News Summary
Generated by OK AI. Editorially reviewed.- दैलेखकी सुकी बडुवालले श्रीमान्को घरेलु हिंसाबाट पिडित भएर छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी थिइन् र श्रीमान्लाई डेढ वर्ष कैद सजाय सुनाइएको छ।
- सुर्खेतकी माया कठायतले पनि श्रीमान्को चरम यातनाबाट पिडित भएर छोराछोरीसहित भेरी नदीमा हाम फालेकी थिइन् र आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ।
- कर्णाली प्रदेशमा पछिल्लो पाँच वर्षमा १ हजार ३७५ आत्महत्याका घटनामध्ये ३७२ घटना पारिवारिक कलह र घरेलु हिंसाका कारण भएका छन् भन्ने तथ्यांक प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।
९ चैत, सुर्खेत । २३ फागुन २०७७ । विश्वभर श्रमिक महिला दिवस मनाइँदै थियो । महिला हिंसाको विरुद्धमा शहरका पाँच तारे होटेलमा पैरवी भइरहेको थियो । त्यति नै बेला दैलेखकी सुकी बडुवाल (३५) एक्कासि चार छोराछोरी साथमा लिएर घरबाट निस्किइन् ।
उनका श्रीमान् भने घरमै रक्सी पिइरहेका थिए । सुकी घरदेखि झन्डै डेढ घण्टा लगाएर छोराछोरीसहित जाक्सी पुगिन् । जाक्सी बजारबाट नजिकै सुकीका आफन्तको घर थियो । तर त्यतातर्फ नगई साँझ परेपछि उनी सिधै कर्णाली नदीको किनारमा पुगिन् ।
प्रहरीको अनुसार, सुरुमा दुई छोरीको हात एकै डोरीले पछाडि बाँधेर नदीमा धकेलिन् । त्यसपछि छोरा, कान्छी छोरी र आफू एउटै डोरीमा बाँधिएर कर्णाली नदीमा हाम फालिन् ।
सुकीले पूरै तयारी गरेर कर्णालीमा हाम फालेकी थिइन् । आफू मर्न तयार भएपछि श्रीमान्ले छोराछोरीलाई दु:ख दिन्छन् भन्ने सोचेर उनीहरूलाई पनि सँगै लगेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

सुकीले छोराछोरीसहित कर्णालीमा हाम फालेको समाचारले राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडिया ततायो । सबैलाई एउटै प्रश्नले घोचिरह्यो, ‘सुकीले हुर्किसकेका छोराछोरीलाई आफूसँगै कर्णालीमा हामफाल्न कसरी बाध्य पारिन् ?’ श्रीमान्कै टर्चरका कारण उनले सामूहिक मृत्युवरण रोजेको निष्कर्षमा प्रहरी पुग्यो ।
पछि सुकीका भाइ बजिरबहादुर थापाले आफ्नै भिनाजु मानसिंह बडुवाल (४३) विरुद्ध मुद्दा दायर गरे । उनले जिल्ला प्रहरी कार्यालय दैलेखमा ज्यानसम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन) मुद्दा दिएका थिए ।
मुद्दा दर्ता भएको एक वर्षपछि १६ फागुन २०७८ मा दैलेख जिल्ला अदालतले सुकीका श्रीमान् मानसिंहलाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम मानसिंहलाई उक्त सजाय सुनाएको थियो ।
सुकीकै नियति भोगेकी माया
सुकी घटनाको ठिक पाँच वर्षपछि सुर्खेतकी एक आमाले छोराछोरीसहित भेरीमा हाम फालिन् । १ चैत २०८२ मा गुर्भाकोट–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले आफ्नी ११ वर्षीया छोरी र ५ वर्षीय छोरा च्यापेर भेरीमा हाम फालेको घटनाले फेरि मिडिया र सामाजिक सञ्जाल तताएको छ ।
श्रीमान्को चरम यातनाका कारण माया २९ फागुन शुक्रबार घर छोडेर आश्रयका लागि छोराछोरीसहित माइती घर आएकी थिइन् । गुर्भाकोट–१२ मा रहेको आफ्नो कान्छो बुवाको घरमा गएकी माया सँगै थिए, छोरा दीपक र छोरी आशा ।
करिब चार वर्षपछि कान्छा बुवाको घरमा गएकी मायाले आफू नशाको बिरामी रहेको र नेपालगञ्जबाट उपचार गराएर आएको बताइन् । तर उनका श्रीमान् भूपेन्द्र कठायत सोही दिन राति माइतीमै पुगेर मायालाई कुटपिट गरे ।

‘छोरी नेपालगञ्जबाट नभई श्रीमान्को अत्याचार सहन नसकेर आएकी रहिछन्,’ मायाका कान्छा बुवा अमरदेव गिरीले भने, ‘ज्वाइँले यहीं आएर हाम्रै अगाडि कुटपिट गरेपछि छोरीले आफूमाथि श्रीमान्ले गरेको अत्याचारका घटना सुनाएकी थिइन् ।’
अमरदेवका अनुसार, दशैं अगाडिसम्म माया र भूपेन्द्रको सम्बन्ध ठिकठाकै थियो । भारतमा मजदुरी गर्दै आएका भूपेन्द्र चाडबाडको बेला मात्रै घर आउँथे । मायाले घर–व्यवहार सम्हाल्दै आएकी थिइन् । गत दशैंमा घर आएका भूपेन्द्र अब भारत नजाने, गाउँमै अटो रिक्सा चलाउने निधो गरेका थिए ।
त्यसको एक–दुई महिनापछि भूपेन्द्रको बानी बेहोरामा बदलाव आयो । मदिरादेखि भाग्ने उनी नशाको लतमा लागे । रातको १२–१ बजे घर आउन थाले । मायाकै अगाडि अन्य केटीहरूसँग घण्टौं भिडियो कल गर्न थाले । मायाले यस्तो किन गरेको भनेर सोध्दा कुटपिट गर्थे ।

तीन महिना अगाडि टाउको भित्तामा बजार्दा लागेको घाउ अहिले पनि दुख्ने गरेको मायाले कान्छा बुवाको परिवारलाई सुनाएकी थिइन् । घरमा एउटा खुकुरी राखेको र त्यही खुकुरीले हरेक दिन मार्ने धम्की दिने गरेका थिए । नाङ्गा (गरिब) कि छोरी भन्दै दिनहुँजसो अपमान गर्थे । दुई–तीन दिनको अन्तरमा उनीमाथि यो क्रम चलिरह्यो ।
दुई रात माइतीको घरमा आश्रय लिएकी माया फर्किएर श्रीमान्को घर जानुभन्दा भेरी नदीमा हाम फाल्ने निर्णयमा पुगिन् ।
मायाका बुवा र दाजुले बिहीबार आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका छन् । श्रीमान्को चरम यातनापछि भेरी नदीमा छोराछोरीसहित मायाले हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख छ ।
मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नाति–नातिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन् ।
०००
श्रीमान्ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत यतिबेला आफ्नो जीवन परिवारसँग रमाइरहेका हुन्थे ।
श्रीमान्को अत्याचार र माइतीको आधार नहुँदा भेरी, कर्णालीमा हाम फाल्ने आमाहरूका कथा कुनै चलचित्रका पात्रभन्दा कम छैनन् । माया कठायतकै घटनालाई केलाउँदा जीवन जिउने कुनै उपाय नदेखेपछि उनले छोराछोरी च्यापेर भेरीमा हाम फालेको देखिन्छ ।
सुकीले पनि आफूसँगै अरू चार सन्तानको प्राण कर्णालीमा बगाइदिइन् । जुन सन्तानलाई हुर्काउन उनीहरूले आफ्नै शरीरमा रगत–पसिनाको भेरी बगाएकी थिइन् । यस्ता घटनामा राज्य त के, छरछिमेकीसमेत बोल्दैनन् ।
श्रीमान्ले अत्याचार गर्दा ‘यो श्रीमान् श्रीमतीबीचको मात्रै कुरा हो’ भन्ने परिवार र छिमेकी, बिहे गरेकी छोरीको घरको विषयमा बोल्नुहुन्न भन्ने माइती यस्ता घटनाको साक्षी बस्छन् । सोमबार माया कठायतको गाउँ पुग्दा यस विषयमा गाउँलेहरू बोल्नै चाहेनन् ।

एक महिला बोल्न खोज्दै थिइन्, उनका श्रीमान्ले ‘अर्कोको विषयमा बोल्न तँलाई के चासो’ भन्दै हकारे । बोल्न खोज्ने महिलालाई बोल्नै दिइएन । खोकिलामा सन्तान च्यापेर भेरी नदी किनार पुगेका आमाहरू कति फर्किए, कति भेरी कर्णालीको भेलसँगै बिलाए, त्यसको लेखाजोखा राख्ने संयन्त्र छैन ।
घरेलु हिंसा र अपमानको विष पिएर जिन्दगी बाँच्न कठिन हुन्छ । सायद यही नियति भोगेकी मायाले यस्तो निर्णय लिएको हुनुपर्ने महिला अधिकारकर्मी रचना सुनार बताउँछिन् । ‘उपायविहीन महिलाले मृत्युबाहेक अरू के सोच्लान् ? माया र सुकीको पनि अवस्था त्यही हो । कुनै पनि विकल्प नदेखेपछि अन्तिममा त्यही विकल्प देखे,’ रचनाले भनिन् ।
आमाहरू भेरी कर्णालीमा हेलिएपछि बल्ल हामी अभियान चलाउँछौ, तैपनि कारण खोतल्दैनौँ । नदीको छालभन्दा समाजको निर्ममताले हिर्काएको चोट साँच्चिकै गहिरो हुने गरेको महिला अधिकारकर्मी सुनार बताउँछिन् ।
‘आमाहरू सन्तान बोकेर यत्तिकै भेरी, कर्णाली पुग्ने होइनन् । घर, परिवार र समाजको व्यवहारले बढाएको बेचैनीले धकेल्दै–धकेल्दै उनीहरूलाई त्यहाँसम्म पुर्याउँछ,’ उनले भनिन्, ‘अब मृत्युबारे मात्र नभई यसका कारणहरू केलाएर निर्मम समीक्षा गर्नुपर्ने बेला आएको छ । यस्ता घटना फेरि नदोहोरिउन् ।’
०००
सुकी र मायाको घटनालाई केलाउँदा उनीहरू अत्यधिक घरेलु हिंसाको सिकार भएर मानसिक रूपमा विचलित भएको र सोही कारण सामूहिक मृत्युवरण रोजेको मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी बताउँछन् ।
‘साइकोलोजी डिस्टर्व हुँदा आफूसँग भएका बहुमूल्य सामान र वस्तुहरू सँगै लिएर जानुपर्छ भन्ने सोच हाबी हुने गर्छ,’ डा. समदर्शीले अनलाइनखबरसँग भने, ‘चरम घरेलु हिंसाको सिकार हुँदा उहाँहरूमा पनि त्यही सोच आएको देखिन्छ ।’
यस्तै प्रकृतिको मानसिक समस्या झेलिरहेका कतिपयले पहिला अरूको ज्यान लिएर पछि आफूले आत्महत्या गरेको पनि देखिने गरेको डा. समदर्शीले बताए ।
यस्तै घटना दुई वर्षअघि दैलेखमा घटेको उनले बताए । ‘एक जनाले पहिला परिवारका अन्य सदस्यको हत्या गर्नुभएछ, आफू आत्महत्या गर्न खोज्दा प्रयास असफल भएपछि अहिले उहाँ जेलमा हुनुहुन्छ,’ उनले भने ।

माया कठायतले पनि माइतीबाट घर जानुको साटो भेरीमा हेलिन सहज मान्नु त्यो एक्कासि आएको सोच नभएको डा. समदर्शीले बताए । ‘उहाँले यति धेरै यातना पाउनुभएको थियो कि फेरि त्यो फेस गर्न सक्ने हिम्मत आएन,’ उनले भने ।
पछिल्लो पाँच वर्षमा कर्णालीमा १ हजार ३७५ आत्महत्याका घटनामध्ये ३७२ वटा घटना पारिवारिक कलह र श्रीमान्–श्रीमतीबीचको झगडाको कारण भएको देखिन्छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७८ सालदेखि २०८२/८३ सम्म १ हजार ३७५ आत्महत्याका घटना घटेका छन् ।
२०७८ यता प्रदेशमा ८५२ जना बलात्कार र ८ जनाको बलात्कारपछि हत्या भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । कर्णालीमा पछिल्लो समय मदिरा, लागुऔषध र घरेलु हिंसाका घटना अत्यधिक रूपमा बढेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी रामप्रकाश शाहले जानकारी दिए ।
यस्तो छ, मनोवैज्ञानिक कारण
डा. नवराज केसी लिखित पुस्तक स्वस्पर्शमा एउटा ‘सानी नानी’ नामक अध्याय छ । उक्त अध्यायले यस्ता प्रकृतिका घटनाको मनोवैज्ञानिक कारण दर्शाउँछ । डा. केसीले पुस्तकमा मार्टिन सेलिगमनले सन् १९६७ मा गरेको एक अनुसन्धानलाई पुस्तकमा राखेका छन् ।
पहिलो चरण
मार्टिनले पेन्सिलभेनिया युनिभर्सिटीको आफ्नो ल्याबमा केही कुकुरलाई समूहमा राखेर करेन्ट लगाउँदै छन् । पहिलो समूहका कुकुरलाई उनले एउटा बाकसमा थुनेर करेन्ट लगाए । ती कुकुरलाई नजिकैको बटन थिचे करेन्ट बन्द हुने तालिम दिइएको थियो । उनीहरू एकछिन जोडले कराए । छट्पटाए । तर तालिमको ज्ञानले डोरिँदै एकैछिनमा करेन्टबाट मुक्त भए ।
दोस्रो समूहका कुकुरलाई थुनेर करेन्ट लगाउँदा न बच्ने कुनै बाटो दिइएको थियो, न त कुनै तालिम । सुरु–सुरुमा तिनीहरू पनि जोड–जोडसँग कराए । भाग्ने प्रयत्न गरे । तर असफल भए । अन्तत: विवश–बेसहारा भए । उनीहरूसँग करेन्टको कष्ट सहनुको विकल्प थिएन । लामो समयसम्म यो चक्र चलिरह्यो ।
हेर्नु थियो– फरकफरक अवस्थामा लामो समय दु:खभोग गरेका ती दुई जीवन–समूहमा कष्ट सहने प्रवृत्तिको अन्तर कस्तो हुन्छ ?
दोस्रो चरण
यस पटक दुवै समूहका कुकुरलाई एउटै नयाँ बाकसमा राखियो । बाकसको आधा भाग करेन्ट लाग्ने र अर्को आधा भाग करेन्ट नलाग्ने बनाइएको थियो । पहिलो समूहका कुकुर, नयाँ बाकसमा करेन्ट लाग्न सुरु हुनेबित्तिकै करेन्ट नलाग्ने कुनामा कुदिहाले । आफूलाई बचाउन उनीहरू नयाँ विधि खोज्न, अपनाउन जान्दथे र प्रयास गर्थे ।
दोस्रो समूहका कुकुरलाई पहिलो चरणमा करेन्टबाट बच्ने कुनै उपाय दिइएको थिएन । यस पटक नयाँ बाकसमा बच्ने ठाउँ थियो । भागेर करेन्टको पीडाबाट आफूलाई मुक्त बनाउन सकिने ठाउँ थियो । तर अचम्म । उनीहरूले आफूलाई बचाउने कुनै प्रयत्न गरेनन् ।
जब करेन्ट लगाउन सुरु भयो, उनीहरू कराउँदै थपक्क भुइँमा ढले । मुखबाट र्यालका धारा चुहिए । यस पटक भाग्नलाई सुरक्षित ठाउँ थियो । तर उनीहरूमा आशा, साहस केही देखिएन । न त उनीहरूले प्रयत्न नै गरे । (पुस्तक : स्वस्पर्शको यो अंश लेखकको अनुमतिले राखिएको हो । यो अंश पुस्तकको १५१, १५२ र १५३ पृष्ठबाट लिइएको हो ।)
डाक्टर केसीका अनुसार निरन्तर दु:खले शरीरमा एक प्रकारका रसायनहरू पैदा गर्छ, जसलाई ‘स्ट्रेस हर्मोन’ भनिन्छ । स्ट्रेस हर्मोन लामो समय हाम्रो शरीरमा रहे त्यसले दिमागको सकारात्मक र सिर्जनात्मक सोच निर्माण गर्ने भाग नै बन्द गरिदिन्छ । जसले गर्दा जीवनमा समस्या आइलाग्दा दु:ख सहने तर त्यसबाट बच्ने कुनै प्रयत्न नै नगर्ने अवस्थामा शरीर पुग्ने गर्छ ।
जीवित प्राणीमा यस्तो प्रवृत्तिलाई ‘सिकेको लाचारीपन’ (लर्न हेल्पलेसनेस) भनिने गरेको डा. केसी बताउँछन् । अन्य विधि अपनाएर गरिएको परीक्षणमा मानिसलगायत संसारका अरू प्राणीले यो भोग गर्छन् भन्ने प्रमाणित छ । जो सुकी र मायाहरूले वर्षौंदेखि महिला हिंसा र अत्याचार झेल्दा लाचारीपन आएको केसी बताउँछन् ।
प्रतिक्रिया 4