+
+
Shares

छिमेकीको हत्या आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १४:१८

१८ असार, सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरका २५ वर्षीय सन्तोषकुमार राय आफ्नै छिमेकीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सन्तोषले छिमेकी ५३ वर्षीय होसनारायण राय यादवको हत्या गरेको हो ।

सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ परेका रायले आफ्नै बुबा र भिनाजुलाई फसाउने उद्देश्यले उनको हत्या गरेको स्वीकारेका छन्।

७ असार राति भैंसी गोठमा सुतिरहेका यादवमाथि धारिलो हतियार (हसिया) प्रहार गरिएको थियो । घाँटीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धानका क्रममा घटनास्थल आसपासका सीसीटीभी फुटेजको अध्ययनपछि रायमाथि शंका केन्द्रित भएको थियो । घटनापछि फरार रहेका उनलाई १६ असार मा बरहथवा नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रायले प्रारम्भिक सोधपुछका क्रममा अपराध स्वीकार गरेका छन् । उनले मोबाइल खरिदका लागि पैसा माग्दा बुबासँग विवाद भएको र परिवारका सदस्यले सुधार केन्द्र पठाइदिने धम्की दिने गरेकाले उनीहरूप्रति आक्रोश बढ्दै गएको बताएका छन् ।

अनुसन्धानका क्रममा घटनाकै राति चोरी भएको ना४५प २६८५ नम्बरको मोटरसाइकल ८ असारमा लालबन्दी नगरपालिका–२ नवलपुर क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त मोटरसाइकल छिमेकी हरिन्द्रराम यादवको रहेको र अभियुक्तले आफैं चोरी गरी हत्या गर्न प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्त रायविरुद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?