+
+
Shares
सडक सुरक्षा शृङ्खला–४ :

मनसुन जोखिम थेग्न कति तयार छन् ठूला राजमार्ग ?

एकातर्फ निर्माणाधीन राजमार्गहरूको सुस्त निर्माण र अर्कातर्फ समय छँदै सम्भावित स्थानहरूमा पहिरो रोकथामका काम नगर्दा मनसुनमा नेपालका राजमार्ग मृत्युमार्गमा परिणत हुँदै गएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८३ असार १५ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मनसुन भित्रिएसँगै देशैभरका विभिन्न राजमार्गमा पहिरो र बाढीका कारण सडक अवरुद्ध हुन थालेका छन्।
  • सडक विभागले नौबिसे-नागढुंगा र मुग्लिङ सडक खण्डमा पहिरोको उच्च जोखिम रहेका क्षेत्र पहिचान गरी हेवी इक्वेप्मेन्ट र चालक तयारी अवस्थामा राखेको छ।
  • सरकारले मनसुन अवधिमा सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै स्थानीय सरकारलाई १५ दिन पुग्ने खाद्यान्न भण्डारण गर्न र सडक अवरोध हटाउन तयारी रहन निर्देशन दिएको छ।

नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो। नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ। सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु भएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोटपटक हो। विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको ९२ प्रतिशत हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा हुन्छ।

नेपालमा दैनिक सात जनाको ज्यान लिइरहेको दुर्घटनाको असर मानवीय क्षतिमा सीमित छैन; यसबाट सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रसमेत प्रत्यक्ष रूपमै प्रभावित छन्। कतिपयले दुर्घटनाको सम्पूर्ण दोष चालकलाई दिने गर्छन्। तर यथार्थमा सुरक्षित यात्रामा सडक, सवारीसाधन र प्रयोगकर्ता (चालक, यात्री, पैदलयात्रु) जिम्मेवार हुन्छन्।

यी तीन पक्षसँग जोडिएका व्यक्तिहरूलाई सजग, सचेत र आवश्यक परे कारबाही गर्ने दायित्व राज्यको हो। सुरक्षित यात्राका लागि आवश्यक पर्ने कानुन, त्यसको प्रभावकारी कार्यान्वयन, सुरक्षित सवारी र सडक, जिम्मेवार प्रयोगकर्ता र दुर्घटनापछि प्रभावकारी उपचार तथा उपचारपछि पुनर्स्थापना अनिवार्य छ।

१५ असार, काठमाडौं । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनले देशैभरि प्रभाव देखाउन थालेको छ । सडकमा अवरोध सुरु भइसकेको छ ।

नेपाल प्रहरीले सोमबार बिहान गरेको अपडेट अनुसार पूर्वी नेपालको भोजपुरस्थित भोजपुर नगरपालिका-५ बोखिममा मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु छ ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९, राजदुवालीमा सडक पूर्ण अवरुद्ध भएको छ । सम्भावित बाढीका कारण बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेसी चल्ने सबै सवारी साधनमा रोक लगाइएको छ । मर्मतका क्रममा रहेको कुलेखानी फाखेल हुमाने फर्पिङ-काठमाडौं खण्ड बन्द छ ।

अघिल्लो साता बेनी-जोमसोम सडक खण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर सवारी चालकको ज्यान गएको थियो । संखुवासभामा सोमबार बिहानैबाट ठाउँ-ठाउँमा राजमार्ग अवरुद्ध भएको खबर आइरहेको छ ।

जिल्लाको सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार बाढी र पहिरोले गाउँपालिका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएको छ । यी प्रतिनिधि उदाहरण मात्र हुन् । एकातर्फ निर्माणाधीन राजमार्गहरूको सुस्त निर्माण र अर्कोतर्फ समय छँदै सम्भावित स्थानहरूमा पहिरो रोकथामका काम नगर्दा मनसुनमा नेपालका राजमार्ग मृत्युमार्गमा परिणत हुँदै गएका छन् ।

काठमाडौं छिर्ने नाकामा दोहोरिँदै छ कठिनाइ

मुग्लिन-काठमाडौं सडक खण्ड विस्तारको चरणमा छ । तर, काम सम्पन्न भएको छैन । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को सुरुवातबाटै नागढुंगा सुरुङ मार्गको व्यावसायिक सञ्चालनको तयारी गरेको छ । यसले नौबिसे–काठमाडौं खण्डको यात्रा केही सहज हुनेछ ।

तर, मुग्लिन-नौबिसे खण्डका विभिन्न स्थानमा निर्माणको काम सम्पन्न नहुँदा यो खण्डमा विगतका वर्षहरुमा जस्तै संकट दोहोरिने निश्चित भएको छ । नागढुंगा-मुग्लिङ सडक योजना पूर्वी खण्डले १६ र १७ असारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एडभाइजरी साझा गर्दै यात्रामा सचेतना अपनाउन आह्वान गरेको छ ।

सडक विभाग अन्तर्गतको यस आयोजनाले जारी मनसुनमा हुन सक्ने सम्भावित जोखिमलाई लक्षित गर्दै आफ्नै मनसुन पूर्वतयारी कार्ययोजना समेत बनाएको छ । मनसुन अवधिमा सम्भावित अत्यधिक वर्षा, पहिरो तथा बाढी लगायत कारणले राजमार्ग अवरुद्ध भएमा न्यूनतम समयमा राजमार्गमा रहेको अवरोध हटाइ आवागमन सुचारु गर्न यस्तो कार्ययोजना बनाइएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार नौबिसे-नागढुंगा खण्डमा धुनीबेसीको झ्याप्ले खोला, खत्रीपौवा र सिक्रेखोला पहिरोको उच्च जोखिम भएका स्थानका रूपमा पहिचान गरिएको छ । नौबिसे-मलेखु खण्डको ४ किलो, ७ किलो, ९ किलो, १३ किलो, कोइराले भिर, मछेडी खोला र घाटबेँशी पहिरोको अधिक जोखिम भएको क्षेत्रका रूपमा पहिचान गरिएको छ ।

No description available.
नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरो पहिचान भएका क्षेत्र

यता पूर्वी नेपाललाई काठमाडौं उपत्यकासँग जोड्ने बीपी राजमार्गले समेत यस वर्ष सास्ती दिने निश्चित छ । सडक विभागका अनुसार अहिले रोशी खोलामा डाइभर्सन बनाएर सञ्चालन गरिएको यातायातलाई असारमै सडक ट्रयाकमै सञ्चालनमा ल्याउने तयारी छ । यद्यपि, यो सडक पुनर्निर्माणको काम सम्पन्न भएको अवस्था भने होइन ।

अरनिको राजमार्ग विस्तारले सूर्यविनायक-धुलिखेल सडकमा मनसुनले पुनः सास्ती दिने निश्चित भएको छ । सूर्यविनायक-धुलिखेल सडकखण्ड निर्माण सुस्त गतिमा अगाडि बढ्दा आसन्न मनसुनमा समेत सास्ती दोहोरिने देखिएको हो ।

यो सडक खण्डलाई दुई भागमा विभाजन गरी छुट्टाछुट्टै ठेक्का लगाइएको छ । जस अन्तर्गत साँगा–धुलिखेल खण्डको निर्माण तुलनात्मक रूपमा केही बढी भएको छ । ८ किलोमिटर लामो साँगा–धुलिखेल सडक बिस्तारको ठेक्का २७ मंसिर २०७९ मा लागेको हो । यो आयोजना निर्धारित समयमा नसकिएपछि समय थप गरी काम भइरहेको छ ।

सूर्यविनायक-धुलिखेल सडक आयोजनाका प्रमुख सु.ई. विजयकुमार महतोका अनुसार धुलिखेल–साँगा खण्डमा मनसुन अगाडि कम्तीमा एक वा दुई लेनसम्म भए पनि कालोपत्रे सडकमा गाडी गुडाउने गरी अहिले काम भइरहेको छ ।

धुलिखेल–साँगा खण्डमा बाटो अवरुद्ध हुँदाकाे दृश्य । फाइल तस्वीर

‘निर्माण कम्पनीलाई हामीले भनेका छौं, वर्षातमा सास्ती हुनु भएन,’ उनले भने, ‘महँगीका बाबजुद अहिले बिटुमिन ल्याएर उनीहरूले कामलाई निरन्तरता दिएका छन् ।’ यस खण्डको सहरी इलाकामा झण्डै डेढ वर्ष काम रोकिएको थियो ।

पछिल्लो ६/७ महिना यता विवाद समाधान गरी कामलाई गति दिइएको महतोले जानकारी दिए । अझै पनि कतै बिजुलीका पोल सार्नुपर्नेसहित साइट क्लियरेन्सका अवरोध बाँकी छन् । यस खण्डको भौतिक प्रगति ७० प्रतिशत जति पुगेको छ ।

धुलिखेल–साँगा काठमाडौं छिर्ने एक महत्वपूर्ण नाका हो । अरनिको राजमार्गमा पर्ने यो सडकमा दैनिक हजारौं सवारी साधनले यात्रा गर्छन् । मनसुन अगाडि कालोपर्ने नहुने हो भने दैनिक हजारौं यात्रुले पुनः सास्ती पाउने देखिन्छ । सो समस्या नहोस भनेर निर्माण व्यवसायीलाई निरन्तर दवाव आयोजनाले दिइरहेको छ ।

सूर्यविनायक-धुलिखेलमध्ये सूर्यविनायक-साँगा खण्डको निर्माण अझै सुस्त छ । आयोजना प्रमुख महतोका अनुसार यस खण्डमा साइट क्लियरेन्समा बढी समस्या थिए । कतै व्यक्तिका घर त कतै अन्य संरचनाले कामको गति कम भएको हो । कुल १५.८ किलोमिटर लामो यो सडक खण्डलाई ६ लेन द्रुतमार्गमा बिस्तार गरिँदैछ । यस आयोजनाले काठमाडौं उपत्यकालाई पूर्वी पहाड र तराईका जिल्लासँग जोड्ने काम गर्छ ।

यस वर्ष पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सबैभन्दा सास्ती दिएको दाउन्ने खण्डको निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । मूख्य सडक ढलान गर्ने काम सम्पन्न भइसकेको यस सडकमा आकस्मिक रुपमा पहिरोले गर्ने अवरोधबाहेक अन्य अवरोधको सामना गर्नुपर्ने छैन ।

बुटवल-नारायणगढ सडक योजनाका अनुसार यस योजनाको मे २०२६ सम्मको समष्टिगत भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । बाँकी काम ‘फिनिसिङ’तर्फका मात्र काम हुन् । यसकारण मनसुनले यो खण्डको यात्रामा असर नगर्ने अपेक्षा गरिएको छ ।

बुटवल–नारायणगढ सडक । फाइल तस्वीर

पूर्व-पश्चिम राजमार्गका अन्य निर्माणाधीन सडक खण्डमा भने जारी वर्षामा समेत सास्ती कायमै रहने छ । काकडभिट्टा–लौकही, नारायणगढ-बुटवल, कञ्चनपुर-कमला, बुटवल-गोरुसिंगे–चन्द्रौटा तथा कमला-ढल्केवर-पथलैया खण्डमा विस्तारको काम जारी छ । यी खण्ड पूर्ण रूपमा निर्माण सम्पन्न नभएको र पुलहरू निर्माणको काम समेत निर्माण सम्पन्न नहुँदा सम्भावित डुबान र ठूलो वर्षाका कारण यातायात अवरुद्ध हुनेछ ।

मनसुनको समयमा कुनै राजमार्गमा ठूलो पहिरो गएमा वा पुल बताएमा तत्काल जडान सम्भव हुने बेलीब्रिजको अभाव हुने निश्चित भएको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको गत बुधबार बसेको बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ कार्यान्वयनका लागि भएका निकायगत तयारीबारे छलफल भएको छ ।

छलफलमा भारत सरकारबाट प्रतिवद्धता अनुसार बेलिब्रिज प्राप्त नभएको जानकारी सडक विभागले जनाएको छ । विभागका अनुसार १० वटा बेलिब्रिज भारत सरकारले दिने भनेकोमा २ वटा मात्र प्राप्त हुने निश्चित भएको छ ।

बैठकले अन्य बेलिब्रिज प्राप्तिका लागि आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । सोही बैठकले अन्तरदेशीय विपद् सम्बन्धी पूर्वसूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

मार्गमा हुने जोखिम न्यूनीकरण र सवारी सञ्चालनबारे सरकारको पूर्वतयारी के छ ?

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको केही दिनअघि बसेको बैठकले मनसुन अवधिभर भारी/अति भारी र धेरै वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानसमेतलाई ध्यानमा राख्दै जोखिमपूर्ण राजमार्गमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसका लागि मौसम पूर्वानुमान र विपद् प्राधिकरणबाट जारी हुने एडभाइजरीलाई आधार मानिने भएको छ ।

सडक/राजमार्गमा बाढी, पहिरो, डुबान लगायत कारणले जुनसुकै बेला जुनसुकै स्थानमा अवरोध आउन सक्ने हुँदा सडक/राजमार्ग तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेवी–इक्यूपमेन्ट चालक सहित २४ सै घण्टा तयारी अवस्थामा राख्न सडक विभाग, प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

तत्काल खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र विशेष अवस्थामा सडक अवरुद्ध भई सवारी साधन चल्न नसक्ने अवस्थामा कम्तीमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय सरकारलाई अनुरोध गरिएको छ ।

नाढगुङ्गा-मुग्लिङ खण्डमा सडक विभाग मातहतको आयोजना आफैले बनाएको पूर्वतयारी अनुसार पहिरोको जोखिम पहिचान भएका स्थानमा टिपर ट्रक तथा इस्काभेटरहरू तयारी अवस्थामा रहने छन् ।

नागढुंगा–नौबिसे खण्ड बन्द भएको अवस्थामा सीतापाइला-धार्के सडक (साना र मझौला सवारीलाई मात्र) प्रयोग गर्ने विकल्प हुने छ । यसबाहेक टोखा-गल्छी, कान्ति लोकपथ, फर्पिङ–हेटौडा र विपि राजमार्गको विकल्प रहने छ । यद्दपी विपि राजमार्ग आफैमा यस वर्ष पूर्ण सुरक्षित अवस्थामा छैन ।

सडक सुरक्षा शृङ्खला-१

सडक सुरक्षा शृङ्खला-२

सडक सुरक्षा शृङ्खला–३

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?