१८ असार, काठमाडौं । श्रीमती हत्याको आरोपमा पक्राउ परेका नेपाली ब्रो भनेर चिनिने कुमार थापा अहिले पनि प्रहरी हिरासतमै छन् ।
नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
त्यसपछि यो प्रकरणमा नुवाकोट घर भएका ३८ वर्षीय नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परे ।
अहिले तीनै जनाविरुद्धको अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाली ब्रोलाई श्रीमती हत्याको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को उपदफा १ विपरीतको कसुर र प्रेमिका आचार्य, विक्रम थापा मगर र पुजनलाई भने दफा १७७ को उपदफा १ विपरीतको कसुर गर्न दुरुत्साहन गरेको भन्दै मुद्दा दर्ता गरिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ । प्रतिवादीको बयान लिने र त्यसपछि थुनछेक बहसपछि पुुर्पक्षमा थुनामा पठाउने तथा साधारण तारेख तथा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउने छ ।
प्रहरीको अनुसन्धान अनुसार विवाहेत्तर सम्बन्धदेखि लामो समयदेखिको पारिवारिक कलहका कारण हत्या भएको देखिएको छ । नेपालीमा सेनामा जागिर खाएका बेला नै प्रेम सम्बन्ध बसेर विवाह गरेको र त्यसपछि विभिन्न उतारचढाव भएको, मुद्दा–मामिला भएको र विवाहेत्तर सम्बन्धले थप समस्या खडा गरेपछि हत्यासम्म पुगेको प्रहरीको भनाइ छ । जुन कुरा प्रतिवादीहरूले स्वीकारसमेत गरेका छन् ।
नेपाली ब्रोको बयान : रिसले चुर भएपछि घाँटी रेटेर हत्या गरेको हुँ
म २०६२ सालतिर नेपाली सेनाको अन्य दर्जा पदमा भर्ती भएको थिएँ । ६ महिनाको आधारभूत तालिमपछि सिंहदरबारस्थित ब्याण्ड गुल्ममा बिगुल तालिम गर्ने बेलामा निज ईश्वरी भुजेलसँग चिनजान भएको थियो ।
प्रेम बसेपछि मैले ईश्वरीसँग प्रेम विवाह गरेको थिएँ । विवाह गर्नुपूर्व नै ईश्वरी एक वर्षजति अरू कोहीसँग लिभिङ टुगेदरमा बसेको कुरा सुनेको थिएँ । त्यसपछि म तनावमा परेँ । ६ नं बाहिनी अड्डा बैरेनी धादिङमा सरुवा मिलाई गएको थिएँ । धेरै कुरा सुने पनि मैले चासो दिइनँ । ६/७ वर्ष जागिर खाएपछि उपदान लिएर मैले जागिर छाडेँ । उपदानको पैसा र आफूसँग भएको पैसाले काठमाडौंको पैयुँटारमा घडेरी किनी श्रीमती ईश्वरीको नाममा पास गरेँ ।
जेठो छोरा जन्मिसकेपछि १०/१२ वर्ष पहिले रोजगारीको सिलसिलामा विभिन्न देश गई ५ वर्ष पहिले नेपाल आएँ । त्यसपछि कान्छो छोराको जन्म भयो ।
नेपाल आएपछि रेस्लिङ खेल्नुका साथै सामाजिक सञ्जाल टिकटकमा नेपाली ब्रोको नामले भाइरल हुन थालेँ । टिकटकमार्फत नै थुप्रै केटीहरूसँग चिनजान, भेटघाट भयो । भ्युज बढाउनका लागि केटीहरूसँगका भिडियो पनि हालेँ । यो काम श्रीमतीलाई मन परेन छ । उनले मलाई अनेक शंका–उपशंका गर्न थालेपछि हामीबीच मनमुटाव, वादविवाद एवं पारिवारिक कलह सुरु भयो । कलह भए पनि मिल्दै बस्दै आएका थियौं ।
श्रीमतीले मिसनमा गएर ल्याएको पैसा र मैले सामाजिक सञ्जाल र विज्ञापनमार्फत कमाएको पैसाले पैयँुटारमा घर बनाएका थियौं । यहीबीचमा फेरि श्रीमतीको कसैसँग गलत सम्बन्ध रहेको सुनेँ । त्यसपछि मैले पनि श्रीमतीलाई विभिन्न शंका गर्न थालेँ ।
हामीबीच मनमुटाव बढ्दै गयो । करिब २ वर्ष पहिले प्रतीक्षा आचार्यसँग टिकटकमार्फत नै चिनजान भएको थियो । त्यसपछि मैले प्रतीक्षालाई मेरो रेस्लिङ खेलको इभेन्ट म्यानेजरको रूपमा नियुक्त गरेँ । बिस्तारै प्रतीक्षा र मबीच प्रेम बस्यो । घुमाघाम गर्न जानेदेखि रातको समयमा पनि सँगै बस्ने काम भयो । शारीरिक सम्बन्ध पनि भयो ।
२०८२ को जेठ, असारतिर मेरो गर्लफ्रेन्ड भन्दै प्रतीक्षासँग टिकटक बनाएर हालेँ । त्यसपछि श्रीमती ईश्वरीले प्रहरी वृत्त बालाजुमा उजुरी दिइन् । मिलापत्र गरेर छुट्यौं । प्रतीक्षासँग सम्बन्ध थाहा पाएर करिब २ महिना पहिले श्रीमती ईश्वरीले मलाई मान्छे लगाएर कोठामै कुटपिट गरिन् ।
मैले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएँ । त्यसपछि अब उप्रान्त मैले प्रतीक्षा आचार्यसँग भेटघाट नगर्ने, कुनै सम्बन्ध नराख्ने भनी मिलापत्र भयो । साथै घरको भुईँ तलाको फ्ल्याटमा म बस्ने र माथिल्लो फ्ल्याटमा श्रीमती ईश्वरी र बच्चाहरू बस्ने सहमति भयो । हामबीच बोलचाल नै बन्दको अवस्था भयो ।
प्रतीक्षा र मबीच भने भेटघाट जारी रह्यो । मेरो आमा बिरामी हुँदा पनि हामी सँगै नुवाकोट गएका थियौं । यो कुरा थाहा पाएपछि श्रीमती ईश्वरीले प्रहरी वृत्त बालाजुमा मविरुद्ध वैवाहिक बलात्कारको उजुरी हालिन् । पक्राउ परेर अदालतले ५० हजार धरौटीमा छाड्न आदेश दिएपछि म छुटेँ । यो मुद्दा विचाराधीन नै छ ।
वैवाहिक बलात्कारको उजुरीपछि हामीबीच सम्बन्ध झनै नराम्रो भयो । अदालतमा बकपत्रको काम भएकाले पेसीको बेला होस्टाइल भइदेऊ, मुद्दा मिलाउँ, अब मिलौं भन्दै मैले पटकपटक भनेँ । तर श्रीमतीले मानिनन् ।
मुद्दा मिलापत्र होस् भनेर एक महिनादेखि मैले प्रतीक्षासँग पनि भेटेको थिइन । तर हामीबीच फोनमा कुराकानी हुन्थ्यो । गत जेठ २२ गते श्रीमती बलात्कार मुद्दाको पेसी थियो । मुद्दा मिलापत्रका लागि ईश्वरीलाई भेटी कुरा गर्न खोजेँ ।
उनी कार्यरत सैनिक ब्यान्ड गुल्म नारायणहिटी गएँ । गेटमा ड्युटी रहेका सिपाहीले भित्रै जान भने । गाडीमा चक्कु बोकेर गएकाले म सैनिक ब्यारेकभित्र छिरिनँ । फोनमा कुरा गरौं भने फोन नै उठाउन छाडेकी थिइन् । त्यसपछि म अदालत गएँ । १२ बजेतिर श्रीमती ईश्वरी पनि अदालत आइन् ।
अदालतको काम सकिएपछि बालाजुमा रिकन्डिसन चलाएका साथी पुजनकोमा गएँ । मलाई कीर्तिपुरको खेलकुद कार्यक्रममा अथिति बनाएकाले त्यहाँ पुगेँ । फर्केर फेरि पुजनकैमा आएँ ।
त्यहाँबाट मैले कार चलाएर पुजन, म र सुमन थापासहित मुड्खु गयौं । खाजा खायौं । फर्केर पुजनकै रिकन्डिसनमा आयौं । जिम जान खोज्दा ढिला भइसकेको रहेछ । त्यसपछि म सिधैं घर गएँ ।
घरमा काम गर्ने केटीलाई ईश्वरी म्याम खै भनेर सोध्दा बोलिनन् । पछि कान्छो छोरालाई डुलाउँछु भनेर भित्र छिर्न खोज्दा ढोका खोलिनन् । अनि काम गर्ने केटीसँग विवाद भयो । उनले मलाई रेप केसमा पर्लास् भनिन् । मलाई साह्रै रिस उठ्यो ।
यो कुरा जेठा छोराले थाहा पाएर मलाई फोन गरी तुरुन्त घरर छोड्, आमाको घर हो, त्यो घरमा किन गएको भन्दै नराम्रो बोल्यो । त्यसपछि मलाई झन् रिस उठ्यो ।
म तनावमा थिएँ । कार लिएर ठमेल जान्छु भनी निस्कें । रिसको सुरमा ठमेलतर्फ जाने क्रममा पैयुँटार–बस्नेतटार सडकखण्ड हुँदै आउने क्रममा पैयुँटारको उकालोमा पुगेको बेलामा गाडीको स्पिड कम तथा लाइट डिम भयो ।
विपरीत दिशाबाट मेरी श्रीमती ईश्वरी स्कुटर चलाएर आउँदै गरेकी रहिछन् । मैले स्कुटर देखेर चिनें । म गाडीबाट झरेर मैले सधैं गाडीमा बोक्ने बटनवाला धारिलो चक्कु निकाली गोजीमा राखी श्रीमती ईश्वरीको पिछा गर्दै गएँ ।
बाटोको अन्तिमतिर घर भएकाले बाटो त्यहाँसम्म मात्रै रहेछ । ईश्वरीले स्कुटर रोकी घरको वालतर्फ गएकोमा मैले पछाडि गोजीबाट चक्कु निकालेर हातमा समात्न खोज्दा निज श्रीमती ईश्वरी भुजेलले प्रतिकार गर्न खोजिन् । त्यसपछि मैले निजलाई पछाडिबाट समाई हातले अँगालो मारे जस्तो गरी नियन्त्रणमा लिएँ । साथमा बोकेको धारिलो चक्कुले निज श्रीमती ईश्वरी भुजेलको घाँटी रेटी सोही स्थानमा मरिन् भनी छाडी त्यहाँबाट हिँड्दै गाडी भएको ठाउँमा गएँ ।
वारदातमा प्रयोग गरेको चक्कु गाडी रोकेको ठाउँ नजिकै बाटो छेउमा फालेँ । आफ्नो कार चलाई बालाजुतर्फ आएँ । गाडीलाई बालाजु चमातीस्थित सडक छेउमा छाडी प्रहरी कार्यालयतर्फ आउने क्रममा पक्राउ परेको हुँ ।
प्रतिक्रिया 4