News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा आर्मीले सोलोलाई १०३-६८ ले पराजित गरी सात खेलमा छैटौं जित हासिल गरेको छ।
- आर्मीले ६ जित र १ हारबाट १३ अंक जोडेर शीर्ष स्थानमा एकल अग्रता बनाएको छ र टाइम्स इन्टरनेसनल, केभिसी हाउण्ड्स र गोल्डेनगेट ११ अंकमा छन्।
- प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन् भने उपविजेताले २ लाख र तेस्रोले १ लाख पाउने नेबाले जनाएको छ।
९ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली आर्मीले आइतबार राती भएको खेलमा सोलो बास्केटबल क्लबलाई १०३-६८ को फराकिलो अन्तरले पराजित गरेको छ ।
लिगमा आर्मीको यो सात खेलमा छैटौं जित हो र आर्मीले यो जितपछि शीर्ष स्थानमा एकल अग्रता बनाएको छ । आर्मीले ६ जित र १ हारबाट १३ अंक जोडेको छ ।
आर्मी भन्दा पछि रहेका टाइम्स इन्टरनेसनल क्लब, केभिसी हाउण्ड्स र गोल्डेनगेटको समान ११ अंक छ । टाइम्स र गोल्डेनगेटले एक खेल कम खेलेको छ ।
सोलोको यो सात खेलमा पाँचौ हार हो । सोलो ७ खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा आर्मीले सोलोमाथि दबादबा कायम राखेको थियो । आर्मीले पहिलो क्वाटर २४-१५ र दोस्रो क्वाटर ३३-११ ले आफ्नो पक्षमा पार्दै हाफटाइममै ५७-२६ को फराकिलो अग्रता बनाएको थियो ।
तेस्रो क्वाटर २६-१९ ले आफ्नो पक्षमा पारेपछि आर्मीले अन्तिम क्वाटरअघि ८३-४५ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटरमा सोलोले २३-२० को झिनो अग्रता लिएपनि आर्मीको जितलाई कुनै असर गरेन ।
आर्मीका निश्चल महर्जनले सर्वाधिक २० अंक स्कोर गरे । आर्मीका नुकेश जुगजाली म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4