वि. सं. २०५० को दशकमा विवाह बन्धनमा बाधिएका थियौं । हाम्रो अन्तर जातीय प्रेम विवाह थियो । दुवै जना उमेरले ‘टिन एज’ मै थियौँ तर आ-आफ्नो सामाजिक स्तर, पारिवारिक स्तर र मान मर्यादा राम्रोसँग बुझ्थ्यौँ ।
मायाको अगाडि सर्वोपरी केही हुँदो रहेनछ । हाम्रा कलिला मष्तिष्कले त्यो बेला जे निर्णय लियो, त्यो जायज थियो भन्ने अनुभूति आज पनि छ । सम्बन्धप्रति दृढ र सन्तुष्ट छौँ।
अहिले लाग्छ- हामी त्यो समय उमेरले मात्रै कच्चा थियौं बाँकी राम्रो–नराम्रो, जिम्मेवारी, स्नेह र नैतिकताको कुरामा राम्रो हेक्का थियो ।
विवाहको केही वर्षपछि छोरीको जन्म भयो ६ वर्षको अन्तरालमा छोराको ।
हजुरबा, हजुराआमा, ठूलोबा, काकाहरूको संयुक्त छत्रछहारीमा छोरीछोराको हुर्काइ बढाइ सहजता भयो ।
छोरीले एस.एल.सी उतीर्ण गरेपछि थप पढाइका लागि काठमाडौंमा विद्यालयकै होस्टलमा बसेर कक्षा ११ पढ्न थालिन् ।
दिनहरू बित्दै गए छोराछोरी हुर्किँदै गए । पढाइका खुड्किलाहरू पार गर्दै गए । छोरीले स्नातक पास गरिन् ।
अहिले सन्तान कुनै कुलतमा नहुनु, विनम्र, नैतिकवान र व्यवहारिक हुनु भनेको निकै खुसीको कुरा हो । यसअर्थमा हामी आफूलाई भाग्यमानी ठान्छौँ ।
छोरीको स्नातकोत्तर तहको अध्ययन चलिरहेको थियो । एक दिन नजिकै आएर भनिन्– ममी हजुरसँग केही कुरा गर्नुछ । सुरुमा त अलि आत्तिएँ ।
एकै पटक मनमा अनेक कुरा आए ।अक्क न बक्क परेँ । केही मिनेटको मौनतापछि छोरीले मुख खोलिन– उनी प्रेममा रहिछिन् ।
अनि नयाँ खालका प्रश्नहरू मनमा उब्जिन थाले– को हो ? कहाँको हो ?, मान्छे कस्तो छ ?, परिवार कस्ता छन्….? यस्तै यस्तै ।
छोरीको बाबालाई कसरी बताउने, कसरी सहमत गराउने भनेर कयौँ दिन बिताए तर जसरी पनि भन्नैपर्ने थियो । डराइडराइ सारा वृतान्त बताए ।
यो कुराले उहाँको मनमा पनि प्रश्नको बाढी चल्यो । कसैलाई केही प्रतिक्रिया नदिई छोरीलाई मेसेजबाट यसबारे जानकारी माग्नुभयो । केही समय शान्त रह्यो र समय आफ्नै गतीमा दौडिरहेको थियो ।
आफूलाई मनपर्ने केटा उनले स्नातकको दीक्षान्त समारोह सहभागी हुँदा हामीलाई भेटाइन् । उनले यसरी अकस्मात भेटाउँदा म भन्दा बढी छोरीको बाबा अचम्मित हुनुभयो ।
उहाँ एक हक्की, कम बोल्ने र अध्ययनशील व्यक्ति हुनुहुन्छ । उहाँमा एउटा खुबी छ -कम मान्छेसँग संगत गर्ने तर जतिसँग संगत छ सम्बन्ध हरतरहले निभाउने । उहाँको अनुभवले मान्छे छुट्टाउन धेरै समय लागेन र स्वीकार भयो छोरीको सम्बन्ध ।
उमेरले छोरी विवाह गर्ने भइसकेकी थिइन् तर हामीलाई उनी अझै सानै रहेको अनुभुति हुन्थ्यो । आफूलाई अन्य कुरामा परिपक्व ठानेता पनि छोरीको विवाह गर्दिने लायक परिपक्वता हामीमा थिएन । हामी थियौ त खाली सत्यलाई सपना ठानेको अवस्थामा ।
गएको गए दशैंमा बखत छोरीको हात माग्न केटा पक्षबाट आइहाले । कुरा अगाडि बढ्यो । गत फागुन २८ गते छोरीको विवाह सुसम्पन्न गर्यौ । छोरी खुसीका साथ बिदा भइन् ।आशुले भरिएका हाम्रा आँखा र मनभरी गाठोपारी हामीले ठन्यौ– बुबाआमाको परम कर्तव्य सफलताका साथ सम्पन्न गर्यौ ।
केही कुरा किताबबाट भन्दा अनुभवबाट प्राप्त हुँदोरहेछ । इष्टमित्र, आफन्तको सही परिभाषा पनि बुझिदो रहेछ । केही आफ्ना भएर पनि आफ्ना नहुँदारहेछन् र केही आफ्ना भन्दापनि आत्मीय, सहयोगी र आदरणीय हुने रहेछन् ।
सोच्न बाध्य पारेको छ- फगत अरू अनेक सम्बन्धको पछाडि नभाग, जुन असल र आत्मीय सम्बन्ध छ त्यसको जगेर्ना गर अनि जिन्दगीको मिठास र सन्तुष्टिको आभास गर्न तिमीलाई कसैले रोक्न सक्ने छैन ।
(लेखक पूजा खड्का, गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही-६, दाङमा कार्यरत शिक्षिका हुन्।)
प्रतिक्रिया 4