News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारी स्तरमा पहिलोपटक वीर अस्पतालले अत्याधुनिक स्पेक्ट–सिटी उपकरण भित्र्याएको छ, जुन क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाको अवस्था पहिचान गर्न सहयोग गर्नेछ।
- स्पेक्ट–सिटी उपकरणबाट एक महिनाभित्र सेवा सुरु हुने छ र यसले बिरामीलाई विदेश जानुपर्ने बाध्यता घटाउने डा. अधिकारीले बताए।
- स्पेक्ट–सिटी मेसिन अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीबाट प्राप्त गरिएको करिब १५ करोड मूल्यको उपकरण हो र दैनिक १०–१५ जनालाई सेवा दिन सकिने छ।
८ चैत, काठमाडौं । सरकारी स्तरमा पहिलोपटक वीर अस्पतालले अत्याधुनिक ‘स्पेक्ट–सिटी’ उपकरण भित्र्याएको छ । उक्त उपकरणले क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेका छन् भन्ने पहिचान गर्न सहयोग पुर्याउने छ ।
स्पेक्ट सिटी उपकरण जडानको काम भइरहेको छ । वीर अस्पतालका मेडिकल फिजिसिस्ट प्रो.डा. कञ्चनप्रसाद अधिकारीका अनुसार स्पेक्ट–सिटीबाट अबको एक महिना भित्रमा सेवा सुचारु हुनेछ ।
‘सेवा सञ्चालनमा आएपछि बिरामीले विदेश जानुपर्ने बाध्यता घट्ने र देशमै उच्चस्तरीय परीक्षण सेवा पाउने विश्वास छ,’ डा. अधिकारीले अनलाइनखबरसँग भने ।
रेडिएसन सेफ्टी स्पेसलिस्टसमेत रहेका डा. अधिकारीका अनुसार उक्त उपकरणले क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गर्न, रोगको फैलावट मूल्यांकन गर्न तथा उपचारको प्रभावकारिता निगरानी गर्न सहयोग पुर्याउँछ ।
डा. अधिकारी भन्छन्, ‘जसले गर्दा चिकित्सकलाई तुरुन्तै निर्णय लिन मद्दत पुर्यायँछ । बिरामीको उपचार चाँडै सुरु गर्न सहज हुनेछ ।’
‘स्पेक्ट–सिटी मेसिन सामान्य सिटी स्क्यानभन्दा फरक र उन्नत प्रविधिमा आधारित छ ।
‘यसमा स्पेक्ट र सिटी दुवै प्रविधि एकैसाथ जोडिएको हुन्छ,’ डा. अधिकारीले भने, ‘स्पेक्टले शरीरका अंगले कसरी काम गरिरहेका छन् भन्ने देखाउँछ । सिटीले अंगहरूको बनावट एकैसाथ देखाउँछ ।’

उनका अनुसार ‘स्पेक्ट’ भनेको ‘सिंगल फोटोन एमिसन कम्प्युटेड टोमोग्राफी’ हो, जुन न्युक्लियर उपकरणमा प्रयोग हुने प्रविधि हो ।
यस प्रक्रियामा बिरामीलाई सानो मात्रामा रेडियोएक्टिभ पदार्थ (आइसोटोप) इन्जेक्सनमार्फत दिइन्छ । त्यसपछि उक्त पदार्थ शरीर भित्रका अंगहरूमा पुगेर त्यहाँबाट निस्कने गामा विकिरणलाई मेसिनले समातेर इमेज तयार पार्छ ।
‘यसरी प्राप्त इमेजबाट शरीर भित्रका अंगले कसरी काम गरिरहेका छन् भन्ने जानकारी दिन्छ,’ डा. अधिकारीले भने, ‘यो सामान्य स्क्यानले देखाउन नसक्ने ‘फिजियोलोजी’ अर्थात् अंगहरूको काम गर्ने अवस्था बुझ्न उपयोगी हुन्छ ।’
स्पेक्टसँगै जोडिएको सिटी स्क्यानले भने शरीरको संरचना (एनाटोमी) स्पष्ट देखाउँछ ।
यी दुवै प्रविधि एकै ठाउँमा भएकाले यसलाई ‘हाइब्रिड इमेजिङ’ पनि भनिन्छ । जसले गर्दा रोग पहिचान अझै छिटो र सटिक बनाउँछ ।

कुन–कुन रोगमा उपयोगी ?
डा. अधिकारीका अनुसार स्पेक्ट–सिटी विशेषगरी क्यान्सर पत्ता लगाउन अत्यन्त प्रभावकारी छ ।
‘क्यान्सरका कोषहरूमा रेडियोएक्टिभ पदार्थ जम्मा हुन्छ, जसले गर्दा रोग कहाँ छ भन्ने सजिलै देखिन्छ,’ डा. अधिकारी भन्छन् ।
यसका साथै मुटु रोग, हड्डीको समस्या र मिर्गौ सम्बन्धी रोगको पहिचानमा पनि उक्त प्रविधि उपयोगी रहेको डा. अधिकारीले बताए ।
‘मुटुको रक्तसञ्चार, हड्डीको संक्रमण वा क्यान्सर फैलिएको अवस्था, मिर्गौलाको कार्यक्षमता सबै कुरा यसबाट हेर्न सकिन्छ,’ डा. अधिकारी भन्छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतका करिब १५ करोड मूल्यको उक्त मेसिन अन्तर्राष्ट्रिय सहयोगमा प्राप्त भएको हो । उक्त मेसिन अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीमार्फत वीरलाई सहयोगस्वरूप उपलब्ध गराइएको हो ।
नेपालमा आवश्यक कानुनी व्यवस्था र मापदण्ड पूरा गरेपछि मात्र यो उपकरण ल्याउन सम्भव भएको डा. बस्नेतले बताए ।
उनका अनुसार यसअघि वीर अस्पतालमा गामा क्यामेरा मेसिन रहेको थियो । जुन मेसिन १५ वर्ष सेवा दिएपछि बिग्रिएको थियो ।
‘गामा मेसिन बिग्रिएपछि एक वर्षदेखि यस्तो सेवा अवरुद्ध थियो,’ डा. बस्नेतले अनलाइनखबरसँग भने, ‘अब नयाँ एडभान्स मेसिन आएपछि बिरामीले सहज रूपमा सेवा पाउने छन् ।’

दैनिक १०–१५ जनालाई सेवा
उक्त सेवा सञ्चालनका लागि आवश्यक रेडियोआइसोटोप विदेशबाट ल्याउनुपर्ने हुन्छ । आइसोटोप नियमित रूपमा उपलब्ध भए दैनिक १० देखि १५ जनासम्म बिरामीको परीक्षण गर्न सकिने डा. अधिकारी बताउँछन् ।
नेपालमा यस्ता आइसोटोप उत्पादन गर्ने ‘साइक्लोट्रोन’ वा ‘न्युक्लियर रियाक्टर’ नभएकाले विदेशमा उत्पादन गरेर ल्याउनुपर्ने बाध्यता छ । स्पेक्ट–सिटीमार्फत एकै परीक्षणबाट धेरै जानकारी पाउन सकिन्छ ।
‘पहिले बिरामीलाई कहिले सिटी, कहिले एमआरआई, कहिले अन्य परीक्षण गर्न पठाउनुपर्थ्यो,’ अधिकारीले भने, ‘अब एउटै प्रक्रियाबाट धेरै कुरा थाहा हुन्छ । जसले बिरामीको समय र खर्च दुवै बचाउँछ ।’
जसले गर्दा अनावश्यक परीक्षण कम गराउने भएकाले बिरामीलाई सास्ती कम हुन्छ ।
स्पेक्ट–सिटी परीक्षणमा मात्र सीमित नभई उपचारमा पनि प्रयोग गर्न सकिने डा. अधिकारी बताउँछन् ।
‘रेडियोएक्टिभ पदार्थ प्रयोग गरेर क्यान्सरको उपचार गर्ने ‘आयोडिन थेरापी’ जस्ता सेवा पनि यसबाट गर्न सकिन्छ,’ उनले भने ।
अस्पतालले शुल्कलाई सकेसम्म सस्तो दरमा सेवा उपलब्ध गराउने जनाएको छ ।
‘सरकारी अस्पताल भएकाले नाफाभन्दा सेवा प्राथमिकता हो,’ डा. अधिकारीले भने, ‘सकेसम्म कम शुल्कमा सर्वसाधारणलाई सेवा दिने प्रयास गर्छौं ।’
प्रतिक्रिया 4