राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्दैगर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राई सरकार सुशासनको जगमा बनेको दाबी गरिए पनि व्यवहारमा संसदीय उत्तरदायित्व, मानवअधिकार, लगानीको वातावरण, कूटनीति र विधिको शासनका सवालमा चुकेको बताउँछन् ।
सरकारले राम्रो काम गर्दा कांग्रेसले सहयोग गरेका र गलत बाटोमा जाँदा खबरदारी गरेर प्रतिपक्षको जिम्मेवारी निर्वाह गरिरहेको सचेतक राईको भनाइ छ ।
सरकारको सय दिन, संसद्प्रतिको दृष्टिकोण, सुकुम्बासी व्यवस्थापन, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रतिपक्षको भूमिका र सत्तारुढ दलको आन्तरिक लोकतन्त्रबारे राईसँग अनलाइनखबरकर्मी केशव सावदले गरेको कुराकानीको सम्पादित अंश :
बालेन शाह नेतृत्वको सरकारको सय दिन पूरा हुन लागेको छ । प्रमुख प्रतिपक्षी दलको सचेतकका रूपमा यो सरकारको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
सुशासनको जगमा बनेको भनिएको वर्तमान सरकारको मनोवृत्ति र कार्यशैली हेर्दा धेरै उत्साहित हुने ठाउँ देखिँदैन । सय दिनका गतिविधि नियाल्दा केही सकारात्मक पक्ष देखिए पनि सरकारले गर्न सक्ने धेरै कामलाई बेवास्ता गरेको देखिन्छ ।
जस्तै, जेनजी आन्दोलनसँग सम्बन्धित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकार सक्रिय देखियो । तर, उनै कार्कीसहित सत्तारुढ दलकै नेताहरूलाई समेत दोषी ठहर गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनतर्फ सरकार उति उद्धत देखिएन ।
भदौ २३ र २४ गतेको आन्दोलनमा बलिदान दिएका शहीद र घाइतेहरूले अझै न्याय पाएका छैनन् । शहीद परिवार र घाइतेहरू फेरि सडकमा आउने तयारीमा हुनुहुन्छ ।
सरकारले शासकीय सुधारका नाममा धेरै कुरा घोषणा गरेको थियो । सातबुँदे प्रतिबद्धतामै भदौ २४ को विध्वंसात्मक घटनाको छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने भनिएको थियो । तर, आजसम्म त्यो समिति गठन भएको छैन ।
सुकुम्बासी समस्या पनि जस्ताको त्यस्तै छ । सरकारले व्यवस्थित लगत संकलनसम्म गर्न सकेको छैन । स्थानीय सरकारसँग पर्याप्त समन्वय भएको छैन । उल्टै कतिपय निर्देशन सैनिक अड्डाबाट सम्प्रेषण भएको देखियो । समाधानको बाटो एकातिर छ, तर समस्यालाई झन् गिजोल्ने काम भइरहेको छ ।
होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूको उत्तिकै छ, त्यसको व्यवस्थापन हुन सकेको छैन । सरकारले नागरिक अधिकारको ग्यारेन्टी सुनिश्चित गर्न सकेको छैन ।
यसबीचमा इन्द्रबहादुर राईलगायतका केही मानिसहरू व्यक्तिहरूले ज्यान गुमाउनुभयो । होल्डिङ सेन्टरमा पनि मृत्युवरण भयो । सरकार त्यसप्रति मौन छ ।
छानबिनका विषयमा पनि सरकारको दृष्टिकोण चयनात्मक देखिन्छ । मन्त्रीहरूले प्रतिनिधिसभामा अघिल्ला घटना र काण्डहरूको छानबिन गर्ने भन्नुभएको छ । हामी प्रतिपक्षमा भएका दलहरू पनि भन्छौं– गल्ती भएको छ भने उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन होस् । दोषी कोही देखिन्छ भने उम्किनु हुँदैन भन्ने नै हो ।
तर, सरकारले बनाएको संयन्त्रलाई नै विशिष्ट व्यक्तिहरूले स्वीकार गर्नुभएको छैन छानबिन समितिको कुरालाई पनि । सरकार गठनपछि मन्त्रीहरूको सम्पत्तिसम्बन्धी प्रश्न उठ्यो । छानबिन समिति पनि बन्यो ।
तर, छानबिन समितिको प्रतिवेदन आम नागरिक वा मिडियासमक्ष आउन सकेको छैन । फेरि पनि प्रश्न उठेका उनै व्यक्तिलाई ल्याएर सरकारले पुरस्कृत गरेको छ ।
मन्त्रीहरूका अभिव्यक्तिमाथि पनि हामीले निगरानी गरिरहेका छौं । प्रधानमन्त्रीज्यूले नेपालकै हितविपरीत, राष्ट्रहितविपरीत दिनुभएको अभिव्यक्तिले नेपाललाई भूमि अतिक्रमणकारी राज्यको रूपमा स्थापित गर्ने खतरा देखियो ।
सत्तारुढ दलका शुभचिन्तक साथीहरू पनि त्यो स्टेटमेन्टलाई प्रमाणित गर्न लागिरहनुभएको छ । प्रधानमन्त्रीले सदनमा आएर त्यसलाई सच्याउनुपर्ने हो अथवा गल्ती भएको हो भने ठाउँमा गल्ती भयो भन्नुपर्ने हो । प्रधानमन्त्रीज्यू आफैंलाई थाहा छ भने यो–यो ठाउँमा हामीले मिचेका छौं भन्नु पर्ने हो । किन भने उहाँ मुलुकको प्रधानमन्त्री हुनुहुन्छ ।
अर्का मन्त्रीज्यू ठेकेदारका खुट्टा भाँच्ने अभिव्यक्ति दिएर हिँडिराख्नुभएको छ । सरकार त सबैलाई समेट्ने संस्था हो । धम्क्याउने र थर्काउने कार्यतिर उद्धत भएको देखिन्छ ।
आर्थिक वृद्धि दर सात प्रतिशत पुर्याउने सरकारको लक्ष्य छ । तर, निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम भइरहेको छ । गल्ती भएको छ भने केही व्यापारीलाई नियन्त्रण लिनु ठीकै हो । तर, त्यहाँ निजी क्षेत्रलाई हतोत्साहित गर्न उद्योगी–व्यापारी पक्रिने, थुन्ने अनिमात्र उनीहरूको कुरा सुन्ने कुरो कानूनसम्मत छैन ।
तर, उद्योगी–व्यवसायीलाई पहिले पक्रिने, थुन्ने अनि मात्र उनीहरूको कुरा सुन्ने शैली न्यायिक र कानुनी हिसाबले उचित होइन । यसले निजी क्षेत्रको मनोबल गिराइरहेको छ । सम्भवतः मलाई त लाग्छ, यो सरकार बनेपछि इतिहासमै धेरै पूँजी पलायन भएको छ ।
अन्तर–मन्त्रालय समन्वयमा पनि सरकार कमजोर देखिएको छ । जस्तै पासपोर्ट छपाइको विषयलाई हेर्ने हो भने प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच विवाद देखिएको छ ।
अर्को राम्रो पक्ष मन्त्रालयको संख्या कटौती गर्ने कुरा सकारात्मक हो । तर, हरेक मन्त्रालयमा विषयविज्ञ राख्ने नाममा थप आर्थिक खर्च बढाउने काम पनि सरकार उद्धत भएको छ । यसमा बहस अनिवार्य देखिएको छ ।
अख्तियारजस्तो संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयमा लगेर थुन्ने अथवा दबाब दिने, स्वार्थअनुकूल काम गराउन खोज्ने प्रवृत्ति देखिनु विधिको शासनका लागि राम्रो होइन । 
यसले थिति र विधि बसाउँदैन । सरकार यसमा पनि चुक्दैछ । किन भने सरकारले संस्कार पनि विकास गर्ने कुरा हो । विधिसमत चल्नुपर्यो । सरकार विधिभन्दा माथि हुन सक्दैन ।
अर्को इन्ट्रेस्टिङ छ, सरकारले राम्रो अभ्यास बसाउन खोज्यो । राजदूतका लागि आवेदन माग गरिएको छ । धेरै जना उम्मेदवार पुगे रे । तर, आवेदन दिएका व्यक्तिहरूको नाम सार्वजनिक नगर्ने र एकैपटक नियुक्ति गर्ने तयारी छ । यो सत्य हो भने त सरकार उल्टो बाटोमा हिँड्दैछ । पारदर्शी बनाउन खोजेता पनि सरकारको आचरण राम्रो देखिएको छैन ।
अर्को पाटोमा हेर्ने हो भने, यो सय दिनमा हामीले बजेट पनि ल्यायौं । बजेटमा पनि पुरानै अभ्यास दोहोरिएको छ । हामीले विज्ञ अर्थमन्त्री पाएका छौं, त्यसैले बजेट प्रणालीगत रूपमा आउने अपेक्षा थियो । तर, पहुँच भएका सांसद र मन्त्रीहरूले आफ्नो क्षेत्रमा अत्यधिक बजेट लैजाने पुरानै प्रवृत्ति देखियो ।
मैले पर्यटनमन्त्रीलाई पनि भनेको थिएँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक विकास कार्यक्रम पुस्तिकामा ‘इलाम’ भन्ने तीन अक्षरको शब्दसमेत छैन । इलामजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्लामा बजेट त परको कुरा, नामसमेत नआउनु विडम्बना हो ।
कता–कता प्रधानमन्त्रीज्यूको कार्यशैली, उहाँको अभिव्यक्ति हेर्दा सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद् मन परेको छैन कि भन्ने छ । अस्ति नै पनि मैले एउटा शब्द बोलेको थिएँ–प्रधानमन्त्रीज्यू संसद् बंक गर्नुहुन्छ ।
यो सरकारले संसदीय व्यवस्था बलियो बनाउने गरी भूमिका खेलेको जस्तो देखिएको छैन । यो दुःखद कुरा हो । यसको ज्वलन्त उदाहरण भनेको सरकारले संसद्लाई छलेर ल्याएको अध्यादेश हो ।
सरकार दुईतिहाइ निजक हुँदा पनि कानून बनाउन अध्यादेशको बैशाखी टेक्नुले सरकार सदनप्रति उत्तरदायी छैन र संसदीय व्यवस्था बलियो बनाउनेतिर सरकार छैन भन्ने देखाउँछ । यो सरकारलाई सदन मन परेको छैन ।
प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्ति हेर्दा उहाँलाई संसद् नै मन परेको छैन कि भन्ने लाग्छ । मैले पहिल्यै भनेको थिएँ– प्रधानमन्त्रीले संसद् विघटन गर्नुहुन्छ कि भन्ने शंका छ । यो सरकारले संसदीय व्यवस्था बलियो बनाउन भूमिका खेलेको देखिँदैन ।
अर्कोतिर सदनमा गतिरोध उत्पन्न हुन्छ, अवरोध हुन्छन् । त्यसलाई अन्त्य गर्न सरकार जिम्मेवार देखिएको छैन । तर, संसद्लाई चलायमान बनाउन बरु हामी प्रतिपक्षी दलहरू जिम्मेवार भएर अघि सरेका छौं । सत्ता पक्षका प्रमुख सचेतक र सचेतकसँग संवाद गर्न हामी नै अघि सर्नुपरेको छ । यो काममा सत्तारुढ दल र प्रधानमन्त्री अझ बढी जिम्मेवार हुनुपर्ने हो ।
तपाईंले त्यस्तो भन्नु भयो, धेरैले त बालेन शाह नेतृत्वको सरकारलाई ‘हुने विरुवाको चिल्लो पात’ भनिरहेका छन् नि ?
त्यो परसेप्सनमा डिपेन्ड पर्ने (व्यक्तिको धारणामा निर्भर गर्ने) कुरा हो । मेरो धारणा सबैले मान्नुपर्छ भन्ने पनि छैन । तर, उहाँहरूले गरिरहनुभएको गतिविधि हेर्दा मलाई ‘चिल्लो पात’ जस्तो देखिएको छैन ।
किनभने व्यवस्था ल्याउन धेरै युवाले, धेरै नेपाली नागरिकले रगत र बलिदान दिएका छन् । सम्पत्तिमाथिको अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, विधिको शासन र राज्यको कानुनी मर्यादा स्थापित गर्न धेरैले बलिदानी दिएका छन् ।
अहिले ती अधिकारहरूलाई फेरि कुण्ठित गर्ने दिशातर्फ सरकार अघि बढेको जस्तो देखिन्छ । यसरी मुलुकलाई फेरि निरंकुशतातर्फ धकेलेर अगाडि बढ्न सकिँदैन । सरकारको सय दिनले जुन संकेत दिनुपर्ने थियो, त्यो सकारात्मक देखिएको छैन ।
यसबीचमा ठूला नेता, व्यापारी, कर्मचारीलगायतलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । यसलाई कसरी हेर्नु भएको छ ?
कसैले गल्ती गरेको छ भने राज्यसँग कानुन छ, ऊ दण्डित हुनुपर्छ । चाहे ती उच्च पदस्थ होउन् अथवा आम नागरिक हुन् । कानुन सबैका लागि समान हुनुपर्छ । तर, सरकारसँग सत्ता छ, शक्ति छ भन्दैमा सडकबाट वा कुनै ठाउँबाट नागरिकलाई हस्तक्षेपकारी शैलीमा उठाएर लैजान मिल्दैन ।
पहिले सुन्नुपर्यो, अनिमात्रै थुन्नु पर्यो । कुनै व्यक्तिलाई पक्राउ गरिन्छ, तीन–चार दिनपछि अदालतले छाड्न आदेश दिन्छ भने त्यो सरकारको कमजोरी हो । यस्तो अभ्यासले नागरिकलाई निरुत्साहित गर्छ र मानवअधिकार हनन भएको देखिन्छ ।
सरकारले गल्ती गरेका कसैलाई पनि उन्मुक्ति नदिने गरी कारबाही कानुनसम्मत, विधिसम्मत र न्यायिक प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्छ ।
सरकारका सय दिनमा सबैभन्दा ठूलो उपलब्धि र सबैभन्दा ठूलो कमजोरी के देख्नुभयो ?
सरकारको उपलब्धि धेरै छ भनेर भन्न सक्ने अवस्थामा म छैन । हामीले अपेक्षा गरेअनुसार सरकारले काम गरेको देखिएन । प्रधानमन्त्री युवा हुनुहुन्छ, जोश छ, जाँगर छ, केही फरक ढंगले काम गर्नुहुन्छ भन्ने अपेक्षा थियो । क्याबिनेटका मन्त्रीहरूबाट पनि अपेक्षा थियो । तर, व्यवहारमा त्यस्तो देखिएन ।
कमजोरीको पाटो केलाउने हो भने धेरै विषय छन् । सरकार बनेपछि घटनाक्रमहरू एकपछि अर्को गरी आए । मन्त्रीहरूको सम्पत्तिसम्बन्धी प्रश्न उठ्यो । नागरिकले प्रश्न गरिरहेका थिए ।
त्यहीबीच सरकारले पूर्वतयारीबिना सुकुमवासी बस्तीमा डोजर चलाउने काम गर्यो । त्यसपछि मुद्दा त्यतातिर डाइभर्ट भयो । त्यसैबीच अध्यादेश आयो । त्यसपछि राष्ट्रपतिज्यू सहभागी कार्यक्रममा प्रधानमन्त्री बीचबाट उठेर हिँडेको विषय आयो ।
त्यसपछि अचानक सदनमा विपक्षी सांसदले जस्तै हात उठाएर समय मागी प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो, त्यो पनि राष्ट्रियताको विषयमा ।
यसरी एकपछि अर्को घटनाले अघिल्लो कमजोरीलाई छोप्दै जाने अवस्था बन्यो । अंग्रेजी फिल्म ‘वाग द डग’ जस्तै, सरकारले क्रमशः कमजोरी गर्दै जाने र मुद्दाहरू डाइभर्ट हुँदै जाने अवस्था देखियो ।
सरकारले प्रशासनिक सुधारका केही प्रयास गरेको छ भन्ने कुरा हामी अस्वीकार गर्दैनौं । प्रविधिको प्रयोगबाट सेवा प्रवाह सुधार्ने प्रयासलाई हामीले सहयोग गरेका छौं । राम्रो कामलाई राम्रो नै भनेका छौं । तर, तात्विक परिवर्तन भने देखिएको छैन ।
नागरिक एप वा निर्वाचन आयोगमा आफ्नै मोबाइलबाट अभिलेखीकरण गर्ने विषय आजमात्रै आएको होइन, यो प्रणालीगत रूपमा अघि बढ्दै आएको प्रक्रिया हो । हिजो र आजको बीचमा ठूलो भिन्नता मैले देखेको छैन ।
डेलिभरीको कुरा गर्ने हो भने नागरिकले अनुभव गर्नुपर्छ । नागरिकको चुलो (चुल्हो) स्वस्थ छैन, भान्सा चलाउन कठिन छ भने विकास र डेलिभरीको अर्थ हुँदैन ।
हिजोको तुलनामा आज मूल्यवृद्धि भएको छ । सरकार इरान–अमेरिका युद्धका कारण मूल्य बढेको भन्न सक्छ । तर, अहिले तेलको मूल्य घट्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारले सकेको छैन । आम नागरिकले अनुभव गर्न नसकेको डेलिभरीलाई डेलिभरी भन्न सकिँदैन ।
मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना र लगानीको वातावरण बनाउन सरकारको भूमिका कस्तो देखिन्छ ?
निजी क्षेत्रलाई यसरी निरुत्साहित गर्ने हो भने लगानीको वातावरण बन्दैन । यो सरकार बनेपछि पूँजी पलायन धेरै बढेको छ । निजी क्षेत्रका उद्योगी–व्यवसायीहरू आक्रान्त छन् । सरकारको गतिविधि हेर्दा कुन बेला कसलाई समातिन्छ भन्ने टुंगो छैन । प्रक्रियागत त्रुटिलाई पनि सरकारले इगोको विषय बनाइरहेको छ ।
आर्थिक तथ्यांकहरू पनि सन्तोषजनक छैनन् । वस्तु व्यापार घाटा बढेको छ । मुद्रास्फीति र मूल्यवृद्धिको दबाब छ । विदेशी लगानी भित्र्याउने दिशामा पनि सरकार गम्भीर देखिएको छैन ।
ऋण लिनु आफैंमा नराम्रो होइन । तर, ऋण लिइसकेपछि त्यसको प्रयोग प्रतिफल आउने क्षेत्रमा हुनुपर्छ । चालु खर्च, तलब–भत्ता वा प्रशासनिक खर्चमा ऋण खर्च गर्ने हो भने त्यसले मुलुकलाई दीर्घकालीन लाभ दिँदैन ।
निजी क्षेत्रको लगानी बढाउन धेरै कानुनी जटिलता छन् । ती कानुनी जटिलता फुकाउन संसद्मा संशोधन प्रस्तावहरू ल्याउनुपर्छ, छलफल गर्नुपर्छ र छिटो निर्णयमा पुग्नुपर्छ । अर्को, सरकारले विशेष गरेर लगानीकर्ताको विश्वास जित्ने वातावरण आफैं निर्माण गर्नुपर्छ ।
दलहरू सत्तामा हुँदा काम गर्दैनन् । प्रतिपक्षमा हुँदा यो भएन, त्यो भएन भनिरहेका हुन्छन् । आर्थिक विषयलाई धेरै बढाइचढाइ गर्दा जनतामा निराशा बढ्ने र त्यसले अर्थतन्त्रलाई असर गर्ने जोखिम हुन्छ कि हुँदैन ?
हुन्छ । त्यसैले हामीले भनेको कुरा पनि त्यही हो । यदि सरकार ‘हुने बिरुवाको चिल्लो पात’ हो भने तीन–चार महिनाको कामले त्यसको संकेत दिनुपर्छ । वातावरण बन्दै छ कि छैन, बिउ कस्तो रोपिँदै छ भन्ने कुरा त्यहीँबाट देखिन्छ ।
हामी सरकारलाई आक्षेप मात्रै लगाइरहेका छैनौं । जहाँ खबरदारी गर्नुपर्ने हो, त्यहाँ खबरदारी गरेका छौं । जहाँ सहयोग गर्नुपर्ने हो, परिपक्व राजनीतिक दलको हैसियतले सहयोग पनि गरेका छौं ।
नीति तथा कार्यक्रमका विषयमा हामीले सदन पूर्णरूपमा अवरुद्ध गरेनौं । आफ्नो आवाज राख्यौं, तर प्रक्रिया अघि बढ्न दियौं । राष्ट्रिय सभामा पनि सहज ढंगले प्रक्रिया अघि बढ्यो । बजेट ल्याउने बेलामा प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सदन अवरुद्ध थियो । त्यस्तो अवस्थामा बजेट रोक्नु हुँदैन भनेर प्रतिपक्षी दलकै पहलमा सत्ता पक्षसँग संवाद गरेर गतिरोध खोल्ने काम हामीले गरेका हौं ।
यसले देखाउँछ– कांग्रेस विरोधका लागि मात्रै विरोध गर्ने पार्टी होइन । गलत काममा खबरदारी गर्ने र राम्रो काममा सहयोग गर्ने हाम्रो नीति हो ।
छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापनमा सरकार कत्तिको सफल देखिन्छ ?
सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापनमा अझ राम्रो गर्न सक्थ्यो । परराष्ट्रमन्त्रीज्यू व्यक्तिगत रूपमा नजिक हुनुहुन्छ, उहाँसँग हाम्रो पनि राम्रो सम्बन्ध छ । तर, कूटनीतिक सम्बन्ध सधैं ‘विन–विन’ अवस्थामा अघि बढ्नुपर्छ ।
सरकार गठन भइसकेपछि सीमाका विषय, लिम्पियाधुरासम्बन्धी विषयमा पनि प्रश्न उठेका छन् । सरकारले त्यसलाई कूटनीतिक ढंगले अझ प्रभावकारी रूपमा उठाउन सकेको देखिँदैन ।
अस्ति मात्रै इलामका एक जना क्रोएसियामा दुर्घटनामा परी बित्नुभयो । उहाँको शव नेपाल ल्याउन एक महिनाभन्दा बढी समय लाग्यो । यस्ता विषयमा सरकार अझ सक्षम, विश्वसनीय र जिम्मेवार देखिनुपर्छ ।
अन्तर्राष्ट्रिय घटनाक्रममा पनि नेपालको कूटनीतिक भूमिका अझ प्रभावकारी हुनुपर्थ्यो । इजरायलसँग हाम्रो पुरानो सम्बन्ध छ । भारत र चीनजस्ता छिमेकीसँगको सम्बन्ध संवेदनशील छ । यस्तो अवस्थामा सरकारको प्रत्येक कूटनीतिक संकेत, भ्रमण, संवाद र वक्तव्य अत्यन्त सावधानीपूर्वक हुनुपर्छ ।

कांग्रेसले ‘राम्रा काममा समर्थन, नराम्रा काममा खबरदारी’ भन्ने गरेको छ । तर, व्यवहारमा विरोधका लागि विरोध गरिरहेको आरोप छ नि ?
त्यस्तो होइन । हामीले उठाएका विषयहरू हेर्नुभयो भने स्पष्ट हुन्छ । प्रधानमन्त्रीको राष्ट्रहितविपरीत अभिव्यक्तिमाथि हामीले प्रश्न उठायौं । कुनै मन्त्रीले नागरिक वा ठेकेदारको खुट्टा भाँच्ने कुरा गर्छन् भने त्यसमा खबरदारी गर्नु गलत हो ?
सुकुम्बासी व्यवस्थापन हुनु हुँदैन भनेको होइन । हुनुपर्थ्यो, अझ अघिल्ला सरकारहरूले पनि गर्नुपर्थ्यो । विगतमा हाम्रो कमजोरी भएको छ, हामी स्वीकार गर्छौं । तर, व्यवस्थापन पूर्वयोजना, मानवीय संवेदना र कानुनी प्रक्रियासहित हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।
छानबिन निष्पक्ष हुनुपर्छ । सरकारले गठन गरेका संयन्त्र र छानबिन समितिका प्रतिवेदन सबैले हेर्न र सुन्न पाउनुपर्छ । पारदर्शिता हुनुपर्छ । हामीले खबरदारी गरेका विषय यिनै हुन् ।
संसदीय अभ्यासमा प्रतिपक्षले सरकारलाई प्रश्न गर्नु स्वाभाविक हो । यो लोकतन्त्रको अभ्यास हो । यसलाई जति निखार्न सकियो, भोलिका दिनमा संसदीय अभ्यास त्यति नै बलियो हुन्छ ।
सरकारले संसद्लाई कत्तिको महत्त्व दिएको देख्नुहुन्छ ?
मलाई सरकारको संसद्प्रति त्यति धेरै मोह छ जस्तो लाग्दैन । हरेक छलफलमा सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने हो, तर मन्त्रीहरू आउनुहुन्न । प्रधानमन्त्री आउनुपर्ने ठाउँमा प्रधानमन्त्री उपस्थित हुनुहुन्न । सत्ता पक्षकै सांसदहरूको सिट पनि सदनमा धेरै खाली देखिन्छ ।
प्रतिनिधिसभा मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक थलो हो । त्यसप्रति सरकारको सम्मान र उत्तरदायित्व देखिनुपर्थ्यो । तर, त्यस्तो देखिएको छैन । यो दुःखद र विडम्बनापूर्ण छ ।
सदनमा प्रतिपक्षी मात्र होइन, सत्तापक्षका सांसदहरूले पनि शून्य समय, आकस्मिक समय र विशेष समयमा विषय उठाउनुहुन्छ । सरकारले ती विषय सुन्नुपर्छ र कार्यान्वयनमा लैजानुपर्छ । तर, अपेक्षित सुनुवाइ र परिणाम आएको अनुभूति मैले गरेको छैन ।
प्रतिपक्षको आफ्नै समीक्षा गर्नुपर्दा कांग्रेसको भूमिका कस्तो छ ? सरकारलाई ‘ट्र्याक’मा ल्याउन सक्ने अवस्था छ ?
कांग्रेसले प्रतिपक्षको भूमिका धान्छ, र धानिरहेको छ । कतिपयलाई कांग्रेसको आवाज अलि मलिन भयो भन्ने पनि लाग्न सक्छ । प्रतिपक्ष भन्नेबित्तिकै कडा हुनुपर्छ, उग्र हुनुपर्छ भन्ने मान्यता पनि छ । तर, कांग्रेस उच्छृंखलता र आवेगमा विश्वास गर्दैन । हाम्रो परम्परा, संस्कृति र राजनीतिक संस्कार संयमित छ ।
हामी सरकारले गरेका कमजोरीका वैकल्पिक बाटोहरू पनि प्रस्तुत गरिरहेका छौं । जस्तै, गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सकिन्छ भने राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन किन कार्यान्वयन गर्न सकिँदैन भनेर हामीले प्रश्न गरिरहेका छौं ।
सुकुमवासी व्यवस्थापन हुनुपर्छ, तर पूर्वयोजनासहित हुनुपर्छ भनिरहेका छौं । सदनमा सभामुखको भूमिकाबारे पनि हामीले रचनात्मक विरोध गरेका छौं ।
एकपटक सदनमा शहीदहरूको नाम उच्चारण गरायौं । त्यो संसदीय अभ्यासका हिसाबले असामान्य थियो भन्ने हामीलाई थाहा छ ।
तर, सभामुखलाई निष्पक्ष हुन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि हामीले रचनात्मक विरोधको त्यो स्वरूप अपनाएका थियौं । हामी कुर्सी हान्न सक्दैनौं, प्लेकार्ड बोकेर मात्रै उभिन पनि चाहँदैनौं । त्यसैले रचनात्मक विधि अपनाएका हौं ।
सरकारमा रहेका साथीहरूसँग हामी औपचारिक–अनौपचारिक संवाद पनि गरिरहेका छौं । सरकारलाई सच्याउने, सही बाटोमा ल्याउने र संसदीय अभ्यासलाई बलियो बनाउने जिम्मेवारी प्रतिपक्षको पनि हो भन्नेमा हामी गम्भीर छौं ।
जनताले ठूलो अपेक्षासहित रास्वपालाई ‘म्यान्डेट’ दिएका थिए । तर, जनताका अधिकार कुण्ठित हुने चिन्ता पनि देखिन्छ । कांग्रेसले यसलाई कसरी हेरिरहेको छ ?
अहिलेको परिस्थितिमा त्यो संशय छ । सत्तारुढ दलभित्रै पनि मुख्य लक्ष्य के हो भन्ने अस्पष्टता देखिन्छ ।
कांग्रेसको तर्फबाट संविधान संशोधनका विषयमा उपसभापति (पुष्पा भुसाल) को नेतृत्वमा समिति गठन भएको छ । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई अझ संस्थागत गर्दै लैजानुपर्छ । संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक उपलब्धिलाई बलियो बनाउने विषयमा पार्टी स्पष्ट छ ।
यदि सरकार ती उपलब्धिविरुद्ध, जनअधिकार कुण्ठित गर्ने दिशातर्फ जान्छ भने कांग्रेसले आफ्नो भूमिका स्पष्ट रूपमा निर्वाह गर्छ ।
यसबीचमा सत्तारुढ दलको महाधिवेशन पनि भयो । त्यसलाई कसरी हेर्नुभएको छ ?
सत्तारुढ दलको पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ । निर्वाचित साथीहरू र महाधिवेशन सम्पन्न गर्ने सबैलाई शुभकामना दिन चाहन्छु ।
चितवनमा भएको महाधिवेशन हेर्दा केही कुरा अजीब लाग्यो । आफूलाई लोकतान्त्रिक पार्टीका रूपमा चिनाउने दलले सैद्धान्तिक पाटोमा केही परिवर्तन गर्न खोजेको देखियो । तर, आवश्यक धैर्यता र लोकतान्त्रिक अभ्यास भने पर्याप्त देखिएन ।
सबैभन्दा धेरै प्रतिनिधि भएको भनिएको दलमा अन्तिममा मतदाता संख्या करिब १२ सयमात्रै हुनु, ५० प्रतिशतभन्दा पनि कम उपस्थिति हुनु, राजनीतिक ‘स्कुलिङ’को कमी हो कि भन्ने लाग्छ ।
धेरै आकांक्षीहरू थिए । आन्तरिक व्यवस्थापन उहाँहरूको विषय हो । तर, आकांक्षीहरूलाई बाहिरिने गरी दबाब दिइएको वा इम्पोज गरिएको हो भने त्यो लोकतान्त्रिक व्यक्तित्व र आन्तरिक लोकतन्त्रसँग मेल खाँदैन ।
सत्तारुढ दलको आन्तरिक लोकतन्त्र परिपक्व भएको आभास हामीलाई भएको छैन । आशा गरौं, उहाँहरूले भोलिका दिनमा सुधार गर्नुहुनेछ ।

सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो । अहिलेसम्म भएका कामको आधारमा सरकारलाई सय पूर्णाङ्क कति अंक दिनुहुन्छ ?
धेरै अंक दिन सक्ने अवस्था छैन । यदि, लाइकर्ट स्केल (मूल्यांकन नाप्ने मापन विधि) मा हेर्ने हो भने मेरो तर्फबाट ‘टु स्टार’ जति मात्र दिन सकिन्छ । यो मेरो व्यक्तिगत मूल्यांकन हो ।
अन्त्यमा, प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारलाई के सुझाव दिनुहुन्छ ?
संसदीय व्यवस्थामा अंकले मात्रै ठूलो अर्थ राख्दैन । संसद्मा हुने छलफल, त्यहाँ उठ्ने एजेन्डा सुन्ने र कार्यान्वयन गर्ने कुरा महत्त्वपूर्ण हुन्छ । सरकार शक्ति प्रयोगमा होइन, संविधान र संस्थाहरू बलियो बनाउन केन्द्रित हुनुपर्छ ।
संवैधानिक आयोगहरू, लोकतान्त्रिक संस्थाहरू र सरकार मातहतका निकायहरूलाई बलियो बनाउनुपर्छ । तिनको क्षमता विकास गर्नुपर्छ । संस्था बलियो भए भने राज्यले राम्रो काम गर्न सक्छ ।
एकअर्काबीच सहकार्य र समन्वय आवश्यक छ । विगतमा हामी पुराना दलहरूले पनि कतिपय बेला संख्याको बलमा काम गर्ने गल्ती गरेका छौं । यो सरकारले त्यही बाटो नदोहोर्याओस् । हामी अझै सिकिरहेका छौं । सरकारले पनि अरूको कमजोरीबाट सिक्नुपर्छ ।
सरकारले संसदीय उत्तरदायित्व, विधिको शासन, नागरिक अधिकार र संस्थागत लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढोस्, हाम्रो मुख्य सुझाव यही हो ।
तस्वीरहरू : चन्द्रबहादुर आले
प्रतिक्रिया 4