+
+
Shares

गर्मी छल्ने उत्कृष्ट गन्तव्य हुनसक्छन्, नेपालका यी ११ हिल स्टेशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बढ्दो गर्मी छल्न र शीतल वातावरणको आनन्द लिन नेपालका ११ पहाडी पर्यटकीय गन्तव्यहरू उपयुक्त विकल्पका रूपमा रहेका छन् ।
  • काठमाडौं आसपासका नगरकोट, धुलिखेल, चन्द्रागिरि र चित्लाङ चिसो मौसमका लागि आकर्षक गन्तव्य हुन् ।
  • पूर्वी नेपालको कन्याम र भेडेटार तथा पश्चिमका बन्दिपुर, साराङकोट र तानसेन गर्मी छल्न आन्तरिक पर्यटकका रोजाइमा पर्ने गरेका छन् ।

बाहिर निस्कँदा घाम पोल्ने, दिउँसोको तापक्रम सहन गाह्रो हुने र पंखा तथा एसीले पनि राहत नदिने अवस्था धेरै ठाउँमा देखिन थालेको छ ।  गर्मी बढिरहेकै बेला शीतल हावा, हरियाली र हिमालको दृश्यको खोजीमा धेरैको ध्यान पहाडी गन्तव्यतर्फ मोडिन्छ । यदि तपाईं पनि केही दिन गर्मीबाट टाढा बस्ने योजना बनाइरहनुभएको छ भने नेपालका यी हिल स्टेशनहरू उपयुक्त विकल्प हुन सक्छन् ।

१. नगरकोट

गर्मीबाट केही राहत खोज्दै जान सकिने उत्कृष्ट गन्तव्य नागरकोट हुनसक्छ । काठमाडौंबाट करिब ३२ किलोमिटर पूर्वमा  पर्ने यस स्थान चिसो मौसम, हिमालयको मनोरम दृश्य, विशेषगरी सगरमाथासहितका हिमशृंखला र आकर्षक सूर्योदयका लागि  चर्चित छ ।

२. धुलिखेल

फोटो : ट्रिप्स पोइन्ट

तापक्रम बढिरहेका बेला धुलिखेलको शीतल वातावरणले छुट्टै आनन्द दिन्छ । काठमाडौंबाट करिब ३० किलोमिटर पूर्वमा रहेको धुलिखेल समुद्री सतहबाट झण्डै १,५५० मिटर उचाइमा अवस्थित छ । यहाँबाट देखिने हिमाली दृश्य र नेवारी संस्कृतिले पर्यटकलाई आकर्षित गर्छ ।

३. दामन 

मुड फ्रेस बनाउने अर्को गन्तव्य हो, दामन । काठमाडौंबाट करिब ८० किलोमिटर दक्षिणपश्चिममा रहेको दामनबाट एभरेष्टदेखि धौलागिरीसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ ।

४. बन्दिपुर

फोटो : द लंगेस्ट वे होम 

गर्मी मौसममा शान्त वातावरण खोज्नेहरू बन्दिपुर पुग्न सक्छन् । तनहुँ जिल्लामा रहेको बन्दिपुर काठमाडौंबाट करिब १४० किलोमिटर पश्चिममा पर्ने दामनको हरियाली वातावरण सँगै पुरानो नेवारी वास्तुकला र हिमाली दृश्य यहाँका मुख्य आकर्षण हुन् ।

५. साराङकोट

पोखराको गर्मीभन्दा माथि उठेर शीतल हावा महसुस गर्न चाहनुहुन्छ भने साराङकोट उपयुक्त छ । पोखरा बजारबाट करिब ५ किलोमिटर दूरीमा रहेको साराङकोटबाट अन्नपूर्णा हिमशृंखला र फेवातालको दृश्यको मजा लिन सकिन्छ ।

६. तानसेन

फोटो : रोयलएमटी माउन्टेन ट्राभल

गर्मीको मौसममा पाल्पाको तानसेनले सुखद अनुभूति दिन्छ । पाल्पाको सदरमुकाम तानसेन समुद्री सतहबाट करिब १,३७० मिटर उचाइमा अवस्थित छ र बुटवलबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ । यहाँ इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको संयोजन भेटिन्छ ।

७. कन्याम

पूर्वी नेपालको इलामस्थित कन्याम केवल स्थानीय बासिन्दाको मात्र होइन, गर्मीले पोलिएको झापा, मोरङ र सुनसरीका बासिन्दालाई समेत शीतलता दिने लोकप्रिय गन्तव्य हो । चिया बगानले ढाकिएका हरिया डाँडाकाँडा, चिसो हावा र कुहिरोले भरिएको वातावरणले यहाँ पुग्ने जोकोहीलाई ताजगीको अनुभूति गराउँछ । गर्मी मौसममा हजारौं आन्तरिक पर्यटक कन्याम पुग्ने गर्छन् । काठमाडौंबाट करिब ७०० किलोमिटर पूर्वमा रहेको इलाम बजार समुद्री सतहबाट करिब १,२०० मिटर उचाइमा अवस्थित छ ।

८. चित्लाङ

धेरै टाढा नगइकन शीतल वातावरणको आनन्द लिन चाहनुहुन्छ भने चित्लाङ राम्रो विकल्प हुन सक्छ । काठमाडौंबाट करिब २७ किलोमिटर दक्षिणपश्चिममा रहेको चित्लाङमा ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यले यहाँको यात्रा विशेष बनाउँछ ।

९. चन्द्रागिरि

केबलकार चढ्दै हिमाल र उपत्यकाको दृश्य अवलोकन गर्न चाहनुहुन्छ भने चन्द्रागिरि उपयुक्त गन्तव्य हो । काठमाडौंको दक्षिणपश्चिममा रहेको चन्द्रागिरि समुद्री सतहबाट २,५५१ मिटर उचाइमा अवस्थित छ । यहाँबाट हिमालय र काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ हरेक समय मौसम चिसो भइरहन्छ ।

१०. नुवाकोट

गर्मीको व्यस्त दिनचर्याबाट केही समय विश्राम लिन नुवाकोट पुग्न सकिन्छ । काठमाडौंबाट करिब ७५ किलोमिटर उत्तरपश्चिममा रहेको नुवाकोटमा ऐतिहासिक दरबार, हरियाली र शान्त वातावरणले यसलाई आकर्षक गन्तव्य बनाएको छ ।

११. भेडेटार

तराईको चर्को गर्मीबाट राहत खोज्नेहरूका लागि भेडेटार उत्कृष्ट गन्तव्य हो । धनकुटा जिल्लामा रहेको भेडेटार धरानबाट करिब १६ किलोमिटर उत्तरमा र समुद्री सतहबाट करिब १,४२० मिटर उचाइमा अवस्थित छ । यहाँको चिसो हावा, हरियाली र पहाडी दृश्यले वर्षभरि नै पर्यटकलाई आकर्षित गर्छ ।

विशेषगरी गर्मी मौसममा सुनसरी, मोरङ र झापाका बासिन्दा शीतलता खोज्दै भेडेटार पुग्ने गर्छन् । नजिकै रहेको चार्ली डाँडा र नाम्जे जस्ता स्थलले पनि यहाँको आकर्षण थप बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?