+

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

२०८२ चैत  ८ गते १३:२९ २०८२ चैत ८ गते १३:२९
कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिज्म, मुटुको गति, मानसिक अवस्था र मांसपेशी कार्यसम्पादन नियन्त्रण गर्छ।
  • आयुर्वेदमा थाइराइड उपचारका लागि औषधीय वनस्पति, पञ्चकर्म विधि, योग र प्राणायाम प्रयोग गरिन्छ।

अहिले विश्वजगतमा नसर्ने रोगको प्रभाव बढिरहेको छ । अवस्था नेपालको पनि उस्तै छ । नसर्ने रोग मध्येमा थाइराइड पनि एउटा जटिल रोग हो । थाइराइड एउटा सानो तर अत्यन्तै महत्वपूर्ण ग्रन्थी हो, जुन हाम्रो घाँटीको अगाडिपट्टि रहन्छ आयुर्वेदमा यसलाई अवटु ग्रन्थी भनिन्छ । यो ग्रन्थीले थाइराइड हर्मोन उत्पादन गर्छ, जसले हाम्रो शरीरको मेटाबोलिज्म (पाचन र उर्जा खपत गर्ने प्रक्रिया), मुटुको गति, शारीरिक तापमान, मानसिक अवस्था र मांसपेशीहरूको कार्यसम्पादनलाई नियन्त्रण गर्छ ।

थाइराइड ग्रन्थीको असन्तुलनले शरीरको हर्मोन उत्पादनमा गम्भीर असर पार्न सक्छ, जसले थकान, तौल वृद्धि, चिसो सहन नसक्ने, अवसाद, छालाको सुक्खापन, र मासिक धर्मको अनियमितता जस्ता लक्षणहरू उत्पन्न गर्छ ।

आयुर्वेदमा यस समस्यालाई शरीरका तीन दोषहरू– वात, पित्त, र कफको असन्तुलनको रूपमा हेरिन गरिन्छ । आयुर्वेद अनुसार पेटमा रहेको अग्नि (जठरअग्नि), शरीरका दोषहरू घटी या बढी हुनाले अर्थात् पाचन शक्तिमा प्रभाव पर्नुको कारण यसको बिकार हुन सक्ने बताइएको छ ।

विशेष गरी कफ दोषको वृद्धि ‘हाइपोथायरायडिज्म’ सँग सम्बन्धित हुन्छ भने पित्त दोष को वृद्धि ‘हाइपरथायरायडिज्म’ सँग सम्बन्धित हुन्छ । यस बाहेक थाइराइड ग्रन्थीको कार्यमा गडबडी हुनुका पछाडि विभिन्न कारणहरू हुन्छन्, जसमा खानपान, जीवनशैली, पारिवारिक इतिहास, र वातावरणीय कारकहरू मुख्य छन्।

१.पारिवारिक इतिहास

यदि तपाईंको परिवारमा कसैलाईथाइराइड समस्या (जस्तै हाशिमोटो रोग वा ग्रेभ्स डिजिज) छ भने, तपाईंमा पनि यो समस्या हुने सम्भावना बढी हुन्छ। अनुवांशिकताले थाइराइड हर्मोन उत्पादनमा लगभग ६५ प्रतिशतसम्म प्रभाव पार्न सक्ने कुरा अध्ययनहरूले देखाएका छन् ।

२.खानपान र पोषण

आयोडिनको असन्तुलन : आयोडिन थाइराइड हर्मोन उत्पादनका लागि आवश्यक तत्व हो । यसको कमी वा अत्यधिक सेवन दुबै लेथाइराइड ग्रन्थीमा समस्या ल्याउन सक्छ । आयोडिनको अत्यधिक सेवनले हाइपरथाइराइडिज्मको जोखिम बढाउन सक्छ।

क्रुसिफेरस तरकारीहरू : काँचो ब्रोकाउली, फूलगोभी, बन्दाकोपी र मुला जस्ता तरकारीहरू अत्यधिक मात्रामा सेवन गर्दा आयोडिनको उपयोगमा बाधा पुग्न सक्छ, जसले हाइपोथाइराइडिज्मको जोखिम बढाउन सक्छ।

३.जीवनशैली र बानीहरू

तनाव र निद्रा अभाव : दीर्घकालीन तनाव र पर्याप्त निद्रा नपाउनुलेथाइराइड हर्मोनको सन्तुलनमा असर पार्न सक्छ।

अत्यधिक व्यायाम र कम खानपान : अत्यधिक व्यायाम र कम क्यालोरीयुक्त आहारले शरीरको मेटाबोलिज्मलाई प्रभाव पार्न सक्छ, जसले थाइराइड हर्मोन उत्पादनमा कमी ल्याउन सक्छ ।

धूम्रपान : धूम्रपान गर्ने व्यक्तिहरूमा हाइपोथाइराइडिज्मको जोखिम बढी हुन्छ ।

४.वातावरणीय कारकहरू

रेडिएसनको प्रभाव : टाउको वा घाँटी क्षेत्रमा रेडिएसन थेरापी लिएका व्यक्तिहरूमा थाइराइड समस्याको जोखिम बढ्न सक्छ।

वातावरणीय विषाक्त पदार्थहरू: केही वातावरणीय विषाक्त पदार्थहरू (जस्तै, पेस्टिसाइड्स, भारी धातुहरू) लेथाइराइड ग्रन्थीमा असर पार्न सक्छन्।

५.अन्य जोखिम कारकहरू

लिङ्ग र उमेर : महिलाहरूमा पुरुषहरू भन्दा थाइराइड समस्याको सम्भावना बढी हुन्छ । विशेष गरी ६० वर्षभन्दा माथिका महिलाहरूमा जोखिम अत्याधिक हुन्छ ।

गर्भावस्था : गर्भावस्था र सुत्केरीपछिको समयमाथाइराइड हर्मोनमा परिवर्तन आउन सक्छ, जसले केही महिलाहरूमाथाइराइड समस्याको सुरुवात गर्न सक्छ । थाइराइडले उत्पादन गर्ने टी३ र टी४ हर्मोन हाम्रो सम्पूर्ण शारीरिक प्रणालीका लागि निर्देशक जस्तै हो । यदि यो ग्रन्थीमा गडबडी आयो भने मानिसको दैनिक जीवन प्रत्यक्ष
प्रभावित हुन्छ ।

यसको प्रभावले निम्न लक्षणहरू देखिन सक्छ:

-मानसिक तनाव र चिडचिडापन

-चिसो अथवा तातो सहन गाह्रो पर्ने

-अनिद्रा अथवा अत्यधिक निद्रा लाग्ने

-तौलमा अत्यधिक वृद्धि वा कमी हुने

-आवाज परिवर्तन वा घाँटीमा गाँठो बसेजस्तो अनुभूति हुनु

-कुनै पनि काममा ध्यान केन्द्रित गर्ने शक्ति क्रमश कम हुदै जानु

-युवाहरूमा आत्मग्लानी र एकाग्रतामा कमी आउनु

-महिलाहरूमा गर्भधारणमा समस्या र मासिक महीनावारीमा असन्तुलन आउनु

-काम गर्ने क्षमतामा कमी, आर्थिक उत्पादकत्वमा गिरावट

थाइराइड समस्याले महिला र वृद्धहरूमा विशेष प्रभाव पार्दछ । समाजिक हिसाबले पनि यसको असर व्यापक छ – शिक्षा, रोजगार, र पारिवारिक सम्बन्धमा पनी तनाव ल्याउन सक्छ।

थाइराइड सम्बन्धी रोगहरू

हाइपो थाइराइडिज्म

थाइराइड ग्रन्थी कम सक्रिय हुँदा हुने अवस्था हो । यसले थकान, तौल वृद्धि, चिसो असह्यता, र मुड स्विङ (मनोवृत्तिमा उतारचढाव) ल्याउँछ । आयुर्वेद अनुसार, यो कफ दोषको वृद्धि हो जसले शरीरमा सुस्तता र आलश्यता बढाउछ ।

हाइपरथाइराइडिज्म

थइराइड ग्रन्थी अत्यधिक सक्रिय हुँदा यो समस्या हुन्छ । यसमा मुटुको गति बढ्ने, तौल घट्ने, बेचैनी र गर्मी सहन नसक्ने जस्ता लक्षण देखिन्छ । आयुर्वेदमा, यो पित्त दोषको अति वृद्धि मानिन्छ जसले शरीरमा अत्यधिक ताप र सुन्निने समस्या निम्त्याउछ ।

ग्रेभ्स डिजिज

यो एक प्रकारको अटोइम्युन रोग हो जसले अत्यधिक थाइराइड हर्मोन उत्पादन गराउँछ । आँखाको गेडी फुलेर बहिरा आउला जस्तो हुन्छ र घाँटीमा गाँठो बन्ने लक्षण देखिन्छ।

हाशिमोटो थाइराइडइटिस

अटोइम्युन अवस्थामा शरीरले आफ्नै थाइराइड आक्रमण गर्छ । यसले प्रायः हाइपोथाइराइडिज्मको समस्या निम्त्याउछ ।

थाइराइडइटिस

यो थाइराइड ग्रन्थी सुन्निने समस्या हो । यसले हाइपो वा हाइपरथाइराइडिज्म दुवै गराउन सक्छ।

पोस्टपार्टम थाइराइडइटिस

यो प्रसूति पछि महिलाहरूमा देखिने थाइराइड समस्या हो । प्रायः अस्थायी हुन्छ तर ध्यान दिन आवश्यक हुन्छ ।

थाइराइड गाँठो

थाइराइड ग्रन्थीमा देखिने साना गाठाहरू हुन् । प्रायः निष्क्रिय हुन्छन्, तर केही अवस्थामा क्यान्सरजन्य पनि हुन सक्छन्।

थाइराइड क्यान्सर

यो दुर्लभ भए तापनि गम्भीर रोग हो । यसको उपचारका लागि सामान्यतः शल्यक्रिया आवश्यक हुन्छ ।

गोइटर

थाइराइड ग्रन्थी ठूलो हुने अवस्था हो । आयोडिनको कमी वा थाइराइड सुन्निएका कारण यो हुन्छ ।

आयुर्वेद पद्धतिबाट कसरी हुन्छ उपचार  ?

आयुर्वेद शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याएर उपचार गर्ने विज्ञान हो । थाइराइड समस्याको समाधानका लागि आयुर्वेदमा निम्ति विधिहरू अपनाउन सकिन्छ ।

१. औषधीय वनस्पति

– अश्वगन्धाले टीएसएच हर्मोन सन्तुलन गर्छ, मेटाबोलिजममा सन्तुलन ल्याउछ र तनाव कम गर्न मद्दत गर्दछ।

– गुग्गुलुले थाइराइड ग्रन्थीको कार्यक्षमता सुधार गर्न र कफ दोष कम गर्न सहयोग मिल्छ ।

– ब्रह्मीले मानसिक तनाव घटाउने काम गर्छ ।

– त्रिफला पाचन प्रणाली सुधार गर्न र शरीरबाट विषाक्त पदार्थहरू हटाउन सहयोगी हुन्छ।

आयुर्वेद औसधि प्रयोग गर्दा आयुर्वेद चिकित्सकको परामर्शमा मात्र प्रयोग गर्नुपर्छ ।

२. पञ्चकर्म विधिहरू:

– शिरोधारा : निरन्तर रूपमा निधारमा तातो तेल खन्याउने प्रक्रिया हो, जसले मानसिक तनाव कम गर्न र हर्मोन सन्तुलनमा मद्दत गर्दछ।

नस्य : यो नाकमार्फत औषधि प्रवाह गराउने विधि, जसले थाइराइड ग्रन्थीको कार्यमा सुधार ल्याउनमा प्रत्यक्ष सहयोग गर्छ ।

– बस्ती : पाचन प्रणालीलाई सुधार गरी दोषको शुद्धि गर्न मदत गर्छ

थाइराइडका लागि उपयोगी योग आसनहरू

योग र प्राणायामले थाइराइड समस्याको आयुर्वेदिक उपचारमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छन् । यी पद्धतिले केवल हर्मोन सन्तुलन मात्र होइन, सम्पूर्ण मानसिक, शारीरिक र आत्मिक स्वास्थ्यमा सुधार ल्याउँछन् ।

थाइराइड समस्याको लागि विशेष रूपमा उपयोगी योग आसनहरू र प्राणायाम विधिहरू को विस्तृत विवरण यस प्रकार रहेको छ ।

१.सर्वाङ्गासन

कसरी गर्ने ?

पिठमा सुतेर खुट्टा र शरीरको तल्लो भाग उठाएर काँधमा टेकेर सन्तुलन राख्ने ।

फाइदा : थाइराइड ग्रन्थीमा रक्त प्रवाह वृद्धि हुन्छ, जसले हर्मोन उत्पादनमा सुधार ल्याउँछ । हाइपोथाइराइड र हाइपरथाइराइड दुवैका लागि लाभदायक।

२.मत्स्यासन

कसरी गर्ने ?

पिठमा सुतेर छातीलाई माथि उठाउने र टाउको जमिनमा टेकेर कम्मर र घाँटीमा लचक ल्याउने ।

फाइदा : थाइराइड ग्रन्थीमा सीधा दबाब दिई यसको कार्यक्षमता सक्रिय पार्छ । तनाव कम गर्छ ।

३.हलासन

कसरी गर्ने ?

सर्वाङ्गासनबाट खुट्टा पछाडि ल्याएर जमिनमा टेकिने आसन ।

फाइदा : मेटाबोलिज्म रथाइराइडको कार्य सुधार गर्छ । शरीरमा रक्त प्रवाह सन्तुलित हुन्छ ।

४.भुजङ्गासन

कसरी गर्ने ?

पेटमा सुतेर हातले छाती उठाउने।

फाइदा : घाँटी रथाइराइड क्षेत्रलाई सक्रिय बनाउँछ, मानसिक थकान घटाउँछ।

थाइराइडका लागि उपयोगी प्राणायाम

१. उज्जायी प्राणायाम

कसरी गर्ने ?

सरल आसनमा बस्ने चिउँडोले छातीमाथि घाँटीमा रहेको खोपिल्टोमा हल्का दबाब दिँदै बिस्तारै श्वास तान्ने। तान्दा जति समय लागेको थियो त्यति नै समय रोक्ने र दोब्बर समय लगाएर बिस्तारै नाकबाट श्वास फाल्ने।

फाइदा : घाँटीको नशालाई उत्तेजित गर्छ । थाइराइड हर्मोन सन्तुलनमा सहयोग गरी मानसिक शान्ति दिन्छ।

२.अनुलोम–विलोम प्राणायाम

कसरी गर्ने ?

एउटा नाक बन्द गरी अर्कोबाट सास लिने र अर्को नाकबाट छाड्ने।

फाइदा : नाडी सुद्धि गर्छ, वात–पित्त–कफ सन्तुलनमा ल्याउँछ, तनाव घटाउँछ।

३.भ्रामरी प्राणायाम

कसरी गर्ने ?

सास लिई सकेपछि भुनभुनाउने आवाज (मौरी जस्तै) निकाल्दै सास फेर्ने।

फाइदा : मानसिक तनाव घटाउने, निद्रा सुधार गर्ने, थाइराइडको कार्यलाई स्थिर राख्ने ।

४.कपालभाति प्राणायाम

कसरी गर्ने ?

तीव्र गतिमा नाकले सास तान्ने र फाल्ने ।

फाइदा : मेटाबोलिज्म तीव्र बनाउँछ, तौल घटाउन सहयोग गर्छ । हाइपोथाइराइडमा विशेष लाभदायक।

सावधानीहरू

यी आसनहरू बिहान खाली पेटमा गर्नु उपयुक्त हुन्छ । उच्च रक्तचाप, हर्निया वा अन्य गम्भीर अवस्थामा चिकित्सकको सल्लाह बिना अभ्यास गर्नुहुँदैन ।

सुरुमा अनुभवी योग शिक्षकको निर्देशनमा अभ्यास गर्नु सुरक्षित हुन्छ।

आहार र जीवनशैली

आयोडिनयुक्त खाना (जस्तै समुद्री शैवाल, नुन), मेवा, ताजा फलफूल, हरियो सागसब्जी, सम्पूर्ण अन्न, र प्रोटिनयुक्त खाद्य पदार्थहरू सेवन गर्नुपर्छ । काँचो ब्रोकोली, फूलगोभी, दही र सोयाबीन जस्ता गोइट्रोजनिक खाद्यहरू सीमित मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ

विश्राम र निद्रा

समयमै सुत्ने, बिहानै उठ्ने, तनाव घटाउने बानी बसाल्नुपर्छ ।

प्रारम्भिक जाँच

थाइराइड रोगको प्रारम्भिक अवस्था नचिनिएमा जटिल रोगहरूको सम्भावना हुन्छ । यसले हृदय रोग, मधुमेह, बाँझोपन र मानसिक रोग जस्ता समस्या निम्त्याउछ । त्यसैले वार्षिक स्वास्थ्य परीक्षणमा थाइराइड हर्मोन पनि जाँच गराउनु उपयुक्त हुन्छ ।

(लेखक अधिकारी हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, खोटाङमा कार्यरत छन् ।)

आयुर्वेद थाइराइड
लेखक
डा. आविष्कार अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय