हाम्रो टाउकोभित्रको ‘कमाण्ड सेन्टर’
मस्तिष्क शरीरको सबैभन्दा जटिल र महत्त्वपूर्ण अंग हो । यही अंगले सोच्ने, सम्झने, निर्णय गर्ने, बोल्ने, हिँड्ने र भावना व्यक्त गर्ने सबै काम नियन्त्रण गर्छ । करिब १.४ किलोग्राम तौलको यो सानो अंगले सम्पूर्ण शरीरलाई सञ्चालन गर्ने भएकाले यसलाई शरीरको ‘कमाण्ड सेन्टर’ पनि भनिन्छ ।
मस्तिष्कको ‘पवित्र पानी’
मस्तिष्कमा हरेक दिन करिब आधा लिटर सेरेब्रोस्पाइनल फ्लुइड उत्पादन हुन्छ । यो तरल पदार्थले मस्तिष्कलाई चोटबाट जोगाउने, पोषण पुर्याउने र फोहोर पदार्थ हटाउने काम गर्छ । यसको प्रवाह अवरुद्ध भए मस्तिष्कमा पानी जम्ने जस्ता गम्भीर समस्या हुन सक्छन् ।
मस्तिष्कका फरक भाग, फरक जिम्मेवारी
मस्तिष्कका प्रत्येक भागको काम फरक हुन्छ । फ्रन्टल लोब ले सोच्ने र निर्णय गर्ने, पाराइटल लोब ले स्पर्श र तापक्रम महसुस गराउने, टेम्पोरल लोब ले स्मरणशक्ति र श्रवण तथा अक्सिपिटल लोब ले देखेका दृश्यलाई पहिचान गर्ने काम गर्छ ।
शरीरको सन्तुलन कसले मिलाउँछ ?
हिँड्ने, दौडिने, कुनै वस्तु समाउने वा शरीरको सन्तुलन कायम राख्ने काम सेरिबेलमले गर्छ । यस्तै ब्रेन स्टेम ले मस्तिष्क र शरीरका अन्य अंगबीच सूचना आदान–प्रदान गराउँछ । सास फेर्ने र मुटुको धड्कनजस्ता जीवनरक्षक क्रियासमेत यसैले नियन्त्रण गर्छ ।
किन चाहिन्छ मस्तिष्कलाई धेरै रगत ?
मस्तिष्कले शरीरमा बग्ने २०–२२ प्रतिशत रगत प्रयोग गर्छ । यसलाई निरन्तर अक्सिजन र पोषक तत्त्व चाहिने भएकाले यस्तो हुन्छ । केही मिनेट मात्रै रगतको आपूर्ति रोकिए पनि मस्तिष्कका कोषहरू क्षतिग्रस्त हुन सक्छन् । त्यसैले, रक्तसञ्चार स्वस्थ हुनु अत्यन्त आवश्यक छ ।
यस सम्बन्धी विस्तृत जानकारीका लागि अनलाइनखबरले स्नायुरोग विशेषज्ञ डा. राजिव झासँग कुराकानीमा आधारित आर्टिकल पढ्न सकिनेछ । यसलाई पढ्न दिएको लिंकमा थिच्न सकिन्छ । लिंक : www.onlinekhabar.com/2022/12/1235747