News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमै कपडा उत्पादन शुरू गरेको सिस्टरहुड क्लोथिङमा हाल विभिन्न पेशा र क्षेत्रका १०० जना महिला आबद्ध भएका छन् ।
- महिलाका लागि प्लस साइज कपडा उत्पादन गर्ने यस कम्पनीले पोखरासहित देशका प्रमुख १० सहरमा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ ।
उनीहरू ठ्याक्कै १०० जना छन् । उमेर फरक । पेशा फरक । पृष्टभूमि फरक । तर एउटै छ, व्यवसाय । एउटै थलोमा, एउटै लगानीमा । नाम हो, सिस्टरहुड क्लोथिङ ।
कसरी एउटै व्यवसायमा १०० जनाको मत मिल्यो, हातेमालो भयो ? कथाको सुरुवात भने १५ वर्षअघि बाट हुन्छ । त्यसबेला उनीहरू १०० थिएनन् । दुई पतिपत्नी थिए । सामान्य कपडा पसल चलाउँथे । त्यसैको स्वमित्व अहिले १०० जना महिलाको हातमा छ ।
यसरी मिल्यो मत
सिस्टरहुड क्लोथिङकी सह–संस्थापक एन्जिला श्रेष्ठका अनुसार व्यवसायको सुरुवात सामान्य आयात–आधारित मोडेलबाट भएको थियो । उनी र श्रीमानले थाइल्यान्डबाट कपडा ल्याएर नेपालमा बिक्री गर्ने काम सुरु गरेका थिए । त्यसबेला बजारमा रहेका अन्य कपडा पसलहरूजस्तै उनीहरूको व्यवसाय पनि आयातित सामग्रीमा निर्भर थियो ।
तर सन् २०२० मा आएको कोभिड–१९ महामारीले व्यवसायलाई ठूलो चुनौती दियो । अन्तर्राष्ट्रिय ढुवानी प्रभावित भयो, सामान ल्याउन कठिन भयो र लागत उल्लेखनीय रूपमा बढ्न थाल्यो । बजारमा ग्राहकको क्रयशक्ति घटिरहेको थियो भने व्यवसाय सञ्चालन गर्न पनि चुनौतीपूर्ण बन्दै गएको थियो।
‘एक समय त व्यवसाय नै बन्द गर्ने कि भन्ने अवस्था आएको थियो’ एन्जिला सम्झिन्छिन् । ‘तर त्यहीबेला हामीले नेपालमै उत्पादन गर्ने सम्भावनाबारे सोच्यौं । आफ्नै डिजाइन, आफ्नै उत्पादन र आफ्नै ब्रान्ड निर्माण गर्ने निर्णय गर्यौं ।’
त्यसपछि उनीहरूले आफ्नै फ्याक्ट्री स्थापना गरे र ‘मेड इन नेपाल’ उत्पादन सुरु गरे । यसले उत्पादन लागत नियन्त्रण गर्न, आफ्नै डिजाइन विकास गर्न र बजारको आवश्यकता अनुसार उत्पादन गर्न सहज बनायो ।
बजारले सिकाएको प्लस साइजको सम्भावना
सुरुवाती चरणमा कम्पनीले सामान्य साइजका कपडा बिक्री गर्थ्यो । तर अनलाइन अर्डरका क्रममा ग्राहकबाट लगातार ठूलो साइजका कपडाको माग आउन थालेपछि कम्पनीले नयाँ अवसर देख्यो ।
धेरै महिलाले आफूलाई मनपरेको डिजाइनको कपडा आफ्नो साइजमा उपलब्ध गराइदिन अनुरोध गर्न थाले । कतिपयले बजारमा प्लस साइजका कपडा पाउन गाह्रो हुने र पाइहाले पनि महँगो पर्ने गुनासो गर्थे ।
‘त्यसपछि हामीले बुझ्यौं कि प्लस साइज बजारमा ठूलो सम्भावना रहेछ’ श्रेष्ठ भन्छिन् । ‘धेरै ब्रान्डले यो वर्गलाई प्राथमिकता दिएका थिएनन्। । त्यसैले हामीले त्यही क्षेत्रमा केन्द्रित भएर काम गर्ने निर्णय गर्यौं ।’
हाल कम्पनीले १२०–१३० किलोका महिलाका लागि समेत उपयुक्त हुने ब्लेजर सेट, फर्मल प्यान्ट, टप, जिन्स, कटन ड्रेस लगायतका कपडा उत्पादन गरिरहेको छ । कम्पनीको सबैभन्दा लोकप्रिय उत्पादन ब्लेजर सेट रहेको बताइन्छ ।
१०० महिलाको साथ
फ्याक्ट्री स्थापना गरेर उत्पादन सुरु गरेपछि व्यवसाय विस्तार हुँदै गइरहेको थियो । तर एन्जिलालाई लाग्न थाल्यो कि सीमित व्यक्तिको प्रयासले व्यवसाय निश्चित सीमासम्म मात्र पुग्न सक्छ ।
त्यसैबेला महिलालाई आर्थिक रूपमा सक्षम बनाउने र व्यवसायको मालिक बनाउने सोचले नयाँ अवधारणाको जन्म भयो– ‘सिस्टरहुड’ ।
‘एकजनाले मात्र व्यवसाय गर्दा जति प्रभाव पर्छ, १०० जनाले मिलेर गर्दा त्यसको प्रभाव धेरै गुणा बढी हुन सक्छ’ उनी भन्छिन्, ‘हामीले महिलाहरूलाई केवल ग्राहक होइन, मालिक बनाउने सोच बनायौं ।’

त्यसपछि सामाजिक सञ्जालमार्फत यो अवधारणा सार्वजनिक गरियो । अपेक्षा गरिएभन्दा धेरै महिलाले चासो देखाए । विभिन्न चरणमा बैठक आयोजना गरियो । सम्भावित सदस्यहरूलाई व्यवसायको योजना, जोखिम, अवसर, लगानी संरचना र भविष्यको लक्ष्यबारे विस्तृत जानकारी दिइयो ।
करिब पाँच–छ महिनाको निरन्तर प्रयासपछि १०० महिला सहभागी भएर ‘सिस्टरहुड क्लोथिङ’ औपचारिक रूपमा सुरु भयो ।
गृहिणीदेखि डाक्टरसम्म एउटै प्लेटफर्ममा
सिस्टरहुडको विशेषता भनेको यसको विविधता हो । धेरैले साना व्यवसायी वा उद्यमी महिलामात्र सहभागी भएको अनुमान गरे पनि वास्तविकता फरक छ ।
यसमा डाक्टर, शिक्षक, बैंकर्स, कोरियोग्राफर, विद्यार्थी, ब्युटिसियन, गृहिणी तथा विभिन्न पेशा र क्षेत्रका महिलाहरू सहभागी छन् । कतिपय पूर्णकालीन जागिरे छन् भने कतिपय आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् ।
कम्पनीका अनुसार यसले विभिन्न अनुभव, सीप र दृष्टिकोणलाई एउटै ठाउँमा ल्याउन मद्दत गरेको छ । ‘हाम्रो समूह निकै विविध छ । यही विविधताले हामीलाई अझ बलियो बनाएको छ’ श्रेष्ठ भन्छिन् ।
दुई लाख रुपैयाँको साझेदारी
सिस्टरहुडमा सहभागी प्रत्येक महिलाले दुई लाख रुपैयाँ लगानी गरेका छन् । यसरी 100 महिलाबाट संकलित लगानीलाई व्यवसाय विस्तार, उत्पादन वृद्धि र ब्रान्ड विकासमा प्रयोग गरिएको छ । एन्जिलाका अनुसार कतिपय महिलाले यो अवसरका लागि विशेष प्रयाससमेत गरेका थिए । ‘एक जना सदस्यले त एक तोला सुन बेचेर भए पनि सहभागी हुन्छु भन्नुभएको थियो’ उनी सुनाउँछिन् ।
धेरै महिलाका लागि यो लगानी केवल आर्थिक प्रतिफल प्राप्त गर्ने माध्यम मात्र नभई व्यवसायको स्वामित्व अनुभव गर्ने अवसर पनि बनेको छ ।
पारदर्शी व्यवस्थापन
धेरै साझेदार भएको व्यवसायमा विश्वास कायम राख्नु सबैभन्दा ठूलो चुनौती मानिन्छ । सिस्टरहुडले त्यसलाई समाधान गर्न प्रविधिको प्रयोग गरेको छ । कम्पनीले आफ्नै मोबाइल एप विकास गरेको छ, जहाँ सदस्यहरूले स्टक, बिक्री, नाफा, दैनिक कारोबार तथा अन्य वित्तीय विवरण हेर्न सक्छन् ।
यसबाहेक स्टोरमा जडान गरिएको सीसीटीभी प्रणालीमा समेत सदस्यहरूको पहुँच छ । उनीहरूले चाहेको समयमा स्टोरको गतिविधि अवलोकन गर्न सक्छन् ।
‘हामीले सुरुदेखि नै पारदर्शितालाई प्राथमिकता दिएका छौं’ एन्जिला भन्छिन्, ‘यही कारणले १०० जनाबीच पनि विश्वास कायम राख्न सफल भएका छौं।’
रोजगारी र आयआर्जनका अवसर
हाल कम्पनीमा ९ जना प्रत्यक्ष रूपमा कार्यरत छन् । तर यसको प्रभाव त्यतिमै सीमित छैन । सामाजिक सञ्जालमा सामग्री निर्माण, फोटोसुट, मोडलिङ, प्रचार–प्रसार तथा डिजिटल मार्केटिङका माध्यमबाट पनि विभिन्न महिलाले आम्दानी गर्ने अवसर पाइरहेका छन् ।
कम्पनीले आफ्ना उत्पादनको प्रचारका लागि महिलाहरूलाई मोडलिङको अवसर दिने, भिडियो सामग्री निर्माणमा संलग्न गराउने तथा त्यसबापत पारिश्रमिक उपलब्ध गराउने गरेको छ ।
ग्राहकको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति
सिस्टरहुड क्लोथिङले ग्राहक सेवामा विशेष ध्यान दिएको बताउँछ । कम्पनीले नेपालभर क्यास–अन–डेलिभरी सुविधा उपलब्ध गराउँदै आएको छ । धेरै अनलाइन व्यवसायले अग्रिम भुक्तानी माग्ने, एक्सचेन्जमा कडाइ गर्ने वा ग्राहकसँग औपचारिक व्यवहार गर्ने अवस्थाबीच सिस्टरहुडले लचिलो नीति अपनाएको छ ।

आवश्यकताअनुसार एक्सचेन्ज, रिफन्ड तथा ग्राहकको समस्या समाधानमा प्राथमिकता दिने अभ्यासले ग्राहकको विश्वास जित्न मद्दत गरेको कम्पनीको दाबी छ ।
‘हामी सही वा ग्राहक गलत भन्नेभन्दा पनि ग्राहकलाई सम्मान गर्ने संस्कृतिमा विश्वास गर्छौं’ एन्जिला भन्छिन् ।
पत्रकारिताबाट उद्यमशीलतासम्मको यात्रा
एन्जिला श्रेष्ठको व्यक्तिगत यात्रा पनि रोचक छ । व्यवस्थापन विषय अध्ययन गरेकी उनी सुरुमा बैंकिङ क्षेत्रमा करियर बनाउने सोचमा थिइन् । तर पछि रेडियोमा काम गर्ने अवसर पाएपछि सञ्चार क्षेत्रमा प्रवेश गरिन् ।
उनले विभिन्न रेडियो तथा टेलिभिजनमा समाचार वाचक र रिपोर्टरका रूपमा काम गरिन् । पत्रकारितामा सन्तुष्टि पाइरहेकी एन्जिला पछि व्यवसायमा सक्रिय भइन् ।
‘सुरुमा श्रीमानलाई सहयोग गर्न थालेकी थिएँ’ उनी भन्छिन्, ‘तर बिस्तारै मैले व्यवसायमै आफ्नो भविष्य देख्न थालें । अहिले त यही क्षेत्रमा अझ धेरै काम गर्न मन लाग्छ ।’
अब पोखरा र त्यसपछि देशभर
कम्पनीले अब शाखा विस्तारको योजना अघि बढाएको छ । पोखरा शाखा खोल्ने लगभग निश्चित भइसकेको छ । पोखरामा रहेका सदस्यहरूको सक्रियता र बजारको सम्भावनालाई आधार बनाएर त्यहाँ शाखा खोल्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
दीर्घकालीन लक्ष्य भने देशका प्रमुख सहरमा कम्तीमा १० वटा शाखा सञ्चालन गर्ने रहेको छ । शाखा विस्तारबाट प्राप्त नाफा पनि यही १०० जना सदस्यबीच बाँडिने कम्पनीले जनाएको छ ।
महिलाले बनाएको विश्वसनीय नेपाली ब्रान्ड बनाउने लक्ष्य
सिस्टरहुड क्लोथिङको अन्तिम लक्ष्य केवल कपडा बिक्री गर्नु मात्र होइन । कम्पनी महिलाहरूले निर्माण गरेको, महिलाहरूले सञ्चालन गरेको र महिलाहरूले नै विश्वास गर्ने राष्ट्रिय ब्रान्ड बन्न चाहन्छ ।
कम्पनीको विश्वास छ—यदि गुणस्तर, उचित मूल्य, ग्राहक सेवा र पारदर्शिता कायम राख्न सकियो भने सिस्टरहुड नेपाली फेसन उद्योगमा छुट्टै पहिचान बनाउन सफल हुनेछ ।
१०० महिलाको साझा सपना, साझा लगानी र साझा नेतृत्वमा अघि बढिरहेको सिस्टरहुड क्लोथिङले नेपाली उद्यमशीलताको क्षेत्रमा एउटा नयाँ मोडेल प्रस्तुत गरेको छ । यसले महिला सशक्तीकरण केवल नारामा सीमित नभई व्यवहारिक रूपमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने उदाहरण पनि स्थापित गरेको छ ।
प्रतिक्रिया 4