News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले गुणस्तर परीक्षणका नाममा अवरोध सिर्जना गरेपछि इलामका १०० भन्दा बढी चिया उद्योग बन्द भएका छन् ।
- निकासी ठप्प हुँदा नेपाल र भारतका विभिन्न गोदाममा गरी करिब १५ लाख किलो तयारी चिया अलपत्र परेको छ ।
- चिया निर्यात रोकिँदा यस क्षेत्रमा आश्रित ५ लाखभन्दा बढी किसान तथा मजदुरको रोजीरोटी संकटमा परेको छ ।
४ असार, विराटनगर । हरियालीले भरिएका इलामका चिया बगान किसानका लागि खुसी होइन, आँसुका कारण बनेका छन् ।
भारतको अघोषित नाकाबन्दी र नेपाल सरकारले चासो नदिएका कारण ‘हरियो सुन’ भनिने चिया बारीमै खेर गएका छन् । टिपेर राख्ने ठाउँ नहुँदा किसान चियाको मुना काटेर फाल्न बाध्य छन् ।
‘बारीमा लहलह मुना छन् हेर्न सक्दिन, ५ जना मजदुर लगाएर सिक्कलले फाँड्दैुछु,’ इलाम सूर्योदय नगरपालिका–१४ का कृषक देवीप्रसाद आचार्य भन्छन्,’ ‘महिनाको २० देखि ३० क्विन्टल चिया हुन्थ्यो, तर अहिले काटेर फाल्नुपर्छ ।’
उनका अनुसार चियाको गुणस्तर मुनाको आयुमा निर्भर हुन्छ । मुना अलिकदिन बुढो भए गुणस्तर घट्छ । त्यहीँ भएर फाँड्नु परेको उनले बताए । ‘चियाको मुख्य सिजन असार–साउन हो,’ उनले भने, ‘उद्योग बन्द छ, टिपेर कहाँ लैजानु ?’
भारतले निकासीमा गरेको अवरोधका कारण इलामको अर्थतन्त्रको मेरुदण्ड चिया क्षेत्रमा अनिश्चितताको ‘कालो बादल’ मडारिएको छ । निकासीमा अवरोध भइरहेकै अवस्थामा परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गरेका थिए । उनको भ्रमणले पनि चिया किसानलाई राहत दिएन् ।
‘भन्नलाई त इलामलाई चियाको राजधानी भनियो, यहाँको अर्थतन्त्रको मेरुदण्ड पनि चिया नै हो,’ सूर्योदय टि प्रोड्युसर एसोसिएसनका महासचिव गोपाल कट्टेल भन्छन्, ‘अहिले निकासी बन्द छन्, तयारी सामग्री उद्योगमा छन्, सिजन भए पनि किसानले चिया टिप्न पाएनन् ।’
निकासी ठप्प भएपछि तीन दिनदेखि इलामका साना–ठूला गरी १ सयभन्दा बढी चिया उद्योगमा ताला लागेको उनले बताए । चिया उत्पादनको पिक सिजनमै उद्योग बन्द भएपछि चिया राजधानीको अस्तित्व संकटमा परेको उनी बताउँछन् ।

‘हामीले निकासीका लागि पहल गरिदिन सरकारलाई भनिरहेका छौं, तर ठोस पहल भएको छैन,’ उनी भन्छन्, ‘अब त उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेपछि बन्द गर्यौं।’
उनका अनुसार करिब १५ लाख किलो तयारी चिया अलपत्र अवस्थामा छ । इलामका उद्योगहरूमा मात्रै करिब १२ लाख किलो तयारी चिया थन्किएको छ । यसबाहेक भारत सिलिगुडी र कोलकाताका गोदामहरूमा करिब ३ लाख किलो चिया रोकिएको उनले बताए ।
‘सबैतिर गरेर करिब १५ लाख किलो जति चिया अलपत्र परेको छ,’ महासचिव कट्टेल भन्छन्, ‘समयमै समस्या समाधान नहुँदा किसानको पसिना जोखिममा परेको छ ।’
नेपाली चियालाई भारतले सिधै प्रतिबन्ध नलगाए पनि गुणस्तर परीक्षणका नाममा नेपाली चियामाथि कठोर कदम चालेको छ । यसअघि नाकामै ट्रकबाट निकालेर परीक्षण गरिएको थियो । त्यसपछि गोदममा पर्ुयाएर परीक्षण गर्न थालिएको छ ।
भारतीय पक्षले परीक्षणका नाममा मात्रै २०–२२ दिन चियालाई होल्ड गरेर राखिदिने गरेको छ । नेपाली चिया रोक्न भारतीय पक्षले झन्झटिलो प्रक्रिया अपनाएपछि उद्योगीहरूले चिया पठाउनै छाडेका हुन् । यसले गर्दा नेपाली उद्योगी मारमा छन् ।
सरकारले नसुन्दा रोजीरोटी संकट
भारतीय अवरोधका कारण चिया उद्योग बन्द हुनुको सिधा असर मजदुर र किसानको चुलोसम्म पुगेको छ । नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ लाख हाराहारी प्रभावित भएका छन् ।
निर्यातमा समस्या आएपछि उद्योगमा उत्पादित चिया भण्डारण गर्ने ठाउँसमेत नभएको उनले बताए । अध्यक्ष पराजुलीका अनुसार चिया उद्योग बन्द हुँदा करिब १ लाख मजदुर र कर्मचारी प्रत्यक्ष मारमा परेका छन् । करिब ३० हजार कृषक परिवारको आम्दानीको स्रोत संकटमा परेको छ ।
‘एउटा फ्याक्ट्रीमा धेरै साझेदार हुन्छन्, कतिपय सहकारीमा त २ सयभन्दा बढी किसान नै मालिक छन्,’ उनले भने, ‘प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५ लाखभन्दा बढी मानिस यसबाट प्रभावित भएका छन् ।’
उनका अनुसार नेपालमा वार्षिक झन्डै २ करोड ५० लाख किलो चिया उत्पादन हुन्छ । उत्पादनको आधाभन्दा बढी भारत निर्यात हुन्छ । यसबाट नेपालले वार्षिक ५ देखि ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गर्दै आएको उनको दाबी छ ।

यदि अहिलेको संकट समाधान नभए नेपालले ठूलो विदेशी मुद्रा गुमाउने मात्र होइन, चिया विदेशबाट आयात गर्नुपर्ने डरलाग्दो अवस्था आउन सक्ने उनले बताए ।
इलाम सहित झापाको अर्थतन्त्र धराशायी हुन लाग्दा पनि सरकारले कुनै ठोस पहल नगरेकोमा उद्योगी रुष्ट छन् । कोशी प्रदेशको शान र विदेशी मुद्रा आर्जनको मुख्य स्रोत रहेको चिया क्षेत्र संकटमा पर्दा राज्यको उपस्थिति शून्य देखिएको उनीहरूको आरोप छ ।
निर्यातमा समस्या देखिएको ४५ दिन बितिसक्दा पनि सरकारले कुनै ठोस कदम नचालेको उनको गुनासो छ । १ मेदेखि यो समस्या सुरु भएको हो ।
‘हामीले सुरुका दिनदेखि नै सरकारलाई गुहारिरहेका छौं, तर अहिलेसम्म निकास निस्किएको छैन,’ उनले भने, ‘अहिलेसम्म त जेनतेन थाम्दै आयौं, किसानको पैसा पनि तिर्यौं, तर अब भण्डारण गर्ने ठाउँ र लगानी गर्ने पूँजी दुवै सकिएकाले हात उठाउनुपर्ने अवस्था आयो ।’
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले नेपाली चिया उद्योग, किसान र श्रमिकको हित संरक्षणका लागि निर्यातको वातावरण बनाउन सरकारले ढिलाइ गर्न नहुने बताए ।
‘चिया उद्योगले वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ,’ अध्यक्ष राउतले भने, ‘भारतीय पक्षबाट लागु गरिएको नयाँ व्यवस्थाका कारण ठूलो परिमाणमा तयारी चिया सीमानाकामा रोकिएको छ, यसले गर्दा उद्योगहरूमा मौज्दात बढेको छ, नगद प्रवाहमा गम्भीर समस्या देखिएको छ, अनि हजारौं किसान, श्रमिक र उद्यमीहरू प्रत्यक्ष मारमा परेका छन् ।’
प्रतिक्रिया 4