News Summary
Generated by OK AI. Editorially reviewed.- तातो चियाले घाँटी र अन्ननलीको म्यूकस झिल्ली पोल्छ र चुरोटको विषाक्त पदार्थले त्यहाँबाट सजिलै रगतमा मिसिन्छन्, जसले क्यान्सर निम्त्याउछ।
काठमाडौं । एक हातमा चियाको कप र अर्को हातमा बलिरहेको चुरोट लिएर पालैपालो दुवै सेवन गरिरहेको दृश्य हामी यत्रतत्र देख्छौँ ।
हरेक बिहान, दिउँसो वा साँझतिर चोक, गल्ली तथा ठेलागाडाका चिया पसलदेखि ठूलो होटल, रेस्टुरेन्टमा यस खालको व्यक्ति हरेक देखि देखिन्छ ।
धुवाँको मुस्लो उडिरहेको हुन्छ, चियाको बाफसँगै मिसिँदै । जो यो लतमा छन्, उनीहरू मुस्कुराउँदै भन्छन्, ‘यो दुईको कम्बिनेशनको मजा बेग्लै छ चियाले मुड फ्रेस पारिदिन्छ, चुरोटले तनाव हटाउँछ ।’
स्वस्थ्य विज्ञ भन्छन्, ‘यो मुड फ्रेस पार्ने, तनाव घटाउने टोनिक होइन, यो त बिस्तारै शरीरलाई भित्रबाट खोक्रो पार्ने प्रक्रिया हो ।’
घाँटी र अन्ननलीलाई जलाउने, कोषिकाहरू नष्ट गर्ने र क्यान्सर जस्तो घातक रोग निम्त्याउने यो बानीले कयौंलाई अकालमा मृत्युको मुखमा पुर्याइरहेको छ ।
चियासँगै चुरोट पिउन किन हुँदैन ?
चिया सामान्यतया ६५ देखि ७० डिग्री सेल्सियसभन्दा तातो अवस्थामा पिइन्छ । क्याफिनले दिमागलाई ताजा बनाउँछ । चुरोटमा निकोटिनले तुरुन्त आरामको अनुभूति दिन्छ ।
तर यी दुवै सँगै लिँदा शरीरमा खतरनाक रासायनिक प्रतिक्रिया हुन्छ ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार ‘तातो चियाले घाँटी र अन्ननलीको नरम म्यूकस झिल्लीलाई बारम्बार पोल्छ । यसले साना–साना घाउ (माइक्रो–इन्जुरी) बनाउँछ ।
चुरोटको धुवाँमा टार, बेन्जिन, फर्माल्डिहाइड, निकोटिन जस्ता ७० भन्दा बढी क्यान्सरको जोखिम बढाउने रसायन हुन्छन् । तातोपनले कमजोर बनाएको ठाउँमा यी विषाक्त पदार्थ सजिलै रगतमा मिसिन्छन् र डीएनए क्षति गर्छन् ।
सामान्य अवस्थामा म्यूकस झिल्लीले हानिकारक कणबाट जोगाउने तर तातो चियाले त्यही सुरक्षालाई भत्काइदिने नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ओमप्रकाश यादव बताउँछन् ।
चुरोटको धुवाँले त्यही खुला घाउमा हमला गर्छ’ डा.यादव भन्छन्, ‘दैनिक यो प्रक्रिया चल्दा घाउ निको नहुने र असामान्य कोषिका बढ्ने खतरा हुन्छ ।’
यो संयोजनलाई विज्ञानले ‘साइनरजेस्टिकइफेक्ट’ भन्छ । अर्थात, छुटै पिउँदा त्यति हानि गर्दैनन्, सँगै पिउँदा दोब्बर वा पाँच गुणा बढी हानि गर्छन्।
कति घातक ? वैज्ञानिक प्रमाण के भन्छन् ?
विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आइआरसी) ले २०१६ मा नै ‘६५ डिग्रीभन्दा तातो पेय’ लाई ग्रुप ए प्रोबाब्ली सार्किनोजेनिकमा राखिसकेको छ । तर चुरोटसँग मिसिँदा जोखिम झन् बढ्छ ।
सबैभन्दा ठूलो प्रमाण २०१८ को चीनको अध्ययन हो । एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित यो अध्ययनमा ४ लाख ५६ हजार १५५ व्यक्तिमाथि ९ वर्षसम्म निगरानी गरियो ।
यसको नतिजा डरलाग्दो थियो । दैनिक तातो चिया र चुरोट पिउनेमा एसोफेगल क्यान्सरको जोखिम २.०३ गुणा बढेको पाइयो । यदि रक्सी पनि थपियो भने जोखिम ५ गुणा पुग्यो । जसले तातो चिया मात्र पिउँछन् तर चुरोट÷रक्सी गर्दैनन्, उनीहरूमा जोखिम बढेन । अर्थात् चुरोट नै मुख्य दोषी हो, तर तातो चियाले क्यान्सरको कोष बन्ने ढोका खोलिदिन्छ ।
इरान, युरोप र दक्षिण एसियाका थुप्रै अध्ययनले पनि यही पुष्टि गरेका छन् । नेपालमा पनि एसोफेजियल स्क्वामस सेल कार्सिनोमा बढ्दै छ । धूम्रपान, तातो चिया र मदिराको यो त्रिवेणीले काठमाडौं, तराई र पहाडी जिल्लाहरूमा क्यान्सरका बिरामी बढाइरहेको छ ।
एसोफेजियल स्क्वामस सेल कार्सिनोमा भनेको अन्ननली (एसोफेगस) को भित्री तहमा रहेका समतल, पातला स्क्वामस कोषिकाहरूबाट सुरु हुने घातक क्यान्सर हो । यो विश्वभर सबैभन्दा सामान्य प्रकारको अन्ननलीको क्यान्सर हो, जुन मुख्य रूपमा अन्ननलीको माथिल्लो वा मध्य भागमा हुन्छ र धूम्रपान, अत्यधिक मदिरा सेवन, तातो पेय (जस्तै तातो चिया), तथा चुरोटसँग तातो चियाको संयोजन जस्ता कारकले यसको जोखिम बढाउँछ ।
यो क्यान्सर कोषिकाहरू असामान्य रूपमा बढेर अन्ननलीको भित्तामा फैलिन्छ, जसले निल्न गाह्रो, घाँटी दुख्ने, तौल घट्ने जस्ता लक्षण देखाउँछ र ढिलो पत्ता लाग्दा उपचार जटिल हुन्छ ।
ग्लोबक्यानको नेपाल फ्याक्टसिटको तथ्यांकअनुसार नेपालमा वार्षिक हजारौं नयाँ क्यान्सर केस मध्ये ठूलो हिस्सा घाँटी–खाने नली सम्बन्धी छ ।
२०२२ मा देखिएको कुल करिब २२ हजार नयाँ क्यान्सर केसहरू थिए । यसमध्ये खाने नली (एसोफेगस) को क्यान्सरका २५२ नयाँ केसहरू थिए (कुलको १.१ प्रतिशत जुन धूम्रपान, तातो चिया र यस्ता बानीले बढाउने प्रमुख कारक हो ।
यो संख्या सानो लागे पनि, नेपाल जस्तो देशमा यो क्यान्सर घातक छ । किनकि प्रायः ढिलो पत्ता लाग्छ र उपचार सफलता कम हुन्छ । विशेषगरी धूम्रपान गर्ने र तातो चियासँग चुरोट पिउनेहरूमा यो जोखिम उच्च छ, जसले घाँटी र खाने नलीलाई प्रत्यक्ष क्षति पुर्याउँछ ।
लतले शरीरमा पार्ने विस्तृत प्रभाव
यो बानीले शरीरलाई बहुआयामिक रूपमा आक्रमण गर्छ । पहिले तातो चियाले ६०–७० डिग्री तापक्रमले घाँटी र एसोफेगसलाई जलाउँछ । यसले कोषिकाहरू सुन्निन्छन् । चुरोटको कण र रसायन त्यही सूजन भएको ठाउँबाट सजिलै भित्र पस्छन् ।
डा. शाही भन्छन, ‘निकोटिनले रक्तनली साँघुरो बनाउँछ । क्याफिनले मुटुको धड्कन बढाउँछ । फलस्वरूप रक्तचाप बढ्छ, मुटुले दोब्बर मेहनत गर्नुपर्छ । फोक्सोमा टार जम्मा हुन्छ, सास फेर्न गाह्रो हुन्छ । पेटमा एसिड बढ्छ, अल्सर र रिफ्लक्स हुन्छ । कलेजो र मिर्गौलामा मन्द विष थपिन्छ ।’
दीर्घकालमा यो प्रक्रियाले अक्सिडिएटिभ स्ट्रेस बढाउँछ । शरीरको एन्टिअक्सिडेन्ट स्तर घट्छ । कोषिका बुढो हुन्छन् । युवावस्थादेखि नै यो बानीले स्वास्थ्य बिगार्छ । ४० वर्षमाथिका नियमित धूम्रपानकर्तामा जोखिम झन् उच्च हुन्छ ।
यो लतबाट कसरी बच्ने ?
डा. शाहका अनुसार बचाउ सरल छ, मात्र थोरै अनुशासन चाहिन्छ ।
१. चिया पिउने बित्तिकै चुरोट नपिउने । कम्तीमा १०–१५ मिनेट पर्खने वा चुरोट पूरै छोड्ने संकल्प गर्न सकिन्छ ।
२. चिया अलि चिसो (६० डिग्रीभन्दा कम तापक्रममा) पिउने ।
३. चुरोट छोड्न चिकित्सकको सल्लाहमा निकोटिन प्याच, परामर्श वा औषधि (वरेणिक्लाइन जस्ता) प्रयोग गर्ने ।
४. चिया पिउँदा साथीहरूसँग गफ गर्ने, चुरोटको सट्टा फलफूल, पानी वा ‘ग्रीन टी’ बढी लिने ।
५. नियमित व्यायाम, स्वस्थ खाना, प्रशस्त पानी र तनाव व्यवस्थापन गर्ने ।
६. लत छोड्न सकिएन भने चिकित्सकको सहयोग लिन सकिन्छ ।
प्रतिक्रिया 4