News Summary
Generated by OK AI. Editorially reviewed.- जापानी एनिमेसन निर्देशक सुतोमु शिबायामाले ६ मार्च २०२६ मा ८४ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट निधन भयो।
जापानी एनिमेसन (एनिमे)को दुनियाँमा केही यस्ता दुर्लभ नामहरू छन्, जसले केवल चित्रहरूलाई चलायमान मात्र बनाएनन्, विश्वभरका करोडौं बालबालिकाको बाल्यकाललाई रंगीन र स्मरणीय बनाए । तीमध्येकै एक नाम हो- सुतोमु शिबायामा
फोक्सोको क्यान्सरसँगको लामो लडाइपछि ६ मार्च २०२६ मा ८४ वर्षको उमेरमा उनको निधन भयो । उनी ‘डोरेमोन’का लागि विश्वभर चिनिन्छन् । उनको मृत्युको खबरले जापानसँगै विश्वभरका एनिमे प्रेमीहरूलाई स्तब्ध बनाएको छ । किनकि उनको मृत्युसँगै एनिमेसन उद्योगले एउटा महान् वास्तुकार गुमाएको छ ।
युद्धको छायाँमा बितेको बाल्यकाल
सुतोमु शिबायामाको जन्म सन् १९४१ मा जापानको राजधानी टोकियोमा भएको थियो । यो त्यो समयमा विश्व दोस्रो विश्वयुद्धको चपेटामा थियो अनि यसको एक मुख्य हिस्सेदार जापान पनि थियो । यसकारण उनको बाल्यकारण सुखद् हुन सकेन । उनी युद्धको त्रासदी र त्यसपछिको कठिन कालखण्डसँगै हुर्किन पुगे । अभाव र संघर्षमै हुर्किन पुगे ।
ती कठिन दिनहरूमा पनि उनको एउटा मिल्ने साथी थियो– चित्रकला । सानै उमेरदेखि उनमा चित्र कोर्ने भोक थियो । उनी आफ्नो वरपरको संसार र आफ्ना कल्पनाहरूलाई कागजमा उतार्थे । युवावस्थामा पुग्दा उनको यो सौखले बिस्तारै व्यावसायिक रूप लिन थाल्यो ।
त्यसपछि उनले जापानी कमिक्स अर्थात् माङ्गाको क्षेत्रमा आफ्नो पाइला अघि बढाए । तर उनले पहिचान भने त्यसबेला खुलाएनन् । हाजिमे सान्जो भन्ने उपनाम राखेर माङ्गा लेख्ने र चित्र कोर्ने काम सुरु गरे ।
माङ्गा कलाकारको रूपमा सिकेको कथावाचन र चरित्र निर्माणको यही सीप नै पछि उनको सफल करियरको सबैभन्दा बलियो जग बन्न पुग्यो ।
एनिमेसन यात्रा
सन् १९६० को दशक जापानी एनिमेसन उद्योगका लागि एउटा नयाँ युगको सुरुवात थियो । यही समय अर्थात् सन् १९६३ मा शिबायामा जापानको चर्चित टोई एनिमेसनमा जोडिए । त्यसपछि मात्र एनिमेसनमा उनको औपचारिक करियर सुरु भएको थियो ।
टोईमा काम गर्दा उनले एनिमेसनका प्राविधिक पक्षहरू सिके । पछि उनी ए प्रोडक्सन नामक कम्पनीमा गए । यो कम्पनीलाई आजकल शिन-ए एनिमेसन भनेर चिनिन्छ । त्यहाँ भने उनले आफ्नो प्रतिभालाई थप निखार्ने मौका पाए । एनिमेसन निर्देशन पनि गर्न पुगे ।
डोरेमोनको जन्म
डोरेमोनको कुरा गर्दा धेरैको दिमागमा माङ्गा सर्जक फुजिको एफ. फुजियोको नाम आउँछ । उनले यो पात्रको सिर्जना गरेका थिए । तर, फुजियोले कागजमा कोरेको त्यो निलो रोबोट बिरालो र नोबिताको कथालाई टेलिभिजन र सिनेमाको पर्दामा जीवन्त बनाउने काम भने सुतोमु शिबायामाले गरेका हुन् ।
सन् १९७९ मा डोरेमोनको नयाँ टेलिभिजन श्रृंखला सुरु हुँदा शिबायामाले मुख्य निर्देशकको जिम्मेवारी सम्हालेका थिए । उनैले पात्रहरूको भावना, उनीहरूको शारीरिक हाउभाउ र जादुई ग्याजेट्सको प्रयोगलाई पर्दामा कसरी देखाउने भनेर स्टोरीबोर्डिङहरू तयार पारेका थिए ।
त्यसको अलिपछि उनी डोरेमोनलाई लिएर टेलिभिजनमा मात्र सीमित रहेनन् । उनले सन् १९८३ देखि २००४ सम्म लगातार २२ वटा डोरेमोनका फिचर फिल्महरूको निर्देशन गरे ।
डोरेमोन: नोबिताज लिटल स्टार वार्सदेखि डोरेमोन: नोबिता इन वान-न्यान स्पेसटाइम ओडिसीसम्मका चलचित्रहरू उनकै परिकल्पनाको उपज हुन् । यसरी उनले डोरेमोनलाई एउटा कमेडी सोमा मात्र सीमित राखेनन् । उनले यो पात्र र यसमाथि बनाइएका फिल्महरूमा विज्ञान, अन्तरिक्ष, समय यात्रा, पर्यावरण संरक्षण, मित्रता जस्ता विषयवस्तुहरू पनि समावेश गरे ।
यही कारण धेरैको बाल्यकालमा डोरेमोन जोडिन पुग्यो । उनकै कामको कारण डोरेमोन आज जापानको सांस्कृतिक दूतसरह बनेको छ । आजका ३०-४० वर्षका युवाहरूदेखि लिएर भर्खरका बालबालिकासम्मको बाल्यकाल डोरेमोन हेरेर बितेको छ ।
अन्य काम
भलै शिबायामाको योगदान डोरेमोनमा मात्र सीमित छैन । उनले जापानी एनिमेसन उद्योगमा अन्य धेरै स्मरणीय कामहरू गरेका छन । उनले निन्तामा रान्तारो, रान्मा, चिबी मारुको-चान जस्ता विश्वभर रुचाइएका एनिमे सिरिजहरूमा निर्देशक र प्रमुख एनिमेटरको रूपमा काम गरेका छन् ।
त्यस्तै उद्योगमा आफ्नो छुट्टै पहिचान बनिसकेपछि उनले सहकर्मीहरू ओसामु कोबायाशी र मिचिशिरो यामादासँग मिलेर आजिया-दो एनिमेसन वर्क्स नामक आफ्नै स्टुडियो पनि सञ्चालन गरे । आज यो स्टुडियोले उत्कृष्ट कामहरू गर्नुका साथै नयाँ पुस्ताका एनिमेटरहरूलाई हुर्कने अवसर पनि दिइरहेको छ ।
प्रतिक्रिया 4