तल्लो पेट दुख्ने
गर्भावस्थामा पेट हल्का दुख्नु सामान्य हो । तर कडा तवरले पेट दुख्ने वा तल्लो पेट दुख्ने र छोड्ने भइरहेमा अवस्था गम्भीर भनेर बुझ्नुपर्छ । प्रसवको समयभन्दा धेरै समय अघि यस्ता समस्या भएमा ‘प्रिम्याच्योर्ड लेबर’को लक्षण बुझ्नुपर्छ ।
अत्याधिक रक्तस्राव
कतिपय महिलाले गर्भावस्थाको सुरुका दिनमा हल्का रगत बग्ने गुनासो गर्छन्, जुन सामान्य हो । रगत बग्ने समस्या एक दिनभन्दा बढी समयसम्म रह्यो वा धेरै रगत बग्नुका साथै पेट दुख्ने समस्या भएमा सल्लाह परामर्शको लागि तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।
योनीस्राव
गर्भावस्थाको समयमा योनीस्राव हुनु पनि सामान्य हो । तर पातलो तरल पदार्थ बग्ने क्रम जारी रह्यो भने जोखिमपूर्ण हुनसक्छ । यो पानी फुटेको संकेत हुनसक्छ ।
आँखाको दृष्टि धमिलो हुनु
गर्भावस्थाको अन्तिमतिर महिलामा शरीर कमजोर भई चक्कर आउने र दृष्टि धमिलो हुने हुनसक्छ । तर लगातार ध्यान केन्द्रित गर्न समस्या भइरहेको छ वा आँखाले हेर्दा धमिलो दृष्टि छ भने तुरुन्तै परीक्षण गराउनुपर्छ । विशेषगरी उच्च रक्तचाप भएका गर्भवती महिलामा यस्तो समस्या हुनसक्छ ।
हात–खुट्टा सुन्निने
गर्भावस्थामा हात, खुट्टा वा शरीरका अन्य अंगमा सुन्निने सामान्य कुरा हो । जुन आराम गरेसँगै बस्छ । तर सुन्निएको ठाउँमा दुखाइ भएमा वा रातोपन देखा परेमा चिन्ताको विषय हुन्छ । त्यसैले यो समयमा आफ्नो शरीरको हेरविचार गर्नु अति जरुरी छ ।
बच्चा नचल्नु
गर्भावस्थाको चार महिनापछि बच्चा यताउति चलिरहनु भनेको बच्चा ठीक रहेको संकेत हो । तीन महिनापछि गर्भको भ्रूण शिशुमा विकास हुन थाल्छ । र, पेटमा महिलाले लात हानेको महसुस गर्छिन् ।
एकदिन भन्दा बढी ज्वरो आउनु
गर्भावस्थामा सामान्य रुघाखोकी लाग्नु ठीकै हो । किनकि गर्भावस्थाको बेला प्रतिरोधात्मक क्षमता कम हुने भएकाले महिलामा रुघाखोकीको मौसममा फ्लु छिट्टै सर्न सक्छ । तर पनि यस्तो बेलाको ज्वरो, खोकीलाई हल्का रूपमा लिनु हुँदैन ।