+
+
Shares

काठमाडौं महानगरले थाल्यो बजेट तथा कार्यक्रम कार्यान्वयनको समीक्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १६:४३

८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक बैठक सुरु भएको छ ।

कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा केन्द्रमा रहेका विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा आफू मातहत कार्यान्वयन हुनु पर्ने कार्यक्रमको समीक्षा थालिएको हो ।

कार्यान्वयनमा गएका कार्यक्रमको गुणस्तर र प्रभावकारिता कस्तो छ ? कार्यान्वयनमा जान बाँकी कार्यक्रम कसरी र कहिले सञ्चालन हुन्छ ? कार्यान्वयन हुन नसक्ने कुनै कार्यक्रम छन् भने किन कार्यान्वयन हुँदैन् ? लगायतका विषयमा बैठकमा विभागीय प्रमुखहरुले प्रस्तुतिसहितको प्रगति पेश गर्नुपर्ने बताएका छन् ।

यसरी पेश गर्नु पर्ने विवरणमा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमको संख्या, विनियोजित रकम, यो रकम महानगरपालिकाको कुल बजेटको कति प्रतिशत हो ? यसमध्ये अहिलेसम्म कतिवटा कार्यक्रम कार्यान्वयनमा आए ? कार्यान्वयनमा आएका कार्यक्रम कति बजेटका हुन् ? यसको वित्तीय र भौतिक प्रगति कति हो ? चालु आर्थिक वर्षमा सम्पन्न गर्न निश्चित भएका कार्यक्रमको संख्या कति हो ? यसमा कति प्रतिशत रकम खर्च हुन्छ ? सुरु हुन नसकेका कार्यक्रम कति रकम बराबरका हुन् ? ती कार्यक्रम किन कार्यान्वयनमा जान नसक्ने हुन् ? विभागीय प्रमुखहरुको प्रस्तुतिमा समेटिनेछन् ।

यी प्रस्तुतिमा अन्तरसम्बन्धित क्षेत्रका अधिकारीहरूको प्रतिक्रिया राख्नेछन् ।

आजको पहिलो वैठकमा कार्यवाहक प्रमुख डंगोलले, पूँजीगत खर्च गर्ने मितव्ययी क्षमता बढाउनमा, गुुणस्तर र गुणात्मकतामा जोड दिँदै, हरेक कार्यक्रम कार्यान्वयन गर्दा आम मानिससँग कति जोडिन्छ ? र कसरी जोडिन्छ भन्ने विषयमा ध्यान दिन निर्देशन दिए ।

‘स्वीकृत कार्यक्रम कार्यान्वयन गर्नु जति महत्वपूर्ण छ । कार्यान्वयनमा गएका कार्यक्रमले आम मानिसलाई कति लाभ दियो भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । यसकारण दुवै पक्षलाई समान ध्यान दिनुहोला । कार्यान्वयन भएका कार्यक्रमको अध्ययन विश्लेषण गरेर नतिजा मापन गर्नुहोला,’ उनले भने, ‘लिखित आन्तरिक समन्वय प्रणाली कार्यान्वयनमा ल्याउनुहोला । यसले जवाफदेहितामा वृद्धि हुनेछ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले भने, ‘हरेक योजनाको विवरण अद्यावधिक गरिनेछ । समय हुँदै कार्यक्रमका सम्भावना र चुनौती पहिचान गरेर पूँजीगत खर्चको क्षमता प्रणाली विकास गरिनेछ ।’

प्रशासन विभागका प्रमुख महेश काफ्लेले, प्रशासनिक खर्च घटाउने दिशामा विभाग केन्द्रीत रहेको बताए ।

योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले कार्यक्रमको मात्र नभइ नीतिको पनि समीक्षा गर्नु अवस्था रहेको औँल्याए ।

वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले, महानगरपालिका भित्र फोहरलाई स्रोतमा घटाउन छुट््याइएका ७ क्षेत्रमध्ये ६ वटा क्षेत्रका लागि ट्रान्सफर स्टेशनका लागि स्थान पहिचान गर्नु र निर्माण गर्नु विभागका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

महानगरपालिकाको बजेटको मुख्य भार भएको विभाग सार्वजनिक निर्माण विभाग हो । यस विभाग अन्तर्गत ५ अरब ७७ करोड अर्थात् महानगरपालिकाको कुल बजेटको २३ प्रतिशत बजेटका १९१ वटा योजना छन् । यीमध्ये अहिलेसम्ममा ४८ वटा योजना सम्पन्न भइसकेका छन् ।

यी योजनाका लागि १ अरब ५५ करोड रुपियाँ भुक्तानी भइसकेको विभागका प्रमुख सुरेश राईले जानकारी दिए ।

यो २६.८ प्रतिशत वित्तीय प्रगति हो । उनका अनुसार धुलोरहित कार्यक्रमअन्तर्गत पूर्व क्षेत्रमा ७६ प्रतिशत, उत्तर क्षेत्रमा ६८ प्रतिशत, मध्य क्षेत्रमा ६७ प्रतिशत र पश्चिम क्षेत्रमा ३० प्रतिशत वित्तीय प्रगति भएको छ ।

उज्यालो काठमाडौँ अन्तर्गत ६२ स्थानमा हाइमास्ट लाइट जडान गरिसकिएको छ । यसको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । वित्तीय प्रगति ५० प्रतिशत छ । आकस्मिक मर्मत कार्य करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

शिक्षा विभागले कार्यान्वयन गर्नु पर्ने ११९ वटा कार्यक्रम छन् । विभागका प्रमुख नमराज ढकालले, ८९ वटा नयाँ कार्यक्रम रहेको जानकारी दिए । यसमध्ये १६ वटा संघीय सरकारका सशर्त अनुदानमा सञ्चालित कार्यक्रम छन् ।

स्वास्थ्य विभागले ९ करोड ५४ लाख रुपैयाँ संघ सरकारको बजेटबाट ३० वटा, २ करोड १९ लाख रुपियाँ प्रदेश सरकारको बजेटबाट ३ वटा र ८६ करोड २६ लाख ४२ हजार रुपियाँ महानगरपालिकाको आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. का अनुसार महानगरपालिकाको कुल बजेटको ३.९ प्रतिशत अर्थात् ९७ करोड ९९ लाख ८२ रुपियाँ स्वास्थ्य क्षेत्रका लागि विनियोजित छ । कुल कार्यक्रममध्ये अहिलेसम्ममा ११२ वटा कार्यक्रम कार्यान्वयन आइसकेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?