+
+
Shares

चन्द्रागिरि–थानकोट एक फन्को लगाउँदा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन विकास व्यवसायी संघ र चन्द्रागिरि नगरपालिका–४ को आयोजनामा चन्द्रागिरि क्षेत्रको ऐतिहासिक र धार्मिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

१६ असार, काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघ र चन्द्रागिरि नगरपालिका– ४ को संयुक्त आयोजनामा ‘प्राचीन व्यापारिक मार्ग तथा प्रमुख सम्पदाको अवलोकन एवं प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ । गत शनिबार कार्यक्रम आयोजना गरिएको थियो ।

यस कार्यक्रमले चन्द्रागिरि–थानकोट क्षेत्रको ऐतिहासिक व्यापारिक मार्ग, धार्मिक सम्पदा, प्राकृतिक पदमार्ग तथा स्थानीय संस्कृतिको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासका सम्भावनालाई उजागर गरेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, हनुमानढोका दरबार सङ्ग्रहालयसहित पर्यटनसँग सम्बन्धित विभिन्न संघ–संस्था, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता, सञ्चारकर्मी आदिको सहभागिता रहेको थियो ।

ऐतिहासिक पदमार्ग हुँदै सम्पदाको अवलोकन

कार्यक्रमको सुरू थानकोटस्थित ऐतिहासिक चुनदेवी मन्दिर परिसरबाट गरिएको थियो । सहभागीहरूले प्राचीन व्यापारिक मार्ग हुँदै देउराली भालेश्वर महादेव मन्दिरको अवलोकन गर्दै अन्तिम गन्तव्यमा आदिनारायण मन्दिर परिसर पुगेका थिए ।

स्थानीय सम्पदालाई पर्यटनसँग जोड्ने प्रतिबद्धता

उद्‍घाटन समारोहमा चन्द्रागिरि नगरपालिका–४ का अध्यक्ष श्री कृष्णप्रसाद खड्गीले कार्यक्रमको उद्देश्य प्राचीन व्यापारिक मार्ग, धार्मिक सम्पदा तथा प्राकृतिक पदमार्गलाई पर्यटनसँग जोडेर स्थानीय आर्थिक समृद्धिमा योगदान पुर्‍याउनु रहेको बताए ।

उनले वडा नं. ४ मा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको विस्तृत जानकारी प्रस्तुत गरेका थिए । तिनको संरक्षण र व्यवस्थित प्रवर्द्धनको आवश्यकता रहेको वडाअध्यक्ष खड्गीले बताए ।

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालको प्राचीन सभ्यता, संस्कृति र सम्पदालाई आधुनिक माध्यमबाट विश्वसामु प्रस्तुत गर्न भावनात्मक र प्रामाणिक डिजिटल स्टोरवटेलिङ आवश्यक रहेको बताए ।

गन्तव्यको वास्तविक कथा, स्थानीय समुदायका अनुभव र सांस्कृतिक मौलिकतालाई समेटेर सिर्जना गरिने सामग्रीले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक पहिचान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त शर्माले व्यक्त गरे।

चुनदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ईश्वर लामाले चन्द्रागिरि क्षेत्रका पदमार्गहरू अझै पनि पर्याप्त प्रचार–प्रसार हुन नसकेको उल्लेख गरे ।

सम्बन्धित पर्यटन संघ–संस्था र सरोकारवालालाई यसको प्रभावकारी प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न आग्रह लामाले आग्रह गरे ।

अनुसन्धान, शिक्षा र सम्पदा संरक्षणमा सहकार्य

नेपाल पर्यटन विकास व्यवसायी संघका संस्थापक अध्यक्षले संस्थाको परिचय दिँदै यस्तो कार्यक्रम आयोजना गर्न पाएकोमा वडा नं. ४ का जनप्रतिनिधि तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे ।

संघका अध्यक्ष श्री अच्युत सिग्देलले चन्द्रागिरिको प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक सम्पदा तथा प्राचीन व्यापारिक मार्गले यस क्षेत्रलाई हाइकिङ, सांस्कृतिक पर्यटन, सम्पदा पर्यटन तथा अनुसन्धान पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त गन्तव्य बनाएको बताए ।

संस्थाका धेरै सदस्यहरू एमफिल/पीएचडी तहमा पर्यटन, संस्कृति र सम्पदा सम्बन्धी अनुसन्धानमा संलग्न रहेको सिग्देलले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई हनुमानढोका दरबार क्षेत्रका मूर्त तथा अमूर्त सम्पदाको शैक्षिक अवलोकन भ्रमण सञ्चालन गर्न संघ सहयोग गर्न तयार रहेको उनले बताए ।

उद्‍घाटन कार्यक्रमपछि उकालो लाग्दै पदयात्रा सुरु भएको थियो । सहभागीहरूले जंगलको प्राकृतिक सौन्दर्य, चराचुरुङ्गीको चिरबिर र‍ हरियालीको अवलोकन गरे । करिब २ घण्टा ३० मिनेटको पदयात्रापछि समूह सफलतापूर्वक केबलकार स्टेशन पुगेको थियो।

अन्तर्क्रियामा पर्यटन विकासका विविध आयाम

चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले चन्द्रागिरि क्षेत्रको पर्यटन विकासका सम्भावना, चुनौती र अवसरबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।

चन्द्रागिरि हिल्सका निमित्त महाप्रबन्धक प्रबिन्द्र सिंहले केबलकार सेवा, रिसोर्टका आवासीय सुविधा, नयाँ पर्यटन पूर्वाधार, आतिथ्य सेवा तथा उच्चस्तरीय पर्यटकीय अनुभवबारे विस्तृत प्रस्तुतीकरण दिए । प्रस्तुतिपछि सहभागी पर्यटन व्यवसायीहरूले वेलनेस टुरिजम, दीर्घकालीन गन्तव्य व्यवस्थापन तथा नयाँ पर्यटन उत्पादनबारे जिज्ञासा राखेका थिए ।

संघका सल्लाहकार प्रा. डा. सोमप्रसाद खतिवडाले थानकोट क्षेत्र नेपालको प्राचीन व्यापारिक मार्गको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गरे । यस मार्गलाई इतिहास, संस्कृति र पर्यटनसँग एकीकृत गरी स्थानीय आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा खतिवडाले जोड दिए । उनले चित्लाङ क्षेत्रमा प्राप्त अंशुवर्माका अभिलेखले यस मार्गको ऐतिहासिक व्यापारिक महत्व पुष्टि गर्ने तथ्यसमेत प्रस्तुत गरेका थिए ।

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक रोहिणी खनालले डिजिटल मार्केटिङ, डिजिटल स्टोरिटेलिङ तथा सिर्जनात्मक सामग्री निर्माणमार्फत चन्द्रागिरि पदमार्गको प्रभावकारी प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्यटन बोर्डले आवश्यक प्राविधिक तथा प्रवर्द्धनात्मक सहयोग गर्न तयार रहेको बताए ।

टुरगनका अध्यक्ष थानेश्वर देवकोटाले गन्तव्यको दीर्घकालीन विकासका लागि सामान्य प्रचार–प्रसारभन्दा गन्तव्यको ब्रान्डिङलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख काजीमान प्याकुरेलले चन्द्रागिरि क्षेत्रको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै नगरस्तरीय सङ्ग्रहालय स्थापना गर्न सुझाव दिए ।

कार्यक्रमका क्रममा स्थानीय संस्कृति अनुसन्धानकर्ता सागर श्रेष्ठले वडा नं. ४ अन्तर्गत रहेका ढुंगेधारा, आदिनारायण मन्दिर, महालक्ष्मी मन्दिर परिसर लगायतका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाबारे विस्तृत जानकारी दिए । तिनको संरक्षण, दस्तावेजीकरण तथा पर्यटनसँगको अन्तरसम्बन्धबारे उनले सहभागीहरूलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?