News Summary
Generated by OK AI. Editorially reviewed.- मुलुकका ८ वटा विश्वविद्यालयको उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ ।
- शिक्षा मन्त्रालयले उम्मेदवारहरूको निष्पक्ष मूल्याङ्कन गर्न १५ देखि २० जना विज्ञको गोप्य रोस्टर बनाएको छ ।
- प्रारम्भिक मूल्याङ्कनबाट छानिएका १० जनाको अल्पसूची सार्वजनिक गरी उम्मेदवारका बारेमा ५ दिनभित्र सार्वजनिक राय-सुझाव संकलन गरिने छ ।
१२ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयमा ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका उम्मेदवारहरूको अल्पसूची (सर्टलिस्ट) बनाउने काम भइरहेको छ । विज्ञहरूको टोलीले उम्मेदवारहरूले पेस गरेको विवरण अध्ययन गरिरहेका छन् ।
‘विज्ञ टिमले उम्मेदवारले पेस गरेको निवेदनको अध्ययन गरिरहनु भएको छ । कार्यविधिमा तोकिएको योग्यताअनुसार आएको छ, छैन भनेर हेर्ने काम भइरहेको छ,’ सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव चुडामणि पौडेलले भने ।
८ उपकुलपतिको लागि २१८ को आवेदन
उम्मेदवारहरूले भद्रगोल कागजात पेस गरेकाले विज्ञ टिमले एकएक गरी केलाउँदै अध्ययन गरिरहेको छन् । ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको छ ।
शिक्षा मन्त्रालयका अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको छ । आवेदन दिनेको नाम पनि सार्वजनिक गरिएको छैन ।
मन्त्रालय स्रोतका अनुसार उपकुलपतिको लागि आवेदनको संख्या धेरै आएको छ तर खोजे जस्तो संख्या कम परेको छ । ‘संख्याको हिसाबले धेरै आवेदन आएको छ । तर भने जस्तो संख्या कम छ,’ मन्त्रालय स्रोतले भन्यो ।
प्राज्ञहरूले पनि राम्रो व्यक्ति लाइन लागेर आवेदन दिन नजाने बताउँदै आएका थिए । तर यसलाई पारदर्शी प्रक्रियामा लगेर थिति बसाउने रणनीति सरकारको छ । ‘राम्रो सिस्टम बसाउन सकियो भने अर्को पटकदेखि राम्रो व्यक्तिको पनि आवेदन आउँछ,’ मन्त्रालयका एक अधिकारीले भने ।
गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिको लागि खुला आह्वान गरिएको थियो । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो । विश्वविद्यालयका कुलपति बालेन शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए ।
उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर सर्टलिस्ट बनाउन लागेको हो । विज्ञको टिमले १० जनाको अल्पसूची तय गर्नेछ । ‘छिट्टै सर्टलिस्ट सार्वजनिक हुन्छ,’ सचिव पौडेलले भने । विज्ञ टिमले आवश्यक न्यूनतम योग्यता भए/नभएको अध्ययन गर्नेछ ।
कार्यविधिमा कम्तीमा विद्यावारिधि पूरा गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा १० वर्ष काम गरेको, ४० वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको लगायतका योग्यता राखिएको छ । तोकिएको योग्यता नभएका उम्मेदवारको आवेदन रद्धसमेत हुनेछ ।
छुट्टाछुट्टै विज्ञ, नाम गोप्य
विज्ञ टिममा को–को छन् भन्ने सार्वजनिक गरिएको छैन । सिफारिस समितिले विज्ञको रोस्टर नै बनाएको छ । ‘१५–२० जना विज्ञको रोस्टर बनाएको छ । विज्ञकै आग्रहमा नाम सार्वजनिक नगरिएको हो । नाम सार्वजनिक हुँदा उम्मेदवारले विज्ञलाई फोन गर्ने रहेछन्,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘उम्मेदवारबाट आउने फोनलाई रोक्न अहिले नाम सार्वजनिक नगरिएको हो । अन्तिममा सबैको नाम सार्वजनिक हुन्छ ।’
किताब, अनुसन्धान तथा प्रकाशित कृति तथा लेखहरू मूल्याङ्कन गर्ने विज्ञ र प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उपस्थित हुने विज्ञ छुट्टाछुट्टै हुने छन् । पारदर्शी र निष्पक्ष बनाउन छुट्टाछुट्टै विज्ञ राखिएको हो । एउटा मूल्याङ्नमा सहभागी भएको विज्ञ अर्कोमा सहभागी नगराउने सिफारिस समितिले जनाएको छ ।
विज्ञबाट मूल्यांकन, सिफारिस समिति सहभागी नहुने
उपकुलपतिको उम्मेदवारको मूल्याङ्कनमा शिक्षामन्त्री सस्मित पोखरेलसहित समितिका सदस्य सहभागी हुने छैनन् । विज्ञ टिमले नै मूल्याङ्कन गर्ने छन् । मन्त्रीको सचिवालयका अनुसार आवेदन दिएका उम्मेदवारलाई नम्बर विज्ञले नै नम्बर दिने छन् ।

‘उपकुलपति नियुक्ति प्रक्रियामा विज्ञ समिति गठन गरी उहाँहरूबाट मूल्याङ्कन गरिने तथा खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अगाडि बढाइने छ,’ मन्त्री पोखरेलले भनेका छन्, ‘निष्पक्ष र स्वतन्त्र हुनेछ । दलीय पक्षपात हुने छैन ।’
मन्त्री पोखरेलले यसलाई शिक्षा क्षेत्र सुधारको महाअभियानको रूपमा लिएका छन् । ‘एकै पटक उपकुलपति पदपूर्ति गर्ने प्रक्रिया पहिलो पटक हो । शिक्षा सुधार गर्ने ढोका हो । शिक्षा क्षेत्र सुधार गर्ने महाअभियानको रूपमा लिन सक्छौं,’ मन्त्री पोखरेलले भने ।
उम्मेदवारको सार्वजनिक राय–सुझाव लिइने
पहिलो चरणमा विज्ञ समितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक दृष्टिपत्र, कार्ययोजना र प्रस्तुतीकरणको अध्ययन गरी प्रारम्भिक मूल्याङ्कन गरी उच्च अंक प्राप्त गर्ने १० जनाको सर्ट लिस्ट सार्वजनिक गर्नेछ । उम्मेदवारबारे सार्वजनिक राय–सुझाव संकलन गरिने छ । त्यसपछि प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ ।
‘सर्टलिस्टमा परेका आवेदकहरूको नाम सार्वजनिक गरी विद्वत समुदायबाट सुझावसमेत लिइने व्यवस्था गरिएको छ,’ मन्त्री पोखरेलले भने । सार्वजनिक सुझावको लागि ५ दिनको समय दिइने छ ।
दोस्रो चरणमा अल्पसूचीमा परेका उम्मेदवारको विश्वविद्यालयसम्बन्धी सोचपत्र र रणनीतिक कार्ययोजनाको मूल्याङ्कन गरिने छ । साथै सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । सोचपत्र र कार्ययोजना एकभन्दा बढी विज्ञबाट गराइने छ । सबै प्रक्रिया पूरा गरेर विज्ञले दिएको अंकको आधारमा सिफारिस समितिले उपकुलपतिका लागि नाम कुलपतिलाई पठाउने छ ।
प्रतिक्रिया 4