+
+
Shares

के हो भ्यानिस मोड ? किन यो प्रयोग गरिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेटाले सामाजिक सञ्जालमा गोपनीयता कायम राख्न भ्यानिस मोडको सुविधा उपलब्ध गराएको छ।

हाम्रा हरेक डिजिटल फुटप्रिन्ट अथवा भनौं इन्टरनेटमा गरिएका क्रियाकलापहरू कतै न कतै रेकर्ड भइरहेका हुन्छन् । साथीभाइसँग गरिएको सामान्य ख्यालठट्टादेखि मध्यरातमा कसैसँग गरिएका लामा कुराकानीहरू च्याट हिस्ट्रीका रूपमा वर्षौंसम्म सुरक्षित रहन सक्छन् ।

तर, के सधैं सबै कुराको ‘रेकर्ड’ राखिरहनु आवश्यक छ ?

पक्कै पनि छैन । कतिपय कुराहरू हावा जस्तै हुनुपर्छ – आए, छोए र बिलाएर गए । इन्टरनेटको यही स्थायी प्रवृत्तिका बीच ‘अस्थायी’ र निजी कुराकानीको स्वाद दिन आएको एउटा फिचर हो – भ्यानिस मोड ।

के हो भ्यानिस मोड ?

सामान्य भाषामा भन्दा भ्यानिस मोड सामाजिक सञ्जाल (विशेष गरी मेटाका प्लेटफर्महरू) मा उपलब्ध एउटा ‘अस्थायी च्याटिङ फिचर’ हो । यस मोडलाई अन गरेर कसैसँग च्याट गर्दा, तपाईंले पठाएका टेक्स्ट, फोटो, भिडियो वा भ्वाइस नोटहरू अर्को व्यक्तिले हेरेर च्याट बक्स बन्द गर्ने बित्तिकै स्वतः मेटिन्छन् ।

यसको सबैभन्दा रोचक पक्ष के भने यदि भ्यानिस मोडमा कुराकानी भइरहेको बेला कसैले स्क्रिनसट वा स्क्रिन रेकर्डिङ गर्न खोज्यो भने त्यसको तत्कालै ‘नोटिफिकेसन’ अर्को प्रयोगकर्तालाई जान्छ । यसले गर्दा प्रयोगकर्ताको गोपनीयतामा थप सुरक्षा थपिन्छ ।

कहिले सुरु भयो यो फिचर ?

मेतत्कालीन फेसबुकले सन् २०२० को नोभेम्बर तिर पहिलो पटक आफ्नो म्यासेन्जर र इन्स्टाग्राममा यो फिचर आधिकारिक रूपमा रोलआउट गरेको थियो ।

तर, डिजिटल स्पेसमा म्यासेज गायब हुने अवधारणा आफैंमा बिलकुलै नयाँ भने थिएन । यसको श्रेय मुख्यतः स्न्यापच्याटलाई जान्छ । यो सोसलले सन् २०११ मै ‘डिसएपियरिङ म्यासेज’ (हेरेपछि आफैं मेटिने) ल्याएको थियो । स्न्यापच्याटको यही लोकप्रियता र युवापुस्ताको आकर्षणलाई ध्यानमा राख्दै मेटाले आफ्नो इकोसिस्टममा ‘भ्यानिस मोड’ भित्र्याएको मात्र हो ।

अहिले यो इन्स्टाग्राम, मेसेन्जर (फेसबुकको इनबिल्ट मेसेजिङ एपमा भने छैन), स्न्यापच्याटमा यो फिचर उपलब्ध छ । तर, अहिलेसम्म टिकटकमा भने यो फिचर आएको छैन ।

किन आवश्यक छ भ्यानिस मोड ?

इन्टरनेटमा मान्छेहरू सुरक्षा र स्वतन्त्रता दुवै चाहन्छन् । ठूला सामाजिक सञ्जाल कम्पनीहरूले भ्यानिस मोड ल्याउनुमा यी कुरा नै प्रमुख कारण बनेर आउँछन् ।

डिजिटल फुटप्रिन्टको डरबाट मुक्ति

इन्टरनेटमा बोलिएका हरेक कुराहरू सुरक्षित हुँदा भविष्यमा त्यसको दुरुपयोग हुन सक्ने डर हुन्छ । भ्यानिस मोडले प्रयोगकर्तालाई ‘मैले के लेखेँ’ भनेर भोलि पछुताउनु नपर्ने स्वतन्त्रता दिन्छ ।

अनौपचारिक कुराकानीको स्पेस

हरेक कुराकानी गम्भीर वा राखिराख्नु योग्य हुँदैनन् । कहिलेकाहीं मान्छेहरू बिना कुनै उद्देश्य, बिना कुनै रेकर्ड हल्का र अनौपचारिक कुराकानी गर्न चाहन्छन् । त्यसका लागि यो मोड उत्तम हुन्छ ।

उच्च गोपनीयता

कुनै पनि संवेदनशील जानकारी, जस्तै: व्यक्तिगत फोटो, ठेगाना, वा तत्कालका लागि सेयर गर्नुपर्ने कुनै गोप्य कुराहरू पठाउन यो सुरक्षित माध्यम हुन्छ । किनकि आफ्नो च्याटको कसैले स्क्रिनसट लिन सक्दैनन् ।

डिजिटल संवादमा सबैभन्दा ठूलो धोका भनेको ‘स्क्रिनसट लीक’ हुँदै आइरहेको छ । भ्यानिस मोडले स्क्रिनसट लिनासाथ जानकारी दिने हुनाले प्रयोगकर्ताहरू सचेत हुन पाउँछन् ।

त्यस्तै च्याट हिस्ट्री थुप्रिएर बस्दैन । जसले गर्दा एप वा डिभाइसको स्टोरेजमा लोड पर्दैन ।

यसमा केकस्ता च्याटहरू गर्ने ?

यो मोडमा माथिका कुराहरू नै च्याट गर्ने हो । तर प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता र मुडअनुसार फरक-फरक तरिकाले गर्ने गरेको पाइन्छ ।

गसिप

साथीभाइबीच हुने सामान्य जिस्क्याइँ, फन्नी मिम्स वा अरू कसैको बारेमा गरिने गसिपहरू यो मोड अन गरेर धेरैले गर्छन् । यसले गर्दा पछि कसैले प्रमाणका रूपमा नदेखाओस् भन्ने चाहना हुन्छ ।

निजी कुराकानी

प्रेमी-प्रेमिकाहरू प्रायः आफ्ना नितान्त व्यक्तिगत भावना, प्रेमका कुराहरू वा ‘फ्लर्टिङ’ का लागि यो मोड प्रयोग गर्छन् । कतिपयले आफ्ना निजी तस्बिरहरू सेयर गर्न पनि यसको सहारा लिन्छन् ।

अस्थायी सूचना

बैंकिङ ट्रान्ज्याक्सनका साना विवरण, पासवर्ड, ओटीपी, लोकेसन जस्ता अस्याथी तर संवेदशील जानकारीहरू च्याटमा रहिरहनु असुरक्षित हुन सक्छ । यस्तो बेला यो मोड प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?