News Summary
Generated by OK AI. Editorially reviewed.- पिसाब परीक्षणले मिर्गौला, मधुमेह, मूत्र मार्ग संक्रमण, कलेजो र अन्य रोगहरूको प्रारम्भिक अवस्था पत्ता लगाउन मद्दत गर्छ।
पिसाब परीक्षणले शरीरका विभिन्न अंगहरूको स्वास्थ्य अवस्था बारे महत्वपूर्ण जानकारी दिन्छ । मिर्गौलाले रगतबाट फोहोर पदार्थहरू जस्तै युरिया, क्रिएटिनिन र अतिरिक्त पानी छानेर पिसाब बनाउँछन् । त्यसैले पिसाबमा हुने स–साना परिवर्तनहरूले पनि शरीरभित्र लुकेका समस्या संकेत गर्न सक्छन् । यो सरल, सस्तो र छिटो परीक्षण हो, जसले प्रारम्भिक अवस्थामा नै धेरै रोगहरू पत्ता लगाउन मद्दत गर्छ ।
पिसाब परीक्षणबाट पत्ता लाग्ने रोगहरू
पिसाब परीक्षणले सामान्यतया तीन भागमा जाँच गरिन्छः भौतिक रंग, स्पष्टता, गन्ध, रासायनिक डिपस्टिक टेस्ट र माइक्रोस्कोपिक कोशिकाहरू हेर्ने ।
यसबाट निम्न रोगहरू वा समस्याहरू संकेत पाइन्छ ।
मिर्गौला सम्बन्धी रोगहरू
मिर्गौलाको छान्ने क्षमता कमजोर हुँदा पिसाबमा प्रोटिन ‘प्रोटिनुरिया’ बढ्छ । यो उच्च रक्तचाप, मधुमेहबाट हुने मिर्गौला क्षति डायबिटिक नेफ्रोप्याथी ग्लोमेरुलोनेफ्राइटिस वा दीर्घकालीन मिर्गौला रोगको प्रारम्भिक संकेत हुन सक्छ ।
पिसाबमा रगत ‘हेमाटुरिया’ देखिएमा मिर्गौलाको पत्थरी ‘किड्नी स्टोन’, संक्रमण, मिर्गौला सुन्निएको समस्या, मिर्गौला वा पिसाब थैलीको क्यान्सरको संकेत हुन सक्छ । क्रिस्टलहरू (जस्तै क्याल्सियम अक्सालेट, युरिक एसिडले पत्थरीको जोखिम देखाउँछ ।
धेरैजसो मिर्गौला रोगहरू सुरुमा लक्षणविहीन हुन्छन्, त्यसैले नियमित जाँच महत्वपूर्ण हुन्छ ।
मधुमेह
पिसाबमा ग्लुकोज ‘सुगर’ भेटिएमा ब्लड सुगर उच्च भएको संकेत हो । यो अनियन्त्रित मधुमेहको मुख्य लक्षण हो । यदि लामो समयसम्म उच्च सुगर रह्यो भने मिर्गौला क्षति ‘डायबिटिक नेफ्रोप्याथी’ हुन सक्छ । पिसाबमा केटोन्स भेटिएमा ‘डायबिटिक किटोएसिडोसिस’ गम्भीर अवस्थाको संकेत हुन सक्छ ।
मूत्र मार्ग संक्रमण
यो सबैभन्दा सामान्य कारण हो जसका लागि पिसाब परीक्षण गरिन्छ । पिसाबमा सेता रक्त कोशिकाहरू, नाइट्राइट, ल्युकोसाइट एस्टरेज वा ब्याक्टेरिया भेटिएमा मूत्र मार्ग संक्रमण पुष्टि हुन्छ ।
यो समस्या महिलाहरूमा बढी देखिन्छ, विशेष गरी पिसाब गर्दा जलन, बारम्बार पिसाब लाग्ने, तल्लो पेट दुख्ने, ज्वरो आउने लक्षणहरूमा । यदि मिर्गौलासम्म संक्रमण पुगेको छ भने ‘पाइलोनेफ्राइटिस’ गम्भीर हुन सक्छ ।
कलेजो सम्बन्धी रोगहरू
पिसाबमा बिलिरुबिन वा युरोबिलिनोजेनको मात्रा बढी भएमा कलेजोको कार्यमा समस्या जस्तै हेपाटाइटिस, सिरोसिस, पित्त नली अवरुद्धको संकेत हुन्छ । यो जन्डिसको प्रारम्भिक जाँचमा पनि उपयोगी हुन्छ ।
अन्य महत्वपूर्ण रोगहरू र अवस्थाहरू
उच्च रक्तचापबाट हुने मिर्गौला क्षति– प्रोटिनुरिया देखिन्छ ।
मूत्राशय वा प्रोस्टेट सम्बन्धी समस्या– रगत, संक्रमण वा क्यान्सरको संकेत ।
केही क्यान्सरहरू मिर्गौला, ब्लडर, प्रोस्टेट– रगत वा असामान्य कोशिकाहरू भेटिन सक्छन् ।
केही यौनजन्य रोगहरू– विशेष टेस्टमा संक्रमण पत्ता लाग्न सक्छ ।
डिहाइड्रेशन वा इलेक्ट्रोलाइट असन्तुलन– स्पेसिफिक ग्रेभिटीले संकेत दिन्छ ।
केही औषधिको असर– पिसाबमा परिवर्तन ल्याउन सक्छ ।
कस्ता लक्षणहरू देखिएपछि पिसाब परीक्षण गरिन्छ ?
-पिसाब गर्दा दुखाइ, जलन वा पीडा हुनु
-बारम्बार पिसाब लाग्नु वा थोरै–थोरै पिसाब आउनु
-पिसाबको रङ परिवर्तन धमिलो, रातो, गाढा खैरो, पहेंलो हुनु
-पिसाबबाट कडा दुर्गन्ध आउनु
-पिसाबमा रगत देखिनु वा फिँज आउनु
-तल्लो पेट, कम्मर वा ढाड दुख्नु
-ज्वरो, थकान वा सुन्निने जस्ता सामान्य लक्षणहरू
-नियमित स्वास्थ्य जाँच, गर्भावस्था जाँच वा शल्यक्रिया अघि
यी लक्षणहरू देखिएमा ढिलो नगरी डाक्टरसँग परामर्श लिनुपर्छ । पिसाब परीक्षणले प्रारम्भिक अवस्थामा नै रोग पत्ता लगाएर उपचार सजिलो र प्रभावकारी बनाउँछ, जसले गम्भीर जटिलता रोक्न मद्दत गर्छ । यदि कुनै विशेष लक्षण छ भने थप जाँच जस्तै यूरिन कल्चर र अल्ट्रासाउन्ड आवश्यक पर्न सक्छ ।
प्रतिक्रिया 4