१० चैत, सिरहा । सिरहामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौन्धन्दा कार्यमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार, पहिलो घटना लहान नगरपालिका–८ को हो । सो स्थानमा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिता साहले तीन जना महिलालाई फोन सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पारी यौनधन्दामा लगाएको आरोपमा पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
दोस्रो घटना लहान–३ स्थित अस्पताल चोकमा रहेको ‘अनलाइन होटल एण्ड लज’को हो । होटल सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले चार जना महिलालाई होटलमा बोलाएर सप्तरीको सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोक कुमार चौधरी, २० वर्षीय नितिक कुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर यौनधन्दामा लगाएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न चारै जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
त्यसैगरी, तेस्रो घटना धनगढीमाई नगरपालिका–११ स्थित ‘खुश्बु होटल एण्ड लज’को हो । होटलका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहले दुई जना महिलालाई होटलमा बोलाएर सप्तरीको बलान बिहुल–६ का ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर जबरजस्ती यौनधन्दा गराएको प्रहरीको दाबी छ । उनीहरूलाई पनि ७ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रहरीले सबै घटनाका पीडित महिलाहरूको पहिचान गोप्य राख्दै उनीहरूलाई ‘सांकेतिक नाम’ दिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
जिल्लामा पछिल्लो समय होटल तथा निजी घरहरूलाई प्रयोग गरी यस्ता अवैध गतिविधि बढेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको डिएसपी पालले बताए ।
प्रतिक्रिया 4