मीनभवनस्थित सिभिल अस्पतालको त्यो सघन उपचार कक्ष, जहाँ हावामा स्पिरिटको कडा राग र निराशाको ओसिलो गन्ध तैरिरहेको थियो । पर कुनामा राखिएको यान्त्रिक मनिटरले ‘बिप… बिप… बिप…’ को एउटा चिसो र निर्मम लयमा मेरो बाँकी रहेको सासरूपा जिन्दगीको हिसाब गरिरहेको थियो ।
बाहिर नयाँ वर्षका भित्तेपात्रोहरू भर्खरै भित्तामा टाँगिएर नयाँ बैसालका सपनाहरू विज्ञापन गरिरहेका थिए, तर मेरो जिन्दगीको सग्लो ऐना भने कहीँकतै टुक्रिइसकेको थियो ।
बाहिर म कहिल्यै नफर्कने अनिष्ट हल्लाको डढेलो फैलिरहेको थियो । भित्र म कृत्रिम श्वासको एउटा पातलो त्यान्द्रो समातेर बेहोसी र होसको एउटा कुरुप लुकामारी खेलिरहेकी थिएँ ।
मेरो यो अन्धकारले सबैभन्दा बढी कसैको छातीमा पहिरो गएको थियो भने, ती मेरा बा थिए । तर, आफ्नो हृदयको आँधीलाई परेलाको डिलमै बाँधेर, मलाई अलिकति पनि त्यसको कम्पन महसुस हुन दिनुभएन । दाइलाई भन्नु भएकोरहेछ, ‘बहिनी उँभो लाग्दिन क्यार ।’
सायद बुवाले छोरासँग पीडा बाँडेर आफूलाई अलि हल्का बनाउनुभयो होला । म त, आमालाई पनि भन्न नसक्ने आघातले थिचिएकी थिएँ । हो, त्यही आघातले मलाई उठ्न नदिएको ।
म त मान्छेका अनुहारहरूसँग डराउने भइसकेकी थिएँ । लाग्थ्यो, हरेक आँखाहरू मेरो पराजयको साक्षी बन्न उभिएका छन् । ‘डाक्टर, मलाई डर लाग्यो…’ भन्दै म हिक्का छोडेर रुन्थेँ । डाक्टर अरुणकुमार जोशी पिठ्यूमा हातका पञ्जाले हान्थे । खै कसरी हो, मुटु वरिपरि आगोको मुस्लोजसरी पोल्दै दौडिरहेको गाँठो फैलिएर पातलो हुन्थ्यो । नर्सलाई निर्देशन दिन्थे, नर्सहरू मेरो चेतनालाई शान्त पार्ने औषधिसहितको सुई घोचिदिन्थे । मेरो शरीर पनि शान्त हुन्थ्यो । तर, जब औषधिले आफ्नो धर्म पूरा गरेर मलाई मेरै लयको आँधीमा छोडिदिन्थ्यो, म फेरि उस्तै ऐठनमा ब्युँझन्थेँ ।
मान्छेहरू मृत्युको नजिक पुगेपछि बाँच्न चाहन्छन् रे । तर, अचम्म ! मलाई त्यहाँ मर्नुसँग अलिकति पनि डर थिएन । मलाई त बाँच्नुसँग डर भरिएको थियो । मैले बाँचेपछि आफ्नो हृदयमा लुकाएर हिँड्नुपर्ने थुप्रै घाउहरू बनेका थिए । मलाई थाहा थियो, यसरी मन गाँठो पारेर हिँड्दा भविष्यमा मलाई दुखाउन सक्ने पीडाको आयतन कति विशाल हुनेछ । त्यसैले मलाई मृत्युसँग भन्दा जीवनसँग डर लागिरहेको थियो ।
मन गाँठो परेपछि जिन्दगीको सग्लो ऐना पनि कुरुप भएर फुट्दोरहेछ । म बलियो बन्न खोज्छु, एउटा सचेत र बौद्धिक मान्छेले झैँ आफ्ना खुट्टाहरू भुइँमा दह्रो गरी टेक्न खोज्छु, तर संवेदनाको कुन विन्दुमा पुगेपछि चेतनाले आत्मसमर्पण गर्छ– म आफैँ अलमलमा छु ।
अप्रेसन थिएटरको त्यो अँध्यारो कोठाबाट निस्किएको तेस्रो दिन, डाक्टरका सिसाजस्ता तिखा र चिसा शब्दहरू जब मेरो कानमा परे, म बारम्बार मुर्छा परिरहेँ । भन्न त डाक्टर अरुण कुमार जोशीले मलाई अप्रेशन थिएटरमा लैजानु केहीदिन अघिदेखि नै सम्भावित क्षतिका लाभाहरू देखाउनुभएको थियो।
डाक्टर जितेन्द्र परियारले त यो सम्भावित क्षति रोक्नका लागि थुप्रै दिनसम्म शल्यक्रिया होल्ड गरेर प्रकृतिको कुनै अदृश्य चमत्कारको प्रतीक्षा पनि गर्नुभएकै हो । तर, विज्ञानका सबै प्रयोगहरू विफल भएपछि, म आफ्नो शरीरको एउटा शाश्वत अंश त्यहीँ छाडेर आधा शरीर बोकेर निस्किएँ । अन्ततः डाक्टर जितेन्द्रले नै बिहानीको राउन्डमा आउँदा शून्य स्वरमा भने, ‘भित्रभित्रै फैलिएको इन्फेक्सनले गर्दा हामीले तिम्रा ओभरी र ट्युबहरू जोगाउन सकेनौँ ।’
त्यो सुन्नेबित्तिकै मेरो दाहिने हात काँप्दै मेरो पेटको तल्लो भागमा पुग्यो । त्यहाँ सुतीको कपडामाथिबाटै एउटा अनौठो, कुरुप र रित्तो भूगोल मैले स्पर्श गरेँ— एउटा यस्तो रिक्तता, जसले मलाई आफैँभित्र एउटा अनन्त मरुभूमि बनाइदिएको थियो ।
समयले कुनै पूर्वसूचनाबिना मेरो जिन्दगीको हरियो रूखमाथि यति क्रूर बञ्चरो चलाएको थियो कि, म असमयमै आफ्नै शरीरभित्र आधा–मान्छे बनेकी थिएँ । म अब एउटा यस्तो रूख बनेकी थिएँ, जसमा कहिल्यै कुनै नयाँ ऋतुले वात्सल्यको हरियो पालुवा हाल्ने छैन । मेरो मातृत्व सदाका लागि सिभिल अस्पतालको शल्यक्रियाको चिसो फलामे कचौरामा बिसर्जन भइसकेको थियो । म आफ्नो भरिन नपाउँदै रित्तिएको कोख समातेर खुब रोएँ, आफूलाई ब्रह्माण्डकै सबैभन्दा एक्लो र असहाय महसुस गरेर रोएँ ।
बुबाले आफ्नो आँसु कहिल्यै देखाउनुभएन, सायद आमालाई पनि बुबाले नै बाँध्नुभएको थियो—मेरो अगाडि नरोऊ भनेर । आफन्त र साथीहरू आइसीयूको ढोकासम्म आउँदै मलिन अनुहार लिएर फर्किन्थे ।
दया अंकल थुप्रै पटक भित्र छिर्नुहुन्थ्यो र मेरो मुखमा हेरेर टोलाइरहनुहुन्थ्यो । म अर्धचेत शैलीमा सोध्थेँ, ‘अंकल, मलाई के भएको छ ?’ ‘म डाक्टर हुँ र मलाई थाहा हुनलाई…’ भन्दै अंकल भक्कानिएर बाहिर निस्कनुहुन्थ्यो ।
तर, ठ्याक्कै यही बेला—जब म अस्पतालको बेडमा आधा शरीर लिएर जीवन र मरणको दोसाँधमा मृत्युसँग लडिरहेकी थिएँ, मैले मन, जीवन र चेतनाको सबैभन्दा नजिक राखेको मानिस यौवन, रूप, धन, वैभव र पदको नयाँ तराजु बोकेर मभन्दा धेरै टाढा भइदियो । मेरो जिन्दगीको सबैभन्दा अँध्यारो, चिसो र आँसुले निथ्रुक्क भिजेको रातमा मलाई जसको हातको न्यानो ओत चाहिएको थियो उसको उपस्थिति बेला–बेला मेरो बैंक खातामा आउने केही हजारमा सीमित भैदियो । सम्बन्ध र प्रेमको यो भन्दा गहिरो, नग्न र क्रूर ज्ञान अरू केले दिन सक्ला र जीवनमा ?
अस्पतालको त्यो कष्टकर समयले केही सुन्दर साथ पनि चिनायो । यो बसाइमा मसँगै कष्टका थुप्रै रातहरू प्रकृति दहालले पनि गुजारिन । उनी कार्यक्षेत्रमा भेटिएकी एउटी सहकर्मी मात्र थिइन्, उनीभन्दा म केही वर्ष जेठी भएकाले ऊ मलाई दिदी भन्थिन्, म उसलाई बहिनी भन्थेँ । यो संकटको घडीमा उसले मेरो आफ्नै बहिनीले पनि नसक्ने ख्याल राखिन् ।
मेरो आर्थिक र भावनात्मक सजिलोका लागि यो केटी खुब दौडिइ । म आफ्नो मुख समेत पखाल्न नसक्ने ओछ्यानको थुप्रो हुँदा उ आउँथी,—मुख पुछिदिन्थिन्, नुहाइदिन्थिन्, कपाल कोरिदिन्थिन् र मेरो कुरुप बन्दै गएको संसारलाई सुन्दर बनाउने यत्न गर्थिन् ।
जब उनी साउती मार्दै भन्थिन्— ‘तपाईंलाई चाहिने सामान म ल्याउँछु है दिदी, अरू कसैलाई नभन्नू,’ तब मेरो मन झन् गाँठो पर्थ्यो । उनी यताउता लागेको बेला म आँखाबाट त्यो कृतज्ञताको गाँठो आँखाबाट बगाइदिन्थेँ । मैले त अहिलेसम्म उनलाई कसिलो अङ्गालो मारेर ‘धन्यवाद नानी’ भन्न पनि सकेकी छैन ।
स्वीकृति दिदी हरेक दिन कुरुवालाई समेत खाना पठाइ दिनुहुन्थ्यो । कृति दिदीको काँध मेरा लागि अस्पतालको शैयामा पनि आँसु बगाउन सक्ने काँध थिए । रमन ठूलोबुवा र ज्योति आमा आफ्नो रोगी शरीरलाई आराम दिनुपर्ने समयको ख्यालै नगरी मलाई मनपर्ने खाना बनाएर अस्पताल आइपुग्नु हुन्थ्यो । दशकदेखि हराएका साथीहरू म सँग प्रेम बाँडिरेका थिए । मेरा लागि प्रार्थना गरिरहेका थिए ।
आशिष दाइ र भवानी दिदी मलाई बारम्बार ढाडस दिइरहेका हुन्थे । भन्थें ‘नानी तैले बाँचेर सामाजिक न्यायका लागि थुप्रै गर्न बाँकी छ ।’ तर, बिडम्बना ! अरूका न्यायका लागि बोल्ने, लेख्ने म आफूमाथि नियतिले जुन कैची चलायो त्यो लेख्न भाव भएर पनि शब्द बिहीन भएकी छु म ।
खैर, अस्पताल बसाइका ती कष्टकर दिनहरू पनि यतिबेला बहुत प्रेमिल लागिरहेका छन् । यी दिनहरूले मबाट धेरै थोक खोसेर लगे । तर, सबैभन्दा ठूलो कुरा— जिन्दगी फर्काइदिएको छ ।
हो, केही त गुम्यो पनि । सिभिल अस्पताल भर्ना हुनुअघि नै मेरो जीवनले अर्कै एउटा अँध्यारो बाटो समातिसकेको थियो, जुन बाटोको कथा लेख्ने हिम्मत ममा अझै आइसकेको छैन ।
यतिबेला खाटा बसेको शरीरको घाउ हेरेर रगताम्य मनको घाउ सुम्सुम्याइरहेकी छु । मानिसहरू मलाई अरूका ठूला–ठूला दुःख देखाएर मेरो दुःख सानो हो भनी सम्झाउन खोज्छन् । उनीहरू भन्छन्— ‘फलानाको दुःख त हेर, तिम्रो त केही पनि होइन, तिमी अपाङ्ग त भएकी छैनौ नि !’ यहाँ दुःखको प्रतिस्पर्धा गराउन र अर्काको आँसुलाई निचो देखाउन निकै सजिलो छ । तर, यो उमेरमै गुमेको कोखले जीवनको भित्री तहमा ल्याउने मनोवैज्ञानिक र हर्मोनल आँधीका बारेमा कि डाक्टरलाई थाहा होला कि भोग्नेलाई । भन्नेलाई त केवल भन्दिए भएको छ ।
यद्यपि, म आफूलाई भाग्यमानी सम्झिन्छु । म देखिँदा सग्लो छु, मलाई जिन्दगीभर औषधि खानुपर्ने रोग लागेको छैन र यो समयमा मैले थुप्रै आफन्तको माया र साथीहरूको अनमोल सहयोग पाएँ । मेरा साथीहरू अस्पतालमा फलफूलको सट्टा ओखती किन्ने पैसा बोकेर आएका थिए । यो एउटा यस्तो पाठ हो, जुन समाजका हरेक मानिसले सिक्नुपर्छ ।
अस्पताल भर्ना भएको बिरामीले फलफूल कति नै खान सक्छ र ? जाने जति सबैले प्लास्टिकका झोलामा फलफूल बोकेर जाँदा, कुरुवालाई राख्ने ठाउँ हुँदैन, घर लैजाने समय हुँदैन र ती चिजहरू त्यत्तिकै सडेर जान्छन् । तर, त्यही ठाउँमा गरिएको सानो आर्थिक सहयोगले बिरामीको परिवारलाई कत्रो आत्मबल र पहाडजत्रो आड दिँदो रहेछ, त्यो मैले आफ्नै भोगाइबाट सिकेकी छु।
३२ दिनको त्यो लामो संघर्षपछि म अस्पतालबाट डिस्चार्ज भएँ । यो बसाइ र बाहिरको यो शून्य भूगोलले मलाई जीवनको सबैभन्दा ठूलो ज्ञान दिएको छ— हामी सबै एकदिन जीवनको अन्तिम ढोकाबाट बाहिर निस्कनेछौँ । त्यस दिन कसैले पनि आफ्नो धन, पद, वैभव वा प्रसिद्धि साथ लैजान सक्ने छैन ।
हिजोआज बेलाबेला पाएको यो नयाँ जिन्दगी बिर्सन्छु र गुमाएको चिज मात्रै सम्झिएर टोलाउँछु । तर फेरि मनलाई सम्झाउँछु— चोटहरू त लाग्ने नै सम्झनाका लागि रहेछन् । र, मलाई यत्तिको बलियो पनि त यही समयको निर्मम प्रहारले बनायो । म आधा शरीर लिएर निस्किएकी अवश्य हुँ । तर, मेरो चेतना टुक्रिएको छैन् ।
प्रतिक्रिया 4