८ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालबालिकासम्बन्धी ३०५ उलंघनका घटना दर्ता भएका छन्, जसमा अधिकांश घटना निर्वाचनअघिका प्रचारप्रसार र राजनीतिक गतिविधिसँग जोडिएका छन् ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार निर्वाचनअघि २८६ र निर्वाचनपछि १९ घटना दर्ता भएका छन् । स्थलगत अवलोकन, प्रादेशिक सञ्जाल, सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्मको निगरानीका आधारमा प्रतिवेदन तयार गरिएको हो ।
अध्ययनले चुनावी प्रचारका क्रममा बालबालिकालाई झण्डा बोकेर जुलुसमा सहभागी गराउने, नाराबाजी गराउने, प्रचार सामग्री वितरण गराउने तथा गीत–नृत्यमा प्रयोग गर्ने जस्ता गतिविधि व्यापक रहेको देखाएको छ । सामाजिक सञ्जालमार्फत बालबालिकाबाट प्रचार सामग्री निर्माण गराउने र मत माग्ने प्रवृत्ति पनि भेटिएको छ ।
रौतहटमा प्रचारका क्रममा गाडी ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु तथा धनुषामा विस्फोटबाट दुई बालबालिका घाइते भएका घटना पनि प्रतिवेदनमा समेटिएका छन् ।
यस्तै, विद्यालय क्षेत्रमा चुनावी गतिविधि सञ्चालन, विद्यार्थीलाई पोशाकमै जुलुसमा सहभागी गराउने र सुरक्षा निकाय हतियारसहित विद्यालय प्रवेश गर्ने घटनाले विद्यालयको तटस्थता चुनौतीमा परेको उल्लेख छ ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलले यस्ता गतिविधि निर्वाचन आचारसंहिताको प्रत्यक्ष उलंघन भएको बताए । राष्ट्रिय बाल अधिकार परिषद्का श्रीराम अधिकारीले बालबालिकाको दुरुपयोग रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे ।
निर्वाचन आयोगले केही घटनामा कारबाही गर्दै श्रम संस्कृति पार्टी र उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २५-२५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
प्रतिवेदनले राजनीतिक दल, राज्य निकाय, परिवार र समुदायलाई जिम्मेवार बन्न आग्रह गर्दै चुनावी अभियान र डिजिटल सामग्रीमा बालबालिकाको प्रयोग नगर्न, आचारसंहिताको कडाइका साथ अनुगमन गर्न र बालअधिकारमैत्री अभ्यास अपनाउन सिफारिस गरेको छ ।
प्रतिक्रिया 4