News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको ओहायो राज्यस्थित क्लीभल्यान्डमा मंगलबार बिहान करिब ९ बजे चम्किलो उल्कापिण्ड देखिएको थियो।
- नासाका अनुसार उक्त उल्कापिण्ड करिब ६ फिट व्यास र ७ टन तौल भएको क्षुद्रग्रह थियो।
अमेरिकाको ओहायो राज्यस्थित क्लीभल्यान्ड शहरमा गत मंगलबार बिहान एउटा असाधारण खगोलीय घटना भयो जसले स्थानीय बासिन्दालाई मात्रै नभई वैज्ञानिक समुदायलाई पनि आश्चर्यमा पारेको छ ।
सामान्यतया रातको समयमा मात्रै स्पष्ट देखिने उल्कापिण्ड मंगलबार चाहिँ दिनदहाडै देखिएको थियो । त्यसक्रममा उल्कापिण्ड निकै चम्किलो देखिएको थियो र त्यहाँ शक्तिशाली विस्फोट भएको थियो । तथापि उक्त उल्कापिण्ड मानवरहित क्षेत्रमा खसेकाले क्षति नभएको बताइएको छ।
मंगलबार स्थानीय समय अनुसार बिहान करिब ९ बजे आकाशमा एउटा अत्यन्तै चम्किलो आगोको गोला देखियो । धेरै मानिसहरूले यसलाई कुनै विस्फोटक पदार्थको शक्तिशाली विस्फोटनसँग तुलना गरे । प्रत्यक्षदर्शीका अनुसार आकाशबाट अचानक आएको प्रकाश र त्यसपछि सुनिएको विस्फोटको भयंकर आवाजले केहीबेर त्रसित बनाएको थियो ।
अमेरिकन मेटेओर सोसाइटीका अनुसार त्यो घटना केवल ओहायोमा मात्रै सीमित थिएन । विस्कन्सिन देखि मेरील्यान्ड सम्मका सयौँ किलोमिटर टाढाका क्षेत्रबाट समेत त्यो देखिएको थियो ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार आकाशबाट खसेको उक्त वस्तु करिब ६ फिट व्यास र लगभग ७ टन तौल भएको ठोस क्षुद्रग्रह थियो । त्यो पिण्ड करिब ७२ हजार ४०० किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो।
यसलाई पहिलोपटक इरी तालमाथि करिब ८० किलोमिटरको उचाइमा देखिएको थियो । त्यसपछि यो दक्षिण-पूर्वतर्फ तीव्र गतिमा अघि बढ्दै गयो ।
सो उल्कापिण्ड जमिनबाट करिब ४८ किलोमिटर उचाइमा आइपुगेपछि विस्फोट भएर टुक्रा-टुक्रा भएको भयो । वैज्ञानिकहरूको अनुमान अनुसार, यसबाट निस्किएको ऊर्जा करिब २५० टन टिएनटी विस्फोट बराबर थियो । यो एउटा सानो सैन्य-स्तरको विस्फोटसरह मानिन्छ ।
यसको प्रकाश यति तीव्र थियो कि वाशिङ्टन डीसी लगायत १० अमेरिकी राज्य र क्यानडाको ओन्टारियो सम्मका मानिसहरूले यसलाई स्पष्ट रूपमा देखेका थिए।
अमेरिकन मेटेओर सोसाइटीका कार्यकारी निर्देशक खगोलविद् कार्ल हर्गेनरोथनका अनुसार त्यो साँच्चिकै आगोको ठूलो गोला जस्तो देखिन्थ्यो ।
पृथ्वीका लागि चेतावनी संकेत ?
यस घटनाको सबैभन्दा चिन्ताजनक पक्ष के हो भने यस्तो खतरनाक वस्तु पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा समेत कुनै पनि पूर्वचेतावनी थिएन । यद्यपि नासा लगायतका अन्तरिक्ष संस्थाहरूले पृथ्वी नजिकको अन्तरिक्षका पिण्डहरूको नियमित निगरानी गरिरहेका हुन्छन् । तथापि यस्ता साना तर शक्तिशाली उल्कापिण्डहरू भने प्रायः पत्ता लगाउन कठिन हुन्छ ।
यो घटनाले पृथ्वीको वायुमण्डलीय प्रतिरक्षा प्रणाली पूर्णसुरक्षित नभएको संकेत दिएको छ । यदि यस्तो २५० टन टिएनटी बराबर ऊर्जा भएको उल्कापिण्ड कुनै घना बस्तीमा ठोक्किएको भए त्यसबाट भयवाह क्षति हुनसक्थ्यो ।
वास्तवमा विज्ञानले धेरै प्रगति गरिसकेको भए पनि अन्तरिक्षबाट आउने यस्ता जोखिमहरू अझै पूर्ण रूपमा नियन्त्रणमा छैनन् । भविष्यमा यस्ता घटनाहरूको पूर्वानुमान र जोखिम व्यवस्थापनका लागि अझ उन्नत प्रविधि र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक देखिएको खगोलविदहरुको भनाइ छ ।
एजेन्सी
प्रतिक्रिया 4