News Summary
Generated by OK AI. Editorially reviewed.- प्युठानका झिमरुक र लुङ किनारका बस्ती विकासको मूलधारमा समेटिने तीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेका छन्।
- किटघाट पुल ४ करोड ७८ लाख रुपैयाँ लागतमा असार ७ गते सम्पन्न भइसकेको छ र उद्घाटन हुन बाँकी छ।
- मच्छी–पिडाल्ने र दोभै पुलको निर्माण क्रमशः ८५ प्रतिशत र आधा पूरा भइसकेको छ र सडक निर्माण पनि तीव्र गतिमा अघि बढिरहेको छ।
१० चैत, प्युठान । प्युठानका झिमरुक र लुङ किनारका बस्ती अब विकासको मूलधारमा समेटिने भएका छन् । किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै यी बस्तीका बासिन्दाको सुविधाजनक यात्रा गर्ने दुई दशक लामो प्रतीक्षा पूरा हुने विश्वास बढेको छ।
२०८१ असार ७ मा ४ करोड ७८ लाख रुपैयाँबाट सुरु गरिएको किटघाट पुल निर्धारित समयअघि नै सम्पन्न भइसकेको छ ।
किटघाट पुल बजेट विनियोजनमा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापा (रोज राणा)ले भूमिका खेलेका थिए । ‘प्युठानको मुहार बदल्ने’ एजेण्डासहित उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पुल निर्माणको शिलान्यास पनि उनी आफैंले गरेका थिए ।
मन्त्री थापाका अनुसार हाल किटघाट पुल पूर्णरूपमा सञ्चालनयोग्य भइसकेको छ । तर उदघाटन हुन बाँकी छ ।
मच्छी–पिडाल्ने पुल पनि असारभित्रै सक्ने लक्ष्य छ, जसको लागत ७ करोड २६ लाख रुपैयाँ छ । मच्छी–पिडाल्ने पुलका लागि प्रदेश सभा सदस्य नीमा गिरीले पहल गरेकी थिइन् ।
पिडाल्ने पुलको निर्माण कार्य ८५ प्रतिशत पूरा भएको छ । दोभै पुलको निर्माण पनि करिब आधा सम्पन्न भइसकेको छ ।
यी पुल निर्माण सम्पन्न भएमा प्युठानका बासिन्दाको यात्राको दुरी मात्र घट्नेछैन, यात्रा समय र जोखिम पनि कम हुनेछ । पुल नबन्दा बाहानेबाट मच्छी र तुषारा पुग्न बाग्दुला घुमेर जानुपर्ने बाध्यता छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलका अनुसार स्रोत अभावले ढिलाइ भए पनि पुलको अवधारणा पहिले नै तयार थियो । ‘बजेट सुनिश्चित भएपछि योजनाले गति लियो,’ उनले भने, ‘यी तीन पुल निर्माण सम्पन्न भए कृषि उत्पादन बजारसम्म, बिरामी अस्पतालसम्म, विद्यार्थी विद्यालयसम्म र आपतकालीन सेवा घरदैलोमै पुग्ने आधार बन्ने छ ।’
बाग्दुला–मच्छी र बाग्दुला–अधेरी सडक निर्माण पनि जारी
लुम्बिनी प्रदेश सरकारका मन्त्री थापाका अनुसार बाग्दुला–मच्छी सडकमा ३५ करोड र दम्ती बाग्दुला–अधेरी सडक कालोपत्रेका लागि १२ करोड रुपैयाँ विनियोजन भई काम तीव्र गतिमा अघि बढिरहेको छ ।
बाग्दुला–मच्छी सडक करिब १३ किलोमिटर र दम्ती बाग्दुला–अधेरी सडक करिब ६ किलोमिटर लामो छ । बाग्दुला–अधेरी सडक असार महिनाभित्रै सक्ने लक्ष्य छ ।
लुम्बिनी प्रदेश सरकारका शहरी विकास मन्त्री सरोज थापाले अनुगमन गर्दै निर्धारित समयमै काम सक्न निर्देशन दिएको बताए ।
प्रतिक्रिया 4