News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक समाज डोल्पाले डोल्पा जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
- निक साइमन्स इन्स्टिच्युटले डोल्पा अस्पताललाई प्राथमिकतामा राख्न प्रक्रिया अघि बढाएको अवस्थामा प्रदेश सरकारले अस्पताल छनोटमा डोल्पा समावेश नगरेको गुनासो गरिएको छ।
- सामाजिक विकास मन्त्रालयले पाँच अस्पताल छनोट गरेकोमा डोल्पा अस्पताल छुटाइएको भन्दै तत्काल संशोधन गरी डोल्पा समावेश गर्न ज्ञापनपत्र बुझाइएको छ।
९ चैत, डोल्पा । जिल्ला अस्पताल डोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने माग राखेर कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।
सोमबार नागरिक समाज डोल्पाले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो ।
निक साइमन्स इन्स्टिच्युटले दुर्गम क्षेत्रमा प्रदान गर्ने विशेषज्ञ स्वास्थ्य सेवाको कार्यक्रम अन्तर्गत डोल्पा जिल्ला अस्पताललाई समावेश गर्नु पर्ने समाजको माग छ ।
प्रदेश सरकारले स्वास्थ्य सेवा विस्तारका लागि छनोट गरेका अस्पतालहरूको सूचीमा डोल्पा जिल्ला अस्पताल नपरेको विषयमा नागरिक समाजले आपत्ति जनाएको छ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर सुर्खेतमा ज्ञापनपत्र बुझाउँदै उक्त निर्णयप्रति ध्यानाकर्षण गराइएको हो।
ज्ञापनपत्रमा डोल्पा भौगोलिक रूपमा अत्यन्त विकट र मानव विकास सूचकांकमा पछाडि परेको जिल्ला भएकाले यहाँको जिल्ला अस्पताललाई प्राथमिकतामा राखिनुपर्ने उल्लेख गरिएको छ।
निक साइमन्स इन्स्टिच्युटले विस्तृत अध्ययन गरी डोल्पा जिल्ला अस्पताललाई प्राथमिकतामा राख्दै प्रक्रिया अघि बढाएको अवस्थामा प्रदेश सरकारको निर्णयले जिल्लालाई बेवास्ता गरेको गुनासो गरिएको छ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुर्खेतको सालकोट, दैलेखको दुल्लु, कालिकोटको रास्कोट, रुकुम पश्चिमको आठविसकोट र हुम्लाको जिल्ला अस्पताललाई छनोट गरेको छ।
आवश्यकता र दुर्गमताका आधारमा डोल्पा पहिलो प्राथमिकतामा पर्नुपर्ने भए पनि छुटाइएको भन्दै नागरिक समाजले असन्तुष्टि जनाएको छ।
समाजसेवी बबी किशोर गुरुङका अनुसार मन्त्रालयको निर्णय अवैज्ञानिक र पूर्वाग्रही रहेको र पद तथा पहुँचका आधारमा दुर्गम जिल्लालाई पछाडि पारिएको आरोप लगाइएको छ।
ज्ञापनपत्रमार्फत उक्त निर्णय तत्काल संशोधन गरी निक साइमन्स इन्स्टिच्युटको कार्यक्रम अन्तर्गत कार्यान्वयन हुने पाँच अस्पतालको सूचीमा डोल्पा जिल्ला अस्पताललाई पनि समावेश गर्न माग गरिएको छ।
प्रतिक्रिया 4