News Summary
Generated by OK AI. Editorially reviewed.- २०७८/७९ मा नेपालमा २५०७ बलात्कारका घटना दर्ता भएका थिए, जसमा धेरै महिला तथा बालिका पीडित छन्।
- बलात्कारका घटनामा दोषी पुरुषहरूमा पिता, दाइ, पति, शिक्षक लगायत नाता भएका व्यक्तिहरू पनि छन्।
- पुरुषप्रधान सोच, सामाजिक संरचना र न्याय प्रणालीमा सुधार आवश्यक रहेको छ भन्ने आवाज उठाइएको छ।
२७ जुलाई २०१८, १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेर ऊखु झाडीमा फालियो । ३ फेब्रुअरी २०२१, १७ वर्षीया किशोरी भागिरथी भट्टको बलात्कार पछि हत्या गरी जङ्गलमा फालिन्छ । २३ भाद्र २०८२ मा १६ वर्षीया किशोरी ईनिशा विकको मृत शरीर वीरेन्द्रनगरको जङ्गलमा भेटिन्छ जसको मृत्युको कारण जबरजस्ती करणी पछिको अत्याधिक रक्तश्रावबाट भएको खबर आउँछ।
आर्थिक वर्ष २०१९–२० को नोभेम्बर महिनामा मात्रै आठ बलात्कारका घटना दर्ता भएका थिए जसमध्ये ११ वर्षीय, ७ वर्षीया, १३ वर्षीया र यहाँ सम्मकी ३ वर्षकी बच्ची समेत शिकार हुन पुगेकी थिइन् । यी क्रुर अपराधमा संलग्नहरू कोही ६० वर्षीया, कोही ५२ वर्षीया, कोही ३९ वर्षीया त कोही १६ वर्षीया किशोर छन् ।
जसमध्ये एक त पीडितका आफ्नै पिता थिए । यी त बाहिर आएका प्रतिनिधि घटना मात्र हुन लुकेर रहेका घटना कति होलान अड्कल नै छैन । अब एक महिला बलात्कृत हुन कुन ठाउँ बाँकी होला अनि कुन सम्बन्ध अछुतो होला ? न उमेरको परिधि नापिसक्नु छ, न सम्बन्धको मर्यादा जीवित रहेको छ, विश्वासको घाँटी त धेरै पहिले रेटिइसकेको छ।
घर होस् या विद्यालय, मन्दिर होस् या बाटो बाउ होस् या दाइ प्रेमी होस् या श्रीमान्, कसलाइ एक महिलाले आँखा चिम्लेर विश्वास गर्न सक्छिन ? अनि दोष कस्को ? के महिला भएर जन्मिनु नै अभिषाप बनेको हो त ? के के कुरामा संघर्ष गर्नुपर्ने अझै एक छोरीले ? छोरी भएकै कारण जन्म लिनको लागि आमाको गर्भमा रहँदा संघर्ष, खोइ भाग्य भनौं वा दुर्भाग्यबस जन्मिहाले फेरि यो समाजका ‘पुरुष’ देखि आफूलाई जोगाउन संघर्ष, यहाँ ‘पुरुष’ भनिरहँदा मन खिन्न हुन्छ ।
कहिल्यै यसरी भन्न नपरोसझैं लाग्छ किनभने मलाई थाहा छ मेरो समाजमा नराम्रा मात्र पुरुष छैनन् । तर पनि सत्य यहि हो ‘पुरुष’ मध्येकै एक ‘पुरुष’, ‘महिला’ मध्येका ‘म’ हरूको बलात्कारी हो ।
फेरि पनि प्रश्न उठ्छ यी सबै बलात्कारमा दोषी को त ?
हाम्रो समाजमा बलात्कार जस्तो अमानवीय क्रुर अपराध भइरहँदा पनि समाजले प्रश्न र शंकाको कठघरामा भने हिजो पनि स्त्रीलाई नै राख्दथ्यो आज पनि स्त्रीलाई नै राख्छ । ‘को सँग हिँडेकी थि ?’ एक्लै हिँडेको भए ‘किन एक्लै हिँडेक थी ?’, कस्तो लुगा लगाएकी थी ?, ब्वाइफ्रेण्ड थियो कि थिएन ?, काम के गर्थी…. यस्तै यस्तै ।
एउटा ४० वर्षको बाबुले आफ्नै किशोर अवस्थाकी छोरीको बारम्बार बलत्कार गर्दै गर्दा (ललितपुर) के जन्मिँदै नग्न अवस्थामा देखेको उसले आफ्नै छोरीले छोटो लुगा लगाउँदा त्यो बाउको कामुकता जाग्यो ?
होइन भने कपडा कसरी दोषी भयो ? दुनियाँको प्राण बचाउने प्रतिबद्धता गरेर डाक्टर बनेकी छोरीको ड्युटीमै सेतो एप्रोन सँगै हुँदा बलात्कार पछि हत्या नभएको हो र ? काम कसरी दोषी भयो ? फेरि पनि लुगा कसरी दोषी भयो ? आफूलाई बौद्धिक हुँ भन्ने हाम्रा बुद्धिजीविहरूको बुद्धिको स्तर अझै पनि त्यही महिलाको लुगाको लम्बाइले कहिलेसम्म नापिरहने ?
आज एक स्त्री आफ्नै पिता, दाइ, भाइ, पति, प्रेमी, शिक्षक, अथवा उसले विश्वास गर्न मिल्ने जुनसुकै नाताबाट बलात्कृत हुँदै गर्दा यो दुनियाँमा कुन चाहि नाता कुन चाहिँ सम्बन्ध पवित्र अनि निस्कलंकित रह्यो त ? ‘म’ समस्यामा छु भनेर सुनाउने ठाउँ कहाँ रह्यो त ? ‘म’ पीडित हुँ भनेर निर्धक्क भन्न सक्ने सम्बन्ध कहाँ छ त ?
नेपालमा एक दिनमा औसत ७ महिला तथा बालिका बलात्कारको शिकार भएको आँकडा छ । आर्थिक वर्ष २०८०/८१ मा २५०७ बलात्कारका घटना दर्ता भए . यो २५०७ केवल संख्या होइन यो त रित्तिएका कोखहरूको रोदन हो, उजाडिएका जिन्दगीहरूको आंसुको कथा हो ।
बलात्कार केवल शारिरिक घाउ दिने घटना होइन यो त बाचुञ्जेल आफ्नो आत्मासम्ममानलाई छियाछिया पार्ने दिनहुँको यातना हो । एक पीडितले भोग्नुपरेको ‘पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर’, एन्जाइटी, डिप्रेसन लगायतका कहालीलाग्दो भोगाइको विश्लेषण हामीले कसरी गरौंला र, अझै त्यसमाथि हाम्रो समाज त छँदैछ घाउमा मल्हमको सट्टा नुन छरिदिने।
आफ्नो मन्जुरीबिना शरीर माथि कुनै पुरुषले उसको पुरुषार्थ सिद्ध गर्नका लागि बस गन्न सकिने घडीको टिकटिक जति नै समयमा जिन्दगी सखाप पारिदियो । यो कुरा सहेर बाँचिरहेकी कोही स्त्रीको मनमा के बितिरहेको हुन्छ होला । झनै तिनै अपराधी छाती खुला पारेर त्यही समाजमा हिँडेको देखिरहँदा अनि सत्य स्विकार्नुबाहेक आफूसँग कुनै विकल्प नहुँदा के बित्छ होला ?
नेपालको संविधान अथवा फौजदारी संहिता २०७४ को कुरा गरौं । त्यहाँ तोकिएको सजायको व्यवस्था किन कागजबाट बाहिर आउनुपर्ने जसरी आएको महसुस भएको छैन ?
जुन कोखबाट यो सुन्दर संसारमा जन्म लियो त्यही कोखको बलत्कार गर्ने मानिस आखिर के सम्झिँदो हो एक स्त्रीलाई ? के उनीहरूको निम्ती एक स्त्री मानव नभई केवल भोगबिलासको समाग्री बनेकी हुन् ?
देवीलाई भगवान भन्दै पुजा गर्ने यही समाजका तिनै हात यो स्त्री माथिको जघन्य अपराधमा किन उठ्न रोकिएनन् । आखिर काहाँ चुक्यो हाम्रो समाज ? । एक स्त्रीको बलत्कार हुँदै गर्दा न्याय माग्न बाटोमा आउँछन, हार गुहार गर्छन् तर बिडम्बना त्यही न्याय माग्ने भीडमध्ये नै कोही फेरि बलत्कारी भएर निस्किन्छन् । अनि त्यही हिजो अरूलाई न्याय माग्न हिँड्ने स्त्री बलात्कृत हुन्छिन् । आखिर कहाँ चुक्यौँ हामी ? कहाँ चुक्यो हाम्रो समाज ?
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ३ महिलामा १ जना महिला यौन हिंसाको शिकार हुन पुगेका हुन्छन् तर के यी सबै घटना बाहिर आएका छन् त ? अहं छैनन् ।आफू बलात्कृत हुनु परेको पीडा त छँदैछ झन् त्यसैमाथि मन खोलेर रुन पनि नपाउँदाको अवस्था झन् कस्तो होला ?
विभिन्न अनुसन्धानलाई आधार मान्ने हो भने यौन चाहना मात्र बलत्कारको कारण होइन भनिएको छ । पुरुषप्रधान सोचले निम्त्याएको मानसिकता, ‘पुरुष विशेषाधिकारको धारणा, महिलाको अमानविकरण, पुरुष प्रभुत्वको सामान्यीकरण, समाजद्धारा निर्मित सोच जस्ता अनेकौं कारणहरूलाई प्राथमिकता साथ बलात्कारका मुख्य कारण भनि देखाइएको छ ।
यसको के अर्थ लगाउन सकिन्छ भने ‘पुरुष’ लाई शक्तिशाली देखाउने हाम्रो सामाजिक व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । सुन्नमा गौण लाग्न सक्छन् कठोर लाग्न सक्छन् घरमा एउटै उमेरका छोरा र छोरी छन् भने छोरामाथि खासै प्रश्न उठाइँदैन । तर ‘छोरी मान्छे भएर यस्तो गर्ने’, ‘तिमी त छोरी मान्छे हौ’, जस्ता वाक्यको प्रयोगले पुरुषप्रधान व्यवस्थालाई मौन स्विकृती दिएका छैनन् र ? घरको कुनामा एउटी छोरीलाइ छोरी हुँदा पालना गर्नुपर्ने संस्कार सिकाइरहँदा पल्लो कुनामा छोरालाई ‘पुरुष’ हुनुको घमण्ड पलाइरहेको त छैन ? आमाले छोरीलाई छोरी हुनुको कर्तव्य बोध गराइरहँदा बाबाले छोरालाई छोराको दायित्व र जिम्मेवारी सिकाउन छुटेको पो छ कि ?
म यो जुनीमा त्यो समाज हेर्न चाहन्छु, जहाँ रातिको ८ बजे घरबाहिर जानु पर्दा एक स्त्री निर्धक्क हिँड्न सक्छिन् । म त्यो समाज हेर्न चाहन्छु जहाँ २१-२२ वर्ष पुगेकी छोरी घरबाहिर निस्किँदै गर्दा आमाले उनको सुरक्षाका लागि ११-१२ वर्षको भाइ साथमै पठाउन नपरोस्। अनि त्यो समाज हेर्न चाहन्छु, जहाँ छोरी घर जान भनी बस चढेका बेला घरबाट बाबाले छेउमा केटी मान्छे छ कि केटा मान्छे भनेर सोधिरहन नपरोस् । के यो समभव छ ? देशमा मैले अनि म जस्ता जेन-जेड हरूले चाहेको भनिएको परिवर्तनमा के यो पनि सपना देख्ने अधिकार छ ? हेलो सरकार ! म एक महिला हुँ के मलाई स्वतन्त्र भएर बाँच्ने अधिकार छ ?
प्रतिक्रिया 4