनुभयो भने त्यतिबेला मैले के नियम पालना गर्ने भन्ने जानेको हुनुपर्छ भन्ने हो। चालकले जेब्रा क्रसिङमै गाडी रोकिदिन्छ भने कसरी पैदलयात्रीले बाटो काट्ने ? पैदलयात्रीले पनि ओभरहेड ब्रिज हुँदाहुँदै सडकबाट बाटो काट्नुहुन्छ।

हो यही मानसिकता परिवर्तन गर्नका लागि पनि जरिवाना धेरै हुनुपर्छ भन्ने हो। जुन चालक नियम मिच्नुहुँदैन उहाँहरू जरिवाना जति भए पनि डराउनुपर्दैन।

जरिवाना बढाउने कुरा गरिरहँदा हाम्रा पूर्वाधार, ट्राफिक संकेतहरू त्यो खालका छन् त भन्ने पनि प्रश्न उठ्छ। सडकको लेन नै नदेखिने अवस्थामा हुन्छ, अनि लेन मिच्यो भन्दै चिट काट्ने, कहिले ट्राफिक लाइट नै नबल्ने अवस्था पनि छ। यो पाटोलाई चाहिं विचार गर्नुपर्दैन ?

जरिवाना कति लगाउने भन्ने चाहिं राज्यको कुरा भयो। हामी त कार्यान्वयन गर्ने हो। तर हामीले देख्दा व्यवस्थापन गर्ने हिसाबमा ट्राफिक नियमलाई चाहिं कसरी अक्षरशः पालन गराउने भन्ने विषयको एउटा पाटो चाहिं जरिवाना पनि हो।

चालकले जेब्रा क्रसिङमै गाडी रोक्यो भने कसरी पैदलयात्रीले बाटो काट्ने ? पैदलयात्रीले पनि ओभरहेड ब्रिज हुँदाहुँदै सडकबाट बाटो काट्नुहुन्छ।

जसले सडकको नियम तोड्छ अथवा सडकको नियम विपरीत काम गर्छ त्यसलाई लाग्ने विषय भयो। पूर्वाधारको विषयमा जहाँ जस्तो जे संरचना छ त्यस हिसाबले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ।

यो सडकमा म मात्रै छु भन्ने कसैले बुझ्न भएन। लाखौं मान्छेले एकै पटक सडक प्रयोग गरिरहेका हुन्छन्। मैले अनुशासित र संयमित भएर सडक प्रयोग गर्नुपर्छ भन्ने खालको मानसिकताको विकास हुनुपर्छ।

अहिले न्यूनतम ५०० जरिवाना छ। पहिला २००, त्यो भन्दा पहिला ५० रुपैयाँ थियो। अहिले ५० हजारसम्मको कुरा आएको छ। ५० हजार रुपैयाँ जरिवाना हुँदा पनि नियम उल्लंघन भयो भने फेरि बढाउँदै लैजाने ?

जरिवाना राख्ने अधिकार हामीसँग छैन। तर बाहिरको ट्राफिक नियम हेरियो भने, यो गम्भीर अपराध हो। तपाईंको लापरवाहीले कसैको जीवन जान्छ भने ज्यान भन्दा ठूलो मूल्य अरू हुँदैन।

मान्छेको जीवन पैसासँग तुलना नहुने भएकाले सडकमा आइसकेपछि सडक नियम पालना गर्नै पर्ने दायित्व हुन्छ।

सडक त चालकको मात्रै होइन, पैदल यात्रीको पनि हो। काठमाडौं उपत्यकामै वर्षेनि ५०० भन्दा बढी पैदलयात्रीको मृत्यु भएको देखिन्छ। यो डरलाग्दो अवस्थाको न्यूनीकरणका लागि तपाईंहरूसँग के योजना छन् ?

सडकमा निस्केका निर्दोष व्यक्तिहरूले अरू कसैको लापरवाहीले ज्यान गुमाइरहेका छन्। कहीं चालकको गल्ती होला, कहीं यात्रुको गल्ती होला। सबैभन्दा दुःखद् घटना त जेब्रा क्रसिङबाट बाटो काट्दा समेत ज्यान गएको अवस्था छ।

यसमा सबै क्षेत्रका व्यक्तिहरूले सडक नियम पालना गर्नुपर्ने हुन्छ। यो कुरा हामीले एक महिने अभियानमा पनि समेटेका छौं।

काठमाडौं उपत्यकामा चर्को आवाजमा मोटरसाइकल पड्काउँदै कुदाउने प्रवृत्ति बढे जस्तो देखिन्छ। यसप्रति तपाईंहरू उदासीन बन्नुभएको हो ?

त्यस्तो होइन, हामीले कारबाही गरिरहेका छौं। अहिले ट्राफिकको १०३ नम्बरमा आउने गुनासो मध्ये सबैभन्दा बढी यसैको छ। मोटरसाइकल पड्काएर सुत्नै सकिएन, बिरामी, बच्चाहरू तर्सिए, नियन्त्रणमा लिनु पर्‍यो भन्ने गुनासाहरू आउने गरेका छन्।

यसलाई तुरुन्तै सम्बोधन नभएको जस्तो चाहिं देखिंदो रहेछ। योभन्दा अगाडि पनि बेलाबेलामा यस्ता मोडिफाई (स्वरुप परिवर्तन) गरिएका बाइकहरू समातेर कारबाही हुने गरेका थिए।

आवाजसँग सम्बन्धित जति पनि मोडिफाई गरेको बाइकहरू छन्, डबल प्लक राख्ने र त्यो आगो बाल्दै विशेषगरी साइलेन्सरको जाली नै निकालेर एक किसिमको ध्वनि आतंक जस्तो भएको देखिन्छ। अहिले पनि यस्ता प्रकृतिका करिब डेढ सय मोटरसाइकल हामीले नियन्त्रणमा लिएका छौं।

यसरी मोटरसाइकल ठूलो आवाजमा चलाएको (पड्काएको) सबैभन्दा बढी गुनासो स्कुटर चलाउने महिलाबाट आउने गरेको छ। स्कुटरको नजिक आएपछि पड्काउने र तर्सिएर स्कुटर नै लडेको अवस्था पनि छ। यस्तालाई हामीले अहिले प्राथमिकतामा राखेर कारबाही चलाएका छौं।

अन्त्यमा ट्राफिक प्रहरी प्रमुखको रूपमा आम नागरिक, पैदल यात्री, चालक, सहचालकलाई केही भन्न चाहनुहुन्छ ?

उहाँहरू सबैलाई मेरो विशेष अनुरोध छ, सडक सबैको साझा हो। यो सडक प्रयोग गर्ने भनेको मैले गर्ने अर्कोले नगर्ने भन्ने हुँदैन। सडक प्रयोगका पनि केही नियमहरू हुन्छन्। त्यो नियमहरू तपाईंहरू सबैले पालन गर्दिनुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु।

म आम नागरिकहरूलाई के आग्रह गर्न चाहन्छु भने हामी बाटोमा हिंड्दा कसरी हिंडिराखेका छौं भन्ने कुराको पनि ख्याल गरौं। हामी जहिले पनि बायाँतर्फ (लेफ्ट लाइन)बाट हिंडिराखेका हुन्छौं। जबकि हाम्रो देशमा मोटरसाइकल अथवा सवारी साधनहरू लेफ्टमै चढ्छौं। त्यो पछाडिबाट कुन मोटरसाइकल अथवा कुन गाडी आएको छ भन्ने कुरा हाम्रो आँखा पछाडि त हुँदैन। हामी त्यही साइडमा हिंड्छौं जुन गलत हो। जहिले पनि हामी हिंड्दा बायाँतर्फ (राइट साइड)बाट हिंड्नुपर्छ। जबकि अगाडिबाट आएको सवारी साधन र हाम्रो आँखाको आई–कन्ट्याक्ट हुनुपर्छ।

सडक सुरक्षा शृङ्खला-१

सडक सुरक्षा शृङ्खला-२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?