+

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

२०८२ चैत  ४ गते १७:२५ २०८२ चैत ४ गते १७:२५
निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निद्रामा बोल्नु सामान्यतया तनाव, डिप्रेसन, निद्राको कमी, मदिरा सेवन र ज्वरोसँग जोडिएको हुन्छ।
  • निद्रामा हिँड्नु बढी खतरनाक मानिन्छ किनकि व्यक्तिलाई आफू हिँडिरहेको थाहा हुँदैन र चोटपटक लाग्न सक्छ।

सँगै सुतेको व्यक्ति अचानक निद्रामा केही बोल्न थालेको अथवा फतफताउन थालेको अनुभव पक्कै तपाईंसँग हुनुपर्छ । यस्तो बानी कतिपयमा हुन सक्छ । त्यो बेला सँगै सुतेका अरूको निद्रा बिग्रन सक्छ । अथवा सम्बन्धमा नै पनि असर पर्न सक्छ ।

किनकि त्यस्ता व्यक्तिहरूले कहिलेकाहीँ निजी कुराहरू पनि भन्ने गर्छन् । हातखुट्टा चलाउने‍, कराउने, चिच्याउने त सामान्यझैं हुन्छ । यहाँसम्म कि कतिपय त निद्रामा नै उठेर हिँड्छन् । तर, निदाइरहेको समयमा बोल्नुको तुलनामा निद्रामा हिँड्नु बढी खतरनाक मानिन्छ ।

धेरैले यो बानीलाई सामान्य मान्ने गरेका छन् । यद्यपि यो बानी निरन्तर बढ्ने क्रममा छ भने त्यो स्वास्थ्य समस्या हुन सक्छ ।

आखिर किन यस्तो हुन्छ त ? यसबाट बच्ने उपायहरू केके छन् ?

निद्रामा बोल्नु

हामी सुतिरहँदा मस्तिष्कमा एक प्रकारको सुरक्षा संयन्त्रले काम गरिरहेको हुन्छ । उक्त संयन्त्रले सपनासँग जोडिएका स्नायु गतिविधिहरूलाई बोल्ने वा शरीरको हलचलमा बदल्नबाट रोक्छ ।

तर यो प्रणालीले सधैं सही तरिकाले काम गर्छ भन्ने हुँदैन । कहिलेकाहीँ यसमा समस्या आउन सक्छ । र, यहीकारण नै व्यक्तिहरू सुतिरहेको अवस्थामा पनि बोल्ने, हिड्ने, छटपटाउने गर्छन् ।

विज्ञहरूका अनुसार यो विभिन्न शारीरिक र मानसिक कारणहरूसँग जोडिएको हुन सक्छ । विशेषत: तनाव, डिप्रेसन, निद्राको कमी, मदिरा सेवन र ज्वरो जस्ता यसका कारण हुन सक्छन् ।

दिल्लीको सर गंगाराम अस्पतालका डाक्टर मोहसिन वली निद्रामा बोल्नु सामान्यतया कुनै ठूलो बिरामीको लक्षण नभई तनावसँग जोडिएको विषय मान्छन् । यदि कोही व्यक्ति तनावमा सुत्छ अथवा मनमा कुराहरू खेलाइरहन्छ भने त्यस्ता व्यक्तिहरू निद्रामा बोल्न सक्ने उनी बताउँछन् । कतिपय भने सपनामा डराउँदा पनि बोल्ने उनको भनाइ छ ।

मेट्रो ग्रुप अफ हस्पिटलकी सिनियर कन्सल्टेन्ट न्यूरोलोजिस्ट डाक्टर सोनिया लाल गुप्ता पनि निदाइरहेको समयमा बोल्ने बानीलाई सामान्य समस्या मान्छन् । यो बढी बालबालिकामा देखिने उनको भनाइ छ । यदि यो समस्या बढ्दै गएको खण्डमा चाहिँ चिन्ता लिनु पर्ने उनी सुनाउँछन् ।

निद्रामा हिँड्नु

निद्रामा हिँड्नु बोल्नुको तुलनामा अझ बढी खतरनाक हुन्छ । डाक्टर मोहसिन वलीका अनुसार त्यसरी हिँड्दा व्यक्तिलाई आफू हिँडिरहेको छु भन्ने थाहा हुँदैन । यस्तो अवस्थामा लड्ने वा कुनै चिजसँग ठोक्किने खतरा बढी रहन्छ ।
विज्ञहरूका अनुसार रातको निद्रा धेरै चरणहरूमा पूरा हुन्छ ।

हामी सुत्ना साथै पूरा निदाइहाल्दैनौं । सबैभन्दा पहिले हामीलाई हल्का निद्रा लाग्छ । करिब २० मिनेट पछि हामी बिस्तारै गहिरो निद्रामा पर्न थाल्छौं ।

त्यसपछि निद्रा फेरि केही समयका लागि हल्का हुन्छ । त्यसपछि फेरि गहिरो निद्रा लाग्छ । त्यो अवस्थालाई स्वास्थ्य क्षेत्रमा र्‍यापिड आई मुभमेन्ट (रेम) भनिन्छ ।

निद्राका यी सबै चरणहरू रातभरमा धेरै पटक दोहोरिन्छन् । हरेक चक्रसँगै रेम अर्थात् गहिरो निद्राको समयावधि पनि बढ्दै जान्छ । यही सिलसिला बिहान निद्रा नखुलेसम्म चलिरहन्छ ।

रेम निद्राको क्रममा नै हामी सबैभन्दा बढी सपना देख्छौं । यस अवस्थामा शरीर लगभग पूर्ण रूपमा शिथिल रहन्छ । अर्थात् सपनामा चलिरहेका गतिविधि अनुसार शरीरले कुनै पनि हलचल गर्दैन ।

यद्यपि निद्रामा हिँड्ने समस्या पनि यही नै देखिन्छ । किनकि त्यसबेला मस्तिष्क र शरीरबीचको तालमेल बिग्रन जान्छ । एक प्रकारको भ्रमको स्थिति सिर्जना हुन्छ । उता मस्तिष्क यति सक्रिय हुन्छ कि उसले शरीरलाई हिँड्ने डुल्ने संकेत दिन्छ । तर यता व्यक्ति पूर्ण रूपमा ब्यूँझिने गरी सक्रिय हुँदैन ।

इटालीको मिलानस्थित निगुआरडा अस्पतालमा निद्रामा हिँड्ने व्यक्तिहरूको मस्तिष्कको गतिविधिको अध्ययन गरिएको थियो । त्यसक्रममा उनीहरूको मस्तिष्कका केही भागहरू त्यस समयमा सक्रिय रहने र बाँकी भागहरू भने निद्राकै अवस्थामा रहने पाइएको थियो ।

उक्त अध्ययनले निद्रामा हिँड्ने समस्या ‘निद्रा र ब्यूँझिएको अवस्थाबीच उत्पन्न असन्तुलन’को नतिजा हो भन्ने संकेत गरेको थियो ।

कुन अवस्थामा चिन्ता लिने ?

डाक्टर सोनिया लाल गुप्ताका अनुसार निद्रामा बोल्ने वा फतफताउने व्यक्तिहरूलाई आफूले रातमा बोलेको अथवा गरेको कुरा समेत याद हुँदैन । जुन बिल्कुलै सामान्य हो ।
माथि भने जस्तै बालबालिकाहरूमा भने यो समस्या उमेर बढ्दै जाँदा आफैं हराएर जान्छ । तर वयस्क अथवा त्यो माथिका उमेरहरूमा यस्तो समस्या छ र, त्यो निरन्तर बढ्दै छ भने कारणको खोजी गर्नुपर्ने उनको भनाइ छ ।

विशेषत: यो समस्याले निद्राको गुणस्तरमा असर गरेको छ/छैन भन्ने विषय हेर्नु पनि महत्वपूर्ण हुने उनी सुनाउँछन् । यदि कोही व्यक्ति बारम्बार निद्रामा बोल्छ, चिच्याउँछ वा हिंसात्मक व्यवहार गर्छ भने उनीहरूलाई जाँच गराउनु आवश्यक छ ।

के छ उपचार ?

डाक्टरहरूका अनुसार यस समस्याको कुनै छुट्टै उपचार हुँदैन । यसलाई निको बनाउन कारण बुझ्नु पर्ने र त्यसमा काम गर्नु उनीहरू बताउँछन् ।

विशेष गरी सुत्ने समय तालिका नियमित नहुनु वा धेरै तनाव लिँदा यस्तो समस्या हुन्छ । त्यसो हुनाले यो बानीमा सुधार गर्नु नै उत्तम समाधान मानिएको छ ।

डाक्टर सोनिया लाल गुप्ता निद्राको गुणस्तर सुधार्न सुत्ने र उठ्ने समय निश्चित हुनुपर्ने बताउँछन् । दिउँसो तीन बजेपछि क्याफिन (चिया, कफी) सेवन गर्न नहुने साथै सुत्नुअघि मोबाइल फोनको प्रयोगबाट टाढै रहने उनी सुनाउँछन् ।

तर यदि कोही व्यक्ति तनाव लिएर सुत्न जान्छ र यो समस्या निरन्तर बढ्दै गइरहेको छ भने यो समस्या निरन्तर बढी रहने उनको भनाइ छ ।

बीबीसीबाट

मानसिक समस्या
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय