News Summary
Generated by OK AI. Editorially reviewed.- संकटा फुटबल क्लबले लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा परेको जनाएको छ।
- अध्यागमन विभागले क्लबले श्रमस्वीकृतिबिना विदेशी खेलाडी खेलाएको भन्दै एन्फालाई पत्र काटेको थियो।
- एन्फाले महिला र पुरुष लिग अनिश्चितकालका लागि स्थगित गरेको छ ।
९ चैत, काठमाडौं । संकटा फुटबल क्लबले लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा परेको बताएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै हाल उत्पन्न भएको विषम परिस्थितिका कारण क्लबले सीमित स्रोत र साधनबाट गरेको ठूलो आर्थिक लगानी जोखिममा परेको जनाएको हो ।
यसले भविष्यमा फुटबल क्षेत्रमा लगानी गर्न इच्छुक अन्य संघरसंस्थाहरूलाई समेत निरुत्साहित पार्ने सम्भावना रहेको क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताए ।
क्लबहरुले श्रमस्वीकृतिबिना विदेशी खेलाडी खेलाएको भन्दै चैत ५ गते अध्यागमन विभागले एन्फालाई पत्र काटेको थियो । त्यसपछि एन्फाले जारी महिला र पुरुषतर्फका दुवै लिग अनिश्चितकालका लागि स्थगित गरेको छ ।
प्रतियोगिताको नियमावली अनुसार विदेशी खेलाडीहरूलाई विधिवत् अनुबन्ध गरी खेलाइएको क्लबको दाबी छ । ‘विदेशी खेलाडीहरूको सहभागिता तथा श्रम स्वीकृति प्रक्रियालाई आधार मानी एन्फाबाट जारी गरिएको परिपत्र अनुसार, यस क्लबले आफ्ना विदेशी खेलाडीहरूको श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजातहरू प्रतियोगिता प्रारम्भ हुनु अघि नै एन्फामा पेश गरेको हो’ प्रेस विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया 4