News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई ३-२ ले हराएको छ।
- रियलका लागि भिनिसियस जुनियरले दुई गोल र फेडेरिको भालभर्डेले एक गोल गरे भने एट्लेटिकोका लागि एडेमोला लूकमन र नाहुल मोलिनाले गोल गरे।
- रियलले सन् २०२२ पछि पहिलोपटक एट्लेटिकोमाथि जित दर्ता गरेको छ र बार्सिलोनासँगको अंकदूरी ४ मा झारेको छ।
९ चैत, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बी खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।
गएराति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले एट्लेटिकोलाई ३-२ ले हराएको हो । रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गर्दा फेडेरिको भालभर्डेले एक गोल गरे ।
एट्लेटिकोका लागि एडेमोला लूकमन र नाहुल मोलिनाले एक-एक गोल गरे ।
पहिलो हाफको ३३औं मिनेटमा लूकमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा रियल खेलमा फर्कियो। भिनिसियसले ५२औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे ।
५५औं मिनेटमा भालभर्डेले गोल गर्दै रियललाई २–१ ले अघि बढाए। तर ६६औं मिनेटमा मोलिनाको शानदार गोलसँगै एट्लेटिको खेलमा फर्कियो।
७२औं मिनेटमा भिनिसियसले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–२ को जित दिलाए।
खेलको ७७औं मिनेटमा भालभर्डेले रातो कार्ड पाएपछि रियल दबाबमा परेको थियो। त्यसपछि पनि एट्लेटिकोले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन।
जितसँगै रियलले सन् २०२२ पछि पहिलोपटक लालिगामा एट्लेटिकोविरुद्ध जित दर्ता गरेको छ।
यस जितपछि दोस्रो स्थानको रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंकदूरी ४ मा झारेको छ । बार्सिलोनाले गएराति रायो भालेकानोलाई हराएर अग्रता फराकिलो बनाएको थियो ।
शीर्षस्थानको बार्सिलोनाको २९ खेलमा ७३ अंक छ भने रियलको २९ खेलबाट ६९ अंक छ । एट्लेटिको २९ खेलबाट ५७ अंकसहित चौथोमै यथावत् छ ।
प्रतिक्रिया 4