News Summary
Generated by OK AI. Editorially reviewed.- कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्काले तीन जना सेवाग्राहीका लागि मिटर नपाएपछि नेपाल विद्युत प्राधिकरण सल्यान कार्यालयमा मध्यरातसम्म धर्ना बसे।
- सेवाग्राहीका लागि मिटर तत्काल उपलब्ध नगरिएपछि वडाध्यक्ष खड्काले राति झोला सिरानीमा राखेर सुतेर विरोध जारी राखे र करिब साढे १० बजे मिटर उपलब्ध भएपछि धर्ना तोडे।
- प्रतिनिधि सभा सदस्य रमेश मल्लले घटनाले गम्भीर ध्यानाकर्षण गरेको उल्लेख गर्दै न्यायोचित छानबिन र दोषी कारबाहीको माग गरेका छन् ।
९ चैत, सल्यान । नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रको कार्यालय समय सकिँदै थियो, कर्मचारीहरू बिस्तारै घर फर्किने तयारीमा थिए । तर नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र परिसरमा एउटा असामान्य दृश्य देखियो– एक जना वडाअध्यक्ष भने विद्युतको मिटर माग्दै वितरण केन्द्रको परिसरमा धर्ना बसे । यो कुनै पूर्वघोषित आन्दोलन थिएन, न त कुनै राजनीतिक प्रदर्शन । यो एउटा आवश्यकता थियो, जसले प्रतिरोधको रूप लियो ।
कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन पुगेका थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेपछि पनि कर्मचारीबाट मिटर उपलब्ध नहुने जवाफ पाएपछि उनले घर फर्कने बाटो रोजेनन् । बरु, विरोधस्वरुप त्यहीँ रातभर बस्ने निर्णय गरे ।
ग्रामीण भेगबाट सदरमुकामसम्मको यात्रा आफैंमा सजिलो हुँदैन । खर्च, समय र अनिश्चितताको बोझ बोकेर सेवाग्राहीहरू कार्यालय पुग्छन् । वडाध्यक्ष खड्का पनि त्यही यथार्थसँग परिचित थिए । त्यसैले ‘आज होइन, भोलि’ भन्ने जवाफ उनका लागि स्वीकार्य भएन ।
साँझ ५ बजेदेखि सुरु भएको उनको धर्ना राति अबेरसम्म लम्बियो । अँध्यारो बढ्दै गयो, तर उनी टसमस भएनन् । मिटर पाउनुपर्ने माग राख्दै उनी भुइँमै झोलाको सिरानी राखेर सुते ।
दिनभर ‘तत्काल दिन नमिल्ने’ भनिएको मिटर, अन्तत: राति उपलब्ध गराइयो । करिब साढे १० बजेतिर वितरण केन्द्रका कर्मचारीले सेवाग्राहीका लागि मिटर उपलब्ध गराए । अनि वडाध्यक्ष खड्काले आफ्नो धर्ना अन्त्य गरे ।

जनप्रतिनिधि आफैं धर्नामा बस्नुपर्ने अवस्था सामान्य होइन । यसले एउटा गहिरो सन्देश दिएको छ– यदि जनप्रतिनिधि नै यसरी संघर्ष गर्न बाध्य छन् भने, सर्वसाधारण नागरिकको अवस्था कस्तो होला ? यो घटनाले सेवा प्रणालीभित्रको असन्तुलनलाई उजागर गरेको छ जहाँ प्रक्रिया र व्यवहारबीच दूरी छ र त्यो दूरीले नागरिकलाई सास्ती दिएको छ ।
वडाध्यक्षको धर्ना तोडिएसँगै सेवा प्रवाहलाई छिटो र सहज बनाउने सहमति पनि भएको बताइएको छ । तर नेपालजस्ता सन्दर्भमा सहमति नयाँ होइन, चुनौती त्यसको कार्यान्वयनमा हुन्छ ।
सल्यानको यो घटनाले सेवा प्रवाहमा प्रक्रिया आवश्यक छ, तर त्यसलाई मानवीय बनाउनु अझ आवश्यक छ भन्ने उजागर गरेको छ । सेवा प्रणाली कागजमा होइन, नागरिकको अनुभवमा मापन हुन्छ । सरकारको सफलता र असफलता पनि त्यसैमा निर्भर रहन्छ ।
सांसद मल्लको प्रश्न– जनप्रतिनिधिसँग यो रवैया देखाउनेले सर्वसाधारणलाई के गर्छन् होला ?
यसैबीच सल्यानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले यो घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कपुरकोट गाउँपालिका ३ का वडाअध्यक्ष प्रदीप खड्काले नेपाल विधुत प्राधिकरणको सल्यान कार्यालयबाट तीन थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बस्नु परेको विषयले हामी सबैको गम्भीर ध्यानाकर्षण गरेको छ । उहाँले म धर्नामा छु भनेर मलाई कल गर्दा बेलुकीको ६:३० बजेको थियो र मैले लगत्तै सल्यानका प्रमुख जिल्ला अधिकारीज्यूमार्फत कार्यालय प्रमुखको मोबाइलमा घण्टी बजाएको थिएँ ।’
उनले थप लेखेका छन्, ‘सेवा प्रवाहमा प्रक्रियाको नाममा देखिएको यो ढिलासुस्ती र वेवास्ताले गम्भीर मात्र बनाएको छैन, जनप्रतिनिधिसँग यो रवैया देखाउनेले सर्वसाधारणलाई के गर्छन् होला ? भन्ने संगीन प्रश्न खडा गरेको छ ।’
उनले यो घटनाको न्यायोचित छानबिन गर्न, दोषीलाई कार्बाही गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
प्रतिक्रिया 4