News Summary
Generated by OK AI. Editorially reviewed.- तनावले मुटुको धड्कन छिटो बनाउँछ, रक्तचाप बढाउँछ र दीर्घकालीन रूपमा मुटुमा समस्या निम्त्याउँछ।
- अमेरिकन हार्ट एसोसिएसनको २०२३ को अध्ययन अनुसार निरन्तर तनावले मुटु रोगको जोखिम ३५ प्रतिशतसम्म बढाउँछ।
- तनाव कम गर्न दैनिक १०–१५ मिनेट ध्यान, ३० मिनेट व्यायाम र सकारात्मक सोच अपनाउन चिकित्सकले सिफारिश गरेका छन्।
सतहमा नदेखिएको तर भित्रभित्रै मौन रूपमा अधिकांशलाई गलाउँदै जाने समस्या हो– तनाव । बाहिरबाट हेर्दा मानिस सामान्य देखिन्छ, आफ्नो काममा व्यस्त देखिन्छ । तर मनभित्र भने चिन्ता, डर र दबाबको भारी बोकेर हिँडिरहेको हुन्छ । यही अदृश्य नकारात्मक बोझले विस्तारै शरीरलाई कमजोर बनाउँदै लैजान्छ ।
नकारात्मक सोच, चिन्ता, रिस वा निराशा मात्र दिमागको समस्या होइन, मुटुको पनि ठूलो खतरा हो । नकारात्मक सोच, चिन्ता, रिस वा निराशा मात्र दिमागको समस्या होइन, मुटुको पनि ठूलो खतरा हो । मुटुमा यसको प्रभाव झन् गहिरो पर्छ ।
लगातार तनावमा रहँदा मुटु छिटो धड्किन थाल्छ, रक्तचाप बढ्छ र शरीर सधैं सतर्क अवस्थामा बस्न बाध्य हुन्छ । यही अवस्था लामो समय रह्यो भने मुटुमा समस्या उत्पन्न हुने जोखिम बढ्छ ।
मुटुमा तनावले कसरी असर पार्छ ? के छ मुटु र तनावको सम्बन्ध ?
सम्बन्ध एकदम सरल छ, दिमागले शरीरलाई नियन्त्रण गर्छ । नकारात्मक सोच आउँदा शरीर ‘तनाव मोड’ मा जान्छ । मुटुको धड्कन छिटो हुन्छ, रगतको दबाब बढ्छ र मुटुले बढी मेहनत गर्नुपर्छ । यदि यो सोच छोटो समयको हो भने मुटु ठीक हुन्छ ।
तर दैनिक हुने कामको चाप, आर्थिक समस्या, परिवारमा झगडा, साथीहरूको तुलना, सामाजिक संजालको नकारात्मक खबर वा पुराना दुःखद् घटनाहरूले सताइरहन्छन् भने दिमागमा नकारात्मक विचारले घर जमाउँछ । यसले मुटुमा भार परी यससँग सम्बन्धित तनाव बढाउँछन् ।
नकारात्मक सोच, विशेषगरी रिस, क्रोध, घृणा र द्वेषपूर्ण विचारहरूले मुटुमा गहिरो असर पार्छन् किनकि यिनले ‘सिम्प्याथेटिक नर्भस सिस्टम’लाई अत्यधिक सक्रिय बनाउँछन् । यो प्रणाली ‘फाइट वा फ्लाइट’ प्रतिक्रियाका लागि जिम्मेवार हुन्छ, अथार्त् खतरा महसुस हुँदा शरीर तुरुन्तै लड्न वा भाग्न तयार हुने स्वाभाविक प्रतिक्रियाका लागि जिम्मेवार हुन्छ ।
जब हामी रिसाउँछौं वा नकारात्मक विचारमा डुब्छौं, मस्तिष्कले तुरुन्तै सिग्नल पठाउँछ जसले ‘एड्रिनालिन’, कोर्टीसोल र ‘नोरएड्रिनालिन’ जस्ता तनाव हर्मोनहरूको स्तर बढाउँछ।
यी हर्मोनहरूले मुटुको धड्कन तीव्र बनाउँछन्, रक्तचाप बढाउँछन् र रक्तनलीहरूलाई संकुचित गर्छन् । दीर्घकालीन रूपमा यो सक्रियता निरन्तर रहँदा मुटुको रक्तनलीहरूको भित्री तह (एन्डोथेलियम) लाई क्षति पुग्छ । एन्डोथेलियमले रक्तनलीलाई फैलाउने क्षमता गुमाउँछ, जसले रक्तप्रवाह घटाउँछ र लेउ जम्मा हुने प्रक्रिया तीव्र बनाउँछ ।
दिमाग स्वस्थ नभए मुटु स्वस्थ रहँदैन
दिमाग स्वस्थ नभए मुटु पनि स्वस्थ रहँदैन । अध्ययनहरुले यही भन्छ । अमेरिकन हार्ट एसोसिएसनको २०२३ को अध्ययन अनुसार डिप्रेसन, चिन्ता र निरन्तर तनावले मुटु रोगको जोखिम ३५ प्रतिशतसम्म बढाउँछ । यस्तै, ब्रिटिस हार्ट फाउन्डेसनको ठूलो अध्ययनले पनि काम वा घरको तनावले मुटु रोग र स्ट्रोकको जोखिम थोरै भए पनि बढाउँछ भन्ने देखाएको छ ।
अध्ययनहरूले देखाए अनुसार क्रोधको छोटो झट्काले पनि रक्तनलीको फैलने क्षमता ४० मिनेटसम्म घटाउँछ, जसले मुटुमा अक्सिजन पुग्न कम गर्छ । रिस र घृणाले सिम्प्याथेटिक सक्रियताबाट रक्तनली सुन्नाउँछ । यसले मुटुको मांसपेशीलाई कमजोर बनाउँछ र हार्ट फेलियर वा अनियमित धड्कनको समस्या गराउँछ ।
दीर्घकालीन सिलसिला रहे के हुन्छ ?
लगातार नकारात्मक सोच रह्यो भने मुटु निरन्तर दबाबमा रहन्छ, जसले उच्च रक्तचाप निम्त्याउँछ । रगतको नलीहरू बिस्तारै बन्द हुन थाल्छन्, मुटुमा रक्तप्रवाह कम हुन्छ र हार्ट अट्याक वा स्ट्रोकको खतरा बढ्छ ।
दीर्घ रोगसँगै नकारात्मक सोच भए उच्च जोखिम
यदि तपाईंलाई पहिले नै मधुमेह, उच्च रक्तचाप वा कोलेस्टेरोल छ भने नकारात्मक सोच थपियो भने जोखिम दोब्बर हुन्छ । किनकि यी रोगले नै मुटुलाई कमजोर बनाइरहेका हुन्छन्, नकारात्मक सोचले तनाव बढाएर मुटुलाई थप ‘ओभरलोड’ भार पार्छ । ब्रिटिस हार्ट फाउन्डेसन अनुसार यस्तो तनावले मुटु रोगको जोखिम बढाउँछ र पहिले नै मुटु समस्या भएकाको अवस्था झन् बिगार्छ ।
कति बेला चिकित्सक कहाँ जाने ?
छातीमा दुखाइ वा दबाब महसुस भएमा, सास फेर्न गाह्रो, अनियमित धड्कन, अत्यधिक थकान, चक्कर लाग्ने, चिसो पसिना वा हातमा दुखाइ जस्ता लक्षण नकारात्मक सोच वा तनावपछि बढी देखिन्छन् भने यो मुटुको समस्या भएको संकेत हुन सक्छ ।
यो समय ढिलो नगरी तत्काल अस्पताल पुग्नु उचित हुन्छ । साथै, नियमित चेकअपमा मुटुको जाँच गर्न सकिन्छ । इसीजी, इको र रगत परीक्षणले पनि मुटुको अवस्थाबारे बेलैमा बताउँछ ।
साथै, मानसिक स्वास्थ्यको परामर्श लिएमा यी समस्या धेरै हदसम्म कम गर्न सकिन्छ ।
नकारात्मक सोच र तनाव कसरी घटाउने ?
सबैभन्दा पहिले दैनिक जीवनमा सकारात्मक बानी बसाल्नु महत्त्वपूर्ण हुन्छ । हरेक दिन १०–१५ मिनेट गहिरो सास फेर्ने अभ्यास वा ध्यान गर्दा मन शान्त हुन्छ र तनाव कम हुन थाल्छ ।
त्यसैगरी, दैनिक करिब ३० मिनेट हिँड्ने वा हल्का व्यायाम गर्दा शरीर सक्रिय रहन्छ, दिमाग हल्का हुन्छ र मुटुको स्वास्थ्य पनि राम्रो रहन्छ । दिमागमा नकारात्मक विचार आयो भने त्यसलाई थप परिस्कृत हुन दिनु हुँदैन । त्यस्तो बेला आफूलाई सम्झाउने ‘यो सोच सधैं सही नहुन सक्छ, म प्रयास गर्न सक्छु ।’
यस्ता सकारात्मक सोचले मनलाई बिस्तारै बलियो बनाउँछ ।
मनभित्रका कुरा दबाएर राख्दा तनाव झन् बढ्न सक्छ । परिवारका सदस्य वा नजिकका साथीहरूसँग कुरा गर्दा मन हल्का हुन्छ र समस्या बुझ्न तथा समाधान खोज्न सजिलो हुन्छ ।
स्वस्थ खाना, पर्याप्त निद्रा र सामाजिक सञ्जालको अत्यधिक प्रयोग नगर्नु पनि मानसिक शान्तिका लागि सहयोगी हुन्छ । यदि यस्ता प्रयासपछि पनि तनाव र नकारात्मक सोच कम भएको महसुस भएन भने मनोचिकित्सक वा काउन्सेलरसँग परामर्श लिनु उपयोगी हुन्छ । समयमै सहयोग पाए मानसिक स्वास्थ्य मात्र होइन, मुटुको स्वास्थ्य पनि सुरक्षित रहन्छ ।
प्रतिक्रिया 4