१० चैत, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडियो सन्देश जारी गर्दै सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताएका छन् । सम्झौताले इजरायललाई आवश्यक हितको रक्षा गर्ने उनको भनाइ छ ।
एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले भनेका छन्, ‘अमेरिकी सेनासँग मिलेर हामीले हासिल गरेको ठूलो सफलतालाई उपयोग गर्दै, सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर छ । यस्तो सम्झौताले हाम्रो आवश्यक हितहरूको रक्षा गर्नेछ ।’
उनले कुनै पनि हालतमा आफ्ना आवश्यक हितहरूको रक्षा गर्ने पनि बताएका छन् ।
नेतन्याहुले इरान र लेबनान दुवै स्थानमा आक्रमण जारी राखेको जानकारी पनि दिएका छन् । नेतन्याहूले भनेका छन्, ‘हामी इरान र लेबनान दुवै स्थानमा आक्रमण जारी राखिरहेका छौं । हामी (इरानको) मिसाइल र आणविक कार्यक्रम समाप्त पारिरहेका छौं र हेजबुल्लाह माथि निरन्तर ठूलो आक्रमण गरिरहेका छौं ।’
उनका अनुसार केही दिनअघि मात्रै इरानका दुई जना आणविक वैज्ञानिकको मृत्यु भएको छ ।
गत फेब्रुअरी अन्तिम साता इजरायल र अमेरिकाले इरानमा आक्रमण गर्दा सर्वोच्च नेता अलि खामेनीसहितका नेताहरु मारिएका थिए ।
प्रतिक्रिया 4