१० चैत, गुल्मी । सडक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यका साथ सदरमुकाम तम्घास बजारमा व्यापक ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले ‘सुरक्षित यात्रा, जिम्मेवार नागरिक–सबैको साझा दायित्व’ भन्ने नाराका साथ ट्रफिक सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमअन्तर्गत बजारका विभिन्न स्थानहरूमा मादक पदार्थ सेवन (मापसे) जाँचसँगै सवारी साधनहरूको नियमित ट्राफिक चेकिङ गरिएको थियो । ट्राफिक प्रहरी टोलीले चालकहरूलाई हेलमेट प्रयोग अनिवार्य गर्ने, सिटबेल्ट बाँध्ने, सवारीको गति नियन्त्रणमा राख्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा ट्राफिक संकेतहरूको पूर्ण पालना गर्न विशेष आग्रह गरेको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गुल्मी उद्योग वाणिज्य संघ, रोटरी क्लब, बैंकर्स संघ, शिक्षक तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएकोमा जोड दिएका थिए ।
पछिल्लो समय बढ्दो सवारी चाप र लापरवाहीका कारण सडक दुर्घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको गुल्मी उद्योग वाणिज्य संघ का सदस्य बादल श्रेष्ठले भनाइ थियो । नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै जिम्मेवार सवारी चालक बन्न सबैलाई आह्वान गरिदएको श्रेष्ठको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेलले यस्ता अभियानहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए । उनले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गरिने र उल्लंघनकर्तामाथि आवश्यक कारबाही गरिने स्पष्ट पारे ।
प्रतिक्रिया 4