News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकमा ५७ सिट प्राप्त गरी बहुमत हासिल गरेको छ।
- नेपालमा विषम परिस्थितिमा पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ जसले लोकतान्त्रिक छविलाई बलियो बनाएको छ।
- मतदाता परिवर्तनको संकेत गर्दै नयाँ पुस्ताको राजनीतिक चेतना र डिजिटल प्रविधिको प्रयोगले राजनीतिक पाराडाइम सिफ्टको संकेत गरेको छ।
नेपालको लोकतान्त्रिक यात्रा धेरै उतारचढावबाट गुज्रिएको छ। तर, यसपटक निकै अकल्पनीय परिवर्तनको साक्षी बनेको छ नेपाली समाज। जेनजी विद्रोह, संक्रमणकालीन समय, शान्तिपूर्ण निर्वाचनले नेपालको लोकतान्त्रिक अभ्यासलाई पारदर्शिता, परिपक्वता र स्वच्छ प्रतिस्पर्धाको नयाँ उचाइमा पुर्याएको छ- जसरी नेपालले आफ्नै मौलिकतामा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याएको थियो।
जनप्रतिनिधिहरूबाट संविधान निर्माण गरी जारी गरिएको थियो। नयाँ पुस्ताको जनअपेक्षालाई सम्बोधन गर्न पनि उस्तै प्रशंसनीय कार्यबाट प्रमाणित गरिदिएको छ।
पछिल्ला दशकमा बढेको शासकीय दम्भ, भ्रष्टाचारको बेथिति, भूकम्पबाट मानवीय तथा भौतिक क्षति र कोभिडको महामारी संकट, बेरोजगारी र गरिबीको विद्यमानताले समाज उकुसमुकुसको अवस्थामा थियो। छिमेकी मुलुक र मित्रराष्ट्रहरूमा पूर्वाधार विकास, विज्ञान तथा प्रविधि, अर्थतन्त्र र राजनीतिक दृष्टिकोण नै पाराडाइम सिफ्ट भयो ।
तर, नेपालको राजनीतिमा त्यस्तै छलाङको प्रतीक्षा थियो। अहिले पनि त्यस्तो रूपान्तरण संख्यात्मक मात्र होइन कि गुणात्मक रूपमा पनि हुनसकोस् भन्ने आमअपेक्षा बढ्दो छ।
राजनीतिक ‘पाराडाइम सिफ्ट’ भनेको समाजभित्र आधारभूत अवधारणा, सिद्धान्त र अभ्यासहरूमा मौलिक, रूपान्तरणकारी परिवर्तन हो। जसले स्थापित र पुराना मानकहरूलाई नयाँले प्रतिस्थापन गरी परिष्कृत गर्दछ। नयाँ पुस्ताको सहभागिता बढ्छ।
नयाँ ज्ञान, सीप र प्रविधिको प्रयोग हुन्छ। नयाँ नतिजाहरूको हासिल हुने प्रक्रिया बढ्छ। नयाँसँगको प्रतिस्पर्धाले पुराना र पाका राजनीतिक दल र चेतनाहरूमा पनि नवीनताको बीज रोपिन्छ। समाजमा नयाँ संघर्षको जन्म हुन्छ। राजनीतिक ‘पाराडाइम सिफ्ट’का केही संकेतहरूको विश्लेषण गरौं।
अनपेक्षित चुनावी परिणाम
रास्वपा लगायत नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली पार्टीका नेता तथा कार्यकर्तादेखि राजनीतिक विश्लेषकहरू विद्यमान निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत आउन सक्दैन भन्दै आएका थिए। तर, २१ फागुनको निर्वाचनले त्यो भ्रम तोडिदियो। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकमा ५१ लख ८३ हजार ४९३ मतबाट ५७ सिट प्राप्त गर्यो। दल निर्माणको प्रक्रिया, सैद्धान्तिक धरातल, नीति र नेतृत्व, समसामयिक मुद्दाहरू, घोषणापत्रका एजेन्डा भन्दा पनि एउटा भिन्न किसिमको लहर रास्वपाको मत परिणाममा देखिएको छ। विगतमा दलहरूलाई मत दिंदै आएका ठूलो संख्याका परम्परागत मतदाताहरूले मत परिवर्तन गरेर रास्वपालाई भारी नतिजा सहितको जिम्मेवारी दिए।
रास्वपाले प्रत्यक्षमा भन्दा ६ लाख बढी मत समानुपातिकमा ल्याएको छ। जुन अन्य दलको प्रत्यक्षमा भन्दा पनि समानुपातिकमा कम छ। यसको अर्थ कांग्रेस, एमाले, नेपाली पार्टी, राप्रपा, श्रम संस्कृति सबै दलको समानुपातिक मत रास्वपामा नै केन्द्रीकृत भएको छ। शहरी क्षेत्र र माइग्रेट जिल्लाहरूमा रास्वपा फराकिलो मतान्तरले जित्नुको तथ्यले परिवर्तनको हुटहुटी देखिन्छ। पहाडी जिल्लाहरूका पनि शहरी क्षेत्रमा प्रभाव देखिन्छ। काठमाडौं उपत्यकाका सबै क्षेत्रहरूमा मतान्तरको दर निकै फराकिलो छ।
प्रत्यक्षतर्फ १६५ क्षेत्रमा १२५ क्षेत्र जितेको छ। अर्थात् ७५ प्रतिशत जित छ। समानुपातिक तर्फमा ४८ प्रतिशत मतबाट ५७ सिट पाएको छ। संगठन नै विस्तार नभएको ठाउँ, उम्मेदवार नै नचिनेको अवस्था हुँदाहुँदै पनि छुट्टै किसिमको चुनावी माहोल सिर्जना भएको देखिन्छ। यसपटक कांग्रेसले थोरै साख जोगाउन खोजेको छ। तर, मतपरिणाम निराशाजनक नै देखिन्छ। पार्टीहरूलाई नैतिक र सैद्धान्तिक परिवर्तनको ठूलो चुनौती थपिएको छ। क्षेत्रीय दलहरूको अब अस्तित्व सकिंदै गएको छ।
मतदातामा मौन विद्रोह र परिवर्तनको व्यग्रता देखिन्छ। पार्टी, उम्मेदवार होइन माथिको मूल नेतृत्वप्रति मतदाताको रुझान देखिन्छ। यसपटक मत परिवर्तन गर्ने, प्रतिशोधको बदला लिने, ३५ वर्षसम्म पनि केही गर्न नसकेको आरोप लगाउने, बेथितिका भाष्यहरूले प्रश्रय पाएका छन्। आवेग, आरोप र आलोचना चुनावी मसला बनेका छन्। तर्कपूर्ण र विवेकसम्मत बहस, विमर्श र तथ्यगत समीक्षा निकै कम भएका देखिन्छन्। तर पनि मतदाताहरूले कांग्रेस, एमालेसँग रुष्ट भएर आवेगमा परिवर्तनको मत दिएका छन्। यसले राजनीतिक ‘पाराडाइम सिफ्ट’को संकेत गरेको छ।
ऐतिहासिक शान्तिपूर्ण निर्वाचन
विषम परिस्थितिमा पनि शान्तिपूर्ण चुनाव सम्पन्न भएको छ। चुनावी जित–हार एकातिर होला। गणितीय नतिजा अर्कातर्फ होला। तर, नेपालका लागि संक्रमणकालबाट मुलुकले लोकतान्त्रिक लय लिनु सुखद् र गौरवपूर्ण क्षण हो। यसले अन्तर्राष्ट्रिय छविमा विश्वासको वातावरण सिर्जना गर्न बल पुर्याएको छ। जेनजी आन्दोलन पश्चातको निकै संवेदनशील मानिएको निर्वाचन तर निकै शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यो नेपालकै इतिहासमा सफल निर्वाचन हो।
अन्तरिम सरकारले निष्पक्ष निर्वाचन सम्पन्न गर्नु ठूलो उपलब्धि हो। राजनीतिक दलहरूको अकर्मण्यता, सुरक्षाकर्मीको कमजोर मनोबल, आम मानिसमा त्रासदपूर्ण अवस्था, कर्मचारीतन्त्रमा अन्योलता चिर्दै घोषित मितिमै चुनाव भएको छ। यसले सुरक्षाकर्मीहरूको मनोबल बढाएको छ। नेपालको लोकतान्त्रिक छविलाई थप बलियो बनाएको छ। अन्तर्राष्ट्रिय निकायहरूले गर्ने आशंकालाई चिरेको छ। यही जगमा अब नेपालले अस्थिर सरकारको भाष्यलाई बदल्नुपर्दछ।
अघिल्ला निर्वाचनको तुलनामा यसपटक बदर मत कम छ। मतदाता संख्या बढेको छ। यद्यपि मतदान प्रतिशत भने घटेको छ। उम्मेदवारहरूले बैंक खाता खोलेर चुनावी खर्च गरेका छन्। समयमा नै उम्मेवारहरूले आफ्नो चुनावी खर्च सार्वजनिक गरिरहेका छन्। यसले पारदर्शिता र जवाफदेहितालाई बल पुर्याएको छ। यद्यपि, यसमा अझै सुधारको खाँचो छ।
उन्नत लोकतन्त्रको प्रतिस्पर्धा
नेपाली जनताले राजनीतिक दल, दलको इतिहास, नीति र नेतृत्व, विचार, सिद्धान्त, वाद र विधानको लडाइँ भन्दा पनि सरल र सामान्य सुधारहरूका बाचालाई बढी महत्व दिएका छन्। राजनीतिक दलको सदस्यता लिएर भन्दा पनि कुनै पनि दललाई स्वतन्त्र रूपमा समर्थन गर्ने रुचि बढेको छ। यसले आम मतदाताहरूलाई निकै सक्रिय, स्वतन्त्र र सन्तुलित बनाएको छ। लोकतान्त्रिक विधि, प्रक्रिया र अभ्यासमा चासो बढाएको छ।
खुल्ला लोकतन्त्रले समाजलाई अझै उन्नतितर्फ लम्किने संकेत गरेको छ। मार्क्सवाद, माओवाद, समाजवाद र पूँजीवादका सिद्धान्त, लम्बेतान फाइदा र बेफाइदाहरूको समीक्षा गर्ने आमनागरिकको रुचि छैन। बरु उनीहरूले आफ्ना जीवन र समुदाय वरिपरिका स–साना समस्याहरूको समाधान खोजिरहेका देखिन्छन्। सामान्य परिवर्तन खोजेका छन्। आधारभूत आवश्यकताहरूमा सरकारको अभिभावकीय भूमिका खोजेका छन्। सामाजिक न्याय र पारदर्शिता खोजेका छन्।
राजनीतिक विचारधाराका दृष्टिले विश्लेषण गर्दा लोकतन्त्रवादी र वामपन्थी बीचको वैचारिक भिन्नतालाई चिरेको छ। कम्युनिष्ट र गैरकम्युनिष्ट बीचको मतान्तर निकै फराकिलो छ। कम्युनिष्ट पार्टीहरूको मत प्रतिशत निरन्तर खस्किंदै गएको छ। ८२ क्षेत्रमा कांग्रेस निकटतम प्रतिस्पर्धी छ। रास्वपा र कम्युनिष्ट पार्टी बीच प्रतिस्पर्धा नै छैन। लोकतन्त्रवादी, उदारवादी र प्रगतिशील पार्टीहरू बीचको प्रतिस्पर्धा बढ्नु लोकतन्त्रका लागि सकारात्मक बल हो।
योगदान र योग्यताको राजनीतिक स्वरुप बदलिएको छ। अहिले राजनीति, संगठन र सामाजिक सेवालाई नै मुख्य पेशा जस्तै बनाएर हिंड्नु समाजले सकारात्मक रूपमा लिएको छैन। पारिवारिक विरासत, नातावाद, कृपावाद जस्ता प्रवृत्तिहरूमा प्रश्नहरू उब्जिएका छन्। उद्यमशीलता, विज्ञता, अनुभव, सक्रियता र सामाजिक रूपमा ख्याति प्राप्त व्यक्ति निर्वाचित भएर आउन सक्ने सम्भावना बढेको छ।
मतदाताको मनोभावनालाई अध्ययन गर्दा व्यापक परिवर्तनको संकेत देखिन्छ। क्याडरबेस पोलिटिक्समा रुचि घट्दो छ। मासबेस पोलिटिक्सको प्रभाव बढ्दो छ। मतदाता अब आरोप, आवेग, प्रत्यारोप, प्रतिशोध, आलोचना जस्ता काउन्टर पोलिटिक्सको अन्त्य खोजिरहेका छन्। सडक आन्दोलन र बन्दलाई निरुत्साहित नै गरेका छन्। भ्रातृ संगठन र शुभेच्छुक संगठनहरू प्रति अनिच्छा व्यक्त गरेका छन्। स्वतन्त्र निकायहरूमा पनि दलीयकरण प्रभावमा मतदाताले निकास खोजेका छन्।
पाराडाइम सिफ्टको संकेत
अबका दिनमा सरकारको परिवर्तनलाई होइन कि शासनको विधिलाई परिवर्तन गर्ने चाहनामा नेपाली समाज पुगेको छ। शासकीय प्रक्रियाको रूपान्तरणको लागि ऐतिहासिक विरासत, राजनीतिक विचारधारा, संस्थागत गतिशीलता र सामाजिक आकांक्षाहरूको सूक्ष्म बुझाइ आवश्यक छ। आम मानिसमा राजनीतिको बुझाइ र अनुभवमा फरकपन आएको छ।
पछिल्ला वर्षहरूमा परम्परागत राजनीतिक दलहरूप्रति जनविश्वास क्रमश: घट्दै गएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली पार्टी जस्ता दलहरूले नेपालको लोकतान्त्रिक संक्रमणमा महत्वपूर्ण भूमिका खेलेका हुन्। तर, सत्ताको लामो अभ्याससँगै नेतृत्व दोहोरिने प्रवृत्ति, आन्तरिक गुटबन्दी र नीति–नवप्रवर्तनको अभावले जनतामा निराशा बढेको थियो। राजनीतिक दलहरू जनताको आकांक्षा र राज्य सञ्चालनको परिणाम बीचको दूरी घटाउन असफल भइरहेका छन् भन्ने अनुभूति व्यापक हुँदै गएको छ।
यही पृष्ठभूमिमा वैकल्पिक राजनीतिक शक्तिहरूको प्रभावशाली उदय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेको छ। नयाँ दल श्रम संस्कृति पार्टी नयाँ शक्तिको रूपमा उदय हुने संकेत गरेको छ। पछिल्लो स्थानीय तहका चुनावमा केही स्वतन्त्र उम्मेदवारहरूले परम्परागत दलहरूको वर्चस्वलाई चुनौती दिएका थिए। यसले संकेत गर्छ कि मतदाताहरू अब केवल ऐतिहासिक विरासत वा राजनीतिक नाराभन्दा बढी सुशासन, पारदर्शिता र परिणाममुखी नेतृत्व खोजिरहेका छन्।
शासकीय परिवर्तन सामान्य विषय मात्र होइन। तर, यो निरन्तर र बहुआयामिक रूपान्तरणको प्रक्रिया हो। यसले सुशासनलाई कसरी कायम राख्नुपर्दछ ? समृद्धिलाई कसरी गुणात्मक बनाउनुपर्दछ ? अर्थतन्त्रलाई कसरी विस्तार गर्नुपर्दछ ? समाजलाई कसरी व्यवस्थित गर्नुपर्छ ? शक्ति कसरी प्रयोग गर्नुपर्छ ? र, सार्वजनिक सेवाहरू कसरी व्यवस्थित गर्नुपर्छ ? भन्ने बारेमा परिवर्तनशील विचारहरूलाई प्रतिबिम्बित गर्दछ।
अबको दशक राजनीतिक खिचातानी, अस्थिरता, आन्दोलनको आरोह–अवरोहको दशक होइन। अब आर्थिक उन्नति, सामाजिक न्याय, सुशासन र समुन्नतिको दशकका रूपमा अगाडि बढाउने मुख्य जिम्मा जनताले रास्वपालाई दिएका छन्। उपलब्धिमूलक नतिजा, राजनीतिक संस्कार, संस्थागत विकास, नीतिगत व्यवस्था, पारदर्शिता र जवाफदेहिता कायम राख्न रास्वपाको सरकारलाई चुनौती र अवसर दुवै छन्।
अहिलेको परिवर्तनको अर्को महत्वपूर्ण आयाम युवा पुस्ताको राजनीतिक चेतना हो। डिजिटल प्रविधि, वैदेशिक अनुभव र बढ्दो शिक्षा अवसरका कारण आजको युवा पुस्ता राज्यप्रति धेरै प्रश्न सोध्न थालेको छ। उनीहरूका लागि राजनीति केवल सत्ता प्राप्तिको साधन होइन, नीति, क्षमता र उत्तरदायित्वको परीक्षा हो। यही कारणले राजनीतिक दलहरूमा पुस्तान्तरण, संस्थागत सुधार र नीतिगत स्पष्टताको माग बढिरहेको छ। तर, नेपालको राजनीतिक रूपान्तरण केवल आन्तरिक कारकहरूले मात्र निर्धारित हुँदैन।
नेपाल दुई प्रभावशाली छिमेकी शक्तिहरू भारत र चीन बीच अवस्थित छ। बदलिंदो वैश्विक शक्ति सन्तुलनले नेपालको विदेश नीति र आन्तरिक राजनीतिक स्थिरतामाथि पनि प्रभाव पार्छ। यस्तो अवस्थामा नेपाललाई सन्तुलित कूटनीति, रणनीतिक दूरदृष्टि र राष्ट्रिय हितमा आधारित नीति आवश्यक छ। यसैले आजको प्रश्न केवल सत्ता कसले चलाउँछ भन्ने होइन। प्रश्न यो हो कि राजनीतिक संस्कृतिलाई कसरी रूपान्तरण गर्ने। यही अवसरमा जिम्मेवार प्राप्त दलले जनताको बदलिंदो अपेक्षालाई समयमै आत्मसात् गर्न सके भने यो परिवर्तन लोकतन्त्रको परिपक्वतामा परिणत हुन सक्छ। तर, यदि सुधारको मागलाई बेवास्ता गरियो भने असन्तोष अझ गहिरो हुन सक्छ।
नेपालको राजनीतिक इतिहासले बारम्बार देखाएको छ कि जब जनताको आकांक्षा र राजनीतिक संरचना बीच दूरी बढ्छ तब परिवर्तन अपरिहार्य हुन्छ। शासनलाई केवल प्राविधिक प्रक्रियाको रूपमा मात्र नभई नैतिक र लोकतान्त्रिक प्रणालीको रूपमा पनि हेर्नुपर्छ। आजको नेपाल त्यही ऐतिहासिक मोडमा उभिएको छ। त्यसैले नेपाली राजनीति वास्तवमै पाराडाइम सिफ्टको सँघारमा छ।
लोकतन्त्रमा स्वच्छ, स्वतन्त्र र स्वस्थ निर्वाचन प्रतिस्पर्धाको सुन्दर अवसर हो। जनमतको परिणामलाई स्वीकार गरेर अझै परिष्कृत, परिपक्व र परिणाममुखी बन्न चुनावी मतले संकेत गरेको छ। पुराना मान्यताहरूलाई भत्काउदै नयाँ मान्यताहरूको सिर्जना भएको यो क्षणमा जसले नयाँ उभारलाई आत्मसात् गरेर झनै नयाँ बन्ने प्रयत्न गर्दछ त्यही दल नै अग्रगमनको मार्गमा लम्किने छ।
यसर्थ, जसले परिवर्तनको उभारलाई स्वीकार गर्दछन्; समसामयिक एजेण्डा, भिजन, परिष्कृत सोच, परिपक्व र नवीनताको प्रतिस्पर्धा गर्दछ त्यही राजनीतिक दलहरू कहिल्यै पनि पराजित हुँदैनन्। अग्रगमन र प्रगतिशील मार्गले मतदाताको मन फेरि पनि जित्न सक्छन्। पाराडाइम सिफ्ट मार्फत पुरानो अभ्यासलाई पुनर्विचार गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने अवसर र चुनौती दुवै हामीसामु उभिएका छन्।
प्रतिक्रिया 4