News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले २०७२ सालदेखि लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा मुख स्वास्थ्य र दन्त उपचारको दायरा सीमित छ र जागरूकता कम छ।
नेपाल सरकारले २०७२ सालदेखि लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमले आम नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने लक्ष्य राखेको छ । यो कार्यक्रमले विभिन्न रोगहरूको उपचारमा सहयोग पुर्याए पनि मुख स्वास्थ्य तथा दन्त रोग उपचारमा भने यसलाई बेवास्ता गरिएको देखिन्छ ।
मुख स्वास्थ्य र दन्त उपचारको क्षेत्रमा बीमाको दायरा सीमित छ, जागरूकताको अभाव छ र प्रारम्भिक तथा रोकथाममूलक उपचारहरूको कमीले बिरामीहरूलाई थप पीडा दिइरहेको छ ।
स्वास्थ्य बीमामा मुख स्वास्थ्य
बीमा कार्यक्रमले शरीरका अन्य अंगहरूको उपचारमा राहत दिएको छ, तर मुख स्वास्थ्यमा भने पर्याप्त ध्यान दिएको छैन । दन्त उपचार पनि बीमा अन्तर्गत पर्छ भन्ने कुरा धेरैलाई थाहा छैन । कार्यक्रम लागू भएको ७ वर्ष बितिसक्दा पनि कुल जनसंख्याको करिब ६३–६८ प्रतिशतले बीमा सेवा नै लिएका छैनन्, र लिएकाहरूमध्ये पनि दन्त सेवाको बारेमा जानकारीको अभाव छ ।
बीमामा समावेश दन्त उपचारहरूको दायरा पहिले अलि फराकिलो थियो, जसमा दाँत भर्ने (फिलिङ), सफा गर्ने (क्लिनिङ), साना शल्यक्रिया र घाउ–खतिराको उपचार समावेश थिए । तर हाल यो दायरा घटाइएको छ ।
बीमाले मुख्य रूपमा निम्न उपचारहरू मात्र कभर गर्छ
–दाँत उखाल्ने ‘एक्सट्र्याक्सन’, विशेष गरी बुद्धि बंगाराको शल्यक्रिया ।
–ट्रमा, चोटपटकबाट हुने घाउहरूको उपचार, जस्तै ‘ल्यासिरेसन’ दर्फर्याउने, घाउको सिलाउने वा ड्रेसिङ ।
–मुखमा गाँठागुठी वा शंकास्पद क्यान्सरको बायोप्सी र शल्यक्रिया ।
–भाँचिएको दाँत वा मुखको हड्डीको उपचार ।
–मुखको क्यान्सर वा अन्य गम्भीर संक्रमणहरूको आधारभूत उपचार ।
यी उपचारहरू पनि सबै अस्पतालहरूमा उपलब्ध छैनन् । उदाहरणका लागि, विराटनगरमा स्वास्थ्य बीमा लागू भएका केही अस्पतालहरूमा दन्त ओपीडी छैन । जसले बिरामीहरूमा दन्त उपचार बीमामा पर्दैन भन्ने भ्रम परेको छ ।
विद्यमान समस्या र चुनौतीहरू
अस्पतालहरूमा आउने बिरामीहरूलाई सोधपुछ गर्दा स्पष्ट हुन्छ कि धेरै बिरामीहरूलाई दाँतको उपचार पनि बीमा अन्तर्गत पर्छ भन्ने थाहा छैन । शिक्षित वर्गमा समेत यो जानकारीको कमी छ । परिणामस्वरूप, बीमाको उपयोगिता घटेको छ । केही अस्पातलमा स्वास्थ्य बीमा बोर्डको अनुमतिमा ब्यानर राखेरै दन्त उपचार पनि बीमामा पर्छ’ भन्ने सन्देश दिने गरेको पनि देखिन्छ ।
बीमाले दाँतमा कीरा लाग्ने समस्याको प्रारम्भिक उपचार जस्तै फिलिङलाई कभर गर्दैन । यो विश्वकै सबैभन्दा सामान्य ओरल समस्या हो, जसको सुरुवाती चरणमा सिरिङ–सिरिङ दुख्ने उपचार गरे सस्तो र कम पीडादायी हुन्छ । तर बीमाले यो हटाएपछि बिरामीहरू समस्या बढेपछि मात्र अस्पताल आउँछन्, जसले दाँत उखेल्नुपर्ने अवस्था निम्त्याउँछ ।
यसैगरी, ‘पायरिया’ गिजाबाट रगत आउने जस्ता समस्या पनि प्रारम्भिक रूपमा समावेश छैनन् । गिजाको समस्या बढ्दै गएपछि दाँत हल्लिने र झर्ने हुन्छ, जसले चपाउने क्षमता घटाउँछ र समग्र स्वास्थ्य प्रभावित गर्छ ।
मुख स्वास्थ्य समग्र शरीरसँग जोडिएको छ । मुखबाटै पाचन प्रक्रिया सुरु हुन्छ, र गिजाको संक्रमणले मुटु, पेट र अन्य अंगहरूमा समस्या निम्त्याउन सक्छ । तर बीमाले यो कनेक्सनलाई बेवास्ता गरेको छ । प्रिभेन्टिभ केयर रोकथाममूलक उपचारको अभाव देखिन्छ । क्युरेटिभ उपचारमूलक भाग मात्र फोकस गर्दा प्रिभेन्टिभ पक्ष बेवास्ता भएको छ।
स्वास्थ्य बीमा लागू भएका सबै अस्पतालमा दन्त सेवा छैन । यसले बिरामीहरूलाई भ्रमित बनाउँछ र बीमाको विश्वसनीयता घटाउँछ । साथै, दन्त सामग्रीहरू महँगा भए पनि बीमाको शुल्क थोरै बढाएर सेवा विस्तार गर्न सकिन्थ्यो, तर त्यो गरिएको छैन ।
यी कमीहरूले बिरामीहरूलाई थप खर्च र पीडा दिन्छन् । दाँतको दुखाइलाई प्रसव पीडा वा हार्ट अट्याकको दुखाइ जत्तिकै गम्भीर भनिन्छ, तर प्रारम्भिक उपचार नहुँदा यो बढ्छ ।
सुधारका सुझावहरू
स्वास्थ्य बीमालाई मुख स्वास्थ्यमा प्रभावकारी बनाउन हरेक स्वास्थ्य चौकी, अस्पताल र वडामा जानकारीमूलक ब्यानरहरू र फ्लेक्सहरू राख्नुपर्छ । स्कूल, समुदायमा कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । दन्त विभाग भएको अस्पताललाई अनिवार्य रूपमा बीमामा समावेश गर्नुपर्छ र यसको जानकारी सबैलाई दिनुपर्छ ।
स्वास्थ्य बीमामा प्रारम्भिक उपचारहरू जस्तै फिलिङ, क्लिनिङ र पायरियाको उपचारलाई समावेश गर्नुपर्छ । प्रिभेन्टिभ केयरलाई प्राथमिकता दिई बच्चाहरूका लागि ओरल हाइजिन एजुकेशन र फ्री चेकअपहरू उपलब्ध गराउनुपर्छ । शुल्क अलि बढाएर पनि दन्त सामग्रीहरूको खर्च कभर गर्न सकिन्छ ।
सबै बीमा लागू अस्पतालहरूमा दन्त ओपीडी अनिवार्य गर्नुपर्छ । मुख स्वास्थ्यलाई समग्र स्वास्थ्यको भागको रूपमा मान्यता दिई, यसलाई मुटु वा पेटका रोगहरूसँग जोडेर हेर्नु पर्छ ।
नेपालको स्वास्थ्य बीमा कार्यक्रमले मुख स्वास्थ्यलाई पर्याप्त महत्व नदिँदा लाखौं नागरिकहरू प्रभावित भएका छन् । जागरूकता अभाव, सीमित दायरा र प्रिभेन्टिभ केयरको कमीले यो क्षेत्रमा ठूलो अन्तर सिर्जना गरेको छ । यदि बीमालाई विस्तार गरी प्रारम्भिक उपचार र रोकथामलाई समावेश गरियो भने मात्र यो कार्यक्रमले आफ्नो लक्ष्य हासिल गर्न सक्छ ।
प्रतिक्रिया 4