News Summary
Generated by OK AI. Editorially reviewed.- लेखक सुबिन भट्टराईले १५ वर्षअघि लेखेको उपन्यास 'समर लभ' ले उनको जीवनमा महत्वपूर्ण मोड ल्याएको बताए।
- उनी बेरोजगार अवस्थामा थिए तर 'समर लभ' लेख्दा आत्मविश्वासले भरिएका थिए र अन्ततः फाइनप्रिन्ट प्रकाशनले पुस्तक छाप्यो।
- 'समर लभ' ले देशभरि पाठकको माया पाएको र लेखकलाई साहित्यिक परिचय दिलाएको लेखकले उल्लेख गरे।
पन्ध्र वर्षअघिका दिन झलझली सम्झिन्छु । दसैं, तिहार र छठका रौनक सकिएर भरखर हिउँद लागेको थियो । हतपत घाम नछिर्ने चिसो कोठा । अनि घाममा देखिन मन नलाग्ने त्यो चिसो मन ।
सिरक ओढेर ल्यापटप काखमा राखी त्यो पूरै हिउँद दिनभरि लेख्नमा बिताएँ । मलाई चिसो सिरेटोको ख्याल भएन । बाहिर लागेको पहारिलो घामको पनि लोभ रहेन । हिँउदे झरी कुन बेला पर्यो, कुन बेला थामियो, वास्ताबेस्ता केही भएन ।
कोठैभित्र बसेर लेखिरहँदा घुँडा कक्रक्क भएको पनि थाहा भएन, ढाड दुखेको पनि परवाह रहेन । एकनासका दिनचर्याको घना जङ्गलमा दौडिँदा थकाइ लागेको पनि वास्ता भएन। आफैंभित्र एउटा गहिरो सुरूङ खनेको थिएँ । म त्यही सुरूङको अँध्यारोमा पसेर कथाको उज्यालो खोजिरहन्थें । कथाका इन्द्रेणी सोहोर्नमा अलमस्त मलाई त्यो साल हुस्सु र तुसारोको उदास रङप्रति पनि कुनै आपत्ति रहेन ।
शब्दहरू यति न्यानो हुँदा रहेछन्, तिनले एउटा सिङ्गै हिउँद बिर्साइदिए । कसैले मलाई सोधून्, मलाई सबैभन्दा कम जाडो कहिले भएको थियो भनेर । म भन्दो हुँ, समर लभ लेखेको साल ।
ð
समर लभ लेखिरहँदा म लगभग बेरोजगार थिएँ । लगभग किन भनें भने, कुनै कलेजमा सातामा एउटा क्लास पढाउन पाएर पूर्ण बेरोजगार हुनबाट बचेको थिएँ । ओ हेनरीको द लास्ट लिफ कथामा एउटा मात्रै पात बाँकी रहेको रूखको जस्तो हालत थियो मेरो रोजगार हुनु । जिन्दगीप्रतिको आशा भन्नु पनि त्यति नै ।
उता मेरा साथीहरू सबैजसो रोजगार थिए । कतिका बिहेको निम्तो कार्डहरूको चाङ लाग्न थालेका थिए । उनीहरूमध्ये कतिले धमाधम बिहे गरेर फेसबुकको भित्तोमा हनिमुन जाँदाको फोटो हालेका थिए । म यता आफ्नै छटपटीमा थिएँ ।
मलाई साथीहरूसित भेट्नुले झन् एक्लो बनाउँथ्यो । तात्ताता चियागफहरूमा म जति सेलाएको कोही देखिँदैनथ्यो । कोही छेउमा आउन खोजे म भागिदिन्थें ।
यी सबका बाबजुद कसैले फेरि पनि मलाई सोधून्, म सबैभन्दा रमाएको बेला कुन थियो भनेर ।
म भन्दो हुँ, समर लभ लेखेको बेला ।
ð
ती दिन, जहाँ म कोही थिइनँ । आफैंले आफैंलाई पत्याउने आधार केही थिएन । पाठकले नपत्याएको एउटा असफल किताबको असफल लेखक सिवाय मेरो कुनै परिचय थिएन । यो फुर्सद र असफलता अनि कथाको एउटा चाबुकले मस्तिष्कमा निरन्तर दिएको रन्थन्याइले हो, मैले आफैंलाई त्यो अदृश्य गुफामा हुलेको ।
अनन्तको एउटा यात्रा आफैंभित्र हुँदै गयो । मस्तिष्कमा कथाको कपास थियो, जसलाई मैले हिउँदभरि कातिरहें । मेरो जीवनको दियोमा अहिलेसम्म बलिरहने बाती, त्यही बेला कातिएको हो ।
एक हिउँदको त्यो लेखन यात्रालाई म कसरी बयान गरुँ ? शब्दहरूको झिलिमिली सहरमा यसरी हराइएछ, अल्छी र दिक्क ढिम्किनै नपाएर ढोकाबाहिर निन्याउरिएका थिए । त्यो अनुभव दुई रुपियाँ जोहो गरेर बाल्यकालमा किनेर खाएको कटन क्यान्डी जस्तो थियो, मुखमा हाल्दाहाल्दै बिलाइगयो । ती तीन महिना मानौं, एउटा छोटो जीवन थियो, मज्जा मान्दामान्दै सकियो ।
जुनीभरका लागि एउटा मिठो स्मृति छाडेर बिदा भयो ।
ð
पहिलो पुस्तकलाई पाठक, समीक्षक कसैले नपत्याएको बेला समर लभको सम्भावित असफलताले पनि झस्काउनुपर्ने, झस्काएन । त्यो लेखिरहँदा मनैभरि आत्मविश्वासको पहारिलो घाम लागेको थियो । मैले हिँडेको लामो बाटोको कुनै मोडमा म अलमलिएको छैन, यस्तै लागिरहन्थ्यो । मभित्रबाट अर्को म फुत्त निस्किन्थ्यो र मेरो ढाडमा धाप मारिरहन्थ्यो।
लेख्नु भनेको फगत लेख्नु मात्र कहाँ हुँदो रहेछ र ! एउटा सिङ्गै जीवन पुनः बाँच्नु पनि हुँदोरहेछ । मैले भरखरै छाडेर आएको जीवन, जसलाई बेलाबेला सम्झनामा मात्र ल्याउन सक्थें, लेखिरहँदा एक चोटि फेरि बाँचें ।
त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञान पढेर भर्खर निस्किएको केटोसित ती दिनमा केही थिए भने, स्मृति थिए । मलाई हाँस्नलाई त्यही माहोलको जोक चाहिन्थ्यो । प्रेमलाई महसुस गर्नुपरे कुनै एउटा अनुहार थियो । म त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा बितेका तिनै दिन सम्झेर खुसी हुन्थें । लेखिरहँदा आफूभित्र उदासीको झोक्का चाहिए, त्यहीँबाट ओसार्थें ।
कलेज भर्ना हुँदादेखि कलेज पढिरहँदाका शिक्षक–शिक्षिकासितको सम्बन्ध, साथीहरूसितको साहचर्य, ध्यान दिएर सुनेका लेक्चर, बङ्क हानेर सिनेमा हेर्न निस्किएका दिन, साथीहरूका ब्रेकअप र प्याचअपका भिन्नभिन्न किस्सा, कम्बाइन स्टडी र तासको खाल, परीक्षा, एसेसमेन्ट, फिल्ड ट्रिप, थेसिस… अनुभव र स्मृति बासी हुन पाएका थिएनन् । मानव कोषिकामा डिएनए कोड भए झैं ती जेहेनमा कोड भएका थिए ।
यो कथा लेखाउने त्रिविको त्यो माहोल र तमाम ती साथीहरूप्रति म सधैं सधैं कृतज्ञ छु ।
ð
तीन महिनामा समर लभको पहिलो ड्राफ्ट लेखेर सकियो । नयाँ किताब लेखिए पनि म पुरानो किताब झोलामा हालेर जति सक्दो पुस्तक विमोचनका कार्यक्रममा जान्थें र मेरा चील जस्ता आँखाले चल्ला जस्ता समीक्षक, पत्रकार र लेखकलाई छानीछानी किताब भिडाउँथे ।
‘हजुरले पढिदिनुपर्यो ।’
‘केही लेखिदिनुभए आभारी पनि हुने थिएँ ।’ म टाउको कन्याउँदै ङिच्च हाँस्थें ।
दर्जनौं किताब बाँडिए, दर्जनौं आशाहरूका साथ, जो दर्जनौं पटक ओइलाइगए ।
बाँडिएकामध्येको एउटा किताब, जो अन्यत्र जसरी कतै बुकसेल्फमा गएर यस्सै थन्किएन, त्यसले एकजोर मायालु आँखाको स्पर्श भेटायो । एक त्यान्द्रो आशा कतै ओइलाउनबाट यसरी बचेको रहेछ ।
एक दिन फेसबुकको च्याटमा एउटा मेसेज आइपुग्यो, ‘सुबिनजी तपाईंको कथाकी पात्र पढें, गज्जब लाग्यो ।’
कसैले मेरो किताब पढेको छ, झन् त्यसमाथि प्रशंसा गरेको छ, मलाई त्यस दिनभरि खाना नभए पनि चल्यो । प्रशंसाले अघाएँ । मेरो पहिलो पुस्तकले पाठक भेट्नु देशमा इमानदार नेता भेटिनु जत्तिकै दुर्लभ थियो ।
मैले विलम्ब नगरी धन्यवाद भनें ।
उता अझै टाइपिङ हुँदै थियो । मैले बारम्बार त्यही मेसेज पढिरहें —तपाईंको कथा गज्जब लाग्यो— यो लाइन मैले दर्जनौं चोटि पढें । दर्जनौं चोटि मुस्कुराएँ । बुकसेल्फमा भएको मेरो त्यही किताब निकालें । त्यसलाई स्नेहले हेरें र दर्जनौं चोटि सुमसुम्याएँ ।
‘नयाँ केही लेख्नुभाछ, सुबिनजी ?’ अर्को मेसेज आयो ।
‘लेखेको छु, भरखर एउटा उपन्यास सकें ।’
‘लु गज्जब । फाइनप्रिन्टका अजित बरालसित मेरो गफ भएको थियो । राम्रो लेख्ने नयाँ को छन् भनेर सोध्दै हुनुहुन्थ्यो, मैले तपाईंको नाउँ लिएको छु । एक चोटि भेट्नुस् ।
म नम्बर दिन्छु । र एउटा कथाकी पात्र पनि लगेर दिनुस् ।’
पहिलो किताब मन पराइदिने र दोस्रो किताबलाई बाटो देखाइदिने यी मित्र थिए, विमल आरोही (आचार्य) ।
तर फाइनप्रिन्ट ? यो मेरा लागि पत्याइनसक्नुको कुरा थियो । मुटुको चाल बदलियो । आँखाको नानी र नाकका पोरा फिँजियो ।
‘फाइनप्रिन्टले जो पायो त्यसको किताबै छाप्दैन ।’
‘फाइनप्रिन्टका प्रकाशक घमन्डी छन् ।’
यस्तै हल्ला–अफवाह व्याप्त थिए ।
मैले दिइएको नम्बरमा डराइडराई फोन लगाएँ । ठेगाना मागें । बाइक लिएर सुकेधारापारिको धुम्बाराहीको अफिस पुगें । एक प्रति कथाकी पात्र अजित बराललाई थमाएँ । पहिलो भेटमा औपचारिकताभन्दा धेरै बोलचाल केही भएन ।
म फर्किएँ । इभिनिङ वाकमा निस्किँदा एउटा ल्यान्डलाइन नम्बरबाट फोन आएको रहेछ । मिस भएछ । पछि थाहा भयो, त्यो फाइनप्रिन्टको फोन थियो । आफ्नो हुस्सुपनाप्रति आफैंलाई गाली दिएँ । केही महङ्खवपूर्ण विषय आफूबाट उम्किए झैं, केही हराए झैं महसुस भयो ।
उदास–उदास हिँडिरहें । घर पुगेपछि मोबाइलमा फेरि मेसेज आयो, ‘हेल्लो सुबिन, अगाडिका दुई कथा पढें, निकै राम्रो लाग्यो । यो हामीले छाप्न पाएको भए हुन्थ्यो भन्ने लाग्यो ।’
यो पढिसकेर पाँच मिनेट के जवाफ दिने रनभुल्लमा परें ।
मैले केही लेख्नैपरेन । फेरि अर्को मेसेज आयो ।
‘नयाँ केही छ ?’
अजित बराललाई मैले नयाँ उपन्यास लेखेको जानकारी गराएँ । दाइले पाण्डुलिपि मागे । मैले इमेलमा तत्काल पाण्डुलिपि पठाएँ ।
करिब दुई सातामा जवाफ आयो, ‘यो किताब राम्रो लाग्यो, हामी यसलाई लार्ज स्केलमा छाप्छौं ।’
लार्ज स्केल, अर्थात् एकै चोटि १० हजार प्रति । नेपालभन्दा बाहिरको प्रेसमा । भयानक प्रमोसनसहित । धेरैभन्दा धेरै युवापुस्तालाई पढाउने गरी ।
यस्तै किसिमको प्रतिक्रिया आयो । सफलताको दुई गाँस नसिब नभएको भोको लेखकलाई फाइनप्रिन्ट कक्टेल बुफे डिनरको अफर गरिरहेको थियो ।
आउट भएर पाभेलियन जान लागेको ब्याट्सम्यान, थर्ड अम्पायरको चामत्कारिक निर्णयले क्रिजमै फर्किए जस्तो भयो । के थाहा, किताबले राम्रो प्रकाशक, उचित वितरण र पाठक नपाएको भए लेखनलाई मैले समर लभमै बिट मार्थें कि !
एउटा बेरोजगार, अकिञ्चन, उदास र निःस्पृह लेखकले भव्य मौका पाएको थियो ।
ð
किताब मैले राम्रो लेखेको थिएँ, यसमा कुनै सन्देह थिएन । तर फाइनप्रिन्ट ? १० हजार ? भयानक प्रमोसन ?
मैले प्राप्तिको एउटा सानो पर्खाल सोचेको थिएँ, समय सिङ्गै पर्वत भएर मेरा सामुन्ने उभिइरहेको थियो । मैले सफलतालाई एउटा गमलासम्ममा फुलेको सोचेको थिएँ । तर त्यो सिङ्गै बगैंचा बनेर मुस्कुराइरहेको थियो ।
किताबको शीर्षकमा अनेक नाउँ गाँसिन आइपुगे, तर यसको जोडा समर लभसित मात्रै सुहायो ।
र समर लभ छापियो । दशै हजार । बडो आकर्षक कभर र कलेवरका साथ । हेरिरहूँ, सुमसुम्याइरहूँ जस्तो । हेर्दा किताब होइन, क्याडबरी पो हो कि झैं, कसैलाई उपहार दिऊँदिऊँ लाग्ने । यसमा उत्पादनको गुणस्तर र बजारका झिनामसिना पाटा हेर्ने प्रकाशक नीरज भारीको पनि ठूलो देन छ ।
पुस्तक विमोचनअघि अनेकौं किसिमका प्रमोसन भए । समर लभकै एउटा सानो अंश र कभर छापिएको पोस्टकार्ड बोकेर फाइनप्रिन्टका भाइबहिनीहरू कलेजकलेज पुगे । सहरमा कुनै साहित्यिक कार्यक्रम होस् या नाटक मञ्चन, त्यहाँ पुगेर ढोकामा बसेर आफैं पनि सक्दो धेरैभन्दा धेरैलाई पोस्टकार्ड बाँड्न हिचकिचाइनँ । समथर भइदिएको थियो, समर लभको त्यो यात्रा मेरा लागि, कष्टकर कहीँ भएन ।
केही महिनामै समर लभको पहिलो संस्करण सकियो । त्यसपछि कति छापिए, कति पढिए । कति सुनिए (अडियो), कहाँकहाँ कति छलफल भए त्यो अर्कै कुरा ।
चियागफहरूमा अब म आफैं जानुपरेन, बोलाइन थालें । कसैबाट पनि लुक्नुपरेन, धेरैले मलाई देख्न नै चाहे ।
हेर्दाहेर्दै प्रेम गर्नेहरूको समुद्र देखा पर्न थाल्यो ।
मैले डुबुल्की लगाउन छाडिनँ, प्रेम गर्नेहरूको समुद्रमा छिरेर । र यसरी सुबिन भट्टराई र समर लभ एकअर्काका पर्याय भए ।
ð
समर लभ लेख्ने त्यो युवा सुबिन उमेरले अब युवा रहेन । उसले लेखेर राखेका पात्र अझै जवानै छन्, कम से कम पाठकका मस्तिष्कमा । तिनलाई पढ्ने केही पाठक बरु प्रौढ भए । केही नवीन पाठक साहित्यको कखरा सिक्नलाई समर लभको छेउछाउ आइपुग्छन् ।
समर लभका औंला समातेर हिँड्न सिकेका कतिपय पाठकका लागि साहित्य हिजोआज मेस्सीको खुट्टामा परेको बल झैं भइसकेको छ । यस अर्थमा समर लभ भाग्यमानी छ कि यो कुनै पनि पाठकको पहिलो किताब पक्कै भयो होला, अन्तिम भएन ।
डेढ दशक पाठकहरूसितको अनेक संवादका सिलसिला भए, भइरहेका छन् ।
‘एकै बसाइमा पढेर सकियो ।’
‘कति खित्काहरू छुटे ।’
‘म समर लभ पढेर रोएँ ।’
‘मेरा कैयौं रात अनिदो बिते ।’
भर्खर छोरी जन्माएका केही प्रिय पाठकले छोरीको नाउँ साया नै राख्छु भनेर अनुमति मागे ।
कथाको काल्पनिकता र सत्यताबीच ठूलै बहस भए ।
देशभित्र र विदेशबाट आउने पाठकले एक चोटि त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञानको केन्द्रीय विभाग भ्रमण पनि गरे ।
यो सबै समर लभप्रतिको उत्सुकता र यसले पाएको माया थियो ।
समर लभले आलोचना र घोचपेच पनि उत्तिकै खेप्यो । तर यसले पाएको प्रेमका अघिल्तिर घोचाइको कद सानो छ ।
ð
कसैले मलाई सोधून्, आफूले लेखेको सबैभन्दा प्रिय किताब कुन हो भनेर ।
म निःसङ्कोच भन्दो हुँ, समर लभ ।
यसकारण कि समर लभ एउटा किताब मात्र होइन, किमार्थ यो एउटा कथा मात्र होइन । समर लभ एउटा भावना बनिसकेको छ मेरा लागि । मेरा जतिसुकै परिचय बनून्, तिनमा समर लभकै गन्ध मिसिएको हुन्छ ।
मैले प्रशंसा र आलोचना मात्र होइन, कौतूहल र मिठा आरोप पनि पाएको छु । कथालाई कथामा मात्र सीमित राख्न नसक्नु पाठकको कमजोरी होइन, कथाकै शक्ति होला । आजसम्म पनि हरेकजसो दिन मलाई जिज्ञासा आइरहन्छन्, समर लभका अतीत र साया कहाँ छन् भनेर ।
म भनिदिन्छु, ‘पात्रहरू काल्पनिक थिए ।’
कतिले पत्याउँदैनन् । साया र अतीतको फोटो मात्र हेर्न पाए धन्य हुन्थें भन्छन् ।
कतिले बडो दुःखी हुँदै पत्याउन विवश भएको हाउभाउ देखाउँछन् ।
कतिले भन्छन्, ‘अतीत शर्मा त तपाईं नै हो जस्तो लाग्छ ।’
म मुस्कुराउँछु । मनमनै गदगद पनि हुन्छु ।
समर लभ छापिएयता साया र अतीतका नाउँमा दर्जनौं फेसबुक अकाउन्ट बने । कथाकै मिठो छाप परेर त होला, समर लभको सिक्वेल सायाको विमोचनमा नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा अटाइनसक्नु गरेर किताब किन्न आएका पाठकको भीडले घेरिएर मैले एकै दिनमा करिब हजार किताबमा हस्ताक्षर गरें ।
कसैले सोधून् मलाई, म सबैभन्दा भावुक र खुसी एकै चोटि कहिले भएको थिएँ भनेर ।
म भन्दो हुँ, त्यसै दिन, जुन दिन हजारौं पाठकका आँखामा मैले समर लभप्रतिको प्रेम र व्यग्रता देखेको थिएँ ।
ð
समर लभ छापिएको १३ वर्ष भइसकेछ । तर लेखिएको पूरा १५ वर्ष । १५ वर्षअगाडि लेखनलाई मैले जसरी एक हिउँद माया गरें, लेखनले जुनीभरि पुग्ने गरी त्योभन्दा कैयौं गुना माया मलाई फर्काइरह्यो ।
कसैले मलाई बनेको देख्छ भने म समर लभले बनें । कसैले मलाई बिग्रेको देख्छ भने म समर लभले बिग्रिएँ । समर लभपछाडि जति पुस्तक प्रकाशित भए या होऊन्, यसैले दिएको परिचय बोकेर हिँडिरहेको छु÷हिँड्नेछु । समर लभले मेरो दोस्रो न्वारान गरिदियो ।
मलाई समर लभको नामले चिनिनु सधैं प्रिय छ ।
– सुबिन भट्टराई
२०८२ पुस
प्रतिक्रिया 4