News Summary
Generated by OK AI. Editorially reviewed.- गर्मी सुरु हुनासाथ बजारमा कोक, फ्यान्टा, स्प्राइट, पेप्सी जस्ता कार्बोनेटेड पेय पदार्थको खपत उल्लेखनीय रूपमा बढ्ने गर्छ।
- सफ्ट ड्रिंकमा हुने चिनी र एसिडले दाँतको बाहिरी सतहलाई क्षति पुर्याउन सक्छ र दाँत कमजोर हुने समस्या देखिन सक्छ।
गर्मी सुरु हुनासाथ बजारमा कोक, फ्यान्टा, स्प्राइट, पेप्सी जस्ता कार्बोनेटेड पेय पदार्थको खपत उल्लेखनीय रूपमा बढ्ने गर्छ । चर्को घाम, बढ्दो तापक्रम र तिर्खाले सताउँदा धेरै मानिसको रोजाइमा यस्तै चिसा पेय पदार्थ पर्ने गर्छन् । साना पसलदेखि ठूला होटल र रेस्टुरेन्टसम्म यी पेय पदार्थ सजिलै पाइने भएकाले यसको प्रयोग दिनदिनै बढ्दै गएको पनि छ ।
सामान्य मानिसले पनि सजिलै किन्न सक्ने, गुलियो/स्वादिलो हुने तथा पिउँदा तत्काल ताजगीको अनुभूति हुने भएकाले सफ्ट ड्रिंक अत्यन्त लोकप्रिय बनेको छ । विशेष गरी युवापुस्ता र बालबालिकामा यसको प्रयोग बढी देखिन्छ । तर प्रश्न उठ्छ ‘के यस्ता पेय पदार्थको नियमित सेवन स्वास्थ्यका लागि सुरक्षित छ ? के यसले हाम्रो शरीरमा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्न सक्छ ?’
आजभोलि स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययनहरूले सफ्ट ड्रिंकको अत्यधिक सेवनले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्ने संकेत गरेका छन् । त्यसैले यस विषयमा जानकारी राख्नु र सचेत हुनु आवश्यक देखिन्छ ।
कार्बोनेटेड पेय पदार्थ के हो ?
कार्बोनेटेड पेय पदार्थ भनेको कार्बन डाइअक्साइड ग्यास मिसाइएको पानीबाट तयार गरिएको पेय पदार्थ हो । यसले गर्दा पेय पदार्थमा साना बुलबुला (फिज जस्तो) देखिन्छन र यो पिउँदा एक प्रकारको चिसो र ताजगीको अनुभव हुन्छ । सामान्यतया यस्ता पेय पदार्थमा चिनी, फ्लेभर, खाद्य रङ, क्याफिन तथा कहिलेकाहीँ फस्फोरिक एसिड जस्ता पदार्थ मिसाइएका हुन्छन् । यी पेय पदार्थहरू प्रायः बोतल वा क्यानमा बजारमा बिक्री गरिन्छन् ।
आकर्षक विज्ञापन, स्वाद र सजिलै उपलब्ध हुने कारणले गर्दा यसको प्रयोग दिनानुदिन बढ्दै गएको देखिन्छ ।
१.दाँतको स्वास्थ्यमा असर
सफ्ट ड्रिंकको अत्यधिक सेवनले दाँतको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । यी पेय पदार्थमा हुने चिनी र एसिडले दाँतको बाहिरी सतहलाई क्षति पुर्याउन सक्छ । जब हामी सफ्ट ड्रिंक पिउँछौँ, मुखभित्र रहेका ब्याक्टेरियाले चिनीलाई प्रयोग गरेर एसिड उत्पादन गर्छन् ।
यसले दाँतको बाहिरी सतह (इनामेल) लाई कमजोर बनाउँछ र बिस्तारै दाँत कमजोर हुने, कुहिने समस्या सुरु हुन सक्छ । यसका अतिरिक्त सफ्ट ड्रिंकमा पाइने एसिडले दाँतको कडा भागलाई बिस्तारै घुलाउने काम गर्छ । सुरुमा दाँतको बाहिरी सतह मात्र प्रभावित हुन्छ, तर लामो समयसम्म यस्तो पेय पदार्थको अत्यधिक प्रयोग गरिएमा भने दाँतको भित्री भागसम्म नराम्रो असर पुग्न सक्छ ।
२.मोटोपना र मधुमेहको जोखिम
आजभोलि विश्वभरि मोटोपना र मधुमेह जस्ता समस्या बढ्दै गएका छन् । यसको एक कारण चिनी धेरै भएको खाद्य तथा पेय पदार्थको अत्यधिक सेवन पनि मानिन्छ । अधिकांश सफ्ट ड्रिंकमा चिनीको मात्रा धेरै हुन्छ र सफ्ट ड्रिंक प्राय जसो धेरै क्यालोरी भएका प्रशोधित खाद्य जस्तै : फ्रेन्च फ्राई, पिज्जा, बर्गर, समोसा आदि सँगै खाने गरिन्छ।
यस्तो पेय पदार्थ नियमित रूपमा सेवन गर्दा शरीरमा अनावश्यक क्यालोरी बढ्छ जसले गर्दा शरीरमा बोसो जम्मा हुने सम्भावना बढ्छ र मोटोपनको समस्या देखिन सक्छ । वैज्ञानिक अध्ययनहरूले समेत देखाएका छन् कि लामो समयसम्म दैनिक रूपमा एक वा दुईवटा सफ्ट ड्रिंक सेवन गर्ने व्यक्तिमा टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ ।
३.हड्डीको स्वास्थ्यमा असर
सफ्ट ड्रिंकमा प्रयोग हुने केही तत्वहरू, विशेष गरी फस्फोरिक एसिडले शरीरमा क्याल्सियमको अवशोषण कम गर्न सक्छ । क्याल्सियम हाम्रो हड्डीका लागि चाहिने अत्यावश्यक पोषक तत्व हो । यदि शरीरमा क्याल्सियमको मात्रा कम भयो भने हड्डी कमजोर हुने सम्भावना हुन्छ । लामो समयसम्म यस्तो अवस्था रहिरहेमा हड्डी पातलो हुने वा भाँचिने जोखिम पनि बढ्न सक्छ । यसका अतिरिक्त सफ्ट ड्रिंक धेरै पिउने बानी भएका व्यक्तिले प्रायः दूध वा अन्य पोषणयुक्त पेय पदार्थ कम सेवन गर्ने भएकाले पनि हड्डीको स्वास्थ्यमा असर पर्न सक्छ ।
४.स्वस्थ बानी कसरी अपनाउने ?
स्वास्थ्य विशेषज्ञहरूका अनुसार सफ्ट ड्रिंकको सेवन सकेसम्म सीमित गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पनि दैनिक चिनीको मात्रा कुल क्यालोरीको लगभग ५ प्रतिशत मात्र हुनुपर्छ, जुन करिब २५ ग्राम बराबर हुन्छ ।
सफ्ट ड्रिंकका सम्बन्धमा स्वस्थ जीवनका लागि निम्न बानी अपनाउन सकिन्छ :
–सफ्ट ड्रिंकको सेवन कम गर्ने
–तिर्खा लाग्दा पानी पिउने बानी बसाल्ने
–सम्भव भएसम्म दूध वा प्राकृतिक जुस जस्ता स्वस्थ पेय पदार्थ रोज्ने
–दिनमा कम्तीमा दुई पटक दाँत सफा गर्ने
–एसिडयुक्त पेय पदार्थ पिएपछि पानीले मुख कुल्ला गर्ने
यस्ता साना लाग्ने सामान्य बानीहरूले पनि दीर्घकालीन रूपमा स्वास्थ्य जोगाउन ठूलो भूमिका खेल्न सक्छन् ।
ध्यान दिनुपर्ने कुरा
सफ्ट ड्रिंकको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । विशेष गरी चिनी धेरै भएको सफ्ट ड्रिंकले मोटोपना, मधुमेह, दाँतको समस्या, हड्डी सम्बन्धी लगायतका विभिन्न जोखिम बढाउन सक्ने सम्भावना रहन्छ ।
त्यसैले कहिलेकाहीँ सीमित मात्रामा सेवन गर्नु ठीक मान्न सकिएला तर यसलाई दैनिक बानी बनाउनु स्वास्थ्यका लागि राम्रो मान्न सकिदैन । बरु सम्भव भएसम्म स्वस्थ जीवनका लागि पानी, जुस, दूध वा प्राकृतिक पेय पदार्थ रोज्नु नै सबैभन्दा राम्रो विकल्प हो ।
प्रतिक्रिया 4