+
+
Shares

विश्वकप माहोलबीच शुक्रबारदेखि ‘आइएम जितबहादुर’ सहित ३ विदेशी फिल्म हलमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोलि शुक्रबारदेखि नेपाली फिल्म ‘आइएम जितबहादुर’सहित तीनवटा विदेशी फिल्म हलहरूमा प्रदर्शन हुँदैछन् ।
  • विश्वकप फुटबलको माहोलका कारण प्रदर्शन हुन लागेका फिल्महरूको अग्रिम टिकट बिक्री भने न्यून देखिएको छ ।
  • जितु नेपाल अभिनित फिल्म ‘आइएम जितबहादुर’ले देशव्यापी रूपमा ११५ शोज पाएको छ ।

काठमाडौं । भोलि शुक्रबारदेखि नेपाली भाषाको ‘आइएम जितबहादुर’सहित ३ विदेशी फिल्म प्रदर्शन तयारीमा छन् । हलहरूले बिहीबार एड्भान्स टिकट बिक्री खुलाएका छन् ।

विश्वकप फुटबलको माहोलबीच यी फिल्महरू हलमा आउन लागेका हुन् । जितु नेपालको ‘आइएम जितबहादुर’, शाहिद कपुरको ‘ककटेल २’, दक्षिण कोरियाको ‘कोलोनी’, हलिउडको ‘टोय स्टोरी ५’ रिलिज हुँदैछन् ।

यी सबै फिल्मको एड्भान्स टिकट बिक्री भने न्यून देखिएको छ ।

‘आइएम जितबहादुर’ ले देशभर ११५ शोज पाएको छ । शुभेन्दु घोष निर्देशित यो फिल्ममा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनालको अभिनय छ । कलाकारले गर्नुपर्ने संघर्षको कथा यसमा छ । १३३ मिनेट रनटाइमको यो फिल्मलाई जनरा ड्रामामा राखिएको छ ।

‘कोलोनी’ दक्षिण कोरियाली सबटाइटलसहितको फिल्म हो जुन जैविक संकट र मानव अस्तित्वको संघर्षमा आधारित ड्रामा, हरर र क्राइम विधाको कथा हो । फिल्ममा प्रोफेसर से जियोङ एक जैविक प्रविधिसम्बन्धी सम्मेलनमा सहभागी हुन्छिन्, तर त्यही सम्मेलन तीव्र रूपमा रूपान्तरण हुने घातक भाइरस फैलिँदा भयावह घटनास्थलमा परिणत हुन्छ ।

संक्रमण तीव्र गतिमा फैलिन थालेपछि संक्रमित व्यक्तिहरूमा डरलाग्दा शारीरिक परिवर्तन देखिन थाल्छन् र अधिकारीले सम्पूर्ण परिसरलाई बन्द गरिदिन्छन् । त्यसपछि सुरु हुन्छ बाँच्नका लागि संघर्ष, रहस्य र आतंकको कथा । योन साङ–हो निर्देशित यस फिल्ममा जुन जी–ह्युन, कु क्यो–ह्वान र जी चाङ–वुक मुख्य भूमिकामा छन् ।

‘ककटेल २’ हिन्दी फिल्म हो जुन आधुनिक सम्बन्ध, प्रेम र भावनात्मक उतारचढावको कथामा आधारित कमेडी, ड्रामा र रोमान्स विधाको फिल्म हो । पहिलो भागका भावनात्मक विषयवस्तुलाई निरन्तरता दिँदै यो सिक्वेलमा नयाँ पात्र र उनीहरूले सामना गर्ने समकालीन चुनौती प्रस्तुत गरिएको छ ।

प्रेम, मित्रता, विश्वास र सम्बन्धमा आउने विछोडका भावनात्मक पाटालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले आजको पुस्ताका सम्बन्धको जटिलता उजागर गर्ने अपेक्षा गरिएको छ । होमी अडजानिया निर्देशित यस फिल्ममा शाहिद कपूर, कृति स्यानोन र रश्मिका मन्दाना मुख्य भूमिकामा छन् ।

‘ट्वाइ स्टोरी ५’ हलिउड फिल्म हो जुन साहसिक कथामा आधारित लोकप्रिय ट्वाइ स्टोरी शृंखलाको नयाँ संस्करण हो । यसपटक वुडी, बज लाइटइयर, जेसी र उनका साथीहरूको संसारमा नयाँ चुनौती थपिएको छ ।

बालबालिकाको खेलकुद र मनोरञ्जनमा इलेक्ट्रोनिक उपकरणहरूको बढ्दो प्रभावका कारण उनीहरूको भूमिका नै संकटमा पर्न थाल्छ । खेलौना र आधुनिक प्रविधिबीचको प्रतिस्पर्धालाई रोचक ढंगले प्रस्तुत गरिएको फिल्मले मित्रता, सहकार्य र परिवर्तनसँग जुध्ने यात्रालाई चित्रण गर्छ । म्याकेना ह्यारिस र एन्ड्र्यु स्ट्यान्टन निर्देशित यस फिल्ममा टम ह्याङ्क्स, किआनु रिभ्स र जोन क्युस्याकले आवाज दिएका छन् ।

केही दिनअघि अर्को हलिउड फिल्म ‘अबेसन’ पनि हलमा रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?