+
राखेप-एन्फा विवाद :

नेपाल–हङकङ खेलका लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

२०८२ चैत  ९ गते ८:२१ २०८२ चैत ९ गते ८:२१

चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले जनाएको छ ।

नेपाल–हङकङ खेलका लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

९ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको छ ।

एन्फाले सोमबार बिहान विज्ञप्ति जारी गर्दै खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति समयमै नपाएको दाबी गरेको छ ।

एन्फाले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै राखेपले दशरथ रंगशाला उपलब्ध नगराएको भन्दै नेपाल र हङकङ बीचको खेल रद्द भएको जनाएको थियो ।

साथै नेपालले हङकङ फुटबल संघलाई पठाएको पत्रमा नेपालका राजनीतिक तनावका कारण खेल रद्द भएको जानकारी गराएको थियो । तर, आइतबार साँझ नै राखेपले एन्फाको विज्ञप्तिको खण्डन गर्दै समयमै दशरथ रंगशालाको स्वीकृति दिएको र एन्फाले भ्रम फैलाएको जनाएको थियो । त्यसको भोलिपल्ट एन्फाले पेरि विज्ञप्ति निकाल्दै राखेपकै पत्रको खण्डन गरेको छ ।

एन्फाका अनुसार खेल सञ्चालनका लागि आवश्यक स्वीकृति तथा दशरथ रंगशाला उपलब्ध गराउन भन्दै माघ १० गते नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरिएको थियो । सो पत्र माघ ११ गते दर्ता भए पनि लामो समयसम्म कुनै लिखित स्वीकृति प्राप्त हुन नसकेको जनाएको छ ।

एन्फाले पटक-पटक राखेपका सम्बन्धित अधिकारीसँग ताकेता गर्दा पनि स्पष्ट जवाफ नपाएको दाबी गरेको छ । चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले जनाएको छ ।

संघका अनुसार दशरथ रंगशालाको मर्मत सम्भार, फ्लडलाइट इन्धन, कर्मचारी व्यवस्थापनलगायत सम्पूर्ण आर्थिक तथा प्राविधिक दायित्व आफैंले बहन गर्दै आएको अवस्थामा पनि समयमै स्वीकृति नपाउनु दुःखद् भएको उल्लेख गरिएको छ ।

एन्फाले खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति आश्चर्य व्यक्त गरेको छ । चैत ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै राखेपको नियतमाथि प्रश्न उठाएको छ ।

एन्फाले हालसम्म कुनै पनि आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको स्पष्ट पारेको छ । साथै, प्रशासनिक ढिलाइका कारण उत्पन्न परिस्थितिप्रति सम्पूर्ण खेलप्रेमी नेपालीहरूसँग क्षमायाचना गरेको छ ।

एन्फाले यही चैत १३ गते झापामा तय गरेको अर्ली इलेक्सनका लागि राखेपले स्वीकृति नदिएपछि पछिल्लो समयमा खेलकुदको कार्यकारी निका राखेप र देशकै ठूलो खेलसंघ एन्फाबीचको टकराव बढेको छ ।

आइतबार दुई संस्थाबीच सुरु भएको टकरावले सोमबार पनि निरन्तरता पाएको छ । फुटबल मैदानमा दुई टिम विपक्षीको पोष्टमा गोल हान्न प्रयास गरेजस्तै अहिले मैदान बाहिर राखेप भर्सेस एन्फा देखिएको छ ।

 

एन्फा राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय